निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’मा निजीको नजर
![निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’मा निजीको नजर निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’मा निजीको नजर](https://ebudhabar.com/wp-content/uploads/2015/04/deepak.jpg)
काठमाडौं । नेपाल वायुसेवा निगमले गर्दै आएको वायुयानको भूमिस्थ प्रबन्ध अर्थात् ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा निजी कम्पनीहरूले नजर लगाउन थालेका छन् । निगमभित्रै लामो समय काम गरेर अवकाश पाएका र अहिले पनि कार्यरत केही कर्मचारीहरूले विगत लामो समयदेखि सो सेवा निगमबाट खोसेर निजी कम्पनीलाई दिन लबिङ गर्दै आएका छन् । कर्मचारी संघ–संगठनहरूको विरोधका कारण हालसम्म सो सेवा अन्य कम्पनीलाई नदिए पनि पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यलाई माफियाहरूको गिरोहले ‘सकारात्मक’ बनाइसकेको थाहा हुन आएको छ ।
एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालका आजीवन स्वकीय सचिव दीपकचन्द्र अमात्य अन्तत: निगमले अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गर्न नहुने पक्षमा उभिएका छन् । निगमले सोही कामबाट मात्र आम्दानी बढाउन सफल भएकाले सो काम निजी क्षेत्रलाई दिन नहुने पक्षमा चिन्ता जाहेर गर्न पुग्नेहरूलाई उनले ‘निगमले त आफ्नै काम गर्ने हो नि, त्यो उसको कामै होइन’ भनेर जवाफ दिने गरेको बताइन्छ । नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक गणेश ठाकुरलगायतको समूह सो काम निजी क्षेत्रलाई दिनुपर्छ भनेर लबिङमा लागिरहेका बेला मन्त्री अमात्यलाई पनि प्रभावित पारिसकेकाले उनले यस्तो भाषा बोल्न थालेको निगमका कर्मचारीहरू बताउँछन् ।
योजना पुरानै हो
नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो र बाह्य वायुसेवा कम्पनीको कमर्सियल ग्राउन्ड ह््यान्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको छ । निगमसँग सोही कार्यका लागि पर्याप्त जनशक्ति र उपकरणसमेत छ । घाटाको कारण टाट पल्टिसकेको निगममा अहिले सो सेवा नै आम्दानीको एक मात्र भरपर्दो स्रोत छ । सो सेवा सञ्चालनका लागि निगमसँग पहिले ड्राइभर, अप्रेटर, इन्जिनियर र लोडर गरी ४ सय कर्मचारी रहेकामा जनशक्ति अभाव हँुदै गएपछि करिब ८ सय कर्मचारी स्थायी र करार सेवामा थपिएका छन् । सो सेवा निगमलाई नदिएर निजी क्षेत्रलाई दिने हो भने ती १२ सय कर्मचारी स्वत: बेरोजगार हुने निश्चित नै छ भने निगमका अन्य कर्मचारीले पनि तलब खान नपाउने स्थिति बन्ने चिन्ता छ । विश्वका प्रायजसो देशमा सो सेवा राष्ट्रिय ध्वजाबाहक विमान सेवा कम्पनीले नै गरिरहेको पाइन्छ । नेपालमा सो सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम हुन्, जसमध्ये प्राधिकरणसँग उपकरण नभएकाले निगमले नै लामो सयमदेखि सो कार्य गर्दै आएको छ ।
०६४ सालदेखिकै योजना भए पनि कर्मचारी र निगमको भलो चिताउने केही व्यक्तिले साथ दिएका कारण सो योजना लागू हुन सकेको थिएन । तर, अहिले निगमको कर्मचारी वृत्तमा ग्राउन्ड ह्यान्डलिङका एजेन्टहरू छिरिसकेको बताइन्छ । महाप्रबन्धक मदन खरेल पनि त्यो ग्याङमा छिरिसकेकका थिए । पछिल्लो समय उनी त्यही ग्याङको कारण संकटमा पर्दै गएको बताइन्छ । पूर्वनायब महाप्रबन्धक गणेश ठाकुरकै कार्यकालमा विश्वासी बनेर निगम डुबाउन मुख्य भूमिका खेलेका रमेशबहादुर शाह, रामहरि शर्मा, अर्थ विभागका पूर्वनिर्देशक केशवराज आचार्य, ग्राउन्ड सपोर्ट विभागका कामु प्रबन्धक राजकुमार श्रेष्ठ, अर्थ विभागका कामु उपनिर्देशक युवराज अधिकारी, मलेसिया शाखाका प्रमुख निमानन्द खनाललगायतका निगमका कर्मचारी ग्राउन्ड ह्यान्डलिङ सेवा बाहिरी कम्पनीलाई दिनुपर्ने पक्षमा रहेको बताइन्छ । तर, वर्तमान निमित्त महाप्रबन्धक किरण पौडेल क्षेत्री राणाले भने सो सेवा निगमले नै राख्नुपर्ने पक्षमा कर्मचारीहरूसँग आफ्नो धारणा व्यक्त गरेको थाहा भएको छ ।
रातारात नियम बदल्ने खेल
नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको यही चैत ९ गते बैठक बस्ने र सो बैठकबाट ग्राउन्ड ह्यान्डलिङ सेवा अन्य कम्पनीलाई खुलाउने पूर्वयोजना थियो । बैठकमा त्यसका लागि मन्त्री अमात्यकै विशेष पहलमा निर्देशिका परिवर्तनका लागि ‘वायुयानहरूको भूमिस्थ प्रबन्ध सेवा सञ्चालन निर्देशिका २०६९’ लाई संशोधनका लागि परिमार्जन मस्यौदा पेस गर्न उपसमिति गठन गरिएको थियो । सो उपसमितिले निर्देशिका निर्णयार्थ पेस गर्ने तयारीमा रहेको थाहा पाएपछि कर्मचारी युनियनले मन्त्रीलाई दबाब दिएका थिए, जसका कारण बैठक नै बस्न सकेन ।
उक्त मस्यौदामा ग्राउन्ड ह्यान्डलिङ सेवा अन्य निजीलाई दिन सकिने प्रावधान उल्लेख थियो । उक्त प्रतिवेदनमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र समग्र देशको हितविपरीत प्रस्ताव गरिएकोमा सोही दिन विमान निगममा कार्यरत तीन दल निकटका कर्मचारी युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल वायुसेवा निगम कर्मचारी युनियन र नेपाल वायुसेवा निगम कर्मचारी संघ ज्ञापनपत्र बोकेर मन्त्री अमात्यको कार्यकक्षमा पुगेका थिए । युनियनले मन्त्रीलाई यस्तो निर्णय नगर्न चेतावनी दिँदै निगमले गरिआएको ग्राउन्ड ह्यान्डलिङ सेवा अन्य कम्पनीलाई दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । ज्ञापनमा भनिएको छ– ‘राष्ट्रहित तथा निगमको हितविपरीत देशको अर्बौं राजस्व विदेशी दलालहरूलाई सुम्पिने घृणित क्रियाकलापप्रति निगममा क्रियाशील संयुक्त ट्रेड युनियन गम्भीर खेद प्रकट गर्दै उपरोक्त राष्ट्रहित विपरीतका क्रियाकलापहरू नगर्न नगराउन अनुरोध गर्दछौं ।’
युनियनहरुले सो प्रस्तावित मस्यौदालाई ‘निगम र समग्र देशको हितविपरीत राष्ट्रघाती एवम् आर्थिक अपराधलाई प्रश्रय दिने कुत्सित मनसायबाट प्रेरित भई सिफारिस गरिएको’ भन्ने आरोप लगाएको छ । त्यसैले सो मस्यौदा तत्काल खारेज गरी राष्ट्रको सुरक्षा संवेदनशीलता र आत्मनिर्णयको अधिकारलाई समेत सुनिश्चित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिया र थाई एयरवेजले गर्दै ‘आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ’समेत मन्त्रिपरिषद्बाट खारेज गरी निगमलाई मात्र भूमिस्थ सेवा अधिकार सुरक्षित गर्न माग गरेको छ । ‘एजेन्डा स्थगित भए पनि खारेज भएको छैन, खारेज नभएसम्म हामी आफ्नै पार्टीका मन्त्रीसँग पनि लडिरहन्छौं’– एमालेनिकट कर्मचारी युनियनका एक नेताले भने– ‘हाम्रो पार्टीको भागमा मन्त्रालय परेको बेलामा यो सेवा निगमबाट फुत्कँदा एमाले जनताबाट नांगिनेछ, हामीले जनताका अघि मुख देखाउन गाह्रो हुन्छ ।’ उनको बुझाइमा छिटोभन्दा छिटो सो निर्णय गरेर कमिसन कुम्ल्याएर पदबाट आफैं बाहिरिने मनस्थितिमा मन्त्री अमात्य छन् ।
यस्तो छ युनियनको सर्त
संयुक्त ट्ेरड युनियनले एक हप्तामा कम्तीमा ३५ पटक नियमित उडान सञ्चालन गर्न अनुमति पाएको वायुसेवा वा वायुयान सञ्चालकले मात्र आफ्नो अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने वायुयानको भूमिस्थ सेवा विमानस्थलमा आफैंले सञ्चालन गर्न आवेदन दिन सकिने अन्यथा त्यसरी दिन नहुने सर्त अघि सारेको छ । यस्तै, प्राधिकरणको कमर्सियल ग्राउन्ड ह्यान्डलिङको अनुमति तथा प्रमाणपत्र प्रदान गर्दा विज्ञापन प्रकाशित गरी प्रतिस्पर्धाको आधारमा आवश्यकता अनुसार दुई वटासम्म वायुसेवा वा संस्थालाई कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने गरी छनोट गर्न सकिनेमा त्यस्तो प्रतिस्पर्धा गरिएको छैन । युनियनले यो कुरा पनि आफ्नो मागमा राखेको छ । त्यसो त महाप्रबन्धक मदन खरेल नै ग्राउन्ड ह्यान्डलिङ निगमबाट फुत्काउने योजना अनुसार अघि बढेकाले समस्या परेको आरोप लगाएको छ । खरेलले राजीनामा दिएको केही दिनमै निगम परिसरमै पत्रकार सम्मेलन गर्दै युनियनले खरेल महाप्रबन्धक भएपछि निगमको हितविपरीत गरिएका १४ कार्यलाई बुँदागत रूपमा उल्लेख गरेको थियो, जसमा ग्राउन्ड ह्यान्डलिङबारे पहिलो बुँदामै उल्लेख गरिएको छ । त्यसमा भनिएको छ– ‘निगमले निरन्तर रूपमा सञ्चालन गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको ग्राउन्ड ह्यान्डलिङ सेवा हरेक ५–५ वर्षका लागि नवीकरण गर्नुपर्नेमा २ वर्षलाई मात्र नवीकरण गरी त्यसपछि निजी कम्पनीलाई दिने सर्तमा हस्ताक्षर गरेका थिए, जुन निगम र राष्ट्र हितविपरीत छ ।’
त्यति मात्र होइन, विस्तारै सो सेवा निगमबाट विस्थापन गर्ने रणनीतिक योजना अनुरूप नै खरेलले पर्याप्त मात्रामा ग्राउन्ड ह्यान्डलिङ इक्विपमेन्ट खरिद नगरेको र इक्विपमेन्ट सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्न कुनै पहल नगरी तल्लो तहका कर्मचारी मात्र भर्ती गरेका थिए । अझ महत्त्वपूर्ण कुरा त निगम आफैं सक्षम हुँदाहँुदै डोमेस्टिक फ्लाइट ह्यान्डलिङ सेवा सञ्चालन गर्न यती एयरलाइन्सलाई दिने सम्झौता गरेका थिए । पछि व्यापक विरोधपछि उक्त सम्झैता खारेज गर्न उनी आफैं बाध्य भएका थिए ।
अझ महत्त्वपूर्ण कुरा त हरेक वस्तु तथा सेवाको मूल्यवृद्धि भइरहेको अवस्थामा ग्राउन्ड ह्यान्डलिङ निर्देशिका जारी गर्ने निहँुमा विमानस्थलमा बाह्य विमान कम्पनीबाट चार्टर उडान हुने जहाजको ह्यान्डलिङ सेवाको शुल्क घटाई निगमलाई करोडौं क्षति पुर्याएको पनि खरेलमाथि आरोप लागेको छ ।
सस्तो लागत, बढी कमाइ
अहिले हरेक दिन निगमले कम्तीमा ३५ देखि बढीमा ४० वटा विमानको ग्राउन्ड ह्यान्डलिङ गर्दै आइरहेको छ । उनीहरूले प्रयोग गर्ने सामान भरेङ, पुस व्याक, पावर दिने मेसिन, हाइलोडरलगायतका आधारमा कम्तीमा ५ सयदेखि बढीमा १ हजार डलरसम्म लिन्छ । निगमले १० वर्ष पुराना सामानहरू प्रयोग गर्ने हुनाले अहिले बिनालगानी वर्षको कम्तीमा २ अर्ब आम्दानी गरिरहेको बताइन्छ । सो काम निजी कम्पनीलाई दिलाउन सके निगमबाट राजीनामा दिने भन्दै हातमा राजीनामा पत्र बोकेर अहिले निगमकै वरिष्ठ कर्मचारीहरू बसेका छन् । एक पटक जोडेका सामानले वर्षौंसम्म फाइदा लिन सकिने र वार्षिक कम्तीमा १ अर्ब नाफा हुन सक्ने भन्दै सो काम गर्नका लागि गणेश ठाकुर, मदन खरेल, आरबी शाह, रामहरि शर्मा, केशवराज आचार्य, राजकुमार श्रेष्ठ, युवराज अधिकारी, निमानन्द खनाललगायत १० जनाको समूह साझेदार गरेर गोप्य तयारीमा लागेको थाहा भएको छ । उनीहरूले १० जनालाई वार्षिक १०–१० करोड नाफा हुने अनुमान गरेका छन् । यसबारेमा निगमका ग्राउन्ड सपोर्ट विभागका निर्देशक आरबी शाहसँग जिज्ञासा राख्दा आफूले केही नभन्ने र केही बुझ्नपरे प्रवक्तालाई सोध्न सुझाव दिए ।
सम्बन्धित समाचार
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
-
देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
-
आज राष्ट्रिय विज्ञान दिवस
-
नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
-
खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
-
गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply