बहुदल आउँछ सर
![बहुदल आउँछ सर बहुदल आउँछ सर](https://ebudhabar.com/wp-content/uploads/2015/09/kamal-koirala.jpg)
पूर्वाञ्चल प्रहरी तालिम केन्द्रमा मेरो झ्याल नजिक तैनाथ रिक्रुटहरूसँग मेरो कुराकानी हुन थाल्यो । उनीहरू पनि कठबाँस लिएर धुमधुम्ती छ घन्टा उभिनु पर्दा बोर हुन्थे होला ।
एक दिन मैले त्यहाँ उभिएका युवा रिक्रुटलाई सोधें– ‘घर कहाँ हो ?’
उनले भने– ‘रनजनी ।’
रनजनी मोरङ जिल्लाको पहाडे बसोबास भएको गाउँ हो ।
अनि मैले सोधें– ‘के हालचाल छ ?’
‘बहुदल आउँछ सर । जति लाठी चार्ज गरेर खेदे पनि भोलिपल्ट फेरि जुलुस निस्किहाल्छ । म त लाठी चार्ज गर्दा खाली सडकमा लाठी हान्छु । जुलुसमा सँगै पढेका आफ्नै साथीहरू पनि हुन्छन् ।’
सायद उनले राति सुत्ने बेला आफ्नो ब्यारेकमा मसँग कुरा भएको भने होलान् आफ्ना साथीहरूलाई ।
अर्को दिन त्यस्तै प्रशिक्षार्थी अर्को युवकलाई सोधें– ‘तपाईंको घर कहाँ हो ?’ उनले भने– ‘धनकुटा हो ।’
एकैछिन चुप लागेपछि उनले भने– ‘मैले मोदनाथ प्रश्रितको पचास रुपियाँको तमसुक पढेको छु ।’
सायद उनले यो कुरा मलाई यो स्पष्ट पार्न खोज्दै भनेको जस्तो लाग्यो कि उनको परिवार पनि कम्युनिस्ट पार्टीसँग नजिक छ ।
एक दिन एउटा प्रशिक्षार्थी उरावँ युवकलाई त्यस्तै उभिएको देखेर उनलाई पनि सोधें– ‘घर कहाँ हो ?’
‘सुनसरी भोक्राहातिर हो ।’
मलाई थाहा थियो भोक्राहा कोसीपूर्वतिरको गाउँ हो ।
उनले अनि एकछिन पछि भने– ‘मेरो बा तपाईंकै पार्टीको गाउँ कमिटीमा हुनुहुन्छ ।’
म मुसुक्क हाँसे । उनी पनि खुसी भए ।
मैले सोधें– ‘उपेन्द्र यादवलाई चिन्नुहुन्छ ?’ उनले भने– ‘चिन्दछु । उनी पनि पक्राउ परेर धनकुटा जेल चलान भएको सुनें । प्रशिक्षण केन्द्रमा एक दिन मैले बिल्डिङ र ब्यारेकहरूको पछाडि ‘निरंकुश पञ्चायती व्यवस्था मुर्दावाद’ भन्दै कैयौं जना कराएको सुनें । म छक्क परें । किनभने यति धेरै राजनीतिक बन्दीहरू यहाँ छैनन् । के भएको रहेछ मलाई जान्ने साह्रै कौतुहल भयो । तर, आज अपरिचित र मतिर नहेरिकन सोझो हेर्दै बसेको प्रशिक्षार्थी थिए । साँझ ड्यूटी चेन्ज भएपछि फेरि त्यही रनजनीका युवा उभिन आए ।
मैले उनलाई सोधें– ‘दिउँसो ४ बजेतिर कम्पाउन्डभित्रै नारा लागेको सुनें । के भएको हो ?’
उनले हाँस्दै भने– ‘लाठी चार्ज गर्ने ट्ेरनिङ थियो । केही व्यक्तिहरूलाई जुलुस बनाएर नारा लगाउँदै अगाडि बढ्न अनि केही व्यक्ति प्रहरी बनी कठबाँस लिई लाठी चार्ज गर्न र उनीहरूलाई तितरबितर पार्ने अभ्यास गराइएको थियो ।’
केहीबेर पछि उनले थपे– ‘ट्ेरनिङ बडो गाह्रो छ । बिहान झिसमिसे उठेर दिशा पिसाब गरेर मुख धोई तयार हुनुपर्छ । बिहानै दौड कवाज गर्नुपर्छ । दिनभर गर्मीमा लाठी चार्ज गर्न दौडादौड गर्नुपर्छ । थकित भइन्छ । निन्द्रा पनि राम्ररी सुत्न पाइँदैन । अनि यताउती हेर्दै भने– ‘अलिकति गल्ती भयो भने घुस्सा डन्डा हानिहाल्छन् । कोही कोही प्रशिक्षण छाडेर भाग्छन् पनि ।’
मैले मनमनै सोचें कि अहिले यी प्रहरी प्रशिक्षण लिँदै छन् । प्रहरी बनेर थाना चौकीमा खट्न थालेपछि नेपालको प्रहरीमा क्रूर बनाउने वातावरण बन्दै जान्छ । पक्राउ परेकालाई कुटी–कुटी साबिती बयान गराउन सिकाइन्छ । बातैपिच्छे असईहरूले ‘साले मादर…’ ‘रन्डीको छोरा’ यस्ता सम्बोधन गरी अर्डर गर्न थाल्छन् ।
प्रशिक्षण केन्द्र स्थानान्तर गरिएपछि मेरो पत्नीसँग नियमित भेट हुन्छ । तर, अखबार ल्याउन दिइन्न ।
एकदिन एउटा पुरानो प्रहरीले अर्को प्रहरीलाई भनेको सुनें– ‘आज त गोली हानेर मारुला भनेको । गोली चलाउने अर्डर नै भएन ।’
सम्बन्धित समाचार
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
-
देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
-
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
-
काठमाडौं र ललितपुरका यी ठाउँमा लगातार तीन दिन विजुली अवरुद्ध हुने
-
झण्डै एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
Leave a Reply