आन्दोलन उठ्न ३० वर्ष

मैले ममफोर्डिगञ्ज डेराबाट निस्केर विश्वविद्यालय पुग्न रिक्सा पक्रें । विश्वविद्यालय गेट पुग्दा त्यहाँ अरू विदेशी विद्यार्थीहरू जम्मा भइसकेका थिए । थोरै केही नाम अझै मलाई ५५ वर्षपछि पनि मनमा पटक–पटक त्यस दिनका कुरा सम्झँदा हुँदा याद छन्– ली साउलान –चीन) ओलेग पेसोभ र मरिना पेसोभ (रुसी दम्पती), एलेक्सी काकतानोभ (रुस), रानो ग्यालिभोभा (तासकन्द), ग्रेटासार्टल (टेक्सास), प्रोफेसर बिची (थाले विश्वविद्यालय) र उनकी छोरी, भोतोयामिगामा (जापान) इत्यादि । मुख्य आयोजक र सञ्चालक चाहिँ इतिहास विभागका प्रमुख प्रो. भटनागर थिए ।
त्यस दिन सबैजनाको चर्चाको विषय स्वाभाविक रूपले नेपालको राजाको ‘कु’ थियो । एलेक्सी काकतानोभले हत्त न पत्त मलाई सोधे– ‘मार्न त मादैनन् होला नि ?’ मैले हाँस्दै भनें– ‘मादैनन् । तर केही समय थुन्न चाहिँ थुन्छन् ।’ रुसमा भर्खर स्टालिन युग समाप्त भएको थियो । जहाँ राजनीतिक मतभेदका कारण पक्राउ नेताहरू मारिन्थे ।
अमेरिकन प्रोफेसर बिचीले त्यसपछि मलाई भने– ‘के म बसमा तपाईंको सिटको बगलमा बस्न सक्छु ?’ मैले हाँसेर भनें ‘राम्रो ।’
हामीहरू सँगसँगै सिटमा बसेपछि उनले मलाई सोधे– ‘राजाको यो कदमको प्रभाव र परिणाम के होला ?’
म आज सोच्दछु मैले कति गलत मूल्यांकन गर्दै जवाफ दिएको थिएँ ‘केही समयमै जनता विरोधमा सडकमा उत्रनेछन् । र केही महिनापछि नेताहरू छुट्नेछन् ।’
प्रोफेसर बिचीले भने– ‘के इरानको जस्तो हुन सक्दैन ?’ इरानमा राजा शाह पहलवीले निर्वाचित मजलिस (प्रतिनिधिसभा)बाट प्रधानमन्त्री बनेर लामो समयदेखि शासन चलाइरहेका मोसाविक, उनका परराष्ट्रमन्त्री फातमी र अरू प्रजातान्त्रिक नेताहरूलाई सैनिक ‘कु’ गरी थुनेका थिए र लामो अवधि तानाशाही शासन चलाइरहेका थिए । प्रधानमन्त्री मोस्सदिक छाडी अन्यलाई त फाँसी नै दिएका थिए ।
आज सोच्दा मैले फेरि गलत मूल्यांकन आधारित मेरो उत्तर थियो– ‘भर्खर यति ठूलो बहुमत दिएर जिताएका लोकप्रिय नेताहरू र लोकप्रिय राजनीतिक दलहरूको जनतामा राम्रो प्रभाव छ ।’ बसमा हिजो पक्राउ परेका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायका भाइ जगदीश उपाध्याय चाहिँ चिनियाँ ली साउलानलाई भन्दै थिए– ‘यो भारतको धुत्र्याइँ हो । बाठो लि स्याउ लान लाटो बन्दै शुद्ध हिन्दीमा कसैले ऊसँग राजनीतिक विषयमा कुरा गरे सधैं एउटै कुरा भन्दथ्यो– ‘मित्र मै राजनीति विषय कुछ नही जानता हुँ । मै केवल हिन्दी भाषा सिखने पढ्ने आया हुँ । ‘र त्यसपछि चुप लागेर अरूले भनेको कुरा सुन्दथ्यो । त्यसबखत भारत र चीनको युद्ध भएको थिएन । कलकत्ताबाट निस्कने एउटा चिनियाँ अखबार एक दिन उसको हातमा देखेर सोधें– ‘यो प्रो पेकिङ हो कि विरोधी हो ?’ उसले हाँस्दै भनेको थियो– ‘यह सत्य लिखता है ।’ मैले बुझे यो कलकत्ताबाट निस्कने अखबार त्यस समय कम्युनिस्ट चीन समर्थक थियो । त्यस समय अर्थात भारत चीन युद्ध नहुँदासम्म कलकत्ताबाट चिनियाँ भाषाका दुई साप्ताहिक निस्कने गर्दथे । कलकत्तामा दुई वटा चाइनिज बैंकका शाखा पनि कारोबार गर्दै थिए ।
१९६० का् १६ डिसेम्बर म सारनाथ पुग्दा मेरा मित्र गणेशराज शर्मा (बीपीका पुस्तकका सम्पादक) र तौलिहवाका माधवबहादुर सिंह मलाई वाराणसी लिन आउनुभयो । र, प्रोफेसर भटनागरले नजा भन्दाभन्दै पनि छोडेर हिँडे । वाराणसीको जगदम्बा धर्मशालामा पुस २ गते २०१७ सालमा राजा महेन्द्रको पुस १ गते गरेको काण्डको विरोधमा मैले, बलराम उपाध्याय, गणेशराज शर्मा र अरूहरूले विरोधमा बोलेका थियौं ।
तर, २०१७ पुस १ गतेको भोलिपल्टैदेखि पञ्चायती निर्दलीय सिभिलियन तानाशाहीको विरोध प्रारम्भ भए पनि निर्णायक जनआन्दोलन उठ्न ३० वर्ष २०४६ साल फागुन ७ गतेसम्म समय लाग्यो ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply