वीरेन्द्र–ऐश्वर्या १६ वर्षअघि नै मर्ने थिए ?
वि.सं. २०४२ मा काठमाडौंमा ठाउँ–ठाउँमा विस्फोटहरू भए । काठमाडौं उपत्यका बाहिर पनि असार पहिलो साता बम विस्फोट गरियो ।
त्यस बखत म विराटनगरमा थिएँ । मुलुकमा निर्दलीय तानाशाही शासन थियो । आतंक फैलिएको बखत तानाशाही शासकहरूले जथाभावी धरपकड चलाउने सम्भावना हुन्छ । त्यही भएर म नेपाली कांग्रेसका चिरञ्जीवी दाहालको त्यस बखत विराटनगर बजारभन्दा पश्चिमतर्फ अलग रहेको घरमा बस्न गएँ । दुई–तीन दिनपछि व्यापक धरपकड नभएको देखेर आफ्नो घर फर्कें ।
मेरा पिता माृतकाप्रसाद कोइरालाको पित्त थैलीमा पत्थरी थियो । त्यसको शल्यक्रिया गर्न नयाँ दिल्ली जाने कुरा थियो । बाबा, आमा, बहिनी कविताका साथ म नयाँ दिल्ली जान काठमाडौं आएँ । विराटनगरमै निर्मल व्यासका पिता र काकाले ‘निर्मल व्यास नयाँ दिल्लीमा छन्, उनको गाडी छ, बस्ने घर पनि सम्भ्रान्त र धनाढ्यहरू बस्ने पोस लोकालिटीमा छ, कोठाहरू ‘एयर कन्डिसन’ हुँदा नयाँ दिल्लीको लु चल्ने गर्मीमा सुविधा हुन्छ’ भनेका थिए ।
नयाँ दिल्ली जान काठमाडौं आएर तीन/चार दिन बस्दा ‘मातृभूमि’का सम्पादक गोविन्द वियोगीसँग भेट भयो । मैले रामराजाप्रसाद सिंहको बम विस्फोटबारे सोधें । उहाँले भन्न्ुभयो– ‘यो रामराजप्रसाद सिंहलाई गद्दार बनाएर भारतले गराएको ठूलो षड्यन्त्र हो । तपाईंले देख्नुभएन– चीनले पाएको ग्लोबल टेन्ड रद्द गराएर अन्तर्राष्ट्रियस्तरको बेइज्जत गरियो । मन्त्री हरिश्चन्द्र महतलाई राजीनामा गर्न लगाइयो ।’
त्यसबखत गोविन्द वियोगीले भनेको कुरा संक्षेपमा यस्तो थियो :
राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग बनाएर जनतामा नाम कमाएपछि वीरेन्द्रले पनि मेचीदेखि महाकालीसम्म पूर्व–पश्चिम राजमार्ग पुर्याउन कोहलपुर–वनबासा खण्ड बनाउन एसियाली विकास बैंकसँग ठूलो प्रयास गरी ऋण पाउनुभयो । त्यति ठूलो रकमका लागि एडीबीले आफैं विश्वव्यापी (ग्लोबल) टेन्डर आह्वान गर्यो । चीनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीले पनि टेन्डर हाल्यो । भारत र अरू देशभन्दा कमको हुँदा त्यसलाई यो सडक बनाउन दिने निर्णय भयो । त्यसपछि भारतले राजा वीरेन्द्रलाई यो सडक भारतीय सिमानाहरूको नजिक हुन्छ र चार–पाँच हजार चिनियाँ सेनाका इन्जिनियर–ओभरसियरहरू सादा भेषमा पाँच–छ वर्ष त्यस्तो संवेदनशील क्षेत्रमा रहँदा हाम्रो सुरक्षामा ठूलो खतरा हुन्छ, त्यसैले चीनको कम्पनीलाई नदिन दबाब दिन थाल्यो । तर, राजा वीरेन्द्रले मैले होइन एडीबीले टेन्डर गरेको हो, बल्लबल्ल रकम जुटेर बन्ने भएको छ भनेर मानेनन् । एक दृष्टिकोणले यहाँबाट नयाँ दिल्लीसमेत छ/सात घन्टामा पुग्न सकिने र उत्तर प्रदेशका धेरै सहर बजारहरू त झन् सीमावर्ती क्षेत्रमै पर्ने भएकाले भारतको चासो पनि ठीकै थियो । तर, मोरङ सुनसरी सिँचाइ गर्ने चतरा नहरको विस्तार चीनकै कम्पनीले वीरेन्द्रको पालामा काम गर्दा सुरक्षा खतरा नहुने अब चाहिँ हुने जस्तो कुरा वीरेन्द्र र दरबारियाहरूलाई जायज लागेन । फेरि धेरै प्रयासहरू पछि पाएको ठूलो रकम गडबड हुने र नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता खतम हुने चिन्ता पनि थियो । भारतमा राजीव गान्धी प्रधानमन्त्री थिए । वीरेन्द्रले कुनै प्रकारले नमान्दा भारतका गुप्तचर एजेन्सीहरूलाई जे गरेर भए पनि यो सडक चीनलाई बनाउन नदिने बन्दोबस्त गर्न भनियो । त्यसकै फलस्वरूप राजा वीरेन्द्रलाई बाध्य पार्न सिंहदरबारभित्रै राष्ट्रिय पञ्चायत सदस्य मारियो, राजपरिवारको सम्पत्ति रहेको अन्नपूर्ण होटलको रिसेप्सनिस्ट मारियो । नारायणहिटीको पश्चिम गेट र दक्षिण गेटमा शक्तिशाली बम विस्फोटहरू गरिए । ‘मातृभूमि’मा ठूलो विदेशी षड्यन्त्रहरूका सबै तथ्य बताइनुपर्छ भनेर लेखें । यसभन्दा बढी लेख्न सक्ने स्थिति अहिले छैन ।’ (क्रमश:)
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply