अबको कार्यभार : समृद्धितर्फको यात्रा
राजनीतिक परिवर्तन
लोकतान्त्रिक दलहरू र जनताको छ दशकसम्मको अनवरत् र बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप नेपाल लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । यो परिवर्तन संविधान निर्माणमार्फत संस्थागत गर्न बाँकी रहेको भए तापनि अब यसमा प्रतिगमन हुने सम्भावना छैन । अस्वाभाविक रूपमा लामो समय लागे तापनि देशले लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने सर्वाधिक महत्त्वपूर्ण राजनीतिक काम सम्पन्न गरेको छ । यो सँगसँगै अब राष्ट्रिय जीवनका धेरै पक्षमा परिवर्तन र रूपान्तरणको लहर स्वत: चल्नेछ र राज्यले पनि त्यस्तो अभियान चलाउनुपर्ने आवश्यकता छ । अत: यो परिवर्तन सँगसँगै परिवर्तन गर्ने उद्देश्य राखी निर्माण गरिएको पार्टी संरचना, यसका नेता कार्यकर्ताहरूको उद्देश्य, जिम्मेवारी, कार्यशैली र जीवनशैलीमा समेत परिवर्तनको आवश्यकता परेको छ । प्रथमत: यो राजनीतिक परिवर्तनले नै पार्टीका नेता कार्यकर्ताको कार्य प्रकृति र जीवनशैलीमा स्वत: परिवर्तन ल्याउनु स्वाभाविक छ भने दोस्रो, पार्टीले आफ्ना नेता कार्यकर्ताको परिवर्तित राजनीतिक परिस्थिति अनुसारको कार्य प्रकृतिको बाटो देखाउनु आवश्यक हुन्छ । अबको परिस्थितिमा नेता कार्यकर्ताले राज्यविरुद्ध जनतालाई जागृत गर्न भूमिगत अवस्थामा रहेर कठोर ढंगले काम गर्नुपर्ने र बृहत् किसिमका जनआन्दोलन गर्नुपर्ने आवश्यकता रहेन । लोकतान्त्रिक गणतन्त्र स्थापित भएसँगै नेपालले राजनीतिको त्यो कष्टकर चरण पार गरिसकेको छ, राजनीतिक प्रणालीले पुरै कोल्टो फेरिसकेको छ ।
नेकपा (एमाले) पूर्णरूपमा खुला भई जनताको आँखा अगाडि काम गर्न थालेको पनि दुई दशक बितिसकेको छ र यसबीच नेपालबाट जनविरोधी निरंकुशतन्त्रलाई उखेलेर फालिसकिएको छ । त्यसैले अब जनता राजनीतिक आस्थाको आधारमा राज्य वा अरू कसैबाट पनि भयभीत भइरहनुपर्ने आवश्यकता छैन । देशले खोजेको राजनीतिक परिवर्तन हासिल भइसकेकाले अब पार्टीका नेता कार्यकर्ता पार्टीका नीति तथा कार्यक्रम जनतासमक्ष पुर्याउने कामबाट बचेको समय जनता, पार्टी र आफ्ना लागि समेत आर्थिक उपार्जनको काममा लाग्नुपर्छ, बिभिन्न किसिमका उद्योग, व्यापार र व्यवसायहरू आफैंले सुरु गर्नुपर्छ वा सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसायमा संलग्न हुनुपर्दछ । ऊर्जाशील नेता कार्यकर्ताहरूले समय खेर नफाली आ—आफ्नो सृजनशीलता र ऊर्जा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको सुधार र विकासमा लगाउनुपर्दछ । त्यसो गर्दा देशको आर्थिक प्रगतिमा योगदान पुग्नुको साथै पार्टी आत्मनिर्भर बन्न सक्दछ र आफ्नै आर्थिक अवस्थामा पनि सुधार आउँछ । यही परिस्थितिलाई मध्येनजर गरी पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले अब पार्टी उत्पादनशील कार्यमा लाग्नुपर्ने निर्णय गरी आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई त्यसतर्फ अभिमुख हुन निर्देशित गरेको हो । राजनीतिक दल र तिनका नेता कार्यकर्ताले जनतामा राजनीतिक दलहरू देश र जनताका आवश्यकता र समस्याप्रति संवेदनशील छन् भन्ने बिश्वास कायम राख्न अब आर्थिक प्रगतिको निमित्त केन्द्रित हुनै पर्दछ । किनभने अब जनताले पनि बुझिसकेका छन् कि अब राजनीतिक आन्दोलन र संघर्षको चरण समाप्त भइसकेकाले अब देश आर्थिक प्रगतिको निमित्त अगाडि बढ्नुपर्दछ । स्वयम् राजनीतिक दलहरूले पनि यो कुरा पटक–पटक जनतालाई भनेका छन् ।
राजनीतिक दलहरूको आह्वानमा जनता विगत ६० वर्षदेखि पटक–पटक ठूलो जोखिम मोलेर सडकमा आई दलहरूलाई साथ र सहयोग दिँदै आए् । त्यसैले अब राजनीतिक दलहरूले जनताको आवाज सुन्ने र उनीहरूलाई साथ दिने पालो आएको छ । अत: दलहरू यो नयाँ जिम्मेवारी पूरा गर्न उत्साहका साथ लाग्नुपर्दछ । राजनीतिक संघर्ष, सशस्त्र द्वन्द्व र संक्रमण काल लम्बिँदा देशको सबै क्षेत्रको अवस्था लथालिंग भएको छ, टिठलाग्दो र नाजुक भएको छ । अब त्यसलाई सम्हालेर तीव्र गतिमा अगाडि लैजानुपर्दछ । अब दलहरू जनताको अवस्थाप्रति संवेदनशील भई आर्थिक प्रगतिको निमित्त आफ्नो ध्यान केन्द्रित गर्नै पर्दछ ।
हिजोको संघर्षकालीन अवस्थामा नेता, कार्यकर्ता र समर्थक जान परिचालनको लागि मात्र होइन, पार्टी सञ्चालनको वित्तीय पाटो पनि अर्कै किसिमको थियो । त्यतिखेर पार्टीको आफ्नै स्थायी र स्थिर कार्यालय थिएन, नेता कार्यकर्ता यति धेरै थिएनन्, पार्टीका आफ्नै कर्मचारी थिएनन्, नेताहरूको आन्तरिक भ्रमण अहिले जति बाक्लो हँुदैनथ्यो भने विदेश भ्रमण हुँदै हँुदैनथ्यो भन्दा पनि हुन्छ । साथै त्यतिखेर पार्टीले चाहेर पनि धेरै साधन परिचालन गर्न सक्ने अवस्था थिएन । अर्थात त्यतिखेर पार्टी सञ्चालन खर्च नगन्य हुन्थ्यो, साधनका स्रोत पनि अत्यन्त सीमित थिए । त्यसैले पार्टी शुद्ध रूपमा पार्टी सदस्यहरूको लेबीबाट चलाइएको थियो । त्यतिखेर नेता कार्यकर्ता कहिले रोटो–पिठो खाएर, कहिले आधा पेट र कहिले भोकभोकै पनि कार्य क्षेत्रमा मरिमेटेर काम गर्दथे । पार्टी उनीहरूलाई केही दिने अवस्थामा हँुदैनथ्यो । बिरामी पर्दाको अवस्था त्यस्तै थियो ।
खुला राजनीतिमा प्रवेश
साथै पार्टी खुला राजनीतिमा आएपछि भूमिगत राजनीतिक अभ्यासमा रहेका नेता कार्यकर्ताहरू पनि स्वत: खुला भएर सतहमा आई संसदीय प्रतिस्पर्धामा लाग्नुपर्यो । संसद्देखि स्थानीय स्तरसम्मका प्रतिस्पर्धात्मक राजनीतिमा होमिएपछि पार्टी, नेता र कार्यकर्ताहरू नितान्त नयाँ किसिमको राजनीतिक वातावरणको सामुन्ने उभिन पुगे । त्यसमा पनि नेपाली कांग्रेसजस्तो देशभरिका सामन्त, पुँजीपति र ठूलाठालुहरूको प्रतिनिधित्व गर्ने र विदेशी पुँजीवादीहरूको पक्षधर पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्दा पार्टीलाई सुरुमा निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्यो । कांग्रेसी राजनीतिमा स्वाभाविक र सामान्य संस्कृतिको रूपमा रहेको जालझेल, षड्यन्त्र, धनको प्रयोग, सत्ताको दुरुपयोग र विदेशी समर्थनसँग जुधेर देशमा आफ्नो राजनीतिक वर्चस्व र प्रभाव कायम राख्न र बढाउन पार्टीका लागि कम गाह्रो थिएन । तर, भूमिगत काल र त्यसपछि पनि हाम्रा नेता कार्यकर्ताले जनतासँग राखेको अत्यन्त आत्मीय सम्बन्ध, इमानदारी, नैतिकता र सक्रियताको कारणले एमाले ३ वटा संसदीय निर्वाचन, २ वटा स्थानीय निकायको निर्वाचन र २ वटा संविधानसभाको निर्वाचनमा कुनैमा अघि र कुनैमा केही पछि रहँदै सुरुदेखि नै नेपाली कांग्रेससँग हाराहारीमा रहँदै आएको छ । पार्टीले निर्वाचनको मुखमा कहिले पार्टी विभाजन र कहिले पार्टी अध्यक्षको निधनको प्रतिकूल अवस्था पनि व्यहोर्नुपर्यो । यसरी एमाले देशको एक नम्बरको पार्टी हुने प्रबल सम्भावना बोकेर प्रतिस्पर्धाको अखडामा सधैं तम्तयार भएर बसेको छ, आम देशभक्त नेपाली जनता र त्यसभित्रका दलित, महिला, सुकुम्बासी, विपन्न वर्ग र पछाडि परेका क्षेत्रका जनताको निमित्त आशा र भरोसाको केन्द्र बनेर रहेको छ ।
अहिले एमाले देशव्यापी रूपमा, देशका कुनाकुनामा र विदेशमा समेत घनीभूत रूपमा फैलिएको छ । पार्टी भीमकाय भएको छ । पार्टीका अधिकांश जिल्ला र अञ्चल कमिटीका आ—आफ्नै भवन छन् । त्यँहा धेरै थोरै कर्मचारीहरू पनि छन्, सञ्चार सुविधा छन् । तिनमा बैठक, सभा र सम्मेलन तथा अधिवेशनहरू भइरहन्छन् । यसरी देशभरि र विदेशमा समेत पार्टी सक्रिय र चलायमान छ । जनवर्गीय संगठन र भ्रातृ संगठनहरू त्यसरी नै क्रियाशील छन् । त्यसमाथि केही वर्षको अन्तरालमा आम निर्वाचनमा भिड्नुपर्छ । साथै देशभित्र र बाहिर नेता कार्यकर्ताको भ्रमण पनि त्यसरी नै बढेको छ । यी सबै कुराले गर्दा पार्टीका नियमित गतिविधि सञ्चालन गर्न निकै ठूलो धनराशिको आवश्यकता पर्ने गरेको छ । यो सबैले अनुभव र महसुस गरेको कुरा हो । निर्वाचनैपिच्छे खर्चको स्तर बढ्दै जानु पार्टीका लागि अर्को चुनौतीको विषय भएको छ । त्यसो त एमाले धन खर्चमै प्रतिस्पर्धा गरेर निर्वाचन लड्न र जित्नुपर्ने पार्टी होइन । यसका नीति, विगतका काम, जनताको विश्वास र भरोसा, नेता कार्यकर्ताको इमानदारी, सक्रियता र जनतामा समर्पणभाव आदि कारणले पनि एमाले हरेक निर्वाचनमा अब्बल प्रतिस्पर्धी बन्ने हैसियत राख्दछ र राख्दै आएको पनि छ । तर, त्यसो हुँदाहुँदै पनि निर्वाचनमा अत्यावश्यकीय खर्च गर्नैपर्ने हुन्छ र निर्वाचनपिच्छे त्यस्तो खर्च बढ्दै गएको छ । र, पार्टीको नियमित लेबीबाट त्यो सबै खर्च धान्न पुग्दैन ।
त्यसैले त्यसका निमित्त पार्टीले देशका शुभेच्छुक र सहयोगी उद्यमी, व्यापारी र व्यवसायीहरूबाट समय–समयमा विशेषगरी आम निर्वाचन र पार्टीको राष्ट्रिय महाधिवेशनका निमित्त चन्दा लिने गरेको छ । यस्तो चन्दा उठाउने काम सहज हँुदैन र यसले पार्टीलाई समय–समयमा अप्ठ्यारोमा पनि पार्ने गरेको छ । साथै स्वयम् चन्दादाताहरूलाई पनि त्यसरी राजनीतिक पार्टीहरूलाई चन्दा दिइरहनु प्रिय कुरा हुँदैन । त्यसैले हामीले यो परम्पराको विकल्प खोज्नु जरुरी भइसकेको छ ।
नयाँ भूमिका
राजनीतिक नेता तथा कार्यकर्ताको लागि यो नयाँ भूमिका त्यति सहज र चुनौतीरहित भने छैन । यस सन्दर्भमा नेता कार्यकर्ताको अगाडि मुख्य समस्या त्यसप्रति अभिमुखीकरणको छ । किनभने अहिलेसम्म पार्टी नेता कार्यकर्ताले पूर्णकालिक राजनीति मात्र गरे, राजनीतिसिवाय अरू केही गरेनन् । उनीहरूको सोच, चिन्तन, व्यवहार र शैलीमा राजनीतिबाहेक अरू केही भएन । राजनीतिसँग उनीहरूको गहिरो आबद्धता रह्यो । त्यस क्रममा उनीहरूले आर्थिक उपार्जनका निमित्त आवश्यक ज्ञान, सीप, अनुभव आदि केही पनि आर्जन गरेनन् । उनीहरूको मानसिकता नै कमाउने भएन, केवल खर्च गर्ने मात्र भयो । कमाउने खालको बानी, व्यहोरा र जीवनशैली पनि भएन । वास्तवमा आर्थिक उपार्जनको दृष्टिले उनीहरू परजीवी रहे ।
पूर्णकालिक नेता कार्यकर्ता अहिलेसम्म प्राय: स्वयम् प्रत्यक्ष आयआर्जनका कार्यमा संलग्न भएका छैनन् । विगतमा पार्टीमा आयआर्जनमा लाग्नेहरूलाई नकारात्मक दृष्टिले हेर्ने र त्यस्तालाई राजनीतिमा माथि उक्लिन नदिने परम्परा पनि थियो । जनता जगाउने कार्यमा सक्रियतापूर्वक लागेका बेला त्यसो गर्नु अस्वाभाविक पनि थिएन । त्यसैले अहिले परिस्थिति बदलिएको अवस्थामा त्यो दृष्टिकोण परिवर्तन गर्नुपर्ने भएको छ । अब लिनुपर्ने दृष्टिकोण भनेको देङ सियाओ पिङले ‘धनी हुनु गौरवको कुरा हो भने अनुरूप हो । किशोरावस्थादेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएकाहरूका लागि यस्तो दृष्टिकोणमा संक्रमण गर्नु निश्चित रूपमा सजिलो छैन । किनभने कुनै पनि व्यवसायले सफल हुन पूर्ण व्यावसायिक दृष्टिकोण र व्यवहारको अपेक्षा गर्दछ, पूर्ण मन र ध्यानको माग गर्दछ, अर्ध मनले व्यवसाय चल्दैन । त्यो कठोर र निर्मम पनि हुन्छ, मितव्ययी र मन बाँध्नुपर्ने हुन्छ । व्यवसायमा दया, माया, संवेदनशीलता र उदारता भन्ने कुरा हुँदैन । त्यसमा पनि वामपन्थी राजनीति गर्दै आएकाहरूको निमित्त यस्तो हुनु झनै कठिन हुन्छ । पाई–पाईको हिसाब गर्नुपर्ने हुन्छ र हरहिसाब हरबखत चुस्त दुरुस्त राख्नुपर्ने हुन्छ । कति आयो र कति गयोको हिसाब नगर्नेहरूको व्यवसाय चल्दैन । राजनीतिलाई मनको एक कुनामा राखेर व्यवसायमा एकाग्र भएर लाग्नु सबैको बशको कुरा हँुदैन । कठोर पारिवारिक दबाबमा परेकाहरू मात्र अन्य सबै कुरा छोडेर यसो गर्न सक्दछन् । त्यस्मा पनि जे जस्तो जति छ त्यो बाँडीचुँडी खाने बानी परेका वामपन्थी नेता कार्यकर्ताहरूका लागि त सफल व्यवसायी हुनु सगरमाथा चढे जत्तिकै कठिन हुन्छ ।
पछिल्लो कालमा वामपन्थी राजनीतिकर्मीहरूबाट सुरु गरिएका व्यवसायमा यस्तै कमजोरी देखिएका छन् । प्रथमत: उनीहरूमा पूर्ण व्यवासायिक दृष्टिकोण, ज्ञान, सीप र व्यवहारको कमी देखिएको छ भने दोस्रो उनीहरूले आफन्त र सहकर्मी राजनीतिक मित्रहरूको दबाब झेल्न सकिरहेका छैनन् । उनीहरू व्यावसायिक दक्षताशून्य भएका बिल्कुल अनुत्पादक व्यक्तिहरूलाई रोजगारी दिनुपर्ने बाध्यतामा परेका छन् । त्यस्ता व्यक्तिहरूलाई निजी क्षेत्रले लगाएजस्तो गरी काममा लगाउन सकेको देखिँदैन र काम अनुसारको न्यून दाम दिन पनि सकेको देखिँदैन । यो प्रवृत्तिले व्यवसायलाई अघि बढ्न दिँदैन र दिएको पनि छैन । अत: यस विषयमा सबै समयमै सचेत हुनु आवश्यक छ । साथै ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण कुरा के छ भने सबैबाट व्यवसायको नेतृत्व हुन सम्भब हँुदैन । गरे के हँुदैन भन्दैमा सबैबाट सबै काम सम्भव हुँदैन । त्यसैले पुँजी डुबाएर पाठ सिक्नुभन्दा यसमा आत्मविश्वास नभएकाहरूले आफंैले व्यवसायको अगुवाइ नगरी सफलतापूर्वक कुनै व्यवसायको अगुवाइ गरिरहेकाहरूको व्यवसायमा पुँजी लगाई लाभांश लिनु श्रेयस्कर हुन्छ । साथै अगुवाइ गर्न चाहनेहरूले पनि व्यवसाय सुरु गर्नुअघि व्यवसाय सञ्चालनसम्बन्धी केही आधारभूत मान्यताको जानकारी लिनु राम्रो हुन्छ । लगानी गर्दैमा र व्यवसाय सुरु गर्दैमा पैसा फली हाल्दछ भन्ने भ्रममा पर्नु हँुदैन । यस्तो हुने भए धेरै मानिस समृद्ध भई सक्ने थिए । तर, एमालेका नेता कार्यकर्ता पार्टी राजनीतिमा जसरी सफल रहेका छन् व्यवसाय सञ्चालनमा पनि सफल हुनेमा शंका छैन ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
दिल्लीमा देउवाको दौडधुप
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
Leave a Reply