वीर अस्पतालमा सुधारको सुरुवात
काठमाडौं । गरिब र निमुखाले उपचार पाउनुपर्ने मुलुककै जेठो वीर अस्पतालमा रिक्त पदाधिकारी नियुक्तिपछि नयाँ तरंग आएको छ । कोसी अञ्चल अस्पतालमा सफल निर्देशक भएर वीर अस्पतालको हाडजोर्नी विभागको प्रमुख रहेका प्राध्यापक डा. गणेश गुरुङले नेतृत्व सम्हालेपछि वीरमा सुधारको शृंखला अघि बढेको हो ।
लामो समयदेखि बेथिति र भद्रगोलमा सञ्चालन भइरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा उपकुलपतिको रूपमा ‘एक्सन ओरियन्टेड’ गुरुङले जिम्मेवारी सम्हालेको ४ महिना नपुग्दै सुधारको पहल भएको कर्मचारीहरू बताउँछन् ।
नयाँ उपकुलपति आएपछि प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न भएको छ । विगत ४–५ वर्षदेखि दीक्षान्त समारोह रोकिएको थियो । प्रतिष्ठान गठन भएपछि यसअघि जम्मा एउटा मात्र दीक्षान्त समारोह भएको थियो ।
यसैगरी, गुरुङले आफू उपकुलपति भएसँगै वर्षौंदेखि बिग्रिरहेको सिटीस्क्यान मेसिन हटाएर नयाँ जडान गराएका छन् । प्रतिष्ठानले मन्त्रालयसँग माग गरेअनुरूप स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई नयाँ सिटीस्क्यान मेसिन उपलब्ध गराएपछि वीरमा सो मेसिन जोडिएको हो । १५ करोड रुपियाँभन्दा बढी लागतको सो मेसिनबाट अहिले सर्वसाधारणले सेवा पाउन थालिसकेका छन् ।
त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले समेत पूर्णता पाइसकेको छ । विगतमा सो आयोगका केही पद रिक्त थियो । एमाओवादीको तर्फबाट स्वास्थ्यमन्त्री भएका बेलादेखि लगातार आयोगको सदस्य रहेका अधिवक्ता रामनारायण बिडारी सभासद्मा मनोनयन भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए । उनको स्थानमा नयाँ सदस्य मनोनयनसँगै आयोगले पूर्ण आकारमा काम गरिरहेको छ ।
यस्तै, उपकुलपति गुरुङले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सिनेट सभाको बैठकसमेत बसालेका छन् । जुन बैठक विगत ३–४ वर्षदेखि हुन सकेको थिएन । सिनेटले अनुमोदन नगर्दा त्यहाँ कर्मचारीले खाएका तलब भत्तासमेत बेरुजुमा परेको थियो । सिनेट ६–६ महिनामा बस्नुपर्ने थियो ।
मुख्यगरी वीरमा कर्मचारी तथा चिकित्सकहरू नभेटिने ठूलो समस्या थियो । वीरमा हाजिर गरेर अन्य निजी क्लिनिक तथा अस्पतालमा काम गर्न जाने चिकित्सकका कारण अस्पताल बदनाम थियो । गुरुङले त्यसमा सुधार ल्याउनका लागि विद्युतीय मेसिनबाट हाजिर गर्ने प्रणाली सुरु गरेका छन् । अधिकांश सरकारी कार्यालयमा मेसिनमा औंठाछाप लगाएर हाजिर गर्ने व्यवस्था छ । समयमै आउनुपर्ने र झुक्याउन नमिल्ने भएपछि कर्मचारीहरूले नै चुइँगमलगायतका अन्य पदार्थ हालेर उक्त मेसिन बिगारेका छन् । त्यो समस्याबाट मुक्ति पाउनका लागि वीरमा भने फेस रिडर नै राखिएको छ । जुन मेसिन अगाडि गएर कर्मचारीहरू उभिएपछि उनीहरूको तस्बिर म्याच हुन्छ । त्यसका लागि कर्मचारीहरू ९ बजे कार्यालय आउने र ५ बजे फेस रिडरमार्फत हाजिर गर्न फेरि आउनुपर्ने बाध्यात्मक अवस्थामा छन् । पहिले १० बजे आएर हाजिर गरेर टाप कस्ने वीरका कर्मचारीहरूलाई गुरुङले गरेको यो व्यवस्थाले समस्या पारेको बताइन्छ ।
लामो समयदेखि ट्रमा सेन्टर निर्माण भए पनि सञ्चालन हुन सकेको थिएन । प्रतिष्ठानअन्तर्गत चलाउने कि अलग्गै चलाउने भन्ने विवादका कारण पनि यो सेन्टर अलपत्र परेको थियो । राजेन्द्र महतो स्वास्थ्यमन्त्री हँुदा यसलाई अलग्गै चलाउने गरी निर्णय गरिएकोमा मन्त्री खगराज अधिकारीले सो निर्णय उल्ट्याएर सेन्टरको भौतिक पूर्वाधार पनि प्रतिष्ठान मातहत नै सञ्चालन हुने निर्णय गराइसकेका छन् । सो सेन्टरबाट अब हाडजोर्नी र न्युरोको अत्याधुनिक सेवा सञ्चालन हुने बताइन्छ ।
यस्तै, लामो सययदेखि एमआरआई सेवा सञ्चालन हुन सकेको थिएन । चिकित्सकहरूले निजी अस्पतालबाट कमिसन खाएर सो सेवा उपलब्ध गराउँदै आएको आरोप थियो । यस पटक सो सेवा वीरबाटै उपलब्ध गराउने उद्देश्यले एमआरआई गर्ने मेसिनका लागि दुई पटक टेन्डर आह्वान समेत भइसकेको छ । तर, टेन्डर गर्दा सो मेसिनको न्यूनतम मूल्य पनि व्यापारीले नहालेपछि टेन्डर रद्द भएको छ ।
अझ महत्त्वपूर्ण कुरा त वीरले ज्येष्ठ नागरिकहरूका लागि छुट्टै वार्डको व्यवस्था गर्न लागेको छ । त्यति मात्र होइन, आईसीयू सेवाका लागि पनि जनशक्ति थपेर १६ बेड क्षमताको पुर्याउन लागेको छ । अहिले जम्मा पाँच बेडको मात्र आईसीयू सेवा थियो । सो कार्यका लागि २० जना स्टाफ नर्स र आठ जना मेडिकल अफिसरसमेत प्रतिष्ठानले थपिसकेको छ ।
यस सुधारको पहलबाट ‘केही गरेर देखाउँछु’ भन्ने इच्छाशक्ति भित्रैदेखि निकाल्यो भने सीमित स्रोत साधनमा पनि थुप्रै काम हुन सक्छन् भन्ने पुष्टि भएको छ । प्रतिष्ठानअन्तर्गत अहिले १ हजार २ सय ४३ कर्मचारी कार्यरत छन् । प्रतिष्ठानले अध्ययनको क्षेत्रको प्राज्ञिक विकास, पूर्वाधारको विकास, विद्यार्थीको आवास तथा अध्ययनका लागि पर्याप्त सामग्री व्यवस्था गर्न लाग्नुपर्नेमा सुरुदेखि नै आफ्ना कार्यकर्ता भर्ती गर्ने र राजनीतिक भागबन्डामा बाँडिचुँडी खाने थलो भइरहेको थियो ।
गत साउनमा चलेको करिब दुई साता लामो आन्दोलन न्याम्समा पदाधिकारी नियुक्ति भएपछि बन्द भएको थियो । न्याम्समा धेरै पद रिक्त रहे पनि उपकुलपति, रेक्टर, डिन एमालेको भागमा तथा रजिस्ट्रार, वीर अस्पतालका कार्यकारी निर्देशक तथा न्याम्स बोर्डका एक जना सदस्य कांग्रेसको भागमा परेको थियो । जसमा रेक्टर डा. रंगबहादुर बस्नेत, डिनमा यहुनचन्द्र शिवाकोटी, रजिस्ट्रारमा डा. किरण मानन्धर, कार्यकारी निर्देशकमा डा. स्वयम्प्रकाश पण्डित र बोर्ड सदस्यमा भूपेन्द्र बस्नेतले नियुक्ति पाएका थिए । वीर अस्पतालका आवासीय चिकित्सकहरूले राखेका मागमध्ये अधिकांश पूरा भइसकेको उपकुलपति डा. गुरुङले बताए ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply