रागिनीको रजगज
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले आफूनिकटका कलाकारहरूलाई गुपचुप रूपमा विदेशमा पठाउने सिफारिस गरेपछि अहिले प्रतिष्ठानभित्र खैलाबैला मच्चिन पुगेको छ । परिषद् सदस्यहरूसँग कुनै छलफल नै नगरी कुलपति उपाध्याय, उपकुलपति शारदा चित्रकार र परिषद् सदस्य सुषमा राजभण्डारीले आफूनिकटका एक–एक जना कलाकारहरूलाई विदेश पठाउन नाम सिफारिस गरेका हुन् ।
आगामी अप्रिलदेखि जुलाईसम्म फ्रान्सको राजधानी पेरिसमा हुन लागिरहेको ‘आर्ट एन्ड क्राफ्ट’ कार्यक्रममा नेपालबाट तीन जना विद्यार्थीको नाम सिफारिस गरेर पठाउनका लागि त्यहाँस्थित युनेस्कोको कार्यालयबाट केही महिनाअघि प्रतिष्ठानमा पत्र आएको थियो । त्यसका लागि युनेस्कोले गत डिसेम्बर २६ तारिखसम्मको समय तोकेको थियो । स्रोतका अनुसार, युनेस्कोबाट पत्र आउनेबित्तिकै कुलपति, उपकुलपति र परिषद् सदस्य राजभण्डारीबीच गोप्य बैठक बस्यो । उक्त बैठकमा कुलपति उपाध्यायले प्रमिला बज्राचार्य, उपकुलपति चित्रकारले विष्णुप्रसाद श्रेष्ठ र राजभण्डारीले डिपना शर्माको नाम सिफारिस गरे । त्यसपछि तीनै जनाले आफूहरूद्वारा सिफारिस गरिएको नाम सुटुक्क युनेस्कोसमक्ष पठाएको थियो । युनेस्कोले जहाज खर्चदेखि तीन महिनासम्म फ्रान्समा बस्ने, खाने सुविधा दिने उक्त कार्यक्रममा आर्ट एन्ड क्राफ्टका विद्यार्थीलाई पठाउन पत्र लेखे पनि सिफारिसमा परेकाहरू उक्त विषयका विद्यार्थी होइनन् । उनीहरूमध्ये बज्राचार्य पेन्टिङ, श्रेष्ठ मूर्ति र शर्मा लोककलाकार हुन् ।
उक्त कार्यक्रममा गैरविद्यार्थीहरूको नाम गुपचुप रूपमा सिफारिस गरेर पठाइएपछि अहिले प्रतिष्ठानभित्र विरोध सुरु हुन थालेको छ । परिषद् सदस्यहरूसँग परामर्श नै नगरी र अरू प्राज्ञहरूलाई थाहै नदिएर गैरविद्यार्थीहरूलाई फ्रान्समा पठाउन लागिएकोमा प्राज्ञहरू रुष्ट देखिएका छन् । एक प्राज्ञले बुधबारसँग भने– ‘अहिले प्रतिष्ठानभित्र कुलपतिलगायत केही व्यक्तिहरूको हालीमुहाली चलिरहेको छ । उनीहरूले गुपचुप रूपमा काम गरिरहेका छन् । हामीलाई कुनै सोधपुछ नै गर्दैनन् ।’ तर, कुलपति उपाध्यायले भने प्राज्ञहरूलाई ढाँट्दै आइरहेकी छिन् । उनले आफूले त्यस्तो कुनै निर्णय नगरेको बताउने गरेकी छिन् ।
यसैबीच, कुलपति उपाध्यायले प्राज्ञ सभाको नाटकसमेत मञ्चन गरेकी छन् । गत पुस १८ गते सभाको बैठक बोलाइए पनि अहिलेसम्म उक्त सभाबाट के–के निर्णय गरियो भन्नेबारे प्राज्ञहरूलाई नै जानकारी दिइएको छैन । एक जना प्राज्ञले भने– ‘हामीलाई अहिलेसम्म कुनै जानकारी दिएका छैनन् । हामीलाई माइन्युट पुस्तिकामा हस्ताक्षर पनि गर्न नलगाइएको हुँदा केके निर्णय भयो भन्नेबारे जानकारी पाएका छैनौं ।’ सभामा १५ जना सदस्यहरू छन् ।
प्रतिष्ठानको बिललगायत अरू प्रकाशन सामग्रीहरू छाप्दा पनि अपारदर्शी तरिका अपनाउने गरिएको छ । कुलपति उपाध्यायले प्रशासनसँगको मिलेमतोमा बिना कोटेसन नै प्रकाशन सामग्री र बिलहरू छाप्दै आइरहेको प्रशासन स्रोतले बतायो । उनीहरूले प्रतिष्ठानको कामलाई आफ्नो निजी कम्पनी चलाए जसरी चलाइरहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply