किशोरहरूलाई प्रभावशाली सन्देश
नेपाली साहित्यिक वृत्तमा किशोरहरूका जीवन–सन्दर्भ, भोगाइ र कठिनाइहरूलाई केन्द्रीय विषय बनाएर लेखिएका उपन्यासहरू कमै छन् । संख्यात्मक रूपले त्यस्ता उपन्यासहरू औंलामै गन्न सकिने खालका छन् । किशोरहरूका समस्या र मनोदशालाई केलाएर लेखिएको युवा सर्जक आत्माराम शर्मा पुडासैनीको उपन्यास ‘सुखान्त’ किशोरहरूका निम्ति निकै नै पठनीय र मार्गदर्शन गर्न उद्यत औपन्यासिक कृतिको रूपमा उभिएको छ । यसमा कुनै सन्देह छैन ।
उक्त उपन्यासले किशोरकालीन समयमा कुनै पनि व्यक्ति के कस्ता समस्याका घेराहरूबीच उभिनुपर्दछ ? र, त्यसलाई सहजतापूर्वक पार गर्न कस्तो जीवन–दर्शन र प्रणाली अपनाउनुपर्दछ भन्ने सन्दर्भहरूमा उपन्यास केन्द्रित रहेको छ । यो उपन्यासले किशोरहरूको मनोभावना बुझ्ने र त्यसलाई एउटा टुंगोमा पुर्याउने ध्येय पनि सँगालेको सहज अनुभूत हुन्छ ।
उपन्यासको केन्द्रमा दुई जना व्यक्ति उभिएका छन् । एउटा, ज्ञाननाथ र अर्को हीरा । ज्ञाननाथ, आजभन्दा चालीस वर्षअघि पूर्वी नेपालको एउटा गाउँले परिवेशमा दु:ख, हन्डर र समस्या भोग्न बाध्य व्यक्ति हुन् भने हीरा सुदूर पश्चिमको अछाम जिल्लामा माओवादी द्वन्द्वको पीडा खेप्न बाध्य एउटा किशोर व्यक्ति हुन् । यो उपन्यास, यिनै दुई जना, जीवनमा अनेक दु:ख, हन्डर र हैरानी खेप्न बाध्य व्यक्तिहरूको जीवन–कथा र व्यथामा आधारित छ । जीवनका दु:खहरूलाई सहजतापूर्वक पन्छाउँदै आफ्नो उद्देश्य र लक्ष्यप्राप्तिमा उन्मुख व्यक्तिहरूको कथावस्तु छ, यो उपन्यासमा ।
भारतको लखनउमा अध्ययनरत आफ्नी छोरी नेपालगन्जबाट काठमाडौं आउँदै गरेकी बेला उनलाई लिन नयाँ बसपार्क पुगेका ज्ञाननाथले द्वन्द्वका कारण ग्रामीण भेगबाट सहरमा छिर्ने निधो गरेका किशोर उमेरका हीरासित बसपार्कमा भेट हुन्छ । ज्ञाननाथ र हीरा, दुवै यस्ता व्यक्ति हुन्, दुवैको जीवन बाँच्ने क्रममा समान खालका दु:खसित साक्षात्कार हुन्छन् र त्यसलाई निप्ट्याउने तरिका पनि दुवैको लगभग उस्तै–उस्तै हुन्छन् । ज्ञाननाथ, आजभन्दा पचास वर्षअघि पूर्वको पहाडबाट सानीआमाको टोकेसो र हैरानी खेप्न नसकेर धरान झर्छन् र त्यही थलोबाट नै जीवनमा संघर्षका पदचिन्हहरू पछ्याउँछन् । तर, हीरा भने माओवादी युद्धका क्रममा आफ्ना बुबा, दाजु र दिदीको सहादतसँगै आमा पनि बेपत्ता भएपछि अन्योलको घेरामा रुमल्लिँदै काठमाडौं प्रवेश गर्छन् । बसपार्कमा भेटिएका हीरासित आफ्नो जीवनका प्रारम्भिक अध्यायहरू मिलेपछि ज्ञाननाथले उनलाई सघाउने निश्चय गर्छन् र ती दुई व्यक्तिहरूबीचको सौहार्द सम्बन्धबीच गुजिँ्रदै उपन्यासले गति र दिशा पक्रिन्छ ।
उपन्यास किशोरहरूको समस्यामा केन्द्रित रहे पनि उपन्यासकारले सहर र गाउँका किशोरहरूबीच उत्पन्न समस्यालाई बेग्लाबेग्लै तरिकाले प्रस्तुत गर्न चाहेका छन् । उनले सहरका सम्पन्न वर्गका सन्तानहरू विकृति, विसंगतिको चंगुलमा फसेकोतिर बढी नै केन्द्रित गर्न रुचाएका छन् र ग्रामीण परिवेशमा हुर्के, बढेकाहरूमा त्यस्तो समस्याको लैसमात्र पनि नरहेकोतिर ध्यान तान्न खोजेका छन् । खासगरी, सहरियाहरूको छोराछोरीमा व्याप्त विकृतिलाई औंल्याउनमा नै उपन्यासकारले धेरै शब्द खर्चिएको भान हुन्छ । सहरका सम्भ्रान्त वर्गका छोराछोरीहरू लागू औषधलगायत अन्य विकृतिजन्य पक्षहरूको सिकार भएको र अरूका घरमा कामदारका रूपमा काम गर्नेहरू भने लगनशील, उच्च शिक्षा प्राप्तिप्रति सचेत र अनुशासित रहेकोतिर उपन्यासले औंल्याउन चाहेको छ ।
तर, यथार्थ यतिमा मात्र सीमित छैन । दु:ख र समस्याबाट गुज्रिएका कुनै पनि व्यक्ति आफ्नो भविष्यप्रति सचेत त होलान् नै । त्यस्तै, सहरका सम्भ्रान्त वर्गका सन्तानहरू पनि उपन्यासमा बयान गरेअनुरूप त्यति बिग्रिएका नहोलान् । मुख्य कुरा त, उनीहरू कस्तो परिवेश, संस्कार र संस्कृतिबाट हुर्किएका हुन्, त्यसले नै निर्धारण गर्ने विषय हो । असल र अनुशासित संस्कारमा हुर्किएकाहरूमा त्यही खालको बानी, बेहोरा मौजुद हुन्छ भने छाडा संस्कारमा हुर्किएकाहरूले त्यही बानी र हर्कत प्रदर्शन गर्दछन् ।
तर, उपन्यासले एउटा के गहिरो सन्देश दिएको छ भने जीवनमा जसले संघर्षका पदचिन्हहरूलाई पछ्याएका हुन्छन्, उसले ढिलो–चाँडो सफलताको शिखर निश्चय नै चुम्दछन् । जसले जीवनमा संघर्षलाई सर्वोपरी राखेर चल्न जान्दछन्, उनीहरूले नै सही मार्ग र सफलतालाई आफ्नो आत्मीय साथी बनाउन सक्दछन् । मूलत: यो उपन्यासले यही सन्देश प्रवाह गर्न चाहेको छ र संघर्षबाट विमुख रहेर भड्किरहेका किशोर उमेरका व्यक्तिहरूलाई यस्तै गहन र शक्तिशाली सन्देश प्रवाह गर्नमा उपन्यास सक्षम ठहरिएको छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply