लागूऔषधको ट्रान्जिट बन्दै
काठमाडौं । नेपाल पछिल्लो समय लागूऔषधको ट्रान्जिट बन्न थालेको छ । गाँजा, चरेश, कोकिन हेरोइनलगायतका पदार्थहरूको कारोबार बढेकाले नेपाललाई अन्तर्राष्ट्रिय लागूऔषधको गिरोहले उपयोग गरिरहेको देखिएको छ ।
काठमाडौंबाट दोहा हुँदै इटालीको रोम लैजान लागेको अवस्थामा लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ वर्षीया मलेसियाली युवती (राहदानी नम्बर ए ३४८९१३८१) मरिना बिन्ति जमालुद्धिनलाई ११ केजी लागूऔषध कोकिनसहित चैत २० गते ७ बजे पक्राउ गरेको छ । नेपालमा उपभोक्ताशून्य रहेको अत्यन्त महँगो लागूऔषध यसरी नेपाली विमानस्थलमा पक्राउ पर्नुले नेपाल अन्तर्राष्ट्रिय गिरोहको खतरनाक ट्रान्जिट बन्दै गएको लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू बताउँछन् ।
क्यूआर ६५१ को उडानद्वारा काठमाडौंबाट दोहा जानेक्रममा उनलाई ५ वटा ल्यापटप ब्यागमा लुकाई ल्याएको अवस्थामा प्रहरीले उक्त परिमाणको कोकिन फेला पारेको हो । प्रहरीले सोधपुछ गर्दा ल्यापटप नै हो भनेको तर एक्सरे स्क्रिनिङ गर्नेक्रममा शंका लागि चेकजाँच गर्दा ५ वटै ब्यागमा ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागूऔषध फेला परेको थियो ।
यसअघि मलेसिया, दिल्ली हुँदै रोमतर्फ लाने गरेकी जमालुद्धिनले पहिलो पटक नेपालको बाटो प्रयोग गरेकी हुन् । उनले ब्राजिलबाट दोहा, दोहाबाट काठमाडौं हुँदै इटालीको रोम पुर्याउनका लागि उक्त कोकिन ल्याएको खुलाएकी छन् । उक्त लागूऔषध कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रति केजी करिब डेढ करोड रुपियाँमा कारोबार हुने गर्दछ । त्यस हिसाबले सो कोकिनको मूल्य २० करोड पर्ने प्रहरीले अनुमान गरेको छ ।
जमालुद्धिन १५ मार्चमा मलेसियाबाट ब्राजिल र २८ मार्चमा दोहा हुँदै काठमाडौं उडेकी थिइन् । यसअघि पनि आफूले मलेसियाबाट भारतको दिल्ली हुँदै धेरै पटक लागूऔषधको ओसारपसार गरेको उनले बताएकी छन् । लागूऔषध कोकिन दिने व्यक्तिले सुरक्षाको कारण आफूलाई नेपालको बाटो प्रयोग गर्न लगाएको बताएकी छन् । प्रारम्भिक अनुसन्धानको क्रममा ब्राजिलबाट लागूऔषध लिई उड्दा १ हजार डलर पाएको र गन्तव्यमा पुर्याएपछि थप ५ हजार डलर पाउने उनले बताएकी छन् ।
भारतसँगको खुला सिमाना र अन्तर्राष्ट्रिय गिरोहको सक्रियताले नेपालमा प्रहरी प्रशासनले जतिसुकै कडाइ गर्दा पनि लागूऔषधको कारोबारमा कमी आएको छैन । प्रहरीले यसको प्रभावकारी नियन्त्रणका लागि भन्दै डीआईजीकै कमान्डमा छुट्टै ब्युरो स्थापना गरेको भए पनि नेपालमा भने दिनप्रतिदिन लागू पदार्थको व्यापार व्यावसाय तथा दुव्र्यसनीको संख्या बढिरहेको छ । त्यसो त कोकिन मात्र पनि चार वर्षयता १७ किलो पक्राउ परिसकेको छ । यसअघि पक्राउ परेका ५ कारोबारीले नेपाल कोकिन कारोबारको रुट नभए पनि युरोपतिर पुर्याउन नेपालको ट्रान्जिट रुट मात्र प्रयोग गरेको बताएका छन् ।
ब्युरोले पछिल्लो पाँच वर्षमा गरेका मुख्य अप्रेसनमा १ सय ७६ जना विदेशी महिला तथा पुरुष लागूऔषध सेतो हेरोइन, कोकिन र चरेश ओसारपसार गर्दागर्दै पक्राउ परेका छन् । खासगरी पर्यटन भिसामा नेपाल आउने र फर्कंदा शरीरभित्र, लगेजमा र फल्स बटम बनाएर लैजाने क्रममा अधिकांश पक्राउ परेका छन् । तर, ती पक्राउ परेका व्यक्ति मुख्य कारोबारी नभएर ओसारपसारमा संलग्न भरिया मात्र हुन् । अधिकांश मुद्दामा प्रहरी मुख्य कारोबारीसम्म पुग्नै सक्दैन । यसमा साधन–स्रोतदेखि धेरै कुराले प्रभाव परेको प्रहरी अधिकारीको भनाइ छ ।
एक अधिकारी भन्छन्– नेपाल प्रहरीको एक्लो प्रयासले मात्र मुख्य कारोबारीसम्म पुग्न सकिँदैन । यसका लागि विदेशका समकक्षी अनुसन्धान संस्थासँग सहकार्य गर्नुपर्छ । यसको कारोबारमा सजाय र जोखिमसँगै नाफाको प्रतिशत पनि अत्यधिक हुने भएकाले मुख्य कारोबारी र भरियाबीच ठूलो खाडल हुने बताइन्छ । नेपाली चरेश र गाँजाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने भएकाले भारतीय तस्करमार्फत नेपाली चरेश र गाँजा भारत हुँदै समुद्री मार्गबाट अमेरिका, युरोप र एसियाका विभिन्न मुलुकमा पुग्ने गर्छ ।
ब्युरो स्रोतका अनुसार चरेश कारोबारमा सन् १९७६ अघि कानुनी रूपमा ठेकेदारी गर्ने समूहका सदस्यसमेत सक्रिय छन् । हाल पहँुच र पैसाका कारण पर्दापछाडि रहने यस्तो समूहका सदस्यलाई केही समयका लागि ब्युरोमा आउने प्रहरी अधिकारीले थाहा पाएर पनि चलाउँदैनन् । त्यस्तै, चरेश र गाँजाको अन्तर्राष्ट्रिय तस्करीमा नेताको समेत संलग्नता देखिए पनि थप अनुसन्धान हुन नसक्दा घटना ओझेलमा परेका बताइन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष चेकजाँच र अनुगमन प्रभावकारी अवस्थामा नरहेका कारण अन्तर्राष्ट्रिय कारोबारीको गतिविधि बढेको प्रहरीको दाबी छ । कारागारको नियमन र अनुगमन गर्ने प्रहरी इकाइ र लागूऔषध नियन्त्रण ब्युरोबीच समन्वय हुन नसक्दा ड्रग सिन्डिकेट सञ्चालन भइरहेको ब्युरोका एक अधिकारीले बताए ।
लागूऔषध अनुसान्धानले लामो समय लिने भएकाले ब्युरोमा पठाउने प्रहरीको कार्यावधि लामो–लामो पार्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । ‘एकै अनुसन्धानका लागि वर्षौं लागेका हुन सक्छन्, त्यही भएर उनीहरूलाई स्थिर ढंगले अनुसन्धान गर्न दिइरहनुपर्छ’– एक अधिकारीले भने ।
ट्रान्जिट बिन्दुुको रूपमा उपयोग
नेपालमा लागूऔषध एक गम्भीर सामाजिक समस्याको रूपमा रहँदै आएको छ । केन्द्रीय तथ्यांक विभागको सर्वेक्षण प्रतिवेदन, २०६९ ले नेपालको युवापुस्ता लागूूऔषध दुव्र्यसनको उच्च जोखिममा रहेको देखाउँछ । उक्त प्रतिवेदनअनुसार नेपालमा ९१,५३४ जना दुुव्र्यसनी रहेको अनुमान गरिएको छ, जसमध्ये ५४.५ प्रतिशत दुव्र्यसनी २५ वर्षमुनिका रहेको, सेवनकर्तामध्ये ५७ प्रतिशतले सिरिन्ज प्रयोग गर्ने गरेको, सिरिन्ज प्रयोग गर्नेहरूमध्ये पनि १३ प्रतिशतले सिरिन्ज साटासाट गरी लागूूऔषधको प्रयोग गर्ने गरेको, ८३.२ प्रतिशत सेवनकर्ताहरूले दुई वा दुईभन्दा बढी लागूऔषध प्रयोग गर्ने गरेको पाइएको छ । विगत ६ वर्षयता लागूऔषध प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भई डेढ लाख नाघिसकेको यस क्षेत्रमा काम गर्ने सरोकारवाला विभिन्न व्यक्तिहरूको अनुमान रहेको छ ।
नेपालमा अवैध रूपमा उत्पादन हुने गाँजा, चरेशमध्ये धेरै मात्रामा खुला सिमानाका कारण स्थलमार्ग हुँदै भारतमा र भारतबाट पनि समुन्द्री मार्ग तथा हवाई मार्ग हँुदै विभिन्न मुलुकहरूमा पुग्दछ भने स्थलमार्ग हँुदै नेपालबाट गाँजा, चरेश केही मात्रामा चीनमा पनि पुग्ने गरेको देखिन्छ । त्यस्तै, यी लागूूऔषध नेपालको हवाई मार्गबाट विशेष गरी जापान, अमेरिका, युरोपका विभिन्न मुलुकहरू, क्यानडा, रसिया, हङकङ आदि देशहरूमा लैजाने गरिएको पाइएको छ । केही वर्ष पहिलेसम्म तराईमा अफिमको अवैध खेती व्यापक रूपमा हुने गरेको भएता पनि अहिले धेरै हदसम्म नियन्त्रण भएको देखिन्छ । नेपालमा दुई प्रयोजनका लागि हेरोइनको ओसारपसार हुने गरेको छ । पहिलो, खैरो हेरोइन जो नेपालकै दुव्र्यसनीहरूबीच खपत हुन्छ । दोस्रो, सेतो हेरोइन जो सीमित मात्रामा नेपालमा खपत भई नेपालबाट पुन: अन्यत्र देशहरूमा तस्करी हुन्छ । खैरो हेरोइन नेपालमा प्राय: सबै खुला सिमानाका कारण भारतबाट लुकाई–छिपाई भित्रिने गर्दछ । नेपालमा हालसम्म कोकिनका प्रयोगकर्ताहरू देखिएका छैनन् । यद्यपि, विभिन्न मुलुकबाट नेपाल हँुुदै अन्य मुुलुुक लैजाने ट्रान्जिट बिन्दुुको रूपमा प्रयोग भएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ पुसमा १ केजी, २०७० साल फागुनमा २ केजी ६०० ग्राम, २०७१ जेठमा २ केजी ८३० ग्राम कोकिन बरामद हुनुले पनि यस तथ्यलाई प्रस्ट्याउँछ । नेपालमा लागूऔषधको सजिलै तस्करी हुनुुको एउटा प्रमुख कारण भारतसँगको खुला सिमाना हुनु पनि हो । नेपाली तथा विदेशी नागरिकहरू विदेशमै बसी विभिन्न देशबाट नेपालमा तथा नेपालबाट विभिन्न देशहरूमा विभिन्न प्रकारका लागूूऔषध तस्करीमा संलग्न रहने गरेको पाइएको छ ।
कारबाहीको दायरामा कति ?
लागूऔषध मुद्दामा कारबाहीतर्फ हेर्दा सन् २०११ मा २१६३ जना, सन् २०१२ मा २६०० जना तथा सन् २०१३ मा २६७३ जनाविरुद्ध लागूूऔषध अपराध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही भएको देखिन्छ । हाल नेपालभरको कारागारहरूमा कुल १६,३३६ कैदी बन्दीहरू रहेकोमा तीमध्ये लागूूऔषध अपराधमा मात्र संलग्न थुनुवा बन्दीहरू २४८७ रहेका छन् । जुन कुल कैदी बन्दीको १५.३ प्रतिशत हुन आउँछ । यस तथ्यांकले पनि नेपालमा लागूऔषध अपराध ठूलो समस्याको रूपमा खडा भएको देखाउँछ ।
ब्युरोका अनुसार सन् २००० देखि हालसम्म १४ सय ३५ जना लागूऔषधको कारोबार गर्ने सिलसिलामा पक्राउ परेका छन् । जसमा १२ सय ७० जना नेपाली र १ सय ५४ जना विदेशी नागरिक रहेका छन् । नेपालमा विदेशीहरूले भरियाको रूपबाट लागू पदार्थको ओसारपसार गर्ने गरेको र गत वर्षको माघदेखि अहिलेसम्म ११ जना विदेशीहरूलाई ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरिसकिएको छ । दुव्र्यसनीमा संलग्न व्यक्तिहरूले ब्राउन सुगर, चरेश, गाँजा, अफिम, हेरोइन र नाइट्रोजन ट्याब्लेट बढी मात्रामा प्रयोग गर्ने गरेको पाइएको छ । नेपालीहरू धेरै महँगो लागूपदार्थ प्रयोग गर्न नसक्ने हुनाले धेरै दुव्र्यसनीहरूले शान्त मनस्थति पार्ने औषधिलाई दुरूपयोग गर्ने गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न चोक र गल्लीहरू, पोखरा, विराटनगर, धरान, भैरहवा, महेन्द्रनगरलगायत प्रमुख सहरका अधिकांश १५ देखि ३० वर्षसम्मका युवाहरू लागूपदार्थको दुव्र्यसनी भएको पाइएको छ ।
जरिवाना के छ ?
नेपालमा २०३३ सालमा लागूऔषध नियन्त्रण ऐन बनेको भए पनि ०४७ सालमा लागूऔषध नियन्त्रण कानुनी कार्यन्वयन इकाइ स्थापना भएपछि यो ऐन पूर्ण रूपले लागू भएको थियो । सो ऐन अनुसार गाँजा खेती गर्ने वा कारोबार गर्नेलाई १ किलो माथि जतिसुकै भए पनि २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने उल्लेख छ । त्यस्तै, अफिम चरेश, हेरोइन र अन्य लागूपदार्थको कारोबार गर्नेलाई १ ग्रामदेखि जतिसुकै बढी भए पनि १५ वर्षदेखि जन्मकैदसम्म र ५ लाखदेखि २५ लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सन् २००२ मा १२ हेक्टर जमिनमा रहेको अफिम खेती र २००३ मा २० हेक्टर जमिनमा रहेको अफिम खेती नष्ट गरिएको थियो । त्यसयता यस्तो कामले खासै गति लिएको पाइँदैन । नेपालमा हेरोइन उत्पादन नहुने भए तापनि कारोबार निकै बढेर गएको छ । लागूपदार्थ नियन्त्रणका लागि जतिसुकै कडा कारबाही र जरिवानाको व्यवस्था गरे पनि त्यसको कारोबार गर्ने व्यक्तिहरू दिनप्रतिदिन बढ्नु र थाहा पाएर पनि खोजी नगर्ने कार्यले सरकारी निकायको पनि यसमा संलग्नताको पुष्टि हुन्छ । त्यस्ता गिरोह तथा व्यक्तिहरू मोटो रकम नजराना दिएर छुट्ने गरेको पाइन्छ ।
फरार प्रतिवादी पक्रन सफलता
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लागू औषध कारोबार गरी अदालतबाट सजाय तोकी भागिरहेका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । लागूऔषधको मुद्दामा २०६९ भदौ ३ को फैसलाले १ लाख जरिवाना र २ वर्ष कैद ठहर गरेको थियो । काभ्रे स्थायी ठेगाना भएका ३४ वर्षीय किरण श्रेष्ठ बौद्धमा बस्दै आएका थिए । उनी २०६८ माघ २५ गते चाबहिलबाट लागूऔषधका १ सय ३६ थान क्याप्सुल सहित पक्राउ परेका थिए । अदालतबाट धरौटी तारेखमा छुटेका उनी फैसलासँगै फरार रहेका थिए ।
यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लागूऔषधको मुद्दामा फरार अर्का अभियुक्तलाई पनि पक्राउ गरेको छ । सीतापाइला गाविस ४ का प्रेम श्रेष्ठसमेत अन्य अभियुक्त २०६८ भदौ २८ गते धादिङबाट मोटरसाइकलमा काठमाडौं आउँदै गर्दा पक्राउ परेका थिए । बा१४प ८९४४ को मोटरसाइकलमा आउँदै गरेका उनीहरूको साथबाट प्रहरी टोलीले २ किलो २० ग्राम लागूऔषध गाँजा बरामद गरेको थियो । लागूऔषध ओसारपसार, खरिद–बिक्री र कारोबारसमेत गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०६९ जेठ ३१ मा दोषी ठहर गर्दै सजाय तोकेको थियो । फैसलामा जनही १० हजार रुपिँया जरिवाना र १ वर्ष कैद ठहर भएकामा फरार उनीहरूमध्ये श्रेष्ठ सीतापाइला र एल्स लिम्बू भनिने आशिष लिम्बू वाफलबाट यही चैत २ गते पक्राउ गरेका हुन् । लिम्बू झापा गरामनी २ का २२ वर्षीय केटा हुन् ।
यस्तै, लागूऔषधको मुद्दामा दोषी ठहर भई फरार रहेका श्याबबहादुर बस्नेत र राजेन्द्रप्रसाद रञ्जितकार पनि पक्राउ परेका छन् । लागूऔषध चरेश ओसारपसार तथा खरिद–बिक्री कार्यमा संलग्न उनीहरूलाई पुनरावेदन अदालत पाटनको २०५८ फागुन ६ को फैसलाले ५ हजार रुपियाँ जरिवाना र १ वर्ष कैद ठहर गरेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ४ बस्ने बस्नेतलाई चण्डोलबाट र रञ्जितकारलाई ठमेलबाट ब्युरोको टोलीले पक्राउ गरेको हो । ५९ वर्षीय बस्नेत र ५२ वर्षीय रञ्जितकारलाई गत माघ २६ गते अदालतमा पेस गरिएको थियो । यी दुईको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट स्विट्जरल्यान्ड निकासीका लागि पठाउन लागिएका ढलौटका १५ थान मूर्तिभित्र १ किलो ८ सय ग्राम चरेश लुकाई फल्स बटम बनाई राखिएको अवस्थामा फेला पारिएको थियो ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply