२०४२ सालको वितण्डा

२०४२ सालको रामराजा बम विस्फोटहरूको केही दिनपछि म काठमाडौं आउँदा मातृभूमिको सम्पादक पछि मेरो भेट केबी भट्टराई (कृष्णबहादुर भट्टराई)सँग भयो । केबी भट्टराई इलामबाट ०१५ सालको प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुुहुन्थ्यो ।
मेरो उहाँसँग निकट परिचय ०१७ सालमा राजा महेन्द्रले जनताद्वारा निर्वाचित प्रतिनिधिसभाका सदस्यहरू, राजनीतिक दलका नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरू सबैलाई थुनेर देशमा निर्दलीय तानाशाही स्थापित गरेपछि भाग्न उम्कन सफल भई बस्न हजारौं राजनीतिक व्यक्तिहरूझैं भारतको विभिन्न ठाउँ निर्वासित जीवन बिताउँदा भएको थियो ।
दरभंगा प्लेनमपछि ०१८ सालतिर पूर्वतर्फको इन्चार्ज भएर केही समय तुल्सीलाल अमात्य, गोपालकृष्ण प्रसाईं, टीकाप्रसाद सापकोटा र म नक्सलवादीमा बस्यौं । पछि तुल्सीलालजी अरू जिल्लाहरूसँग सम्पर्कलाई पायक पर्ने हुँदा दरभंगा बस्न थाल्नुभयो । म चाहिँ आधी समय फार्बेसगञ्ज र आधी समय नक्सलवाढीमा बस्दथे ।
नक्सलवाढीमा इलामका सांसद केबी भट्टराई, झापाका सांसद फत्तेबहादुर बुढाथोकी, नेपाली कांग्रेसका प्रसिद्ध नेता र विचार लेखक सीके प्रसाईं, सतार नेता तुलसा हेमरमलगायत धेरै जना बस्नुहुन्थ्यो । तिनै निर्वासनका दिनहरूमा मेरो केबी भट्टराईसँग पनि बराबर भेट हुन्थ्यो ।
रामराजाप्रसाद सिंहसँग चाहिँ मेरो धेरैपछि काठमाडौंमा साधारण परिचय भएको थिया । विराटनगर आउँदा पर्दा पनि आक्कलझुक्कल भेट भएको थियो । उनका पिता जयमंगलप्रसाद सिंह सप्तरीका एउटा काफी जग्गाधनी थिए । भेटघाट हुँदा रामराजाप्रसाद सिंह मलाई एउटा साह्रै सरल हृदयका मान्छे जस्तै लाग्दछन् । उनको पटनामा पनि घरसम्पत्ति थियो । उनी सर्वोच्च अदालतका कानुन व्यवसायी पनि थिए । उनले नेपालमा संसदीय व्यवस्थाको पुन:स्थापनालाई नारा बनाई राजाको पञ्चायती शासनकालमा स्नातक क्षेत्रबाट चुनाव लडे । त्यसताका उनले वक्तव्यहरूमा बीपी कोइरालाको पनि प्रशंसा गरे । तर, उनले चुनाव जितेपछि उनलाई शपथ ग्रहण गराउन आनाकानी गरियो । एउटा विशेष अदालत खडा गरी उल्टै उनलाई राजकाजको सजाय गरिने भयो ।
उनले राजा महेन्द्रसँग माफी मागेपछि उनलाई राष्ट्रिय पञ्चायतको शपथ ग्रहण गर्न दिइएको थियो । पछि उनी भारत पटनातर्फ बढी बस्न थाले र कुनै समय भूमिगत नेपाल जनवादी मोर्चा नामक राजनीतिक संगठन खडा गरे ।
०४२ असारको पहिलो साता (सन् १९८५ को जुन) मा काठमाडौं र देशका अन्य ठाउँमा बम विस्फोटहरू गरिए । राजाको राजदरबारको पश्चिम ढोका र दक्षिण ढोकामा शक्तिशाली बम विस्फोटहरू भए । सिंहदरबारभित्र रहेको ०१५ सालको प्रतिनिधिसभाको बैठक हुने भवन नै राजा महेन्द्रका पालामा राष्ट्रिय पञ्चायतको बैठक भवन भयो ।
फेरि ०४८ सालपछि प्रतिनिधिसभा वा संसद् भवन भयो । सिंहदरबारभित्र त्यहाँ बम विस्फोट हुँदा एक जना राष्ट्रिय पञ्चायत सदस्य ठहरै भएका थिए । राजपरिवारको सम्पत्ति रहेको अन्नपूर्ण होटेलमा विस्फोट हुँदा एक जना महिला कर्मचारी मरेको थिइन् । नेपालका सबै ठाउँ गरी आठ जना मरेका थिए । पटनाबाट वक्तव्य जारी गर्दै रामराजाप्रसाद सिंह नेतृत्वको नेपाल जनवादी मोर्चाले त्यसको जिम्मेवारी लियो ।
यो घटना भारतमा राजीव गान्धी प्रधानमन्त्री भएको ८ महिनापछि भएको थियो । यो रामराजाप्रसाद सिंहका नाममा काठमाडौंमा त्यसबेला रामराजा काण्डको नामले चर्चित भयो । विभिन्न अड्कल अनुमानहरू र वाक प्रकाशन स्वतन्त्रता नहुँदा कानौकान अनेकौं हल्लाहरू व्याप्त थिए । यो ०४२ असारका बमकाण्डहरूको केही समयपछि म काठमाडौं पुग्दा मैले माथि भनेझैं मेरो भेट ०१५ का इलामका सांसद केबी भट्टराईसँग भएको थियो ।
केबी भट्टराईको विवरण
त्यसदिन ऋषिकुमार पाण्डेको छोराको व्रतबन्ध थियो । ऋषिकुमार पाण्डे महाराजा वीरेन्द्रको दरबारिया थिए । दरबारका सैनिक र गैरसैनिक उच्च कर्मचारीहरूको छोराछोरीको बिहामा महाराजा वीरेन्द्र र महारानी ऐश्वर्या जाने गर्दथे । ऋषिकुमार पाण्डेको छोराको व्रतबन्धमा पनि भिक्षा दिन जाने भएका थिए । ब्रतबन्धको अरू विधि सकिएर भिक्षा दिने समय उनीहरू पनि भिक्षा दिन पुग्नेवाला थिए । त्यस दिन फेरि ऋषिकुमार पाण्डेले नारायणहिटी राजदरबार फोन गरेर भिक्षा दिने समय हुनै लागेको जानकारी दिँदा उताबाट फोनमा खबर आयो– ‘सरकार पाउपोस पहिरी बक्सिँदैछ । अब सवारी होइबक्सिनै लागिसियो ।’
व्रतबन्धको निम्तामा पुगेका सबै जना राजारानी आउन लागे भनी सावधान र तम्तयार भए । भिक्षाको बेला भइसक्यो । तर, सोचेको समयमा राजारानी पुगेनन् । कारमा सवार भइसकेका राजारानी निर्धारित समयभन्दा अबेर भइसकेपछि केही बेरमा उल्टै नारायणहिटीबाट ऋषिकुमार पाण्डेलाई खबर आयो– ‘सब काम छोडेर अविलम्ब राजदरबार आइपुग्नू ।’
ऋषिकुमार पाण्डेले हत्त न पत्त छोराको व्रतबन्धको भिक्षा दिने काम सके र तुरुन्तै दरबारतर्फ दौडे । त्यसपछि त्यहाँ व्रतबन्धमा पुगेकाहरू खाना खाँदै अनेकौं आशंका र अनुमान एक अर्कोसँग दबेको स्वरमा सोध्न थाले । केहीबेरपछि नारायणहिटी राजदरबारको पश्चिम गेट र दक्षिण गेटमा शक्तिशाली बम विस्फोटहरू भएका खबरहरू पुगे ।
साँझ केबी भट्टराईले त्यस दिन ऋषिकुमारको घरमा सुनेको सुस्त स्वरको चर्चाअनुसार ऋषिकुमार पाण्डेको छोराको व्रतबन्धमा भिक्षा दिन आउँदा नारायणहिटी राजदरबारको गेटमा गाडी पुग्नासाथ त्यहाँ ठूलो बम विस्फोट भयो । ड्राइभरले ब्रेक लगायो । दुई तीन सेकेन्डको फरकले त्यो कार विस्फोटले उड्नबाट जोगियो । ड्राइभरले गाडी ब्याक गरे राजारानी फेरि दरबार नै फर्किए । त्यसदिन तुरुन्तै त्यस सम्बन्धमा परामर्श गर्न सुरक्षा समितिको बैठक बस्यो । त्यहाँ सबैले राजारानीलाई भगवान्ले रक्षा गरेको आशय व्यक्त गरेर भने– यो राजीव गान्धीले बनवासा–कोहलपुर सडक चिनियाँहरूलाई नदिन विभिन्न च्यानेलहरूबाट दिइएको कडा दबाब नमान्दा भएको निष्कर्ष निकाले । त्यहाँ कसै–कसैले यो पनि भने कि सत्तारुढ राष्ट्र प्रमुख वा प्रधानमन्त्रीलाई मार्न टप अर्डरकै चलन हुँदा यो उच्चतम तहबाटै स्वीकृति प्राप्त घटना हो । यसपटक जोगिए पनि भारतको सुरक्षामा चीनका पाँच/छ हजार सैनिकहरू सडक बनाउन सिभिल ड्रेसमा चार पाँच वर्ष कार्यरत रहने कुराले भारतको सैनिकतन्त्र र गुप्तचर संयन्त्रहरू सबैको विरोध हुने कुरा हो र फेरि पनि यो वा यो भन्दा पनि खतरनाक घटना हुनसक्ने सम्भावना नहुन दिन चिनियाँ कम्पनीलाई दिन तय गरिएको एग्रिमेन्ट सही गर्न हुँदैन । त्यसो हुन नदिन तत्काल सडक विभागका सरोकारवाला मन्त्री हरिश्चन्द्र महतको राजीनामा मागिनुपर्छ । सम्झौता सही गर्न निर्धारित समयमा एसियन डेभलपमेन्ट बैंकको मापदण्ड पुगेर सबैभन्दा कम टेन्डर हाल्ने कम्पनीका अधिकार प्राप्त काठमाडौंमा पूर्व निर्धारित स्थलमा पुग्दा उल्टै आतिथ्य गर्नुपर्ने देशका प्रतिनिधि नै सही गर्न पुगेनन् । त्यसपछि चीनको कम्पनीका तर्फबाट पुगेका व्यक्तिसँग पत्रकारहरूले ‘के भयो, किन यस्तो भयो ?’ भनी सोध्दा उनले भने– ‘केटा पनि मञ्जुर थियो, केटी पनि मञ्जुर थिई, केटीका बाबु आमा पनि मञ्जुर थिए । तैपनि विवाह भएन । खोइ के भयो, के भयो ?’
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply