फेरि प्रजातन्त्रको सुरुवात
म पूर्वाञ्चलको प्रहरी प्रशिक्षण केन्द्रमा थुनामा रहँदारहँदै चैते दसैं आयो । मलाई चैते दसैं पूर्वको अष्टमीमा खसी र बोकाहरू काटिने समय अरू समयभन्दा बढी स्वतन्त्रता दिइयो र प्रहरीहरूको भीडमा मिसिन दिइयो । प्रशिक्षार्थी प्रहरी, प्रहरी असई, सई, इन्स्पेक्टरलगायत धेरै उच्च अधिकृतहरू थिए । केहीबेरमा त्यस केन्द्रको प्रमुख र पूर्वाञ्चल डीआईजी रहेका मोतीलाल बोहरा आए । म अघिल्लो पंक्तिमै उभिएको थिएँ । मोतीलालले मेरो नजिक उभिएर सोधें, ‘सन्चो सुबिस्तै छ ?’ औपचारिक शिष्टाचार छाडी अन्य कुरा उनले मसँग गरेनन् । तर, मैले मनमनै महसुस गरें कि वातावरण थुनामै पनि झन्झन् सहज भएको छ ।
म केटाकेटी हुँदा विराटनगरमा चैते दसैंको खास महिमा थिएन । केवल मारवाडीहरू रामनवमीदेखि नयाँ खाता बुट्टी र आगामी वर्षको सौदा किनबेच प्रारम्भ गर्दथे । कोहीकोही धनी पहाडे क्षेत्री मात्र बोका वा खसी काट्दथे। तर, वैशाख १ गते नयाँ वर्षचाहिँ पहाडेहरू मात्र होइन, गाउँले थारू, उराव, मुरियाटीहरू पनि मनाउँथे । उनीहरू खसी, बंगुर, कुखुराको मासु पनि खान्थे । तर, धनी राजवंशी थारूहरूचाहिँ हाँस वा खसी मात्र खान्थे । कुखुरा र बंगुर छुँदासम्म छुँदैन थिए । मोरंगिया थारूहरूचाहिँ सुँगुर खोरमा ढुटो खान दिएर पाल्दथे र खान्थे । तर, सुँगुर पाल्दैनथे । राजवंशीहरूलाई अरू थारूहरू ‘बंगाली’ भन्दथे । मोरङमा राजवंशीहरू पनि दुई प्रकारका छन् । बंगाली राजवंशी जो बंगाली भाषाको अपभ्रंश घरमा बोल्दछन् र खोटा राजवंशीहरू जो अरूझैं मैथिलीको अपभ्रंश बोल्दछन् ।
त्यो बखत बंगाली राजवंशीहरूमा जाँडरक्सीको पनि कम प्रचलन थियो । तर, थारूहरू, उरावहरू, मुरियारीहरू, सतार, गनगाईं, धिमालहरूमा जाँडरक्सी चाडबाडमा अनिवार्यजस्तै थियो । मलाई मोरंगिया थारूहरूको चालचलन राम्रो लाग्छ । काठमाडौंका ज्यापुहरूसँग मधेसमा कुनै जातिको उठाइबसाइ नजिक छ भने त्यो मोरंगिया थारूहरू हुन् जस्तो लाग्छ ।
म सानो केटाकेटी हुँदा मोरङमा आजको जस्तो राई, लिम्बू, मगर, गुरुङ, तामाङहरूको सबैभन्दा ठूलो संख्या मोरङमा थारूहरूको थियो । त्यो बेला मोरङ र सुनसरीको एउटै मोरङ जिल्ला थियो ।
२०१५ सालको प्रथम आम निर्वाचनको मतदाता सूची हेर्न पाउनुभयो भने सबैभन्दा ठूलो संख्या थारूहरूको देखिनेछ । तर, मलेसी इराडिकेसन (औलो उन्मूलन) कार्यक्रम अमेरिकी सहायतामा केही वर्ष चलेपछि र पूर्व–पश्चिम राजमार्ग बन्ने सिलसिलामा चारकोसे झाडीको फँडानी सुरु भएपछि झन् व्यापक रूपले पूर्वी पहाडका राई, लिम्बू, मगर, गुरुङ, बाहुन, क्षेत्रीको ठूलो बसाइासराइपछि मोरङको तराईमा पनि पहाडेहरूको घना आवादी भयो । हुन त पहिले पनि मोरङमा भोटेनी, सिंहदेवी, टाँडी, बारंगी, मधुमल्ला इत्यादि पहाडे बसोबासका इलाकाहरू थिए । तर पछि रमाइलो झोरा, कुलझोरा, इन्द्रझोरा, लक्ष्मीमार्ग, डाँगीहाट, उर्लाबारी, पथरी, इन्द्रपुर, विराटचोक इत्यादि ठूलाठूला र घना आवादी भएका बस्ती आए ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply