बलियो हुँदै गएपछि देउवा डराए

‘फेरि बिग्रिन्छ कि क्या हो !’
काठमाडौं । नेपाली कांग्रेसको अघिल्लै महाधिवेशनमा व्यक्तिगत रूपमा शेरबहादुर देउवाभन्दा सुशील कोइराला कमजोर नै थिए । तर, निर्वाचनमा जाँदा झन्डै चार सय मतले देउवा पराजित हुनुपर्यो । यसपटक पनि कोइराला कमजोर बनिरहेका छन् र देउवा बलियो बन्दै गएका छन् । तर, उनले आफ्ना सहयोगीहरूसँग भन्न थालेका छन्– ‘फेरि बिग्रिन्छ कि क्या हो !’
आगामी भदौका लागि तय भएको कांग्रेसको महाधिवेशनमा फेरि कोइराला सभापति लड्छन् वा लड्दैनन् ? यकिन छैन । किनभने, चार दलबीच भएको सहमति अनुसार संविधान बनेमा उनी अब फेरि सभापति हुनुको साटो राष्ट्रपति भएर शीतल निवास भित्रिने छन् । तर, सहमति अनुसार संविधान बनेन भने चाहिँ उनले सभापतिमा पुन: लड्ने निश्चित नै छ । त्यसका लागि उनलाई कृष्णप्रसाद सिटौला, रामशरण महत, नरहरि आचार्य, महेश आचार्य, शेखर कोइराला, शशांक कोइराला, सुजाता कोइराला, आनन्द ढुंगानालगायतका नेताहरूले दबाब दिइरहेका छन् । किनभने, कोइरालाबाहेक अरू कोही लड्नु भनेको देउवालाई सजिलै सभापति बनाउनु हो भन्ने बुझेका उनीहरूले आफ्नो राजनीतिक भविष्यका लागि पनि तुरुन्त १६ बुँदे कार्यान्वयन हुन नदिने, महाधिवेशसनसम्म यही सरकारलाई लम्ब्याएर लैजाने, सभापतिमा फेरि कोइरालालाई उठाउने र बल्ल सरकार बदल्नेसम्मका सपना बुनेका छन् । उता, अभूतपूर्व अन्तर्राष्ट्रिय समर्थन पाएर उत्साहित भएका देउवा चाहिँ आफू बलियो बन्दै गएपछि वातावरण झन् बिग्रिएको निष्कर्षमा पुगेका छन् । पहिलो कुरा त उनलाई भदौमै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने दुविधा छ । गत आइतबार देउवा निवास बूढानीलकण्ठमा भएको एक बैठकमा देउवाले दिएको अभिव्यक्ति उद्धृत गर्दै एक सहभागीले भने– ‘बलियो भयौं, जित्छौं भनेर के गर्ने ? यहाँ अनेक षड्यन्त्र सुरु भइसकेका छन् ।’
यसअघि सभापतिमा सुशील कोइरालालाई जिताउन कम्मर कसेर लागेका पूर्वमहामन्त्री कुलबहादुर गुरुङको समूहले देउवालाई साथ दिएको छ । गत संविधानसभाको निर्वाचनमै कोइरालाले गुरुङको नाम नलिएपछि देउवाले उनलाई सभासद् बनाउन विशेष भूमिका निर्वाह गरेका थिए । त्यतिबेलादेखिकै सहयात्रा हालैका दिनमा प्रस्ट भएपछि कोइराला खेमा थप झस्केको छ ।
यसैगरी, युवाहरूका बीचमा राम्रो लोकप्रियता भएका नेता गगन थापा पनि देउवालाई साथ लिने निष्कर्षमा पुगेका छन् । पहिलादेखि नै कोइराला परिवारको निशानामा पर्दै आएका उनी अब राजनीतिक रूपमा भूमिका खोज्ने होइन भने पछि परिन्छ भन्दै देउवाको पक्षमा खुलेर लाग्न थालेका छन् । अबको सभापति देउवा नै हुने भएकाले उनलाई साथ दिनुमै गगनले आफ््नो भविष्य देखेका छन् ।
अर्का नेता अर्जुननरसिंह केसीले सार्वजनिक रूपमै कोइरालाबाट आफूलाई धोका भएका कारण अब उनलाई साथ नदिने बताइकेका छन् । आफ्ना सदाबहार प्रतिस्पर्धी रामशरण महतलाई कोइरालाले लगातार काखी च्यापेको र आफूलाई सहमति अनुसार कुनै सहयोग नगरेको उनको गुनासो छ । कांग्रेसभित्र प्रभाव भएको नेताका रूपमा केसीलाई लिइन्छ ।
उता, भारतसँगको विशेष सम्पर्कका लागि परिचित र आफूलाई गौरवान्वित महसुस गर्ने नेता अमरेशकुमार सिंह पनि खुलेर देउवाका पक्षमा लागेका छन् । उनी देउवाको पक्षमा लाग्नुको अर्थ तराईमा विशेष हुने अनुमान कांग्रेस वृत्तमा छ । अहिले देउवालाई बलियो बनाउनका लागि सिंहले विभिन्न निकायहरूसँग समन्वय गरिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply