चर्चामा तीन संसदीय समिति
काठमाडौं । व्यवस्थापिका–संसद्अन्र्तगत १३ वटा समिति छन् । सबै संसदीय समितिको महत्त्व समान नै छ । संसद्को नियमावलीले सबैको छुट्टाछुट्टै कार्यक्षेत्र तोकिदिएको छ । बेला–बेलामा बैठक बस्ने र आफ्नो कार्यक्षेत्रभित्रका समस्याबारे छलफल गर्ने तथा सरकार र सम्बन्धित निकायलाई निर्देश गर्ने काम सबै समितिले गर्दै आएका छन् । तर पनि, सबैको चर्चा भने समान छैन । समिति हाँक्ने व्यक्तिको काम गर्ने शैली कारण तीन वटा समितिको बेग्लै चर्चा हुने गरेको छ ।
चर्चामा रहेका ती समिति हुन्– अर्थ, विकास र कृषि तथा जलस्रोत समिति । तीनै वटा समितिका सभापति युवा छन् । अर्थ समिति र विकास समितिमा एमालेका युवा सभासद् प्रकाश ज्वाला र रवीन्द्र अधिकारी सभापति छन् भने कृषि तथा जलस्रोतमा कांग्रेसका युवा सभासद् गगन थापा । अधिकारी र थापाका लागि संसदीय समितिको सभापति नौलो हो भने ज्वालाले विगतमा पनि संसदीय समितिलाई नेतृत्व गरिसकेका छन् ।
संसदीय समितिको नेतृत्व गर्ने काम नयाँ भए पनि अधिकारी र थापाले संविधानसभाभित्र फरक पहिचान बनाइसकेका छन् । यो पटक भन्दा अघिल्लो संविधानसभामा राजनीतिक रूपमा दलीय आबद्धताबाट माथि उठेर उनीहरूले उठाएका मुद्दाको संविधानसभाभित्र र बाहिरसमेत चर्चा हुने गरेको थियो । अघिल्लो पटक संविधानसभामा ज्वाला थिएनन् । तर, यस पटक यी तीन जनाले संसदीय काम कारबाहीलाई पृथकता दिन सक्दो प्रयत्न गर्दै आएका छन् । गत हप्ता मात्र यी तीन वटा समितिले संयुक्त बैठक गरे । नेपालको संसदीय इतिहासमा संसदीय समितिको संयुक्त बैठक बसेको यो नै पहिलो घटना थियो । प्रधानमन्त्री सुशील कोइरालालाई बोलाएर उनकै उपस्थितिमा बसेको उक्त संयुक्त बैठकमा आर्थिक वर्षको समग्र विकास बजेट खर्चको अवस्था, समस्याहरू तथा लक्ष्य प्राप्तिका लागि चालिनुपर्ने कदमका सम्बन्धमा छलफल चलाइएको थियो । उक्त बैठकले बजेट तर्जुमालाई यथार्थपरक बनाउन तथा बजेट क्यालेन्डरलाई आवश्यक परिमार्जन गर्न व्यवस्थापिका–संसद्को अर्थ समितिसँग समन्वय गरी अविलम्ब कार्य थालनी गर्न सरकारलाई १० वटा निर्देशन दिएको थियो ।
अहिलेसम्म अर्थ समितिका २७ वटा बैठक बसिसकेका छन् । ज्वाला सभापति भएयता उनले मात्र १५ वटा बैठक सञ्चालन गरिसकेका छन् । ऊर्जाको क्षेत्रमा देखिएका समस्याको निकास खोज्ने क्रममा यो समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई समितिमा बोलाएर बयान लिएपछि यो समितिको मात्र होइन, यो समितिका सभापतिको हैसियतले ज्वालाको पनि निकै चर्चा भयो । समितिको क्षेत्राधिकारका बारेमा निकै बहस पनि भयो । त्यसो त यो समितिले अरू पनि महत्त्वपूर्ण काम नगरेको होइन । ‘सुरु सिंहदरबारबाट’ भन्ने अभियान पनि उनले चलाए । सिंहदरबारभित्र रहेका थोत्रा गाडीको व्यवस्थापन गरेर पहिले सिंहदरबार सफा गर्ने, दोस्रो चरणमा उपत्यका र त्यसपछि पूरै देशभरका थोत्रा गाडी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनेदेखि लिएर द्वन्द्वकालमा ग्रामीण क्षेत्रबाट विस्थापित बैंकहरू तत्काल पुन:स्थापनका निम्ति अर्थ मन्त्रालयलाई निर्देशन दिने जस्ता काम गरिसकेको छ ।
अधिकारी सभापति रहेको विकास समितिका अहिलेसम्म ३० वटा बैठक बसिसकेका छन् । आफूले गरेका कामलाई प्रविधिसँग जोड्ने कुरामा अधिकारी अरूभन्दा निकै अगाडि छन् । अहिले प्राय: सबै समितिको बैठकसम्बन्धी जानकारी मोबाइलमा नोटिस बोर्ड नम्बर डायल गरेर लिन सकिन्छ । सबै समितिका आ–आफ्ना नोटिस बोर्ड नम्बर छन् । अधिकारीको आफ्नै अफिसियल वेवसाइट छ । डब्लूडब्लूडब्लू डट रवीन्द्र अधिकारी डट कममा हरेक बैठकका निर्णयहरू समावेश गरिएको हुन्छ । दुई हप्ताअघि मात्र यो समितिले आफ्ना सदस्यहरूलाई मेलम्ची खानेपानी आयोजना निमार्णस्थल घुमाएर कामको प्रगति अवस्थाबारे जानकारी लिएको थियो । १८औं सार्क शिखर सम्मेलन आयोजना गर्ने सिलसिलामा निर्माण एवम् सुदृढीकरण गरिएका भौतिक संरचनाहरूको संरक्षण, सम्बद्र्धन गर्दै विस्तार गर्ने सम्बन्धमा समितिको मंसिर २३ गतेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिकालाई समन्वय गरी कार्य गर्न र यसको प्रतिवेदन ४/४ महिनामा यस समितिमा उपलब्ध गराउन समिति निर्देश दिएको थियो ।
सडकको बीचमा रोपिएका बिरुवाहरू, बगैंचाहरू, रेलिङ, सडक बत्तीहरूको संरक्षण गर्दै विस्तार गर्न तथा काठमाडौं उपत्यकाको सौदर्यलाई वृद्धि गर्न, सफा, सुन्दर, हराभरा काठमाडौं उपत्यका निर्माणका लागि गर्नुपर्ने वृक्षारोपण, सरसफाइ, मर्मत सम्भारको कार्य नियमित रूपमा गर्न समिति सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा कार्य सम्पादन गर्न पनि समितिले काठमाडौं महानगरपालिकालाई निर्देश गरेको छ । त्यस्तै, काठमाडौं तथा काठमाडौं उपत्यकाबाहिरका क्षेत्रीय सहरहरूमा अन्तर्राष्ट्रिय सम्मेलन गर्नका लागि आवश्यक पर्ने सम्मेलन केन्द्र निर्माण गर्ने कार्यलाई तत्काल अगाडि बढाउन पनि सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । पछिल्लो समयमा दर्दनाक बनेको सवारी दुर्घटनाको समस्या हल गर्न सम्बन्धित पक्ष र सरोकारवालाहरूसँग छलफल गरेर सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने जस्ता काम पनि यो समितिले गरिसकेको छ ।
थापा सभापति रहेको जलस्रोत समितिका अहिलेसम्म ३५ वटा बैठक बसिसकेका छन् । तर, थापाले सोह्रांै बैठकपछि मात्र बैठकको अध्यक्षता गरेका हुन् । उनले पनि ऊर्जामा देखिएका समस्याबारे बुझ्न अख्तियार प्रमुख कार्कीलाई समिति बैठकमा बोलाए पनि उनी गएनन् । समितिमा बोलाएपछि थापा र कार्कीको सञ्चारमाध्यममार्फत दोहोरी नै चल्यो । कार्कीलाई समितिमा ल्याउन नसके पनि थापाको समिति पनि अरू समितिको तुलनामा कामकाजी समिति मानिन्छ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक मातहतका जलविद्युत् आयोजना, देशभरका वितरण केन्द्र, लेखालगायत अन्य विभागीय प्रमुखहरूको पद निमित्तबाट सञ्चालन भइरहेको अवस्थामा यसबाट प्राधिकरणको कार्यसम्पादन क्षमतामा ह्रास आउनु स्वाभाविक भएको भन्दै १ हप्ताभित्र प्राधिकरणको कार्यकारी निर्देशकसहित सबै विभागीय प्रमुख, योजना प्रमुख र कार्यालय प्रमुखहरूको नियुक्ति गरिसक्ने व्यवस्थाका लागि निर्देशन दिने काम थापाले सुरुमै गरेका थिए । पश्चिम सेती परियोजनालाई अगाडि बढाउनका निमित्त ऊर्जा मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा कार्यक्रम कार्यान्वयनका लागि निष्कर्षसहित अविलम्ब समितिमा पेस गर्न निर्देशन दिने, नेपाल विद्युत् प्राधिकरण काबेली करिडोर आयोजना, १३२ केभीए प्रसारण लाइन आयोजना निर्माणको काम २०१५ जुलाईसम्म सम्पन्न गर्ने र यसअन्तर्गत झापाको दमक स्टेसनदेखि इलामको सव स्टेसनसम्म पहिलो खण्डको काम २०७१ पुस १० गतेभित्र सम्पन्न गर्ने, ऊर्जा विकाससँग सम्बन्धित विद्युत् विधेयक र विद्युत् नियमन आयोगसम्बन्धी विधेयक २०७१ पुस मसान्तभित्र व्यवस्थापिका–संसद्मा दर्ता गराइसक्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिने, माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौताको कार्यान्वयनका सन्दर्भमा सम्झौतामा हस्ताक्षर भएको मितिले प्रत्येक २ महिनामा आयोजनाको प्रगति, अवस्था, समस्याको बारेमा यस समितिमा उपस्थित भई समितिलाई जानकारी गराउन लगानी बोर्डलाई निर्देशन दिने जस्ता काम यो समितिले यस अवधिमा गरिसकेको छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply