झापा विद्रोहको विरासत खोज्दै
काठमाडौं । गत फागुन २१ गते एमाले केन्द्रीय कार्यालय बल्खुमा सहिद स्मृति दिवस आयोजना गर्नु संयोग मात्र थिएन । २०२९ फागुन २१ गते सुखानीको जंगलमा हत्या गरिएका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजबंशीको स्मृतिमा सधैँ सहिद दिवस मनाउँदै आएको एमालेले पहिलो पल्ट बल्खु नै रोज्नुमा त्यही आन्दोलनका उत्पादन केपी ओली नेतृत्वमा पुग्नुसँग नाता जोडिएको छ । अझ त्यसअघि झापा आन्दोलनकै एक हस्ती राधाकृष्ण मैनालीलाई केन्द्रीय कमिटीमा ल्याउने ओलीको पहलले पनि यससँग सम्बन्ध राख्छ । यसबाट ओलीले झापा आन्दोलनको विरासत बोक्न खोजेको देखिन्छ ।केही दिनअघि केन्द्रीय कमिटी सदस्य मनोनयन गर्दा पनि ओलीले त्यस कुरालाई ख्याल गरेका थिए । घनेन्द्र बस्नेत त्यही झापा आन्दोलनका एक योद्धा हुन्, जो १६ वर्ष जेल बसेका छन् । अहिले उनी पार्टीको खास कमिटीमा थिएनन्, महाधिवेशनमा पनि उम्मेदवार बनेनन् । दुई पटक सांसद र १५ वर्ष केन्द्रीय कमिटी सदस्य भइसकेका बस्नेतले केन्द्रीय सदस्य बन्ने चाहना राखेपछि ओलीले नाइँ भन्न सकेनन् ।
केही समयअघि रिक्त संविधानसभा सदस्यमा पार्टीले गर्नुपर्ने सिफारिसमा अध्यक्ष ओलीले पार्टीमा निर्णय नगराएरै नाम पठाए । त्यसमा ओलीका वरिपरिकाको बाहुल्य हुने त भइहाल्यो । एउटा फरक नाम पनि थियो– नरेश खरेल । सबभन्दा बढी १७ वर्ष जेल बसेका खरेल झापाकै भए पनि महाधिवेशनमा ओलीका पक्षमा थिएनन् । तर पनि, ओलीले संविधानसभा सदस्य बनाउनुमा झापा आन्दोलनले नै काम गरेको बुझ्न सकिन्छ । एमालेभित्र लामो समय निष्ठाका साथ काम गरेर कुनै सुविधाको पद नपाउनेमा नरेश बिरलै नेतामध्ये पर्दछन् । संविधानसभामा समानुपातिकतर्फबाट एमालेले जम्मा १२ जना बाहुन क्षेत्री पठाउन पाउँदा पनि मनकुमार गौतम अटाए । लामो समय वामदेव गौतमलाई साथ दिएका मनकुमारले पछिल्लो पटक उनलाई छोडेर ओलीलाई त साथ दिएका थिए, साथै त्यतिबेला झापा आन्दोलनका एक योद्धाका रूपमा उनको नाममा सहमति भएको थियो ।
समानुपातिक सभासद् चयनकै क्रममा केन्द्रीय कमिटीमा रहेका महिलाबाहेक दुई जना महिला छान्दा एक जना जीवनकुमारी घिमिरे छानिनुमा पनि झापा आन्दोलनले नै काम गरेको थियो । सहिद नेत्र घिमिरेकी पत्नी जीवनलाई सम्झेर एमालेले संविधानसभा सदस्य बनाएको थियो ।
यसअघि पनि एमालेले झापा आन्दोलनलाई सम्झिँदै नसम्झेको चाहिँ होइन । सहिद रामनाथ दाहालकी कान्छी श्रीमती विश्वेश्वरालाई राष्ट्रियसभा सदस्य बनाएको थियो भने त्यही आन्दोलनकी एक निडर कार्यकर्ता गौरा प्रसाईं पहिला राष्ट्रियसभा सदस्य थिइन्, जो अहिले संविधानसभा सदस्य छन् ।
लामो समयदेखि एमालेमाथि लाग्दै आएको आरोप हो– यसले झापा आन्दोलनलाई बिर्सियो, त्यसका योद्धाहरूलाई सम्झिएन । एमालेले ०२८ सालमा झापामा ‘वर्गशत्रु सफाया’का नाममा सुरु गरेको व्यक्तिहत्यालाई गल्ती स्वीकारेको लामो समय बितिसकेको छ । त्यही कारण एमालेले झापा आन्दोलनको विरासत बिर्सिएको आरोप लाग्ने गरेको छ । खासगरी, माओवादी कित्ताबाट हिजो युद्धका बेला यस नारालाई चर्काइयो र कतिपय झापा आन्दोलनकालीन कार्यकर्तालाई भड्काइयो पनि । तीमध्येका भीष्म धिमाल एक हुन्, जो झापा काण्डमा परेर १४ वर्ष जेल बसेका थिए । एमाले कम क्रान्तिकारी बन्दै गएको भन्दै माओवादी रोजेका उनी ०६४ सालमा संविधानसभाका सदस्य पनि बने । तर, राजनीतिमा उनको नाम कतै सुनिएन र अहिले ललितपुरमा तरकारी खेती गरेर बसेका छन् । चार वर्षअघि बल्खुमा एउटा दुर्घटना भयो, जसबाट सिंगो एमाले पंक्ति मर्माहत भयो । झापा आन्दोलनमा परेर १४ वर्ष जेल बसेका डिगेन राजवंशीले एमालेको केन्द्रीय कार्यालयमा झुन्डिएर आत्महत्या गरे । त्यसबाट आहत भएका एमाले नेताहरूले पछिल्ला दिनमा झापा आन्दोलनका योद्धाहरूलाई बढी नै सम्झिन थालेका छन् ।
के थियो झापा आन्दोलन ?
अहिलेको एमालेको पृष्ठभूमि तयार पार्ने र कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभियानमा झापा आन्दोलनलाई कोसेढुंगाका रूपमा लिइन्छ । खासमा अर्धशिक्षित युवाहरूद्वारा छिमेकी भारतमा चलिरहेको चारु मजुमदारको नक्सलवादी आन्दोलनको नक्कल गर्दै ०२८ सालमा सुरु गरिएको थियो, झापा आन्दोलन । सुरुमा पूर्वकोशी प्रान्तीय कमिटीबाट विद्रोह गरेका राधाकृष्ण मैनाली, बीचमा केपी ओली र त्यसपछि लामो समय सीपी मैनालीको नेतृत्वमा सुरु भएको हिंसात्मक आन्दोलनमा आठ जनाको ज्यान गुमेको थियो । ‘वर्गशत्रु खत्तम’ भन्दै ‘सामन्तका टाउका गिँड्ने’ क्रममा ज्यामिरगडीका कर्णबहादुर गौतम, सालवाडीका बुटन चौधरी, गरामुनीका विष्णु विमली र ..चुडाल, उद्रकान्त राजवंशी, शनिश्चरे हात्तीकिल्ल्लाका धर्मप्रसाद ढकाल र ज्ञानेन्द्र ढकाल तथा दुहागडीका ज्ञानबहादुर कार्कीले ज्यान गुमाए । त्यसबाट झापा जिल्ला मात्र होइन, देशै तरंगित भयो । त्यही आन्दोलन अन्तत: कम्युनिस्ट आन्दोलन पुनर्गठनको ऐतिहासिक बिन्दु बन्न पुगेको पाइन्छ ।
को–को परे पक्राउ ?
एकपछि अर्को गर्दै धमाधम हत्या हुन थालेपछि आत्तिएको सरकारले त्यसपछि व्यापक मात्रामा धरपडक सुरु गर्यो । त्यसपछि सुरु भएको धरपकडबाट ५ सय २५ जना गिरफ्तार भए । राधाकृष्ण मैनालीको सम्झना अनुसार, तीमध्ये ९५ जनालाई मुद्दा चलायो र १० जनालाई १० वर्षभन्दा माथिको कैद सजाय सुनाइयो । ०२९ कात्तिकमा पक्राउ परेकामध्ये पाँच जनालाई जेल सार्ने निहुँमा सुखानीमा पुर्याएर हत्या गरेपछि त्यसैमा टेकेर कम्युनिस्टहरूलाई संगठन विस्तार गर्न मद्दत पुगेको पाइन्छ। झापा आन्दोलनका क्रममा भएका ज्यादतीहरूको लेखाजोखा नै छैन । सरकारले चलाएको अन्धाधुन्ध धरपकडबाट राजनीतिसँग सरोकारै नभएकाहरू पनि पक्राउ परे, जसले उनका परिवारलाई स्वत: आन्दोलनप्रति सहानभूतिशील बनाइदियो । पक्राउ परेकामध्ये छविलाल राजवंशी, हरिकृष्ण चौधरी, भेत्ला राजवंशी र हेम खड्काको त जेलमै निधन भयो ।
त्यतिबेला पक्राउ परेकामा राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली, खड्गप्रसाद ओली, मोहनचन्द्र अधिकारी, नरेश खरेल, दधिराम उप्रेती, खड्गप्रसाद दाहाल, हर्क खड्का, जीवन मगर, डिल्ली शिवकोटी, डिगेन राजवंशी, गुलुम राजवंशी, रामगुलाम चौधरी, टेकप्रसाद चौधरी, प्रेमप्रसाद उप्रेती, धर्मप्रसाद घिमिरे, खड्गबहादुर थापा, सोम सतार, ईश्वरीप्रसाद संग्रौला, गंगाप्रसाद उप्रेती (शरणमती), लोकनाथ ओली, कृष्णप्रसाद सेढाईं, नारद वाग्ले, दिलबहादुर खड्का, सीता खड्का, लीला कट्टेल, घनेन्द्र बस्नेत, रामप्रित चौधरी, वीरबहादुर श्रेष्ठ, ज्ञानबहादुर कार्की, मंगलमणि सतार, गंगाप्रसाद भारती, जगतबहादुर कुमाल, डिगनाथ दंगाल, भीष्म धिमाल, हरिभक्त गिरी, अमरबहादुर गिरी, मसला धिमाल, शेरबहादुर निरौला, तुलसी सेलवाल, टंक घिमिरे, राजेन राजवंशी, अमरबहादुर कार्की, लाखबहादुर तामाङ, अमर अधिकारी, मनकुमार गौतम, मानकुमार तामाङ, भीम खड्का, भोगेन राजवंशी, भेत्ला राजवंशी, छविलाल राजवंशी, हरिकृष्ण चौधरी, जेठु सतार, जगदीश उराव, बलबहादुर थापा, गोपाल भट्टराई, सुशील खरेल, गौरा प्रसाईं, श्रीराम गिरी, तारानिधि भूर्तेल, भीमबहादुर कुँवर, गोविन्द न्यौपाने, रामचन्द्र दाहाल, चन्द्र उप्रेती, बद्री उप्रेती, नारायण उप्रेती, बृहस्पति उप्रेती, नरप्रसाद उप्रेती, योगेन्द्र ढकाल, तेजराज खतिवडा, सानो दुर्गा अधिकारी र ठूलो दुर्गा अधिकारी थिए ।
पक्राउ पर्दापर्दै नढियावाडीमा चन्द्र डाँगी र बुधबारेमा रामप्रसाद प्रधानलाई गोली हानी हत्या गरिएको थियो । १६ जनाका नाममा पुर्जी भए पनि उनीहरू फरार भएका थिए ।
ओलीबाट अपेक्षा
झापा आन्दोलनको पृष्ठभूमिमा स्थापित हालको एमालेमा त्यही आन्दोलनका अगुवाले नेतृत्व गरेको पहिलो पटक भएकाले होला, त्यतिबेलाका योद्धा र तिनका परिवारले ठूलो अपेक्षा गरेका छन् । कुनै बेला एमाओवादीको आलोचना गर्नुपर्यो भने ‘तिनीहरूले के सोचेका छन्, म पनि पहिलाको उग्रपन्थी हुँ’ भन्दै ओली आफ्ना कुरा राख्ने गर्छन् ।
झापा आन्दोलनका बेला सँगसँगै नेतृत्व गरेका र जेल बसेका राधाकृष्ण मैनाली भन्छन्– ‘भूमिगत कालको कुरालाई छोड्ने हो भने पहिलो पटक झापा आन्दोलनबाट आएको नेतृत्वले जिम्मा पाएको बेला कार्यकर्तामा अपेक्षा हुनु स्वाभाविकै हो र ओलीले पनि त्यो दायित्व पूरा गर्नुपर्छ ।’
ओलीले आफूलाई भेट्न जाने कार्यकर्तासँग कार्यकर्ता मूल्यांकनको आधारमा इतिहास र न्यायलाई बनाउने बताउँदै आएका छन् । हिजो अन्यायमा परेका कार्यकर्तालाई न्याय दिने र इतिहास भएकाहरूलाई यथोचित जिम्मेवारी दिने आफ्नो मापदण्ड उनले गुटबाट मुक्त भएर कार्यान्वयन गर्न सक्छन् वा सक्दैनन्, तर झापा आन्दोलनले चाहिँ उनी नेतृत्वमा आएपछि महत्त्व पाएको कार्यकर्ताले देख्न पाएका छन् ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply