संघीयता कसका अडान के ?
काठमाडौं । गत मंसिर १७ गते संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभालाई बुझाएको प्रतिवेदनमा संघीयताको सन्दर्भमा राजनीतिक दलहरूका फरक–फरक धारणा उल्लेख छन् । संघहरूको संख्या र तिनको नाममा राजनीतिक दल र तिनका नेताहरूमा रहेको विगतको आनका तानको दूरी क्रमश: छोट्टिएको छ । विगतगमा दर्जन वा सोभन्दा बढी संख्याको कुरा गर्नेहरू अहिले छ देखि नौको वरिपरिमा आइपुगेका छन् । तर, केही राजनीतिक दल, तिनका नेता र बौद्धिक क्षेत्रका मानिने केही व्यक्तिले संघीयताका बारेमा विगतमा गरेका प्रस्ताव हेर्ने हो भने डरलाग्दा छन् ।
संवाद समितिले बुझाएको प्रतिवेदनमा नेपाली कांग्ेरस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन शक्ति पार्टी र स्वतन्त्र दुई सभासद्हरूको सात प्रदेशको साझा प्रस्ताव छ भने अखण्ड नेपाल पार्टीले छ, नेपाल परिवार दलले सात, नेकपा संयुक्तले नौ, नेपाली जनता दलले सात, एनेकपा माओवादीसहितको ३० दलीय गठबन्धनले १०, मधेसी जनअधिकार फोरमले नौ, राष्ट्रिय जनमुक्ति पार्टीले १२, संघीय समाजवादी पार्टीले १३ र थरुहट तराई पार्टीले ११ प्रदेशको प्रस्ताव गरेका छन् । यसरी हेर्दा, संख्यामा दलहरूबीच सहमति हुँदा छदेखि नौको बीचमा नै हुने पक्कापक्की छ । खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका दलले सात प्रदेशको साझा प्रस्ताव बुझाएपछि प्रदेशको संख्याको बहस त्यसैको वरिपरि केन्द्रित छ । हिजो १२/१४ प्रदेशका प्रस्ताव राख्ने अहिले छ वा सात प्रदेशभन्दा माथि जान नसकिने कुरा जबर्जस्त रूपमा राखिरहेका छन् । सबैभन्दा बढी संख्याका प्रदेशको कुरा गर्ने एमाओवादी नै अहिले विकल्पसहितको ६ प्रदेशमा आइपुगेको छ । अचम्म त के भने अहिले धेरै प्रदेश बनाउनु नहुनेमा सबैभन्दा कडा ढंगले एमाले नेतृत्व प्रस्तुत भएको छ । तर, हिजो धेरैजसो एमाले नेताहरूले गरेका प्रस्ताव हेर्ने हो भने ती १२ भन्दा मुनि छैनन्, चाहे त्यो वामदेव गौतम, शंकर पोखरेल वा सुरेन्द्र पाण्डेकै प्रस्ताव किन नहोस् । कांग्रेसले पार्टीमा निर्णय गरेरै अहिले सात प्रदेशको अवधारणा अगाडि सारे पनि विगतमा यसका नेता नरहरि आचार्य, गगन थापाहरू कहिले सात त कहिले नौमा बरालिइरहेका थिए ।
विगतमा केही राजनीतिक दलका अगुवा नेता तथा केही बुद्धिजीवीले संघीयताको नाम र संख्यामा गरेका केही प्रस्तावहरू यस्ता थिए ।
गोविन्द न्यौपाने : १. किराँत २. मिथिला ३. अवधि ४. भोजपुरी ५. ताम्बासालिङ ६. तममगरात ७. थारुवान र ८ खसान ।
भवानी बराल : १. लिम्बुवान २. खम्बुवान ३. कोचिला ४. नेवाल्यान्ड ५. ताम्बासालिङ ६. मधेस ७. तमुवान ८. मगरात ९. थारुवान र १० खसान ।
पर्शुराम तामाङ : १. किराँत २. मिथिला ३. भोजपुरी ४. नेवा ५. ताम्सालिङ ६. तमुवान ७. मगरात ८. थरुहट र ९. खसान ।
वामदेव गौतम : १. विराट, २. मिथिला, ३. सिम्रौन, ४. लुम्बिनी, ५. बुरान–थरुहट, ६. कर्णाली, ७. मगरात, ८. गण्डक, ९. ल्होसार/तमुवान्, १०. सैलुङ/ताम्सालिङ, ११. काठमाडौं/नेवा:, १२. अरूण/किरात, १३. कोसी, १४. तमोर/लिम्बूवान् र १५. नारायणी ।
शंकर पोखरेल : १. विराट, २. तमोर, ३. कोसी, ४. जनकपुर, ५. सुनकोसी, ६. काठमाडौं, ७. सिमरौनगढ, ८. नारायणी, ९. अन्नपूर्ण, १०. लुम्बिनी, ११. कालीगण्डकी, १२. राप्ती, १३. कर्णाली, १४. भावर र १५. खप्तड ।
सुरेन्द्र पाण्डे : १. विराट, २. मिथिला, ३. सिम्रौन, ४. लुम्बिनी, ५. थरुहट (बबई–महना), ६. तमोर, ७. खम्बू (सगरमाथा), ८. सैलुङ–गोसाइँकुण्ड, ९. राजधानी, १०. गण्डकी, ११. सिस्ने–स्वर्गद्वारी, १२. कर्णाली र १३. सेती–महाकाली ।
रामचन्द्र झा : तराईमा बहुप्रदेश : १. विराट, २. मैथिली, ३. भोजपुरा, ४. लुम्बिनी र ५. थरूहट
राजेन्द्र श्रेष्ठ : १. कोसी/कोचिला, २. याकथुङ, ३. खुम्बू ४. जनकपुर, ५. भोजपुर, ६. नेपाल मण्डल, ७. शिसान्त (ताम्सालिङ), ८. तमू, ९. गौतमबुद्ध, १०. मगर/गण्डक, ११. भेरी, १२.थरूहट, १३. कर्णाली र १४. महाकाली ।
गोविन्दराज जोशी : १. पूर्व प्रदेश २. मध्य प्रदेश ३. बाग्मती प्रदेश ४. गण्डक प्रदेश ५. पश्चिम प्रदेश र ६. कर्णाली प्रदेश (चारवटा प्रदेश उत्तर–दक्षिण सीमासम्म अवस्थित) ।
राजेन्द्र गौतम : १. कोसी, २. मकालु, ३. मिथिला, ४. हलेसी, ५. सिन्धुली, ६. उपत्यका, ७. नारायणी, ८. गोरखा, ९. लुम्बिनी, १०. अन्नपूर्ण, ११. दाङ, १२. भेरी, १३. जुम्ला र १४. कर्णाली ।
डा. मंगलसिद्धि मानन्धर, शोभा श्रेष्ठ र पुष्पा शर्मा : १. मिश्रित सुदूरपूर्व, २. लिम्बुवान्, ३. खम्बूवान्, ४. मिथिला/मधेस, ५. मिश्रित पूर्व, ६. नेवा:, ७. ताम्बासालिङ, ८. मिश्रित पश्चिम, ९. मगरात, १०. तमूवान्, ११. थरूहट र १२. खसान ।
सूर्य थापा : १. कोसी, २. मिथिला, ३. काठमाडौं, ४. गोरखा, ५. राप्ती, ६. सिञ्जा र ७. सुदूरपश्चिम । (हिमाल, पहाड र तराईको उत्तर–दक्षिणको भौगोलिक अवस्थितिलाई मिलाएर प्रदेश बनाउनुपर्ने पक्षमा यस खाकाको जोड रहेको छ ।)
धर्मराज पौडेल : १. सप्तकोसी, २. मैथिली, ३. सुनकोसी, ४. बुद्धभूमि, ५. धौलागिरि, ६. राप्ती, ७. कर्णाली र ८. महाकाली ।
महेश चौधरी : तराईमा बहुप्रदेश १. विराट, २. जनकपुर, ३. सिमरौनगढ ४. लुम्बिनी र ५. दंगीशरण
शेरबहादुर तामाङ : १. पूर्वी तराई २. लिम्बुवान् ३. किरात, ४. मिथिला, ५. गौरीशंकर, ६. ताम्सालिङ, ७. नेवा:, ८. भोजपुरा, ९. मध्य, १०. तमू, ११. मगरात, १२. लुम्बिनी, १३. थरुहट, १४. कर्णाली खसान र १५. पश्चिम खसान ।
देव गुरुङ : १. कोचिला २. विजयपुर ३. लिम्वुवान ४. किराँत ५. शेर्पा ६. मधेस ७. तामाकोसी ८. नेवा ९. ताम्सालिङ १०. नारायणी ११. तमुवान १२. रिडी १३. मगरात १४. थारुवान् १५. भेरी–कर्णाली १६. लामा/भोट्या र १७. सेती–महाकाली ।
हिमलाल पुरी, तेजप्रसाद कँडेल र डा. भरत लामिछाने : १ं सगरमाथा (कोसी, भोजपुर र अरूण) २. जनकपुर (मिथिला, सैलुङ र त्रिशूली), ३. लुम्बिनी (नारायणी, गण्डकी, रिडी, धौलागिरि र गोरखा) ४. कर्णाली (जुम्ला र हुम्ला) र काली–कर्णाली प्रदेश (थरुहट, जलजला, भेरी, खप्तड र व्यास ऋषि जिल्ला) ।
भीम रावल : १. कञ्चनजंघा वा किराँत २. विद्यापति वा मध्य तराई ३. कान्तिपुर वा बाग्मती ४. फेवा वा गण्डकी ५. गौतमबुद्ध वा लुम्बिनी ६. रारा वा कर्णाली र ७. खप्तड वा सेती–महाकाली ।
भरतमोहन अधिकारी : १. मेची–कोसी २. जनकपुर ३. राजधानी ४. लुम्बिनी–गण्डकी ५. भेरी–कर्णाली र ६. सेती–महाकाली ।
संघीयताको यो बहसमा धेरैजसो एमालेकै नेताहरू सहभागी भएको देखिन्छ । एमालेसहितले अहिले बुझाएको साझा प्रस्तावमा संख्याका हिसाबले केहीको अवधारणा मिले पनि नाममा कसैको मेल खाँदैन । कांग्रेस, एमालेको साझा प्रस्तावमा कोसी, जनकपुर, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सात प्रदेश उल्लेख छ । संख्याको हिसाबले विगतमा एमाले नेता भीम रावल र सूर्य थापाले मात्र सात प्रदेशको प्रस्ताव गरेका थिए । बरु भरतमोहन अधिकारी र नेपाली कांग्रेसका गोविन्दराज जोशीले त्योभन्दा कम छ–छ प्रदेशको प्रसताव गरेका थिए । विगतमा केही मधेसकेन्द्रित दलहरूले एक मधेस एक प्रदेशको कुरा उठाए पनि अहिले मधेसमा दुई प्रदेश बनाउने कुरामा लगभग सबै राजनीतिक दलहरू सहमत भइसकेको देखिन्छ । पहिले एमालेमै रहेका तर अहिले एमाओवादीमा प्रवेश गरेका रामचन्द झा र एमालेकै अर्का नेता महेश चौधरीले त तराईमा मात्र पाँच प्रदेशको प्रस्ताव गरेका थिए । अघिल्लो संविधानसभाका बेला मदन परियारको अध्यक्षतामा गठन गरेको राज्य पुन:संरचना आयोगले एक दलितसहित ११ जातीय नामसहितका प्रदेशको प्रस्ताव गरेको थियो, जसमा मधेस–मिथिला–भोजपुरा, मधेस–अवध–थारुवान, लिम्बुवान, किराँत, नारायणी, ताम्सालिङ, नेवा:, तमुवान, मगँरात र कर्णाली प्रदेश थिए । यसमा आयोगका सदस्यहरू सर्वध्वज खड्का, रमेश ढुंगेललगायतले छ प्रदेशको फरक प्रस्ताव राखेका थिए, नाम उल्लेख गरेका थिएनन् ।
अहिले संवाद समितिले संविधानसभामा बुझाएको प्रतिवेदनमा दलहरूका निम्न प्रदेश प्रस्ताव छन् :
कांग्रेस–एमाले: १. कोसी २. जनकपुर ३. बाग्मती ४. गण्डकी ५. लुम्बिनी ६.कर्णाली र ७. सुदूरपश्चिम ।
नेपाल परिवार दल : पाँच विकास क्षेत्र र काठमाडांै, भक्तपुर र ललितपुर मिलाएर केन्द्रशासित क्षेत्रसहित सात प्रदेश ।
नेकपा (संयुक्त) : मधेसमा तीन र हिमाल–पहाडमा छ गरी नौ प्रदेश ।
नेपाली जनता दल : १. सीताराम/विराट २. भृकुटी/सगरमाथा ३. मञ्जुश्री ४. पृथ्वी ५. कर्णाली ६. खप्तडभूमि र ७. बुद्धभूमि ।
एनेकपा (माओवादी)सहितको ३० दलीय गठबन्धन: १. लिम्बुवान २. किरात/खम्बुवान ३. शेर्पा ४. ताम्सालिङ/तामाङसालिङ ५. नेवा: ६. तमुवान ७. मगरात ८. थरुहट/थारुवान ९. कर्णाली/खसान र १०. मधेस प्रदेश ।
मधेसी जनअधिकार फोरम नेपाल : १. लिम्बुवान २. किराँत ३. तामसालिङ ४. मगरात ५. नेवा: ६. नारायणी ७. तमुवान ८. मधेस/तराई र ९. कर्णाली/खसान ।
राष्ट्रिय जनमुक्ति पार्टी : १. लिम्बुवान २. खम्बुवान ३. तामाङ ह्यूल ४. नेवा: ५. तमु ग्याल्सा ६. मगरात ७. खसान/कर्णाली ८. थरुहट ९. दलित/सयपाल/खप्तड १०. कर्णाली ११. भोजपुरा र १२. मिथिला ।
संघीय समाजवादी पार्टी : १. लिम्बुवान २. किराँत ३. ताम्सालिङ ४. शेर्पा ५. नेवा: ६. तमुवान ७. मगरात ८. जडान ९. खसान १०. थारुवान/थरुहट ११. मधेस १२. संघीय राजधानी र १३. शिल्पी (विशेष व्यवस्था) ।
थरुहट तराई पार्टी नेपाल : १. थरुहट स्वायत्त २. मध्य तराई सिम्रौनगढ ३. पूर्वी थरुहट कोचिला ४. लिम्बुवान ५. खुम्बुवान ६. ताम्सालिङ ७. नेवा: ८. तमुवान ९. मगरात १०. खसान र ११. खप्तड
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply