भूमिगत जीवनका अध्यायहरू
बीसको अन्तिम दशकतिर, तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध चेतनशील युवा पंक्ति जुर्मुराउन थालेको थियो । पञ्चायतले एकपछि अर्को सुधारोन्मुख कार्यहरू गर्दै जनतालाई अल्मलाउने प्रयत्न जारी राखेकै बेला पूर्वमा भने व्यवस्थाको विकल्प खोज्न थालिएको थियो । र, त्यसको नेतृत्वको भर्खरका युवा पंक्तिले गरिरहेको थियो । मेचीपारिको एउटा सीमान्त बस्ती नक्सलबाडीमा कम्युनिस्ट विद्रोहीहरूले सल्काएको क्रान्तिको झिल्को छेउकै झापा जिल्लासम्म आइपुगेको थियो र त्यो झिल्कोले समाज परिवर्तनको दिशामा लाग्न चेतनासम्पन्न युवाहरूलाई उत्प्रेरित गरिरहेको थियो । त्यही उत्प्रेरणाले जन्माएको एउटा पात्र थिए– मुकुन्द न्यौपाने । जसले २३ वर्षकै उमेरमा जीवनका अरू अपेक्षाहरूलाई कुल्चेर गरिब, शोषित र उत्पीडित जनताको मुक्तिदाता बन्ने चाहना राखेका थिए र भूमिगत राजनीतिक जीवनसमेत प्रारम्भ गरेका थिए ।
युवा वयमै कम्युनिस्ट विचार, सिद्धान्त अपनाएर क्रान्तिको मार्ग रोजेका अहिलेका एमाले नेता न्यौपानेले जीवनका प्रारम्भिक दिनहरूमा आफूले झेलेका विभिन्न दु:ख, कष्ट र अनुभूतिहरूलाई ‘आन्दोलनका प्रारम्भिक दिनहरू’ मा शब्दबद्ध गरेका छन् । ०२६ सालमा नजानिँदो ढंगले संघर्षमा होमिएका उनले करिब एक दशकसम्म बिताएका खुला र भूमिगत जीवन यात्रालाई यो पुस्तकमा समेट्ने प्रयत्न गरेका छन् ।
आर्थिक समस्याले उत्पन्न गराउने तनाव अरू तनावभन्दा भिन्न हुन्छ । भोजपुरबाट बसाइँ सरेर झापा आएका न्यौपाने परिवारका उनले आर्थिक तनाव झेल्दै गरिरहेका बेला भद्रपुर भन्सार कार्यालयमा मुखियाको जागिर पाउँछन् । तर, मूल्यवृद्धिका विरुद्ध भद्रपुरमा विद्यार्थीहरूले निकालेको जुलुसमा सामेल भएका उनको त्यही कारण जागिर खोसिन्छ । पहिलो पनि विद्रोही स्वभावका उनमा जागिर खोसिएपछि झन् विद्रोह पलाउँछ । अन्तत: तत्कालीन व्यवस्थाका पृष्ठपोषकहरूको उनीप्रतिको दृष्टिकोण र हरेक कार्यमा अवरोध सिर्जना गर्ने स्थिति जन्मिएपछि उनले कम्युनिस्ट आन्दोलनमार्फत् समाज परिवर्तन गर्ने र आफूलाई गरिब जनताको मसिहा बनाउने अभियानमा होम्छन् ।
तत्कालीन समयमा झापामा तीव्र रूपमा संघर्ष उठिरहेको थियो । तर, संघर्षलाई दबाउन दमनको चक्र पनि चलाउन थालियो । दमन तीव्र बन्दै गएपछि सीपी मैनाली, मोहनचन्द्र अधिकारीसँगै उनी पनि भूमिगत भए र पूर्णकालीन राजनीतिक कार्यकर्ता बने । भूमिगत शैलीमा पार्टीको काम गर्न थालेपछि झापाबाट प्रारम्भ भएको उनको सांगठनिक जीवनयात्रा नारायणी अञ्चलको बारा जिल्लामा बढी केन्द्रित हुन थाल्यो । खासगरी, झापामा बढी दमन हुन थालेपछि सुरक्षित थलो र पार्टी विस्तार गर्ने उपयुक्त ठाउँ खोज्दै उनले नारायणी अञ्चलमा पाइला टेकेका थिए । उनी लेख्छन्– ‘निजगढको उत्तर चुरे फेद लालमा एउटा तामाङ गाउँ रहेछ, त्यहाँ केही क्षेत्री बाहुनका घर पनि रहेछन् । एउटा गाउँलेका छोराछोरी पढाउने तीन कक्षासम्मको स्कुल पनि रहेछ । त्यही घर भएका शिक्षक नवराज शर्मा त्यहाँ पढाउँदा रहेछन् । म केही दिन उनको घरमा बसेँ । र, त्यहीँ प्राथमिक पाठशालामा उनीसँगै स्वयम्सेवक भएर पढाउन थालेँ ।’
नारायणी अञ्चलमा काम गर्दै जाँदा स्थिति असहज बनेपछि उनी हिँडे, आफ्नै जन्मथलो भोजपुरतिर । तर, भोजपुरमा पनि उनको मन अडिन सकेन । र, त्यसपछि जनकपुरतिरको यात्रा चाले । जनकपुरमा केही दिन बसेपछि उनी पुन: बारातिरै फर्किए र त्यहाँ संगठन निर्माण गरे । त्यही समय, जनकपुरमा बस्दा मोरङको पार्टी काम उठाउन सकिन्छ भन्ने आशमा मोरङ गएका उनले त्यहाँको छिन्नभिन्न अवस्था देखेपछि फेरि जनकपुर, नारायणी अञ्चलमा नै फर्किएर सांगठनिक जीवन गतिशील बनाउने सोचे ।
राजनीतिक जीवनको सुरुआती दिनहरू झापा, मोरङ, जनकपुर, सर्लाही, बारा, रौतहट, सिरहामा सक्रिय रहेका चर्को दमनको पर्वाह नगरी उनले त्यस क्षेत्रमा कम्युनिस्ट विचारधारालाई जनपंक्तिमा पुर्याउन विशेष भूमिका खेलेको प्रस्टै बुझ्न सकिन्छ । त्यस भेगमा क्रियाशील हुँदा संगठित भएकाहरू अहिले केही राष्ट्रिय राजनीतिको केन्द्रमा नै रहेर काम गरिरहेका छन् भने केहीले पलायनको बाटो समेत रोजे । तर, तत्कालीन समयमा एकातिर राज्यको तीव्र दमनबाट बच्नुपर्ने र अर्कोतिर पार्टीभित्र उत्पन्न विवादलाई हल गर्नुपर्ने दुई मुख्य चुनौतीबीच उनी घेरिन पुगेका थिए । चाहे सीपी मैनाली र मोहनचन्द्रबीचको विवाद होस् वा माधवकुमार नेपाल र विश्व भट्टबीचको चर्को राजनीतिक बहस होस् वा चारु मजुमदारलाई अध्यक्ष मान्ने वा नमान्ने भन्नेबीच उत्पन्न विवाद नै किन नहोस्, यी सबै प्रकरणहरूमा उनले आफ्नो भूमिकालाई सार्थक रूपमा प्रदर्शन गरेको झल्को उनको लेखनबाटै प्रस्ट हुन्छ ।
पञ्चायतले कम्युनिस्टहरूमाथिको दमनलाई तेजिलो तुल्याएको बेला घर, परिवार त्यागेर भूमिगत राजनीतिमा होमिएका एक युवाको कथा बक्न मात्रै यो कृति तयार भएको छैन, यसले तत्कालीन समयमा व्याप्त राजनीतिक उतार–चढाव, अन्तरविरोध, त्यसले समाजमा ल्याएको तरंग र सामाजिक जीवनका आर्थिक पाटाहरूलाई समेत सूक्ष्म रूपले नियाल्ने प्रयत्न गरेको छ ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply