प्राध्यापक राजेन्द्र रामको सम्झनामा
बुधबार साप्ताहिकका सम्पादक तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य विष्णु रिजालले फोन गरेर भन्नुभयो– ‘प्रा.डा. राजेन्द्र राम रहनुभएन भनेर समाचार आयो, कृपया कन्फर्म गर्नुस् न ।’ मैले डा. साहेबको पटनास्थित निवासमा फोन गरें । पहिला उहाँका नातीले उठाएर उहाँ यो संसारमा नरहेको बताउनुभयो र डाक्टर साहेबकी श्रीमतीलाई फोन दिनुभयो । भावीजीले भावविह्वल भएर डिसेम्बर २३, २०१५ मा ब्ेरन ह्यामरेज भएर उहाँको निधन भएको पुष्टि गर्नुभयो । राजेन्द्र राम नेपाली जनता, नेपाली सभ्यता र नेपाल राष्ट्रका मित्र, पटना विश्व विद्यालयका पूर्वउपकूलपति, अल इन्डिया स्कुल अफ साइन्टिफिक सोसियालिज्मका अध्यक्ष, राहुल साँस्कृत्यायनका अनन्य अनुयायी, प्रगतिशील भारतीय लेखक संघका पूर्वमहासचिव, नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका अनन्य समर्थक र कमरेड पुष्पलालका अनन्य मित्र हुनुहुन्थ्यो । उहाँ ८४ वर्षको उमेरमा यो संसारबाट बिदा हुनुभएको छ ।
कमरेड पुष्पलाललाई उहाँले दक्षिण एसियाकै मजदुर किसानको नेता मान्नुहुन्थ्यो । उहाँले पुष्पलाल: ए प्रोटेट अफ पिजेन्टी मुभमेन्ट इन साउथ एसिया नामक किताब लेख्न सुरु गर्नुभएको थियो । त्यसको बुकलेट प्रोपोजल छापिएको पनि छ, जो पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरक्षित छ । हामीले पुष्पलाल स्मृति प्रतिष्ठान खोलेपछि उहाँले काठमाडौं आएर उक्त पुस्तक तयार गर्ने मनसाय राख्नुभएको थियो । तर, नेपालको राजनीतिक अस्थिरता र वाम आन्दोलनको कमरेड पुष्पलालप्रतिको संकीर्णता कायमै रहेका अवस्थामा आर्थिक अभावले हामीले उक्त प्रस्तावलाई कायम राख्न र कार्यरूपमा परिणत गर्न सकेनौं । पछि कमरेड माधवकुमार नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएपछि उक्त प्रस्ताव कार्यान्वयनमा लैजान सकारात्मक वातावरण निर्माण हुँदै थियो र मेरै प्रस्तावमा उहाँलाई यो वर्ष पुष्पलाल राष्ट्रिय पुरस्कारले नेपाल सरकारले सम्मान गरेको थियो ।
बुढ्यौलीका कारणले प्राध्यापक राम पुरस्कार ग्रहण गर्न नेपाल आउन सक्नुभएन । पुष्पलाल राष्ट्रिय पुरस्कार हस्तान्तरण गर्न प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल आफैं पटना जान चाहनुभएको थियो तर प्रोटोकल र नेपालभित्रको अस्थिर राजनीतिले गर्दा उहाँ जान पाउनुभएन । र, यो लेखकसहित बेदुराम भुसाल, मोहन केसी, सावित्री भट्टराई र बुद्ध महर्जनसमेत पटना गएर नेपाल सरकारले दिएको पुरस्कार हस्तान्तरण गरेका थियौं । हामीले उहाँलाई काठमाडौंमा आएर पहिलादेखि थाँती रहेको उक्त प्रस्ताव साकार पार्न प्रतिष्ठान र अध्यक्ष माधवकुमार नेपालका तर्फबाट निमन्त्रणा पनि दिएका थियौं । तर, उक्त निमन्त्रणा दिएको तीन महिनामै उहाँ निधन भएको दु:खद् समाचार सुन्नुपर्यो । उहाँको निधनमा हामी उहाँका असंख्य प्रगतिशील तथा प्रजातान्त्रिक आन्दोलनका नेपाली र प्रतिष्ठान परिवार दु:खित छौं । यसले विश्वको र विशेषगरी दक्षिण एसियाको द्वन्द्वात्मक भौतिकवादी आन्दोलनको एक प्रखर बौद्धिक व्यक्तित्व र योद्धा गुमाएको छ ।
कमरेड राजेन्द्र रामले नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई ठूलो गुण लगाउनुभएको छ । ००७ सालको जनक्रान्तिमा गणेशमान सिंह, बीपी कोइराला, पुष्पलाल आदिलाई उहाँको १६ बर्से उमेरले सघाएको थियो । उहाँ वास्तवमा हाल भारतको चम्पारन जिल्ला निवासी हुनुहुन्थ्यो । त्यसबेला राणाले वारेन्ट गरेका आन्दोलनकारीलाई लुकाउने र आन्दोलनकारीका चिठी वारपार गरेको कुरा उहाँले हामीलाई बताउनुभएको थियो । कमरेड पुष्पलाल पटनास्थित उहाँको निवासमा बस्नुहुन्थ्यो र नेपाल र दक्षिण एसियाको सभ्यताको द्वन्द्वात्मक विश्लेषणको किताब लेख्ने विचार गर्नुभएको थियो । त्यही अनुसार पुष्पलालले ऐतिहासिक टिपोट गर्नुभयो तर त्यसलाई व्याख्या गरी किताब लेख्न नपाउँदै उहाँको निधन भयो । पुष्पलालले उक्त नोट्सको व्याख्यासहित दक्षिण एसियाको समाज र सभ्यताको इतिहास लेखाउने प्रस्ताव राख्नुभएको थियो । तर, त्यो विभिन्न कारणवश हुन सकेन । जे होस्, हिस्टोरिरिकल नोट्स टिपोटकै रूपमा प्रतिष्ठानद्वारा छापिइसकेको छ ।
नेपाली जनताको प्रगतिशील तथा लोकतान्त्रिक आन्दोलनमा नैतिक तथा भौतिक सहयोग गर्ने भारतीय मित्रहरू, चन्द्रशेखर, मधु लिभये, कर्पुरी ठाकुर, मधु दण्डवेता, सी. राजेश्वर राव, वीटी रणदिवे, नृपेन्द्र चक्रवर्ती, प्रो. चन्द्रवली सिंह, प्रो. महादेव शाह, जर्ज फर्नान्डिस, हरकिशन सिंह सुरजित, जीबी थम्पी वा राजेन्द्र राम सबै अस्ताइसक्नुभएको छ । पछिल्लो कालमा कमरेड पुष्पलालको विचार अनुसार चल्दा मात्र लोकतन्त्र नेपालमा प्राप्त हुन्छ र लोकतन्त्र प्राप्तिपछि पनि संस्थागत गर्न पनि पुष्पलालकै विचार अनुसार चल्नुपर्छ भन्ने माथि उल्लिखित भारतीय मित्रहरू हुनुहुन्थ्यो ।
नेपालको सार्वभौम सत्ताको सम्मान र नेपालको विकासमा भारतीय एकाधिकार पुँजीवाद बाधक भएको कुरा डा. राजेन्द्र रामले पटक–पटक भन्नुभएको छ र लेख्नुसमेत भएको छ । नेपाली जनताका असल मित्र, पुष्पलालका असल मित्र र अनुयायी प्राध्यापक राजेन्द्र रामलाई हामीले सम्झनै पर्दछ । पुष्पलालदेखि पुष्पकमल दाहालले समेत नेपाली कम्युनिस्ट आन्दोलनमा राजेन्द्र रामको सहयोग पाउनुभयो । पछिल्लो कालमा रामराजाप्रसाद सिंह पटनामा बसेपछि अनि प्रचण्ड, बाबुराम, मोहन वैद्यले पुष्पलालको नयाँ जनवादी नेपालको सपना पूरा गर्न हामीले जनयुद्ध सुरु गरेका छौं भनेपछि पुष्पलालका अनुयायी राजेन्द्र रामले उहाँहरूलाई पनि आश्रय आदि दिएर सहयोग पुर्याउनुभएको थियो । भारतीय कम्युनिस्ट आन्दोलन पनि छरपस्ट छ । नेपाली कम्युनिस्टहरू बरु एक हुन सक्छन् । नेपालमा भएका साना ठूला सबै कम्युनिस्ट पार्टीहरू एक भएर एउटै कम्युनिस्ट पार्टी बनाएर समृद्ध नेपाल तपाईंहरूले बनाउन सक्नुहुन्छ यदि त्यसो भयो भने भारतीय कम्युनिस्टहरू माओवादीदेखि सीपीआईसम्म एक हुन सक्छन् र दक्षिण एसिया सामन्तवाद र साम्राज्यवादको पञ्जाबाट मुक्त हुन्छ भन्ने ती महान् योद्धालाई साम्राज्यवाद विरोधी आन्दोलनको अन्तिम लाल सलाम ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply