आफूलाई कहिल्यै पनि पराजित ठानिनँ
मैले हरेक जंगचरमा आफूलाई अहिलेसम्म कहिल्यै पराजित ठानेको छैन । अहिलेसम्मको मेरो इतिहास हेर्दा पनि त्यही देखिन्छ । म १ कक्षादेखि ५ कक्षासम्म स्कुल नै गइन । एकैचोटी एक वर्ष पढेर छ कक्षामा भर्ना भएको । लगातार गरेर एसएलसी पास गरें । एसएलसी गर्दा मैले ‘एग्रिकल्चर’ र बायलोजी लिएर पढें । त्यतिखेर मेरो मेडिकल लाइनमा जाने सोच थियो । तर, इन्जिनियरिङ लाइन रोजें । इन्जिनियरिङ लाइनमा अप्सनल म्याथमेटिक्सको जरुरी पथ्र्यो । तर, मैले पास गरें । इन्जिनियरिङ लाइनमा पास गरेपछि म काम गर्दागर्दै जेल गएँ । जेलमा गएर नै मैले डिप्लोमा इन पब्लिक एड्मिनिस्ट्रेसन डीपीए गरें । जिकज्याक नै हो तर पास गरेरै छोडें ।
त्यसपछि म ०४८ सालमा संसद् भए । आफ्नो पहिचान त्यतिखेर पनि राखें । मध्यावधिमा म अलिकति मतले हारें । ०५१ सालमा म सुकुम्बासी आयोगमा गएँ । त्यो बेला सबैभन्दा राम्रो काम गर्ने नै मोरङको सुकुम्बासी आयोग हो । ०५६ सालमा फेरि निर्वाचित भएँ । निर्वाचित भएपछि मैले विकास समितिमा रहेर काम गरें । त्यसपछि ०६२/६३ को जनआन्दोलन भयो । त्यसको लागि मोर्चा सम्हाल्न लागें । ०६४ मा मेरो निर्वाचन क्षेत्र नै तीन टुक्रा पारिएको थियो । त्यसैले मैले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेको थिएँ । पार्टीले समानुपातिकमा लिएर आयो । म अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक र अधिकार निक्र्यौल समितिको सभापति भएर काम गरें । विकट भोजपुर र मोरङमा जनमत संकलन भयो । जनमतबाट आएको सुझाव पढ्दैछ भनेर पत्रिकामा आएपछि कतिपय मान्छे दंग परेर फोनसमेत गरे । ज–जसको मोबाइल नम्बर थियो उहाँहरूलाई मैले तपाईंको सुझाव पढ्दैछु भनेर फोन गरेको थिए । एउटै बैठकमा २२ दिनसम्म बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म चलाएर पहिलो सर्वसहमत प्रतिवेदन तयार पारें । अहिले पनि संविधानमा त्यही कुराहरू उल्लेख भएको छ ।
त्यसपछि अर्को लेखासमिति पनि थियो । त्यसमा ३–४ जना मेजर मान्छेमध्ये म पनि पर्थें । निर्णय गर्दा हाम्रो बढी नै भूमिका हुन्थ्यो । त्यतिखेर एमआरपी पासपोर्ट छपाइको निर्णय गर्दा मेरो भूमिका कस्तो रह्यो भन्ने कुरा जोसँग सोधे पनि थाहा हुन्छ ।
अन्तत: २ वर्षमा संविधान बनेन । मैले २ वर्षमै संविधान बन्ने उपाय मसँग छ भनेको थिएँ । सबै नेतालाई संविधानसभा हलमै राख्ने, हप्तामा एक दिन मात्र छुट्टी दिने । त्यसो गर्न सकेको भए २ वर्षमै संविधान बन्थ्यो । स्विट्जरल्यान्डमा तथा अमेरिकमा छलफल गरेर अनि विभिन्न देशमा गएर छलफल गरेर संविधान बन्दैन । म त कहीँ पनि नगएर बनाएको सर्वसहमतको प्रतिवेदन अहिले पनि संविधानमा त्यही रह्यो । २ वर्षमा नबनेको हुनाले म चुनावै लड्दिन भनें । मैले चुनाव लडिनँ । ०६४ मा पनि लडिनँ, ०७० मा पनि लडिनँ ।
पछिल्लो पटक पार्टीले मलाई मन्त्री बनायो । मन्त्री बनाएपछि मैले आफ्नै हिसाबले काम गरें । मेरा कुनै नेताहरूले यो तरिकाले तैंले काम गर् भनेनन् । बरु मलाई एकदिन ईश्वर पोखरेल कमरेडले छलफल गर्न बोलाउनुभयो । उहाँले पनि धेरै कुरा भन्नुभयो । कतिपय कुरा त नेताहरूको त मलाई जायज लाग्दैन, त्यसकारणले मैले हरेक कुरा अलि विश्लेषण गरेरै गर्ने गर्छु भनिदिएँ । अनि उहाँले नेताहरू सबैले भन्छन् । सबैको काम गर्दै जानुभयो भने अप्ठ्यारो पर्छ । अप्ठ्यारो परेमा मैले भनेको होइन, जसले गर्छ उसैले जान्दछ पनि भन्दिन्छन् । राम्रो काम भयो भने मैले नै व्याकअप गरेको हो भन्छन् । त्यसकारणले यो सबै कुरा छुट्याएर काम गर्नुहोला भनेर उहाँले भन्नुभयो । मैले त्यही छुट्याएर काम गरें । एजेन्डा आफैं खोजें । एजेन्डाहरूलाई फलो आफैं गरे । राष्ट्रव्यापी बहस गरें । थुप्रै अवरोधका बीचमा पनि मेरा एजेन्डाहरू स्थापित भए । ऐनमा मात्र स्थापित भएन संविधानमा पनि स्थापित भए ।
त्यस आधारले मेरो काम गर्ने शैली नै फरक छ । म जहाँ जान्छु मैले श्रेष्ठता कायम गर्नेगरी काम गछुृ । म त एउटा मजदुर नेताको रूपमा लागेको मान्छे न हो । मदन कमरेडले मजदुर फाँट मात्र होइन, पार्टी नै सिङ्गै हाँक्नुपर्छ भनेर त्यतातिर ल्याउनुभएको हो । पार्टीको संगठित सदस्यता लिनुभन्दा पहिल्यै होलटाइमर भइसकेको मान्छे हो । त्यसकारण म जुनसुकै जिम्मेवारी आइपरे पनि सक्दिनँ भन्दिनँ ।
यही मन्त्री हुँदा पनि इन्जिनियरिङ क्षेत्रको दिएको भए पनि हुन्थ्यो नि, यतातिर केही बुझेको छैन भन्या जस्तो लागेको थियो । अलि–अलि असन्तुष्टि पनि व्यक्त गरें । अरू नेताहरू धेरैलाई त थाहा थिएन, तर जेएन कमरेडले ‘तपाई प्रशासन पनि पढेको मान्छे, हिम्मत गर्नु न, गरिहाल्नुहुन्छ नि’ भनेर हौस्याउनुभयो । त्यसपछि मैले हिम्मत गरें । ३–४ दिन त एक किसिमले बौलाहा तालले निद्रा पनि लागेन । तर, जब मैले कामको सुरुआत गरें । ट्र्याक लिए, त्यसपछि समर्थन र विरोध दुवै आउन थाल्यो । यो ‘इस्यु’ नयाँ थियो ।
यो ‘इस्यु’ उठाइसकेको अलि दिनपछि चिनियाँ राजदूतले भेटे । दुईचोटि भेटेपछि चीनमा त सात महिनापछि लागू नै भयो । तर, यहाँ परित गर्न नै १७ महिना लाग्यो । तर, संसारमा यो ‘इस्यु’ मैले उठाएँ । उठाएर स्थापित पनि गरें । यही ‘इस्यु’मा अमेरिकी राजदूत पनि कुद्दै आए । भारतीय राजदूत पनि कुद्दै आए । सबैलाई ‘कन्भिस’ गराएँ । नेपालमा त हल्लीखल्ली नै मच्चियो । पत्रिकाहरूमै आएको थियो कि बालुवाटारमै १० रेक्टर स्केलको भुइँचालो गयो भनेर ।
यो राम्रो हो वा यो नराम्रो हो भन्ने दुईखालका तर्क आएका थिए । लागू गर्ने कि नगर्ने भन्ने पनि त्यस्तै दुईखाले बहस भएका थिए । लागू कुनै हालतमा हुन दिन्नौं भन्नेहरू पनि थिए । अन्तत: संविधानमै परिसक्यो । अब लागू भयो । यसले नेपाललाई एकदम स्किनिङ गरिदियो । यसले राष्ट्रियतालाई कमजोर बनाउने बेलामा राष्ट्रियताको महत्त्व कति रहेछ भन्ने कुरा पनि देखाइदियो । हाम्रो प्रशासनमा धमिरा पनि कसरी लागेको रहेछ भन्ने कुरा जनताले थाहा पाए । यसबाट नेपाल र नेपालीलाई नाफैनाफा छ ।
नेताहरूको तीनै जनाका आ–आफ्ना विशेषता छन् । तर, सिङ्गो एमाले नै संगठित शक्ति हो । त्यसैले नेताहरू संगठित रूपमा जाँदा एमालेलाई कसैले परास्त गर्न सक्दैन । तर, एक्लै एक्लै जान खोज्ने हो भने एमाले कमजोर हुन्छ । त्यही हिसाबले ०५४ सालमा एमाले कमजोर भयो । ०७० सालको चुनावमा पनि सबै नेता एक मन मिलाएर हिँड्नुभएको भए पहिलो नम्बरमा पार्टी आउँथ्यो । अब भविष्यमा पनि एमालेलाई एक बनाउनका लागि नेतापिच्छेको एमाले होइन कि सिङ्गो एमाले आवश्यक छ ।
दैनिक तालिका
म प्राय: साढे चार बजे उठ्छु । त्यसपछि नियमित कर्म गरेर पाँच सातचोटि तल–माथि गर्छु । सुगरको समस्या छ । बिहानै खाली पेटमा औषधि खान्छु । पानी–सानी खाइसकेर अलिकति जौको सातु खान्छु । त्यसपछि बीसीएम मेसिनमा १५ मिनेट उभिन्छु । त्यो भनेको आधा घन्टाको जगिङ हो । त्यसपछि फुर्सद भयो भने कम्प्युटरमा बस्छु । नभए भेटघाटको कार्यक्रममा व्यस्त हुन्छु ।
भेटघाटलाई आफैं सहज पार्छु
आफूसँग अलिकति पनि समय छ भने म कसैलाई कुराउँदिन । धेरैचोटि कुरायो भने भीड हुँदै जाने हो । अन्यथा ‘मल्टिप्लाई’ हुन्छ । त्यसो भएकाले कुनै–कुनै दिन मात्र अलि भीड हुने हो । कतिले मन्त्रालयमा पनि २–३ बजेपछि मात्र भेट्ने समय कायम गर्छन् । तर, म त्यस्तो गर्दिनँ । खास जरुरी मिटिङ परेको अवस्थामा बाहेक अरू बेला भेटघाट केन्द्रित गर्छु । र, आएका टेलिफोन आफैं सबै उठाउँछु । सचिवालयमा साथीहरू पनि हुनुहुन्छ । उहाँहरूले पनि सहयोग गर्नुहुन्छ । मैले सचिवालयको मात्र भर पर्दिनँ । यसले अलिकति व्यस्त त बनाउँछ तर अलि फाइदा पनि हुन्छ । सरल र सहज ढंगले सबैसँग पहुँच राख्नुपर्छ भन्ने मेरो सिद्धान्त हो । मैले टेलिफोन नम्बर पनि अहिलेसम्म फेरेको छैन । मेरो अनुमानमा अढाइदेखि ३ लाख मान्छेसँग यो नम्बर छ । स्वदेशदेखि विदेशबाट सम्म टेलिफोनहरू आइरहेका छन् । राति १२–१ बजेतिर पनि आउँछ । कहिलेकाहीँ निन्दा खल्बलिन्छ । नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्छ । कसै–कसैले त खाएपिई गरेर पनि टेलिफोन गर्ने गर्छन् । त्यसतासँग एकचोटि त कुरा होला अर्कोचोटिदेखि मैले उसको टेलिफोन कहिल्यै रिसिभ गर्दिनँ । त्यसलाई ‘ब्ल्याक लिस्ट’मा राखिदिन्छु । सज्जन मान्छेले काम पर्दा जतिखेर पनि सम्झिउन् तर रमाइलो गर्नका लागि टेलिफोन गर्ने हो भने म सहँदिनँ ।
मरेर यसरी बाँचे
म ०४४ सालमा भूमिगत भएकै बेलामा रोगले थलिएँ । सेप्टिक अर्थराइटिक भन्ने एक किसिमको प्यारालाइसिस नै भयो । त्यतिखेर दाहिने हात र दाहिने खुट्टा काट्नुपर्छ भनेर डाक्टरले सिफारिस गरेका थिए । त्यो बेला म धेरै दिन निदाइनँ । भूमिगत मान्छे हात र खुट्टा नै काट्नुपर्छ भने पनि जिन्दगी के हो र ? भन्याजस्तो लाग्यो । त्यतिखेर मैले पटनामा अन्तिम प्रयास स्वरूप उपचार गराएँ । हड्डीका एक डाक्टर थिए, उनले अन्तिम पटक प्रयास गर्छु भने । सायद अहिले त बितिसके होलान् । दिनमा पाँचचोटि इन्जेक्सन लाउन पथ्र्यो । ०४४ सालमा त्यसका लागि दिनको पाँच सय रुपियाँ खर्च हुन्थ्यो । एकचोटि इन्जेक्सन लगाउँदा दुई घन्टासम्म कसैलाई चिन्दैनथें ।
जचाउँथे पटना तर विराटनगरको अहिलेको पार्टी अफिस छेउमा आएर हेल्थ असिस्टेन्टसँग सुई लगाउँथे । त्यसरी बल्ल–बल्ल बाँचें । एक किसिमको टोनिक बाथ हो । अहिलेसम्म पनि चिसोदेखि बच्नुपर्ने समस्या छ ।
०३८ सालमा म हनुमानढोकामा ९६ दिन बस्नुपर्यो । त्यो बेला साह्रै अप्ठ्यारो अवस्था भयो । साह्रै पीडादायी थियो । घामको अनुहार नै देखिएन । त्यतिखेर त अब बाँचिन्न कि जस्तो पनि लागेको थियो । मैरै आइडियाले दुई जनालाई हनुमानढोका तोड्न लगाएँ । त्यसपछि हामीलाई केन्द्रीय कारागार लगियो । त्यतिखेर आरके, केपी कमरेड सबै त्यहीँ हुनुहुन्थ्यो । एकदम कमजोर थिएँ । मरिने पो हो कि भन्ने लाग्यो । छिन्ताङ काण्डका साथीहरू पनि हुनुहुन्थ्यो । सबैले नआत्तिन भने । निको हुने उपायको खोजी भयो । उहाँहरूकै सल्लाहमै काँचो अण्डा हरेक दिन बिहान १–१ अओटा आँखा चिम्लेर खान थालेको त त्यसपछि मोटाउन थालियो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply