भेरी–कर्णालीमा नेपालका नौ दिन
काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल भेरी कर्णाली क्षेत्रका जनता र कार्यकर्तासँगको भेटघाट कार्यक्रम सकेर नौ दिनपछि सोमबार काठमाडौं फर्कनुभएको छ । पत्नी गायत्री नेपाल समेतलाई लिएर कात्तिक २९ गते बाँके जानुभएका उहाँले यसबीचमा भेरी कर्णाली क्षेत्रका सुर्खेत, दैलेख, कालिकोट, जुम्लालयायतका जिल्लाका विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरूलाई सम्बोधन गर्नका साथै त्यहाँका जनता, कार्यकर्ता र बुद्धिजीवीलाई भेटेर उनीहरूमार्फत त्यस ठाउँका विकास गतिविधि, विकासको सम्भाव्यता र योजनाका विषयमा छलफल गर्नुभएको थियो ।
कात्तिक २९, कोहलपुर बाँके
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेपालले उद्योगी विजय गुप्ताको घरमा उद्योगी व्यवसायीहरूसँग नाकाबन्दीले पारेको संकटका बारेमा छलफल गर्नुभयो । त्यसपछि उहाँले सिद्धार्थ कटेजमा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकाय तथा नेपाल आयल निगमका स्थानीय प्रमुखसँग छलफल गर्नुभयो । सोही दिन नेकपा (एमाले) बाँकेको पार्टी कार्यालयमा आयोजित पत्रकार अन्तक्र्रियालाई सम्बोधन गरेर पार्टी कार्यालयमै कार्यकर्ताहरूसँग भेटघाटमा व्यस्त रहनुभयो । नाकाबन्दीले पारेको संकटबारे बुझ्ने क्रममा सोही दिन उहाँले नेपालगंजका केही उद्योगहरूको निरीक्षण र जानकारी लिनुभयो । कोहलपुरका कार्यकर्ता स्वर्गीय रामचन्द्र अधिकारीको घरमा पुगेर श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा समवेदना व्यक्त गरेपछि सडक दुर्घटनामा घाइते एक कार्यकर्ताको घरमा पुगेर शीघ्रस्वास्थ्य लाभको कामना गर्नुभयो । कोहलपुरमा एमालेमा प्रवेश गर्नेलाई स्वागत गर्दै सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि बेलुकी बाँके पार्टी प्रमुखको घरमा खानासहित भेटघाटमा व्यस्त रहनुभयो ।
कात्तिक ३०, वीरेन्द्रनगर, सुर्खेत
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाल ‘भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम’ अन्तर्गत दोस्रो दिन सुर्खेत जिल्ला पुग्नुभयो । सुर्खेतको होटल अशोकामा सुर्खेतका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका अञ्चल प्रमुखसहितका सुरक्षा अधिकारीहरूसँग छलफल गरेर सुर्खेतका पर्यटकीय स्थान काँक्रेबिहार र भुलभुले ताल क्षेत्रको अवलोकन गर्नुभयो ।
मध्यपश्चिम क्षेत्रका जनपथ तथा सशस्त्र प्रहरीका डीआईजीहरूसँग भेट गरेपछि उहाँले वीरेन्द्रनगरस्थित घन्टाघरमा रहेको सभाकक्षमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई विशेष सम्बोधन गर्नुभयो । कार्यक्रममा ठूलो संख्याको उपस्थिति थियो । नेता नेपालको सम्बोधन सुन्न हलभित्र र बाहिर चौरमा समेत ठूलो भीड लागेको थियो । सुर्खेतको पुरानो सामुदायिक विद्यालय जन उच्च मा.वि.पुगी सार्वजनिक विद्यालयका समस्याबारेका केही सुझाव लिन समेत भ्याउनुभएका नेता नेपालले स्थानीय दुईओटा टेलिभिजन च्यानलहरूमा अन्तर्वार्ता दिनुभयो । सोही दिन उहाँले मध्यपश्चिम विश्वविद्यालयको बारेमा उपकुलपति तथा पदाधिकारीहरूद्वारा जानकारी लिएपछि कार्यकर्ताहरूसँगको भेटघाटमै व्यस्त रहनुभयो ।
मंसिर १, डाब, दैलेख
‘भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम’ अन्तर्गत तेस्रो दिन सुर्खेत र दैलेख जिल्लामा विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुभयो । सुर्खेतमा सहिद क्रृषिप्रसाद शर्माको घरका उहाँका परिवारजनसँग भेट गरी वृद्ध एवम् बिरामी बुबाको स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि उहाँ दैलेख पुग्नुभएको थियो ।
दैलेखको शेरी गाविसको गुराँसे भन्ने स्थानमा आयोजित कार्यक्रममा संविधान निर्माण, नाकाबन्दी तथा स्थानीय विकासबारे मन्तव्य राखेपछि बराह गाविसको चिसापानी भन्ने स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । त्यहाँबाट बेलपाटा गाविसको चुप्रा बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि बल्ल जिल्ला सदरमुकाम नारायण नगरपालिका पुग्नुभएको थियो । त्यहाँ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितका सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरू, पार्टी कार्यकर्तासहित जनसमुदायले उहाँलाई स्वागत गरेका थिए । जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुखहरूसँग नेकपा (एमाले)को पार्टी कार्यालयमा भेट गरेपछि प्रेस चौतारी नेपालको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित प्रत्रकार सम्मेलनमा वर्तमान राजनीतिक सन्दर्भका विषयमा विचार प्रस्तुत गर्नुका साथै पत्रकारका जिज्ञासाको जवाफ दिनुभयो ।
जिल्ला विकास समिति दैलेखको सभाकक्षमा आयोजित अगुवा कार्यकर्ता भेलालाई विशेष सम्बोधन गरेपछि उहाँ दुल्लु नगरपालिकाको दोर्णाचल क्याम्पसमा आयोजित विशेष भेलालाई सम्बोधन गर्न पुग्नुभयो । दुल्लु नगरपालिकाको नेपामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गरेर सोही दिन उहाँले नेपालबंशीहरूको उद्गम स्थलको रूपमा रहेको उक्त स्थानको कूल मन्दिरको रूपमा रहेको तियाडी मन्दिरलाई घण्ट प्रदान गर्नुभयो ।
मंसिर २, मान्मा, कालिकोट
चौथो दिन दैलेख र कालिकोट जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । बिहान दैलेखको डाबस्थित माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको बाँध निर्माण क्षेत्रका स्थानीयसँग भेट तथा माथिल्लो कर्णाली निर्माण कम्पनी जीएमआरका अधिकारीहरूसँग कुराकानी गरेपछि दैलेखको जिल्ला कमिटीका नेताहरूसँग भेटघाट गर्नुभयो । सोही बिहान दैलेखको असरा घाट, साई, जाक्सीलगायतका स्थानमा पुगेर स्वागत ग्रहण गर्नुभयो । दैलेख जिल्लाकै तल्लो राकम बजारस्थित दैलेख र अछाम जिल्ला जोड्ने झोलुंगे पुलमा पगेर उक्त पुलसँगै बन्न लागेको नयाँ पक्की पुल, उक्त स्थानको दक्षिणतर्फ आइपुग्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग तथा आफ्नो प्रधानमन्त्रीकालमा स्थापना गर्ने निर्णय भएको नमुना सहरका बारेमा जानकारी लिनुभयो ।
मध्याह्न राकम कर्णालीमा जिल्ला कमिटी दैलेखद्धारा आयोजित जनसभालाई सम्बोधन गर्नुभयो । दैलेख र अछामका व्यापक जनताको सहभागिता रहेको जनसभामा उहाँले संविधान निर्माण, संविधान कार्यान्वयनको वर्तमान अवस्था, नाकाबन्दी, भेरी–कर्णाली क्षेत्रको विकासलगायतका विषयका बारेमा बोलनुभएको थियो । राउटे समुदायका पूर्वमुखिया मयनबहादुर शाहीसहितका ४ जना राउटेहरू पनि उक्त सभामा उपस्थित थिए । उनीहरूले नेता नेपाललाई काठका भाँडाहरू उपहारस्वरूप प्रदान गरेका थिए । आवास, शिक्षा, छात्रावाससहितका सुविधाको लागि नेपालले गरेको प्रस्ताव राउटेहरूले अस्वीकार गरेका थिए ।
सभा सकिएपछि सोही दिन उहाँ कालिकोटको सदरमुकाम मान्मा जानेक्रममा भर्ता गाविसमा स.प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखद्वारा स्वागत गरेलगत्तै स्थानीय जनता तथा पार्टी कार्यकर्ताद्वारा आयोजित चियापानसहित स्वागत कार्यक्रममा सहभागी हुनुभयो । कालिकोट जिल्लाको सदरमुकाम मान्मा पुग्दा ठूलो संख्याका कार्यकर्ता एवम् जनसमुदायद्वारा विशेष मान्मा बजार परिक्रमासहित भव्य स्वागत गरेका थिए ।
मंसिर ३, खलंगा, जुम्ला
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल पाँचौँ दिन कालिकोट र जुम्ला जिल्लामा विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुभयो । बिहान ८:१५ बजे कालिकोटको मान्मास्थित चंखेली एफएमलाई अन्तर्वार्ता दिएपछि मान्मा बजारको अवलोकन, हुम्ला र डोल्पालाई समेत जोड्ने कर्णाली राजमार्ग तथा आसपासमा निर्माणाधीन बाटोहरूका साथै वरिपरिको बस्ती एवम् उक्त स्थानको विकासका बारेमा जानकारी लिनुभयो । ९ बजे प्रेस चौतारीको पत्रकार भेटघाटका सहभागी भएपछि ९:४५ बजे जिल्लास्थित कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग, कालिकोटका विभिन्न राजनीतिक पार्टीका प्रमुखहरूसँग भेटघाट गरेपछि १०:४५ बजे नेकपा नेकपा (एमाले)का जिल्ला कमिटीका नेताहरूलाई निर्देशन दिनुभयो । १ बजे कालिकोट जिल्ला सदरमुकाम मान्मामा जिल्ला कमिटी कालिकोटले आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुभयो । विकट स्थान भए पनि उत्साहजनक रूपमा जनताको सहभागिता रहेको कार्यक्रममा उहाँले संविधान निर्माण, संविधान कार्यान्वयनको वर्तमान अवस्था, नाकाबन्दी, भेरी–कर्णाली क्षेत्रको विकासलगायतका विषयमा सम्बोधन गर्नुभएको थियो ।
कालिकोट जिल्लाको आमसभा सकेर जुम्लाका लागि प्रस्थान गर्नुभयो । सुर्खेत–जुम्ला सडक हुँदै जुम्ला जानुभएको थियो ।
मंसिर ४, खलंगा, जुम्ला
‘भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम’ अन्तर्गत छैठौँ दिन जुम्लाका विभिन्न कार्यक्रममा सहभागी नेता नेपालले बिहान ८ बजे आफू बसेको होटलमा स्थानीय कार्यकर्ताहरूसँग भेट गर्नुभयो । ९:३० बजे प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुनुभयो । १०:३० बजे जुम्लास्थित कार्यालय प्रमुखहरूसँग भेट गर्नुभयो । त्यसपछि कर्णाली क्षेत्रको विकास सम्भावना अन्तर्गत सुर्खेत–जुम्ला सडक, जुम्ला–सिंजा–मुगु सडक, कर्णाली राजमार्ग, चीन तर्फका हुम्लाको हिल्सा नाका, मुगुको नाक्चे लाग्ना नाका, जलविद्युत्तर्फ तिला कर्णाली तथा कर्णाली नदीमा बन्न सक्ने सम्भावित जलविद्युत् आयोजना, खेतीबालीतर्फ उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने स्याउलगायतका फलफूल तथा अन्य उत्पादनहरू, पशुपालन तथा जडिबुटी जस्ता विषयको वर्तमान अवस्था, सम्भावना र योजनाका विषयमा कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरूसँग छलफल गर्नुभयो । दिउँसो १ बजे स्थानीय बाजा र झाँकीसहित निस्केको नेकपा (एमाले) जुम्लाको र्यालीमा सहभागी हुनुभयो । खलंगा बजारको कभर्ड हलमा आयोजित नेकपा (एमाले) जुम्लाको एकदिने प्रशिक्षण कार्यक्रमलाई विशेष सम्बोधन गर्दै पार्टी संगठन निर्माण, संविधान निर्माण, संविधानको कार्यान्वयन, नाकाबन्दी, पारवहन अधिकार र यसको वैकल्पिक व्यवस्थाका साथै कर्णाली क्षेत्रको विकासलगायतका विषयमा जोड दिनुभयो । नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिका सचिव दयादत्त हमालसहित विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्ने १२० जनालाई टीका, माला र खादा लगाएर एमालेमा स्वागत गर्नुभयो । बेलुकी ६ बजे जुम्लाको प्रसिद्ध तातोपानीमा पुगी उक्त क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
मंसिर ५, गोठी ज्यूला, जुम्ला
सातौ दिन जुम्लाको ऐतिहासिक सिंजा उपत्यकासहित विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुनुभयो । होटल कान्जिरोवामा पार्टी प्रवेश, पातरखोला, खेते, पाण्डुगुफा, विराट, बड्की र गोठीज्यूलामा आयोजित स्वागत ग्रहणमा सहभागी भएपछि नराकोटमा आयोजित र्यालीमा सहभागी हुनुभयो । सोही ठाउँमा आयोजित विशेषसभालाई उहाँले सम्बोधन गर्नुभएको थियो ।
मंसिर ६, राराताल, मुगु
‘भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम’ अन्तर्गत आठौं दिन नेपाल रारा ताल जानुभयो ।
जुम्लाबाट मुगु जाने सडकअन्तर्गत जिअको लेकमा कठिन पहाड काटेर बनाइएको सडकखण्डको विशेष रूपमा निरीक्षण गर्दै जाने क्रममा बीच बाटोमा स्थानीयहरूले उहाँको भव्य स्वागत गरेका थिए । पिना गाविसमा संक्षिप्त सभालाई सम्बोधन गरेर उहाँ बेलुकी रारा ताल पुग्नुभएको थियो ।
मंसिर ७, गमगढी, मुगु
नवौं दिन मुगु जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । बहान रारा तालको छेउमा रहेको नेपाली सेनाको दुर्गा भञ्ज्याङ गुल्म प्रमुखसँग रारा ताल, निकुञ्ज र यसको संरक्षणमा पछिल्लो समयमा भएका प्रगतिबारे जानकारी लिएपछि केही समय जलयात्रा गर्नुभयो । बिहान १०:४० बजे श्रीनगर गाउँ कमिटी, मुगुको स्वागत कार्यक्रममा सहभागी हुनुभयो । त्यसपछि, जिल्ला प्रशासन कार्यालयको बैठक कक्षमा जिल्लास्थित कार्यालय प्रमुखहरूसँग अन्तक्र्रिया, जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा सहभागी भएपछि दिउँसो महाकाली उमाविको प्रांगणमा आयोजित आमसभालाई सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा मुगुको विकास समस्या तथा यसका लागि लिइनुपर्ने पहलकदमी, नेकपा (एमाले) र संविधान निर्माणमा नेकपा (एमाले)ले खेलेको भूमिका, संविधानले महिला, मधेसी, दलित, जनजाति, पिछडिएको क्षेत्रलगायतलाई दिएका अधिकारहरू, भारतको अघोषित नाकाबन्दी, चीनसँगको नाक्चे लाग्ना नाकाको विकास सम्भावना, आर्थिक विकास र सामाजिक विकासका लागि सरकार एवम् जनताको दायित्वकाबारेमा बताउनुभयो । सोही सभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्ने झन्डै २०० जनालाई टीका, खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो । भोलिपल्ट उहाँ मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज हुँदै काठमाडौं फर्कनुभएको थियो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply