‘हामी संविधान बनाएरै छोड्छौं’
हामीलाई थाहा छ, नेपाल एउटा विशेष परिस्थितिबाट अघि बढिरहेको छ । हामीले लामो समयदेखि संघर्ष गर्दै आयौं । त्यो संघर्षको प्रतिफल परिवर्तन भयो । त्यसलाई संस्थागत कसरी गर्ने र परिवर्तनलाई कसरी बुझ्ने ? परिवर्तन भनेको के हो र त्यसलाई संस्थागत कसरी गर्ने ? त्यो समस्या छ । त्यसलाई धेरै विश्लेषण गर्ने झन्झट गर्नुभन्दा सहमति हुनुपर्छ भन्न सजिलो हुनेरहेछ ।
सहमति हुनुपर्छ । हाम्रो नीति नै सहमतिको नीति हो । मैले अस्ति पनि भनें । अचानक कसरी त्यस्तो बुद्धि आएछ ? आफैंबाट आयो कि अन्त कतैबाट आयो भनेर केही–केही बुझक्कडहरूले भनेको पनि सुनें । हामीले सदैव भन्दै आएका छौं, कुनै पनि पार्टीसँग एक तिहाइको आसपासभन्दा बढी छैन । एउटै पार्टीले चाहेर संविधान बनाउनै सकिँदैन । दुई वटा पार्टी मिलाउँदा पनि दुई तिहाइ पुग्दैन, दुई तिहाइ नपुगी संविधान बन्दैन । त्यसका लागि दुईभन्दा बढी पार्टी मिल्नुपर्छ ।
४ सय १ सभासद् नभइकन संविधान बन्दैन भने यो सहमतीय संविधान होइन र ? बिल्कुलै सहमतीय संविधान हो । हामीले बनाउने भनेकै सहमतीय प्रक्रियाबाट हो । कोही किनारमा बसेर कराउँछ, उफ्रिन्छ, ‘मेरो सहमतिबिना ज्यान गए हुन्न, म सहमति हुनै दिन्न’ भन्छ । किन कराउँछ, त्यो उसको कुरा हो । हामीले खुलेरै भन्ुनुपर्छ, देशमा संविधान बन्न नदिने, अराजकता, अस्थिरता सिर्जना गर्ने, भौतिक आक्रमण गर्ने, बैठक स्थगित भएपछि संविधानसभाप्रति दुस्मनी प्रकट गर्ने प्रवृत्तिहरू देखिएका छन् । ती प्रवृत्तिहरूको निष्कर्ष हो– संविधान बन्न नदिने ।
आवश्यक संख्याका लागि पनि हामीले सहमतिको बाटो जानैपर्छ । हामीले यो कुरा लगातार भनिरहेका छौं । यसमा कुनै भ्रम, अन्योल र द्विविधा छैन । यो संख्यामा अत्यधिक कसरी बनाउन सकिन्छ, सहमतिका ती प्रयासहरू पनि हामी चलाइरहेका छौं ।
हामी चाहन्छौं– सविंधानसभामा कसैको विरोध नहोस्, सबैको सहमति होस् । बिल्कुलै सर्वसम्मतिको हाम्रो प्रयास हो । त्यो पनि हामीले गरिराखेकै छौं । बाहिर पनि कसैले विरोध गरिरहेका छन् भने तिनको पनि समर्थन लिने प्रयास हाम्रो हुनेछ ।
सहमति भनेको दुई तिहाइ नै हो । सर्वसहमति भन्ने कुरा दुनियाँमा कहीँ पनि हुँदैन । त्यसो भएर हामीले सहमतिकै संविधान बनाउने हो । तर, सहमतिको परिभाषा के ? कसले नमानुन्जेल सहमति नबन्ने ? उसले मान्यो भने अरूले नमाने पनि सहमति हुने ? अचम्मको परिभाषा– ‘फलानाले नमान्दासम्म सहमति मानिन्न । फलानाले मानेपछि सहमति हुन्छ, अरू बाँकी रहे पनि केही छैन ।’
यो अनौठो परिभाषाका साथ सहमति कहिल्यै नगर्ने तर सहमतिको राग अलापिरहने ? ‘मुलुक अनिष्टमा जान्छ, भयंकर दुर्घटनामा जान्छ’ भन्ने । दुर्घटना कसले गर्छ भन्दा ‘मैले गर्छु’ भन्ने ? थाहा छ भने किन गर्ने दुर्घटना ? ‘संविधानसभामा उत्पात हुन्छ’ भन्ने । कसले गर्छ भन्दा ‘मैले गर्छु’ भन्ने ? किन गर्ने ? थाहा रहेछ नि अनिष्टमा जान्छ मुलुक † कतैबाट आएर उल्कापात त हुने होइन यहाँ । ‘मैले भनेको खुरुक्क मान्नुपर्छ होइन भने तोडफोड गर्छु, हान्छु, कुटमार गर्छु, माइक हान्छु’ भन्ने यो कुन चाहिँ अभ्यास हो ?
सभामुखलाई हामीले शुक्रबार नै प्रक्रिया अगाडि बढाउँ भनिसकेका थियौं । प्रक्रियामा असहमत हुनेहरूले नै सभामुखलाई ‘आज नगरिदिनोस्, आइतबारसम्म पर्खिदिनोस्, आइतबार तपाईंले गरे हुन्छ, हामी मान्छौं’ भनेछन् । बेलुका गएपछि फेरि अर्कै खिचडी पाक्यो । फेरि अझ सशक्त प्रतिवाद इत्यादि भन्दै सुरु भयो । यसो हेरेको सिटमा राम्ररी बसेका पनि छैनन्, गेट सेट पोजिसनमा छन् । सीधा पोजिसनमा बसे त हुन्थ्यो नि राम्रोसँग † संविधानसभा सुरु हुन पाएको छैन दौडधुप र कुदाकुद सुरु भइसक्यो ।
एउटा भ्रम तोडिएको छ । यो भ्रम अब तोडिँदै जान्छ । संविधान जारी गर्ने पक्षमा हामीसँग ७५ प्रतिशत मत छ । ७५ प्रतिशतभन्दा बढी संख्याले संविधान हुनुपर्छ भन्छ । लगभग यो संख्या ८० प्रतिशत पुग्नसक्छ । त्यतिले संविधान बनाउनुपर्छ भन्दा पनि दुई–चार जनाले विरोध गरेपछि यो देशमा संविधान नै नआउने ? विचित्रको कुरा छ ।
म नेकपा (एमाले)को तर्फबाट देशभित्र र बाहिरका सबै मित्रहरूलाई भन्न चाहन्छु– हामी संविधान बनाएरै छोड्छौं । यो दोस्रो संविधानसभालाई असफल हुन दिँदैनांै । कुनै मायाजाल वा कुनै मायावी खेलले लठ्ठिएर एमाले ढलपल गर्दैन ।
संविधानसम्मत, नियम संगत र नियमावलीसम्मत ढंगले नेपाली जनताले दिएको आदेश अनुसार त्यो आदेश कार्यान्वयन गरिन्छ । हामीलाई नेपाली जनताले सबै लोकतान्त्रिक शक्तिहरू मिलेर संविधान जारी गर्न आदेश दिएका छन् । यो कार्यान्वयन गर्ने कुरामा नेकपा (एमाले)ले आफनो प्रभावकारी भूमिका दृढताका साथ अगाडि बढाउँछ ।
हदभन्दा सीमापार गरिसकेपछि प्रक्रिया अगाडि बढ्छ भन्ने कुरा आज सावित गरिएको छ । कुनै धाकधक्कु, यसो भयो भने उसो हुन्छ भनेर धम्की दिएका भरमा, फोड्ने, तोड्ने कुराका भरमा हामी संविधान निर्माण गर्ने कामबाट पछि हट्दैनौं । फोड्ने, ताड्ने जेसुकै कुरा आए पनि संविधान जारी गरेरै छाडिन्छ ।
सहमतिका नाममा कुनै सहमति हुने छैन । अस्ति शुक्रबार ‘आइतबारसम्म रोकौं, मान्छौं’ भने । सभामुखले पनि भन्नुभयो, आइतबारसम्म उनीहरूले मान्छन् भने ठीक छ । तर, उनीहरूको मान्ने कुरा थिएन । हिजोदेखि दश दिनको कुरा आयो सहमतिको ।
अहिले पनि आतंकको भाषा बोलिएको छ । जिल्लामा आक्रमण गर्ने र कार्यालयहरू जलाउने आतंकपूर्ण कामहरू भएका छन् । म सबै आतंक रुचाउनेहरूलाई एकमुष्ट भन्न चाहन्छु, एमालेलाई नजिस्क्याउँ हामीले सहनुको पनि हद हुन्छ । कार्यालयहरू जलाउँदै जाने, हामीले हेरिरहने कुरा हँुदैन । हाम्रा कार्यकर्ताका टाउकाहरू फ्ट्दै जाने, हामी हेर्दै जाने ? हामीमाथि आक्रमण भइरहने, हामी हेर्दै जाने ? यो हुन सक्दैन । जिम्मेवारीबोधको पनि हद हुन्छ । हामीले प्रतिवाद गर्न पर्यो भने के हुन्छ ? भरसक हामी प्रतिवादमा जान चाहँदैनौं । प्रतिवाद गर्नुपर्यो भने धेरै महँगो पर्नेछ ।
म स्पष्ट पार्न चाहन्छु, नेकपा एमाले भनेको मधेसीहरूको पार्टी हो, जनजातिहरूको पाटी हो, दलित–उत्पीडितहरूको पाटी हो । मुस्लिम, पछाडि परेका, अल्पसंख्यक, लोपन्मुखहरूको पार्टी हो । यो महिलाहरूको पार्टी हो । यो सुदूरपूर्व र पश्चिमबासीहरूको पार्टी हो । यो पार्टी खुत्रुकखुत्रुक गरेर बस्ने पार्टी होइन । यसले अभियान चलाउँदा राँटो नराखी चलाउँछ, याद गर्नुस् । अचम्म के छ भने बाघलाई बिरालोले जिस्क्याएको जस्तो भइरहेको छ । हामी किन संयमित छौं, किनकि हाम्रो ध्यान संविधान निर्माणमा केन्द्रित छ । हामी संविधान निर्माणका लागि अत्यन्त संयम राख्न चाहन्छौं । तर, यसको अर्थ यो होइन कि जसले जे गरे पनि एमाले चुप बसोस् सही रहोस् । त्यो हुन सक्दैन । म सरकारलाई भन्न चाहन्छु, त्यस प्रकारका अपराधी तत्त्वहरूलाई कारबाही गर्नुपर्छ । सुनियोजित ढंगले बन्द र हड्तालका नाउँमा तोडफोड गर्ने, आगजनी मच्चाउने, प्रेसमाथि कुटपिट मच्चाउने यी सबै हर्कत बन्द हुनुपर्छ । यो आतंककारी क्रियाकलापबाहेक के हो ? सरकारले यस्ताहरूलाई गिरफ्तार गर्नुपर्छ र मुद्दा चलाउनुपर्छ । जिम्मेवार बनाउनुपर्छ ।
पूर्वतिर हनुमान देउ आयो भनेर मानिस खाँबोमाथि चढ्छन् । जे पायो, त्यही समाउँछन् । उपद्रव गर्छन् । यहाँ कुनै पार्टीलाई हनुमान देउ आउन दिइने छैन ।
हामी पार्टी स्थायी कमिटीको बैठक केही दिनभित्रै गर्नेछौं । यसले सांगठनिकलगायत अरू केही कार्यक्रमिक फैसल्लाहरू गर्नेछ । जिल्ला जिल्लामा गएर व्यापक ढंगले त्यहाँको पार्टी कमिटीसँग मिलेर व्यापक रूपमा एमालेको निध्ति र व्यावहारिक दृष्टिकोण जनतामा लानुपर्छ ।
हामी अब निम्सरा भएर बस्ने बेला छैन । हामीसँग जवाफैजवाफ छ, अरूसँग प्रश्न पनि छैन । असंवैधानिक अराजनीतिक बाटो हिँड्नेहरूसँग प्रश्न के हुन्छ ? हामी त थाक्न भएको छैन । उपद्रकारीहरूसँग भिड्ने अभियानमा लागिएको छ । एउटा गीत छ नि– ‘छातीमाथि ढुंगा राखी हाँस्नुपर्या छ’ त्यस्तै भएको छ । छातीमाथि माइकले हान्दा पनि हाँस्नुपर्या छ ।
(एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीद्वारा आइतबार दलको बैठकमा व्यक्त धारणाको सम्पादित अंश ।)
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply