नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालका छ योगदान
१.कम्युनिस्ट आन्दोलन
कम्युनिस्ट आन्दोलन समाजमा रहेका सवैखाले विभेद, असमानता, शोषण, दमन र उत्पीडनहरूको अन्त्य गरी पूर्ण मानवीय समानतायुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको आन्दोलन हो । त्यसैले यो आन्दोलन साजका शोषित, पीडित, अपहेलित र विभेदमा परेकाहरू सवैको समग्र मुक्तिका निम्ति सञ्चालित आन्दोलन हो । यस आन्दोलनको उपर्युक्त अधिकतम लक्ष्यको प्राप्ति एउटा अत्यन्त कठिन कार्य हो तापनि असम्भव नै भने होइन । समाजका सबै शोषित—पीडित जन समुदायलाई सचेतन ढंगले यस आन्दोलनमा लगाउन सकेमा र पूर्ण धैर्यका साथ निरन्तर लागिरहेमा अवश्य पनि उक्त लक्ष्यमा पुग्न सकिन्छ भन्ने दृढ विश्वाका साथ चल्ने आन्दोलन नै कम्युनिस्ट आन्दोलन हो ।
२. पुष्पलाल र नेपाली कम्युनिस्ट आन्दोलन
राणा शासनविरोधी आन्दोलनमा लागेका आफ्ना सहोदर दाजु गंगालाल र उनका साथीहरूमाथि भएको क्रुर दमन र हत्याले पुष्पलालको कलिलो मस्तिष्कमा क्रान्तिकारी भावनाको बीजारोपण गरिदियो । तबदेखि नै उहाँ राणा शासनलाई ढाल्ने र नागरिक अधिकार लिइछाड्ने अठोटका साथ अगाडि बढ्नुभयो ।
सुरुमा उहाँ नेपाली राष्ट्रिय कांग्रेसमा सामेल भएर नेपाली क्रान्तिलाई अगाडि बढाउने प्रयत्नमा लाग्नुभयो । तर, त्यस पर्टीमा रहँंदा उहाँले एकातर्फ त्यस पार्टीका नेताहरूबाट क्रान्तिको नेतृत्व हुन नसक्ने महसुस गर्नुभयो भने अर्कोतर्फ नेपाली समाजको परिवर्तनका निम्ति कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्दै जाँदा उहाँ माक्र्सवादी साहित्य एवम् सिद्धान्तसँग परिचित हुनुभयो र सोही माक्र्सवादी सिद्धान्तअनुरूपको पार्टी निर्माण गर्नुपर्ने निष्कर्षमा पुग्नुभयो । तत्पश्चात उहाँ नेपाल कम्युनिस्ट पार्टी निर्माणको तयारीमा लाग्नुभयो । नेपाल कम्युनिस्ट पार्टीको निर्माण र विकासमा उहाँले मुख्य गरी निम्न प्रकारका योगदान गर्नुभएको छ :
क) कम्युनिस्ट पार्टी निर्माणको सैद्धान्तिक तयारी
उहाँले सर्वप्रथम विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपाली भाषामा अनुवाद गरी त्यसको भूमिकामा ‘पुँजीवादी समाजका सम्पूर्ण त्रुटिहरू र त्यस समाजपछि समाजवादी र साम्यवादी समाज यस संसारमा आउनैपर्छ भन्ने कुरा मात्र यसमा नदर्साई मानव इतिहासको सुरुदेखि मन्थन गरी यस घोषणा पत्रमा यस्ता यस्ता कुरा राखिएका छन्, जुन आज पनि कामीहरूका निम्ति उत्ति नै सही तरिकाले लागू हुन्छन्, जत्तिको त्यो जमानामा युरोपमा सही तरिकाले लागू भएका थिए’ भन्दै उक्त घोषणा पत्र लागू गर्नैका निम्ति लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसमा उहाँले तत्कालीन नेपाली समाजको विश्लेषण गर्दै त्यस समाजलाई परिवर्तन गर्न कम्युनिस्ट पार्टीको निर्माण गर्नुपर्नेमा जोड दिएर नेपालमा कम्युनिस्ट पार्टी निर्माणका निम्ति सैद्धान्तिक तयारी गर्नुभयो ।
ख) नेपाल कम्युनिस्ट पार्टीको गठन
पार्टी निर्माणका निम्ति आवश्यक सैद्धान्तिक तयारी गरिसकेपछि उहाँले नारायषविलाश जोशी, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ यी चार जना सहयोगी साथीहरूलाई साथमा लिएर २२ अप्रिल १९४९ (१० वैशाख २००६) का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । सोही दिन पार्टीको समान्य नीतिका रूपमा एउटा पर्चा पनि पारित गरियो । ‘नागरिक स्वतन्त्रता सबैलाई आवश्यकता, अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऔं’ भन्ने शीर्षकको उक्त पर्चा २ दिनपछि अर्थात १२ वैशाखका दिन सार्वजनिक गरियो, जुन नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो दस्तावेजका रूपमा रहेको छ ।
ग) आधारभूत नीति, सिद्धान्त र कार्यक्रमको निर्माण
पार्टी गठन गरिसकेपछि उहाँले पार्टीका आधारभूत सिद्धान्त, नीति र कार्यक्रमको तर्जुमा गर्ने कार्यमा आफूलाई लगाउनुभयो । त्यसै क्रममा उहाँले पार्टीको घोषणापत्र र प्रथम राष्ट्रिय सम्मेलनबाट पारित कार्यक्रम तथा पार्टी विधानलगायतका दस्तावेजहरू तयार गर्नुभयो । तिनै दस्तावेजहरूमा अगाडि सारिएका आम नीति, सिद्धान्त र कार्यक्रम नै सिंगो नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत नीति, सिद्धान्त र कार्यक्रमको रूपमा रहिआएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन आज पनि मूलत: उहाँद्वारा अगाडि सारिएका तिनै आधारभूत नीति, सिद्धान्त र कार्यक्रमको आधारमा चलिरहेको छ भन्दा कुनै अत्युक्ति हँुदैन । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत नीति, सिद्धान्त र कार्यक्रमको निर्माणमा पुष्पलालको अतुलनीय योगदान रहेको छ ।
घ) पार्टी बचाउने पहल
२०१७ सालमा राजाले जनताका सम्पूर्ण मौलिक हक तथा नागरिक अधिकारहरूको अपहरण गरेको बेला कम्युनिस्ट पार्टीको तत्कालीन नेतृत्वले राजाको उक्त प्रतिगामी कदमलाई समर्थन गर्ने नीति लिएपछि संकटमा परेको नेपाल कम्युनिस्ट पार्टीलाई जनअधिकारका निम्ति लडिरहने पार्टीको रूपमा बचाइराख्नका निम्ति उहाँले अथक प्रयत्न गर्नुभयो । त्यसबेला उहाँ राजतन्त्रका विरुद्ध चट्टान जस्तै भएर अडिनुभयो, जसले गर्दा पार्टीलाई एक क्रान्तिकारी पार्टीको रूपमा बचाइराख्न सम्भव भयो ।
ङ) पार्टी पुन:निर्माणको प्रयत्न
राजाको प्रतिगामी कदम (२०१७) पछि राजतन्त्रप्रतिको पार्टी दृष्टिकोण, संघर्षका तात्कालिक रूप र क्रान्तिको कार्यक्रम जस्ता सवालमा पार्टीभित्र देखापरेका गम्भीर मतभेदहरू तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा उत्पन्न मतभेद र विभाजनको प्रभावले गर्दा नेपाल कम्युनिस्ट पार्टी पनि विभाजित भयो र छिन्नभिन्न हुनथाल्यो । त्यसबेला पुष्पलालले पार्टीलाई पुनर्गठन गरेर बचाउने प्रयत्न गर्नुभयो । त्यसैक्रममा उहाँको नेतृत्वमा २०२५ सालको जेठमा नेकपाको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गरियो र त्यस सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम र राजतन्त्रका विरुद्ध निरन्तर संघर्षको नीति पारित गरियो । चिनियाँ सांस्कृतिक क्रान्ति र भारतको नक्सलवाडी आन्दोलन समेतको प्रभावबाट नेपालको कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थ हावीे भएपछि उहाँको त्यस पार्टी पुनर्गठन अयिानको प्रगतिमा गम्भीर धक्का लाग्यो । नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजनका रेखाहरू झनै बढी कोरिए ।
च) संयुक्त जनआन्दोलनको नीति निर्माण
मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था नामको राजाको एकदलीय तानाशाही शासन सुरु भएपछि पुष्पलालले त्यस तानाशाही व्यवस्थालाई ढाल्ने एक मात्र सही बाटो या उपाय संयुक्त जनआन्दोलन हो भन्ने कुरामा सधैंभरि जोड दिनुभयो । । आखिर २०४६ मा आएर त्यही संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था ढालियो र २०६२/०६३ मा पनि संयुक्त जनआन्दोलनमार्फत नै राजतन्त्रसमेत फालियो । व्यवहारबाट पुष्टि भयो कि उहाँको नीति सही रहेछ । आज मुलुकमा जुन सहमतीय राजनीतिको चलन चलेको छ, त्यसको मूल प्रतिपादक पुष्पलाल हुनुहुन्थ्यो । त्यसैले भन्न सकिन्छ कि उहाँ अत्यन्त दूरदर्शी र समयको मागलाई ठम्याउन सक्ने नेता हुनुहुन्थ्यो ।
४) पुष्पलालका केही विशेष गुण
पुष्पलालको समग्र जीवनको अध्ययनबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि उहाँ राष्ट्र र जनताप्रति पूर्ण रूपले समर्पित नेता हुनुहुन्थ्यो । उहाँ राष्ट्रियता र जनअधिकारका निम्ति निरन्तर संघर्षशील रहनुभयो । उहाँ सन्तुलित दृष्टिकोण र दृढ अडान राख्ने नेता हुनुहुन्थ्यो । निजी स्वार्थबाट माथि उठेको नेता हुनुहुन्थ्यो र सादा जीवन एवम् उच्च विचारको त उहाँ प्रतिमूर्ति नै हुनुहुन्थ्यो । उहाँबाट यी गुणहरू ग्रहण गरेर व्यवहारमा उतार्न सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply