एमाओवादीमा को–को छन् दौडमा ?
काठमाडौं । एमाओवादी केन्द्रीय कमिटीमा रिक्त २६ पदका लागि नेताहरूको दौडधुप चलेको छ । जारी केन्द्रीय कमिटी बैठकको एउटा एजेन्डामा रिक्त पदपूर्ति पनि राखिएपछि नेताहरूको दौड सुरु भएको हो ।
तर यही बैठकबाट पदपूर्ति गर्ने कि अहिलेलाई यो एजेन्डा थाती राख्ने भन्नेमा बैठक कुनै निष्कर्षमा पुग्न सकेको छैन । स्रोतका अनुसार, बैठकमा बोल्ने अधिकांश सदस्यले अहिले रिक्त पदपूर्ति गर्न नहुने सुझाव राखेका छन् । तर, रिक्त पदमा जाने आकांक्षा पालेकाहरू भने यही बैठकबाट पदपूर्ति गर्नुपर्ने पक्षमा छन् । बाबुराम भट्टराई समूहले पार्टी परित्याग गरेपछि एमाओवादीका २२ जना केन्द्रीय कमिटी सदस्यले उनीसँगै पार्टी त्याग गरेका थिए । त्यसबाहेक तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको, स्थायी समिति सदस्य नन्दकिशोर पुन उपराष्ट्रपतिमा निर्वाचित भएको र पोलिटब्युरो सदस्य ओनसरी घर्ती सभामुखमा निर्वाचित भएपछि ती पद पनि रिक्त छन् ।
एमाओवादीमा अहिले ती २६ मध्ये पदाधिकारी १, स्थायी कमिटीमा ४ र पोलिटब्युरोमा ९ सदस्य रिक्त छन् । एमाओवादी विधानमा पदाधिकारीहरूमध्ये अध्यक्ष र महासचिवको अनिवार्य व्यवस्था गरिएको भए पनि उपाध्यक्ष र सचिवहरू आवश्यकता अनुुसारराख्ने भन्ने छ । त्यो भएकाले पनि रिक्त एक उपाध्यक्षमा अहिले नियुक्त नगर्ने पक्षमा नेतृत्व रहेको छ । तर, अरू सबै जाँदा पनि बाबुरामलाई छाडेर बसेका सचिव टोपबहादुर रायमाझीले उपाध्यक्षमा दाबी प्रस्तुत गरेको स्रोतले बतायो । रिक्त चार स्थायी कमिटी सदस्यका लागि प्रमुख दाबेदारमा दीनानाथ शर्मा, लेखराज भट्ट, उर्मिला अर्याल, हितराज पाण्डे, लीलामणि पोखरेल, विश्वनाथ साहलगायत छन् । अहिले स्थायी समितिमा एक जना पनि महिला नभएकाले यदि पदपूर्ति गरेको खण्डमा अर्याल पर्ने पक्का भएको बताइन्छ ।
नौ जना पोलटब्युरो सदस्यका लागि पनि केन्द्रीय कमिटीमा रहेका पुराना र वरिष्ठता क्रममा अगाडि रहेकाहरूले स्वाभाविक दाबी प्रस्तुत गरेको बताइन्छ । पुरानाको हिसाबले जोखबहादुर महरा, पुष्पबिक्रम मल्ल, खगराज भट्ट, धनबहादुर मास्की, कालीबहादुर मगर, सत्या पहाडी, सूर्यमान दोङलगायत दौडमा छन् ।
रिक्त केन्द्रीय सदस्यका लागि त सय जनाभन्दा बढीको नाम नेताहरूको खल्तीमा रहेको स्रोतले बतायो । १३ वटा राज्य समितिमा प्रत्येकबाट १० जनाको हाराहारीमा नाम आएको बताइन्छ । केन्द्रीय सदस्यका लागि विद्यार्थी नेताहरू हिमाल शर्मा, युवराज चौलागार्इंदेखि लिएर अध्यक्ष प्रचण्डकी माहिली छोरी रेणु दाहालसम्मको नाममा छलफल भएको स्रोतले बतायो ।
बैठकमा गह्नाएको मोजा
एमाओवादीको जारी केन्द्रीय कमिटी बैठकमा गह्नाएको मोजाको कथाले निकै चर्चा पायो । अध्यक्ष प्रचण्डले पेस गरेको शुद्धीकरणको प्रस्तावमाथि बोल्ने क्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गह्नाएको मोजाको प्रसंग सुनाएका थिए । उनको कथा थियो– ‘भारतको महाराष्ट्रमा मुख्यमन्त्रीले डाकेको बैठकमा एक जना मानिस गह्नाएको मोजा लगाएर गएछन् । मुख्यमन्त्रीले उनलाई अर्को मोजा लगाएर आउन भनेछन् । ती व्यक्ति बाहिर गए र अर्को मोजा लगाएर आए । तर, पनि मोजा गह्नाउन नछाडेपछि के भयो भनेर खोजी भयो । ती व्यक्तिले नयाँ मोजा त फेरेछन् तर गह्नाएको मोजा खल्तीमा बोकेर आएछन् ।’ श्रेष्ठको भनाइको अर्थ अध्यक्षको शुद्धीकरणको प्रस्ताव पनि त्यस्तै हो भन्ने थियो । पहिले पनि शुद्धीकरणका लागि कति प्रस्ताव पास भए तर त्यसलाई गोजीमा हालेर नयाँ प्रस्ताव ल्याउनुको कुनै अर्थ छैन भन्ने श्रेष्ठको भनाइलाई धेरैले समर्थन गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply