राष्ट्रपतिमा रोचक भिडन्त
काठमाडौं । प्रधानमन्त्री बन्नका लागि एमाले अध्यक्ष केपी ओलीबाहेक अर्को दाबेदार नदेखिए पनि राष्ट्रपतिमा चाहिँ रोचक प्रतिस्पर्धा देखिने भएको छ । व्यक्त र अव्यक्त दुवै रूपमा भावी राष्ट्रपतिका लागि भित्रभित्रै जोडघटाउ सुरु भएको छ ।
राष्ट्रपति बन्नका लागि नेताहरूलाई देखिने गरी दौडधुप अझै सुरु गरेका छैनन् । सामान्यत: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री एमालेलाई र सभामुख एमाओवादीलाई भनेर नेताहरूबीच भद्र सहमति भएको छ । व्यक्तिका बारेमा एक ठाउँमा बसेर छलफल चाहिँ सुरु नभए पनि व्यक्तिगत र आफ्ना वरिपरिका बीचमा भने नेताहरूले चर्चा चलाएका छन् । स्रोतका अनुसार, अहिले राष्ट्रपतिका लागि चार जना नेताको नाम मुख्य रूपमा चर्चामा छ : डा. रामवरण यादव, सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ।
सुशीललाई गुटले रोक्दैछ
बाहिरबाट हेर्दा राष्ट्रपतिका लागि कांग्रेस सभापति सुशील कोइराला निर्विवाद जस्ता देखिन्छन् । सबभन्दा ठूलो पार्टीको सभापति, संविधान जारी गराउने सफलता पाएको प्रधानमन्त्री, उमेर अवस्था र पार्टीभित्रको शक्ति सन्तुलनका हिसाबले पनि उनी सबभन्दा उपयुक्त देखिन्छन् । प्रतिस्पर्धी शेरबहादुर देउवाले पनि छिटो सुशीललाई राष्ट्रपति बनाइदिएर आफ्नो मैदान खाली गराउन चाहेका छन् । कोइराला स्वयम् पनि दैनिक दौडधुप गर्नुभन्दा शीतल निवासमा गएर आराम गर्न चाहन्छन् । तर, बीपी कोइरालाको पालादेखि सुरु भएको कोइराला परिवारको बिँडो थाम्ने उत्तराधिकारी तयार नभएका कारण उनलाई अहिले कुनै पनि हालतमा सक्रिय राजनीतिबाट बिदा दिन नहुनेमा उनी निकटस्थहरू सक्रियतापूर्वक लागेका छन् ।
कोइरालाले बीपीपुत्र शशांकलाई उत्तराधिकारी बनाउन चाहेका छन् । तर, दुईपटक केन्द्रीय सदस्य र दुईपटक सांसद जितिसक्दा पनि उनले सार्वजनिक व्यक्तित्व बनाउन नसकेका कारण अहिले उनी सभापतिका लागि तयार हुने अवस्था छैन । कोइराला परिवारसँग नजिक रहेका महेश आचार्य, रामशरण महत, नरहरि आचार्य, नारायण खड्का, मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, दिलेन्द्र बडु, आनन्द ढुंगाना, प्रकाशमान सिंहलगायतका नेताहरूले अहिले कुनै पनि हालतमा सुशीललाई राष्ट्रपति हुन नदिने, उनी राष्ट्रपति भएमा आफूहरूको बिचल्ली हुने, कांग्रेसमा कोइराला परिवारको वर्चश्व समाप्त हुने र देउवा हावी हुने निष्कर्ष निकालेका छन् ।
शेखर कोइरालाले सार्वजनिक रूपमै एकपटक कार्यकारी पदमा पुगिसकेको मानिस राष्ट्रपति हुने कुरा सोच्न पनि नसकिने अभिव्यक्ति दिइसकेका छन् । सुजाता कोइराला भने सुशीललाई राष्ट्रपति बनाएमा कोइराला परिवारको मानिस चाहिन्छ भनेर पार्टीमा उपसभापति पाइन्छ कि भन्ने ध्याउन्नमा छन् । यस्तो अवस्थामा सुशील रोकिन सक्ने सम्भावना छ ।
सभापति नभए देउवाको तयार
विगतमा कोइराला क्याम्पमा रहेका केबी गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी, अमरेशकुमार सिंहदेखि कृष्णप्रसाद सिटौलासम्मले साथ दिने भएपछि सभापति जितिन्छ भनेर ढुक्क भएका शेरबहादुर देउवाले सुशीललाई शीतल निवास पठाउन सके प्रतिस्पपर्धी नै नपाउने स्थिति छ । तर, सुशील शीतल निवास नगए के गर्ने भन्नेमा देउवा स्वयम् दोधारमा छन् । सुशीलसँग फेरि लडेर हार्नुभन्दा शीतल निवासतिर जानु उनका लागि उपयुक्त बाटो देखिएको स्रोत बताउँछ । ६९ पुगिसकेका देउवाले यसपटक पनि चुनाव हारे भने फेरि शक्तिमा आउने बाटो लगभग बन्द हुन्छ भन्ने बुझेका छन् ।
सात वर्षअघि राष्ट्रपति निर्वाचनका बेलाको दृश्य सम्झिएको एक स्रोतले देउवा सजिलै राष्ट्रपति हुने दाबी गरेको छ । त्यतिबेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देउवा, रामचन्द्र पौडेल, रामवरण यादव र रामशरण महतलाई महाराजगन्जस्थित आफ्नै निवासमा बोलाएर चार जनामध्ये को उम्मेदवार बन्ने तय गर भनेका थिए । ‘माओवादीले माधवजीलाई धोका देला जस्तो छ, उनलाई उम्मेदवार बनायो भने हामी उम्मेदवारी दिँदैनौँ, यदि अरूलाई उठायो भने नजितिए पनि उम्मेदवारी चाहिँ दिनुपर्छ’ भनेर कोइराला भनेपछि चार जना नेता छलफल गर्न बसेका थिए । रामचन्द्र पौडेलले सुरुमै ‘म त सक्रिय राजनीति गर्ने मान्छे, उम्मेदवार हुन्न’ भनेपछि महतले देउवातिर हेर्दै ‘जितिने होइन, माओवादीले रामराजालाई उम्मेदवार बनाउँदैछ, रामवरणजीलाई उम्मेदवार बनाइदिऔँ न त’ भनेका थिए । तर, देउवाले लामो समयसम्म केही नबोली ‘नागरिकता बोकेर सिंहदरबार नै जाऔँ, त्यहीँ निर्णय गरौँला’ भनेर उठेका थिए ।
दिउँसो उम्मेदवारी दर्ता गर्नुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोइराला, देउवा र यादव वस्दा पनि लामो समयसम्म देउवाले मुख खोलेनन् । स्रोतले भन्यो– ‘कोइरालाले पनि सीधै रामवरण भन्न सकेनन्, देउवाले चाहिँ भन्दै भनेनन् । पछि कोइरालाले हार्ने चुनावमा प्रधानमन्त्री भइसकेको मानिस किन लड्ने ?’ भनेपछि देउवाले ‘गिरिजाबाबु, मैले पनि नागरिकता बोकेर आएको थिएँ’ भनेका थिए ।
स्रोतका अनुुसार, तीनपटक प्रधानमन्त्री भइसकेका देउवालाई काठमाडौंका सम्भ्रान्तहरुको सुझाव ‘एकपटक राष्ट्रपति भएर बिदा हुनूस्’ भन्ने छ । स्रोतले भन्यो– ‘तीनपटक प्रधानमन्त्री भइसक्नुभयो, चौथो पटक भए पनि खास केही हुने होइन । राष्ट्रपति भएर बिदा हुनुभयो भने इतिहास लेखिन्छ ।’ यस्तो अवस्थामा देउवा राष्ट्रपति बन्ने सम्भावना स्रोतले औंल्याएको छ ।
बलियो विकल्प रामवरण
सुशील कोइराला र शेरबहादुर देउवाका बीचमा विवाद भएमा बलियो विकल्पका रूपमा वर्तमान राष्ट्रपति डा. यादवकै नाम अघि आएको छ । संविधान जारी भएपछिका कुनै पनि प्रमुख पदमा मधेसी समुदायबाट नहुने सम्भावनालाई समेत ध्यानमा राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका लागि पनि डा. यादव उपयुक्त पात्र हुन सक्ने संकेत देखा परेको छ । स्रोतका अनुसार, राष्ट्रपति डा. यादवले आफैँ यस विषयमा मुख नखोले पनि स्रोतहरूले छलफल चलाएका छन् । स्रोतले भन्यो– ‘मुलुकलाई सहमतिका साथ अघि लैजाने हो भने तराईलाई पनि सम्बोधन नगरी सुख छैन । तराईको संवेदनशीलतालाई समेत ख्याल गरेर सबैलाई मिलाउनका लागि डा. रामवरण यादवले भूमिका खेल्न सक्छन् ।’
अन्तिम विकल्प दाहाल
कांग्रेस र एमालेबीच सम्बन्ध बिग्रेर कांग्रेस सत्ताबाहिर बस्ने सम्भावना पनि देखा पर्न थालेको छ । अर्काको नेतृत्वमा सरकारमा जान नरुचाउने कांग्रेसले आन्तरिक विवाद मिलाउन नसक्दा एमालेसँगको सम्बन्धमा असर पर्ने सम्भावना देखा परेको छ । यस्तो अवस्थामा कांग्रेसबाहेकको विकल्प खडा गर्नुपर्ने हुन्छ । एमाले र एमाओवादी मिलाउँदा संविधानसभामा बहुमत जुटाउन ३६ मत पुग्दैन । विजय गच्छदारको मोर्चाका १८, जनमोर्चाका ५, नेकपा (संयुक्त) का ५ र साना दलका १० सभासद् नयाँ गठबन्धनका लागि तयारै छन् ।
यस्तो अवस्थामा अन्तिम विकल्पका रूपमा एमाओवादी अध्यक्ष दाहालको नाम देखिएको छ । पाँच सात वर्ष सक्रिय राजनीति गर्ने कुरा दाहालले बताए पनि अब उनले कार्यकारी पद पाउने सम्भावना घट्दै गएको छ । चुनावबाट ठूलो पार्टी भएर एमाओवादी फर्किने सम्भावना समाप्त भएको छ । किनभने, त्यतिबेलासम्म बाबुराम भट्टराईले नयाँ पार्टी बनाउने प्रबल सम्भावना त छँदैछ, बनाएनछन् भने पनि विवादमा जेलिएको र ओरालो लागेको पार्टीका पक्षमा जनमत आउँदैन भन्ने प्रमाणित नै भइसकेको छ । स्रोत भन्छ, ‘यस्तो अवस्थामा दाहालले अब पाउने उच्चतम पद भनेकै राष्ट्रपति हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति मिलाउन सके उनले त्यो पद पाउन सक्छन् । तर, राष्ट्रपति र प्रधानमन्त्री दुवै वामपन्थीका हातमा जान सजिलो चाहिँ देखिँदैन ।’
सम्बन्धित समाचार
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
- प्रधानमन्त्री ओलीले पठाए मोदीलाई नेपाल भ्रमणको निम्तो
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
Leave a Reply