एमाओवादीमा को–को छन् दौडमा ?
काठमाडौं । एमाओवादी केन्द्रीय कमिटीमा रिक्त २६ पदका लागि नेताहरूको दौडधुप चलेको छ । जारी केन्द्रीय कमिटी बैठकको एउटा एजेन्डामा रिक्त पदपूर्ति पनि राखिएपछि नेताहरूको दौड सुरु भएको हो ।
तर यही बैठकबाट पदपूर्ति गर्ने कि अहिलेलाई यो एजेन्डा थाती राख्ने भन्नेमा बैठक कुनै निष्कर्षमा पुग्न सकेको छैन । स्रोतका अनुसार, बैठकमा बोल्ने अधिकांश सदस्यले अहिले रिक्त पदपूर्ति गर्न नहुने सुझाव राखेका छन् । तर, रिक्त पदमा जाने आकांक्षा पालेकाहरू भने यही बैठकबाट पदपूर्ति गर्नुपर्ने पक्षमा छन् । बाबुराम भट्टराई समूहले पार्टी परित्याग गरेपछि एमाओवादीका २२ जना केन्द्रीय कमिटी सदस्यले उनीसँगै पार्टी त्याग गरेका थिए । त्यसबाहेक तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको, स्थायी समिति सदस्य नन्दकिशोर पुन उपराष्ट्रपतिमा निर्वाचित भएको र पोलिटब्युरो सदस्य ओनसरी घर्ती सभामुखमा निर्वाचित भएपछि ती पद पनि रिक्त छन् ।
एमाओवादीमा अहिले ती २६ मध्ये पदाधिकारी १, स्थायी कमिटीमा ४ र पोलिटब्युरोमा ९ सदस्य रिक्त छन् । एमाओवादी विधानमा पदाधिकारीहरूमध्ये अध्यक्ष र महासचिवको अनिवार्य व्यवस्था गरिएको भए पनि उपाध्यक्ष र सचिवहरू आवश्यकता अनुुसारराख्ने भन्ने छ । त्यो भएकाले पनि रिक्त एक उपाध्यक्षमा अहिले नियुक्त नगर्ने पक्षमा नेतृत्व रहेको छ । तर, अरू सबै जाँदा पनि बाबुरामलाई छाडेर बसेका सचिव टोपबहादुर रायमाझीले उपाध्यक्षमा दाबी प्रस्तुत गरेको स्रोतले बतायो । रिक्त चार स्थायी कमिटी सदस्यका लागि प्रमुख दाबेदारमा दीनानाथ शर्मा, लेखराज भट्ट, उर्मिला अर्याल, हितराज पाण्डे, लीलामणि पोखरेल, विश्वनाथ साहलगायत छन् । अहिले स्थायी समितिमा एक जना पनि महिला नभएकाले यदि पदपूर्ति गरेको खण्डमा अर्याल पर्ने पक्का भएको बताइन्छ ।
नौ जना पोलटब्युरो सदस्यका लागि पनि केन्द्रीय कमिटीमा रहेका पुराना र वरिष्ठता क्रममा अगाडि रहेकाहरूले स्वाभाविक दाबी प्रस्तुत गरेको बताइन्छ । पुरानाको हिसाबले जोखबहादुर महरा, पुष्पबिक्रम मल्ल, खगराज भट्ट, धनबहादुर मास्की, कालीबहादुर मगर, सत्या पहाडी, सूर्यमान दोङलगायत दौडमा छन् ।
रिक्त केन्द्रीय सदस्यका लागि त सय जनाभन्दा बढीको नाम नेताहरूको खल्तीमा रहेको स्रोतले बतायो । १३ वटा राज्य समितिमा प्रत्येकबाट १० जनाको हाराहारीमा नाम आएको बताइन्छ । केन्द्रीय सदस्यका लागि विद्यार्थी नेताहरू हिमाल शर्मा, युवराज चौलागार्इंदेखि लिएर अध्यक्ष प्रचण्डकी माहिली छोरी रेणु दाहालसम्मको नाममा छलफल भएको स्रोतले बतायो ।
बैठकमा गह्नाएको मोजा
एमाओवादीको जारी केन्द्रीय कमिटी बैठकमा गह्नाएको मोजाको कथाले निकै चर्चा पायो । अध्यक्ष प्रचण्डले पेस गरेको शुद्धीकरणको प्रस्तावमाथि बोल्ने क्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गह्नाएको मोजाको प्रसंग सुनाएका थिए । उनको कथा थियो– ‘भारतको महाराष्ट्रमा मुख्यमन्त्रीले डाकेको बैठकमा एक जना मानिस गह्नाएको मोजा लगाएर गएछन् । मुख्यमन्त्रीले उनलाई अर्को मोजा लगाएर आउन भनेछन् । ती व्यक्ति बाहिर गए र अर्को मोजा लगाएर आए । तर, पनि मोजा गह्नाउन नछाडेपछि के भयो भनेर खोजी भयो । ती व्यक्तिले नयाँ मोजा त फेरेछन् तर गह्नाएको मोजा खल्तीमा बोकेर आएछन् ।’ श्रेष्ठको भनाइको अर्थ अध्यक्षको शुद्धीकरणको प्रस्ताव पनि त्यस्तै हो भन्ने थियो । पहिले पनि शुद्धीकरणका लागि कति प्रस्ताव पास भए तर त्यसलाई गोजीमा हालेर नयाँ प्रस्ताव ल्याउनुको कुनै अर्थ छैन भन्ने श्रेष्ठको भनाइलाई धेरैले समर्थन गरेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply