एमालेले गर्नुपर्ने काम यस्ता छन्
नेकपा (एमाले) नेपालको प्रमुख र निर्णायक शक्ति हो । गणितीय रूपमा यतिबेला संविधानसभामा दोस्रो पार्टी भएता पनि आजका लागि राजनीतिक वैचारिक रूपमा राष्ट्रलाई मार्गदर्शन गर्ने, वर्तमान समस्याको निकास दिने र संविधान निर्माणमा भूमिका खेल्ने हिसाबले देशको प्रमुख शक्ति हो एमाले । सर्वाधिक लोकप्रिय भएर पनि संविधानसभा निर्वाचनमा आफ्नै आन्तरिक कमजोरी र केही प्राविधिक कारणले पहिलो पार्टी बन्न नसके पनि राम्रोसँग अघि बढ्ने हो भने देशको पहिलो शक्ति बन्ने हैसियत एमालेसँग छ । कस्तूरीले आफूसँग ‘बिना’ रहेको पत्ता नपाएर त्यसको सुगन्धले भौतारिएजस्तै नगर्ने हो र एमालेले आफूभित्रको असाधारण शक्ति र जनताको समर्थनलाई बुझेर अघि बढ्न सक्ने हो भने एमालेको अग्रगति र व्यापकतालाई कसैले रोक्न सक्दैन । त्यसका लागि सिंगो पार्टी, पार्टी नेतृत्व र पार्टी पंक्ति झिना मसिना स्वार्थ र लिप्सामा अल्झिएर होइन, बृहद् रूपमा सोच्ने, फराकिलो ढंगले अघि बढ्ने र हात्तीझैं अटलतासाथ अग्रगतिमा लम्कनु जरुरी छ । यतिबेला पार्टीभित्र देखापरेका समस्याहरूको तत्काल समाधान निकालेर पार्टीलाई एकढिक्का बनाउने र हाम्रा आजका कार्यभार पूरा गर्ने दिशामा अघि बढ्नु जरुरी छ ।
पार्टीको आन्तरिक जीवनमा एकता
महाधिवेशनदेखि भत्किएको एमालेको आन्तरिक एकता पछिल्लो समयमा स्थायी कमिटी र पोलिटब्युरो गठनमा केही हदसम्म सम्हालिएको थियो । त्यसले पार्टीमा एकताको सन्देश सञ्चारित भयो । लगत्तै केन्द्रीय सदस्यहरू मनोनयनदेखि नै यो एकता चर्किन थाल्यो र यतिबेला केन्द्रीय कमिटीको कार्यविभाजनसम्म आउँदा झन् धेरै धाँजा परेको छ । पार्टीमा गुटबन्दी अन्त्य गर्ने भाषण जतिसुकै भए पनि हरेक स्टेपमा गुटबन्दीका टुटुल्काहरू देखिने गरेका छन् । यो एमाले पार्टी सबैको साझा धरोहर हो । यो पार्टी धेरैको त्याग, समर्पण र कुर्वानीले निर्माण भएको हो । एउटै घरका परिवारका सदस्यमध्ये कोही घरभित्र राइँदाइँ गर्ने र कोही ढोका बाहिर बसेर टुलुटुलु हेर्ने, कतिबेला ढोका खुल्ला, कतिबेला खान देलान् भनेर ढुकेर बस्ने या आफ्नै घरमा पनि दयाको भिक्षा मागेर बस्नुपर्ने भएपछि उनीहरूलाई कस्तो ‘फिलिङ’ हुन्छ होला । हिजो सँगसँगै योगदान गरेका योद्धाहरू कोही काखा कोही पाखा हुँदा, पार्टी परिवारभित्र नै विभेद हुँदा निश्चित रूपमा समस्या उत्पन्न हुन्छ ।
हामीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा विभिन्न निर्वाचनहरूमा प्रतिस्पर्धा गर्यौं, यसमा स्वाभाविक रूपमा अन्यथा कसैले ठान्नु हँुदैन पनि । तर, के पार्टी भनेको जितेकाहरूको मात्र हो ? जित्नेले दम्भ र नजित्नेले कुण्ठा देखाएर पार्टी गतिशील ढंगले चल्न सक्ला ? यो आजको एमालेका सामु जबर्जस्त खडा भएको प्रश्न हो । पार्टीमा महाधिवेशनका धङधङीले काम गर्नु र अहिले पनि कित्ताबन्दी हुनु एमालेको प्रगतिको बाधक हो । हिजो एकताको सन्देश जाँदा एमालेको सिंगो पंक्ति र जनतामा कति खुसियाली सम्प्ेरषित भएको थियो भन्ने कुरालाई नेतृत्वले हेक्का राख्ने कि नराख्ने ? पार्टीको विकासका लागि आन्तरिक एकता मूल कडी हो । यसै कुरालाई ध्यानमा राखेर यतिबेला पार्टीको शिरदेखि तीरसम्म र जनसंगठरूपी हाँगाबिँगाहरूमा देखापरेका समस्याहरूको समाधान गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न नेतृत्वले दृढ इच्छाशक्ति देखाउन जरुरी छ ।
एमालेका जनसंगठनहरूको समस्या समाधान
यतिबेला एमालेका जनसंगठनहरू कि निस्क्रिय र निस्प्रभावी छन्, कि आन्तरिक गुटबन्दी र अन्तरविरोधबाट थिलथिलो छन् । सबैभन्दा चर्को विवाद युवा संघमा छ । युवा संघको विवाद सडकमा नै छताछुल्ल भएको छ । अनेरास्ववियु र अन्य संगठनहरू पनि समस्यामुक्त छैनन् । आँखाअगाडि यति ठूलो समस्या देखेर पनि अभिभावकको रूपमा रहेका पार्टी र नेतृत्व मूकदर्शक भएर बस्न मिल्छ ? यो समस्या बढ्दै जाँदा ‘क्रोनिक’ बन्छ र अनि सम्हाल्नै नसकिने बिन्दुमा पुग्छ । यसले पार्टीलाई नाफा कि घाटा ? एउटा व्यापारीले त नाफा घाटाको हिसाब गर्छ भने पार्टीले आफ्नै दैलोमा देखिएको समस्या किन समाधान नगर्ने ? हिजो अखिलमा देखिएको त्यति जटिल समस्याको पनि कार्यदलमार्फत समाधान दिन सकिएको थियो । आज किन समस्या समाधानमा ढिलाइ ? यो जग हँसाइमा पार्टी नेतृत्व किन मौन ? हामी आफंै निर्णय गर्छौं, आफंै त्यसलाई उल्लंघन गर्छौं । युवा संघका दुवै कार्यक्रम स्थगित गर्ने निर्णय किन कार्यान्वयन हुन सकेनन् ? यसमा निर्णयको ठाडो अवज्ञा कसले गर्यो ? निर्देशनअनुसार को चलेन ? यी सबै कुराको तत्काल छानबिन गरी गल्ती गर्नेलाई आवश्यक कारबाही गर्ने र संगठनभित्रको समस्या समाधान गरेर युवा संघलाई एकताबद्ध गर्न ढिला गर्नु हँुदैन ।
राजनीतिक वैचारिक कामको योजना
यतिबेला पार्टीको राजनीतिक वैचारिक कामको गति निकै धिमा छ । महाधिवेशनको म्यान्डेट अनुसार वैचारिक कामको योजना बन्नुपर्ने हो, त्यसतर्फ हाम्रो ध्यान जानै सकेको छैन । पार्टीको पाँचौं महाधिवेशनदेखि आरम्भ भएको विचार निर्माणको कामलाई नवौं महाधिवेशनमा निर्णायक मोडमा पुर्याउन सकियो । अर्थात नेपाली समाजको चरित्र, समाजमा रहेका अन्तरविरोधहरू, २०६२/६३ को जनक्रान्तिप्रतिको हेराइ र नेपाली क्रान्तिका भावी कार्यभारसमेतका सवालहरूमा पार्टीले नयाँ, ठोस र ऐतिहासिक निष्कर्षहरू निकालेको छ । ती निष्कर्षहरूबाट सिंगो पार्टी पंक्तिलाई ओतप्रोत गर्नुपर्नेमा यतिबेला वैचारिक काम मुर्झाएको छ । मान्छे दिमागबाट चलेजस्तै पार्टी विचारबाट चल्छ । वैचारिक राजनीतिक काम भुत्ते भयो भने पार्टी खिइँदै, धसिँदै जान्छ भन्ने कुरालाई हेक्का राखेर योजनाबद्ध रूपमा वैचारिक कामको सम्पादन गरिनुपर्छ ।
कार्यविभाजन र संगठनात्मक कामको योजना
महाधिवेशन भएको एक वर्ष पुग्न लाग्यो तर अहिलेसम्म केन्द्रीय कमिटीको कार्यविभाजन हुन सकेको छैन । कार्यविभाजन नहँुदा पार्टी काम असरल्ल भएको छ । यो काम तत्काल गर्नुपर्ने त छँदैछ । कार्यविभाजन गर्दा गुटीय आग्रह, पूर्वाग्रह र को हाम्रा भन्ने कुराबाट होइन, पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर व्यक्तिको योग्यता, क्षमता, सक्रियता, विशेषज्ञता र पार्टीको आवश्यकतालाई ध्यानमा राखेर गरिनुपर्छ । केही व्यक्तिलाई कामको बोक्नै नसक्ने भारी र कसैलाई कामका लागि उचित जिम्मा नदिने अवस्था हुनु हँुदैन । कार्यविभाजनका स्पष्ट मापदण्ड बनाएर, एक व्यक्तिलाई एक प्रमुख र बढीमा एक सहायक जिम्मेवारी दिनुका साथै दोहोरो जिम्मेवारी नहुने व्यवस्था गरिनुपर्छ ।
नेता, कार्यकर्ताको उचित व्यवस्थापन
धेरै नेता कार्यकर्ता यतिबेला असंगठित छन् । महाधिवेशनपछिको एक वर्ष हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन भएर बसेका छन् । काम नहुँदा दिमाग खुराफाती हुन्छ, जसले गर्दा कतिपय मान्छेलाई गुटबन्दी गर्ने मलिलो अवस्था सिर्जना भएको छ । देशभरि छरिएर रहेका कमरेडहरूलाई पार्टी काममा लामबद्ध गर्न तत्काल केन्द्रीय निकायहरूलाई पूर्णता दिने, राष्ट्रिय परिषद्को गठन र अञ्चल समन्वय कमिटीहरू बनाउनुपर्नेछ । यसरी नै सिंगो एमाले पंक्ति, हजारौं नेताहरू उत्साहका साथ पार्टी काममा होमिनेछन् ।
पार्टी प्रवेश र तिनको व्यवस्थापन
पार्टी प्रवेशको कार्य छिटफुट रूपमा भए पनि यो काम योजनाबद्ध रूपमा हुन सकेको छैन । तलदेखि माथिसम्मका धेरै व्यक्ति विभिन्न वामपन्थी र गैरवामपन्थी पार्टीहरूबाट समेत एमालेमा समाहित हुन तम्तयार भएर बसेका छन् । पार्टीमा साँचो एकता प्रदर्शन गर्न सकेमा एमालेमा आकर्षित हुनेको संख्या अझै बढ्नेछ । हामीले पार्टीमा यसै कामका लागि अलग संयन्त्र बनाएर पार्टी प्रवेश र विभिन्न साना वामपन्थी पार्टीहरूसँग एकीकरणको प्रक्रियालाई तीव्रता दिनुपर्नेछ । यो पनि पार्टी कामको महत्त्वपूर्ण क्षेत्र हो ।
सरकार सञ्चालन र जनकार्य
एमालेका मन्त्रीहरूलाई कांग्रेस र कर्मचारीहरूले थाङ्नामा सुताएको चर्चा बारम्बार चल्दै आएको छ । सरकारमा एमालेको भूमिका साँच्चिकै धेरै कमजोर छ । विकास निर्माणका काम, जनता र कार्यकर्ताका समस्या समाधानमा सरकारमा गएको हाम्रो टिमले सक्षमता देखाउन सकेको छैन । यो सरकार हाम्रो पनि हो भन्ने अनुभूति एमाले वृत्तमा कहरीँ कतै पनि छैन । सरकारमा हाम्रो उपस्थिति किन यति निरीह, कमजोर र प्रभावहीन रहन गयो । यसको समीक्षा गरेर समाधानका उपाय खोज्नै पर्नेछ । त्यसो हुन नसके सरकारमा रहनुबाट पार्टीलाई फाइदा होइन, यो पार्टीका लागि प्रत्युत्पादक हुनेछ ।
स्थानीय निकायको निर्वाचन
एमाले यतिबेला सरकारको प्रमुख साझेदार हो । वषौंदेखि स्थानीय निकायहरू खाली हुँदा जनताले ठूलो सास्ती भोगिरहेका छन् । स्थानीय निकायहरू जनप्रतिनिधिविहीन हुँदा एकातिर विकासका काम अस्तव्यस्त छन्, विकास बजेटमा ठूलो घोटाला भएको छ भने अर्कोतिर जनताले पाउनुपर्ने सामाजिक सुरक्षालगायतका सेवा सुविधा प्राप्त गर्नमा ज्यादै कठिनाइ भएको छ । लोकतन्त्रका जग ठानिएका स्थानीय निकायको निर्वाचन अहिलेको प्राथमिकतामा पर्नैपर्ने एजेन्डा हो । एमालेका लागि स्थानीय निकायको निर्वाचन गराउनु एक प्रमुख दायित्व हो । त्यसो भए एमाले यसमा किन गम्भीर भएन भन्ने प्रश्न चौतर्फी छ । त्यसकारण एमाले स्थानीय निकायको निर्वाचन तत्काल अर्थात जेठसम्म गराउनका लागि पूर्ण रूपमा लाग्नुपर्छ ।
संविधान निर्माणमा एमालेको भूमिका
देशको एक प्रमुख राजनीतिक दल र सबैले आशा र भरोसा गरेको पार्टी हुनुका नाताले एमालेप्रति धेरैको अपेक्षा पनि छ । तर, एमालेले आफ्ना एजेन्डा छोड्दै हिँड्यो भन्ने आरोप छ । पछिल्लो समयमा एमाले नेताहरूका अभिव्यक्ति कडा भए भन्नेदेखि संविधान बनाउन अवरोध पुर्याउने दलको रूपमा ‘चार्ज’ लागेको छ एमालेलाई । हाम्रा कमजोरी छन् भने सच्चाउने र फतुर आरोप हुन् भने कसैले आरोपित गर्न नपाउने गरी त्यसको खण्डन वा ‘काउन्टर’ गर्ने हाम्रो नीति योजना के छ ? एमालेले लिएका कतिपय अडानहरू सही छन् तर एमालेलाई नै किन त सम्पूर्ण दोष ? अनि एमालेलाई नै किन सबैको प्रहार ? यसको यथार्थ विशलेषण गर्ने र आफ्नो रणनीति बनाउनु जरुरी छ । जे होस् एमाले सहमति र संविधानका लागि अगुवा शक्तिको रूपमा उभिनुपर्छ । भोलि राष्ट्रको रूपान्तरण र समृद्धिको अभियानमा नेतृत्व गर्ने जिम्मा पनि एमालेकै हो । संविधानका जनपक्षीय र राष्ट्रवादी एजेन्डामा अटल रूपमा उभिँदै संविधान निर्माणका लागि सम्पूर्ण रूपमा सक्रियतासाथ नेतृत्वदायी भूमिका खेल्नु एमालेको यतिबेलाको प्रमुख कार्यभार हो ।
अन्त्यमा,
विरोधीहरू एमालेको ‘जोखाना’ हेरेर बसेका छन् । एउटै स्वर र लयमा एमालेमाथि चौतर्फी प्रहार केन्द्रित छ । पार्टीमा रहेका हर समस्याको विधि र प्रक्रियासम्मत तरिकाले समाधान गर्ने, पार्टी कामका व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्ने र सुदृढ पार्टी एकताका साथ अघि बढ्ने हो भने नेकपा (एमाले)को अग्रगति र सुदृढीकरणको महायात्रा कसैले रोक्न सक्दैन र एमाले निरन्तर आफ्नो लक्ष्यमा सफल हुनेछ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply