तुलसी गिरीलाई छाडेपछि मोडिएको यात्रा
व्यस्थापिका–संसद्को सबैभन्दा ठूलो, मुलुकको सबैभन्द पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले १३औं महाधिवेशनको प्रक्रिया सुरु गरेपछि शोकमा डुब्नुपरेको छ । तथापि सुरु भएको महाधिवेशनको प्रक्रिया स्थगित गर्ने र केही समय पर सार्ने अवस्थामा कांग्रेस छैन । सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान १२:५० मा निधन भएपछि कांग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक र लोकतन्त्रमा आस्था राख्ने सबै शोकमग्न छन् ।
नेपाली राजनीतिमा निष्ठाका धरोहर, सरल र शालीन नेताको छवि बनाएका सुशीलका राजनीति सुरु गर्दाको क्षण भने फरक प्रक्रियाबाट सुरु भयो । सुशील नायक बन्न चाहन्थे, त्यो पनि कलिउड, बलिउड होइन, हलिउडको । तर, उनको त्यो चाहनामा तत्कालीन परिस्थितिले साथ दिएन । नेपालको लोकतान्त्रिक आन्दोलनको सुरुआत गर्ने कोइराला परिवारको सदस्य नभए पनि सुशीलको नजिकको नाता पथ्र्यो । कांग्रेस सस्थापक विश्वेश्वरप्रसाद कोइरालाकी आमा र सुशीलकी आमा दिदीबहिनी थिए । तर पनि उनी कोइराला परिवारसँग राजनीति गर्ने उद्देश्यले नजिकिएका होइनन्, केवल जागिर खाने उद्देश्यले । २०१७ सालसम्म सुशील तुलसी गिरीका स्वकीय सचिव बने । जब तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्र आफ्नो हातमा लिएर पञ्चायती व्यवस्थाको सूत्रपात गरे, त्यसपछि उनी तुलसीलाई छोडेर कोइराला परिवारको निकटमा पुगेपछि बल्ल सुरु भयो उनको राजनीतिक यात्रा ।
राजनीतिक यात्राका क्रममा २०४६ सालअघि प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसले गरेका अधिकांश आन्दोलनका सुशीलको सहभागिता रह्यो । कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा हतियार संकलन, हतियार चलाउने प्रशिक्षण, सशस्त्र क्रान्तिको बाटो समाप्त भएपछि संकलित हतियार बंगालादेशमा स्वतन्त्रताका लागि चलिरहेको मुक्ति आन्दोलनलाई जफनामा पुगेर हस्तान्तरण, विराटनगरबाट राष्ट्र बैंकको पैसा लिएर काठमाडौं उडेको प्लेन हाइज्याक गरी लुटिएको पैसा व्यवस्थापन, २०३६ सालको जनमतसंग्रह, सत्याग्रह आन्दोलनमा उनको सक्रिय सहभागिता रह्यो । यी आन्दोलनका दौरान उनी कैयौं पटक जेलमा परे भने कैयौं पटक निर्वासनको जीवन व्यथित गर्न बाध्य पनि भए । तर पनि उनमा कहिले पनि प्रजातन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनमा नैराश्य जागेन, एक न एक दिन अवश्य आफूले सुरु गरेको आन्दोलन सफल हुन्छ भनेर लागि नै रहे । यतिसम्मकी प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदाहोमिँदा उनले जीवनसँगिनी खोजेर घरबार गर्ने समय पनि पाएनन् । जसका कारण मुलुकको कार्यकारी प्रमुख बनेको व्यक्ति अन्तिम अवस्थामा उपयुक्त हेरचाह र औषधोपचार नपाएर मृत्युवरण गर्न पुगे ।
२०४६ सालमा कांग्रेसको नेतृत्वमा वामपन्थी दलहरूसमेतको सहभागितामा प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलन सफल भएपछि भएको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्यो । त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार गठन भयो । प्रधानमन्त्री गिरिजाबाबु भएपछि सुशीललाई आफ्नो सचिवालयमा नियुक्त गरे । त्यहाँ उनलाई प्रधानमन्त्रीलाई सहयोग गर्नेका साथी, कांग्रेस संगठनलाई सुदृढ बनाउने योजना हेर्ने जिम्मेवारी प्राप्त भएको थियो । त्यसबेलासम्म उनी कांग्रेस केन्द्रीय सदस्य बनिसकेका थिए । उनले त्यो काम सफलतापूर्वक सम्पन्न गरे । उनको ध्यान केवल कांग्रेसको संगठन र प्रजातन्त्रलाई कसरी सुदृढ गर्ने भन्ने विषयमा केन्द्रित रह्यो । यतिसम्म कि उनले मन्त्री बन्न गरेको प्रस्तावसमेत अस्वीकार गरे । २०५६ सालमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेका बेला मन्त्री बन्न गरेको प्रस्तावसमेत अस्वीकार गरे । मन्त्री बन्न गरेको प्रस्तावमा उनको जवाफ रह्यो, ‘म अहिले पार्टी संगठन सुदृढ गर्नमै लाग्छु ।’
केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै १२औं महाधिवेशनमा नेता शेरबहादुर देउवालाई पराजित गरेर सुशील कांग्रेस सभापतिमा निर्वाचित भए । पहिलो संविधानसभामा दोस्रोमा झरेको कांग्रेस सुशील सभापति भएका बेलामा भएको दोस्रो संविधानसभामा पहिलो पार्टी बन्यो । त्यसपछि उनी मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीमा निर्वाचित भए । त्यहीबेला कांग्रेसले २००७ सालदेखि भन्दै आएको जनप्रतिनिधिले जनताका लागि संविधानसभामार्फत संविधान निर्माण गर्ने काम सम्पन्न भयो । मुलुकका आमनागरिक र अन्तर्राष्ट्रिय जगत्ले समेत नेपालमा संविधानसभाले संविधान जारी गर्न सक्ला भन्ने आशंका व्यक्त गरिरहेका बेला संविधान निर्माणमा सुशीलले सरकार प्रमुखका हैसियतमा समन्वयकारी भूमिका खेले । विपरीत ध्रुवमा फर्किएका दललाई सहमत गराई संविधान जारी गर्ने कामको नेतृत्व सबैभन्दा ठुलो दलको सभापतिको हैसियतमा सुशीलले गरे । उनको त्यो कार्यको विश्वभर प्रशंसासमेत भयो ।
राजनीतिमा त्याग, तपस्या, सरल जीवनशैली, शालीन स्वभावले मात्रै नेतृत्व गर्न सकिँदो रहेनछ भन्ने उदाहरण पनि सुशील बने । उनी कांग्रेस सभापतिमा निर्वाचित बनेपछि पार्टी अस्तव्यस्त बन्यो । निर्वाचित भ्रातृ संस्थाका कार्यसमितिलाई विधानमा उल्लिखित समयमा महाधिवेशन गर्न नसकेको भन्दै भंग गरे । तयसको लामो समयपछि महाधिवेशन सम्पन्न गर्न भनेर ६ महिनाको समय दिई महाधिवेशन आयोजक समिति बनाए । ती समितिले उनले दिएका काम पूरा गर्न सकेनन् । त्यसपछि सुशीलले न ती समिति भंग गर्न सके, न काम फत्ते गर्न दबाब दिन नै । पार्टीको केन्द्रीय समिति, केन्द्रका विभाग, समिति आयोगलगायतमा पनि विधानअनुरूप नियुक्ति र पूर्णता दिन सकेनन् । जसका कारण पार्टीभित्र उनको आलोचना व्यापक रूपमा भयो । तर पनि त्यसलाई चिर्दै पार्टीलाई अघि बढाउने कोसिस गरिरहे ।
कांग्रेसको मूल सिद्धान्त र आदर्शमा भने सुशील जीवनभर कहिल्यै चुकेनन् । अन्य आदर्श र सिद्धान्तको बाहुल्य रहेको पहिलो संविधानसभामा सुशीलले लोकतान्त्रिक मूल्य र मान्यतामा सम्झौता गरेनन् । त्यसैको फलस्वरूप डिक्टेटरसिप लाद्ने खालको संविधान जारी गर्ने तयारी गरेको पहिलो संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीको योजना सफल भएन । सुशीलको त्यो दृढ अडानलाई जनताले साथ दिए । लोकतन्त्रका कहीँकतै सम्झौता हुनुहुन्न भन्ने विषयमा नेकपा एमाले पनि सुशीलकै पक्षमा उभियो । फलस्वरूप दोस्रो संविधानसभामा आम नेपाली जनताले कांग्रेसलाई पहिलो र एमालेलाई दोस्रो पार्टी बनाए । तर, कसैलाई बहुमत नदिएर मिलेर जान जनताले यी दुई दललाई सुझाव दिए । कांग्रेस एमालेले दोस्रो संविधानसभाको निर्वाचनपछि जनताको म्यान्डेटअनुरूप काम गरेकाले मुलुकले संविधान पायो । त्यसपछि राजनीतिक एजेन्डाभन्दा आर्थिक एजेन्डाको युगको सुरुवात भएको छ, त्यसका सूत्रधार सुशील कोइराला बनेका छन् ।
कुनै पनि मानिस ३२ लक्षणले युक्त हँुदैन । केही न केही कमजोरी हुन्छ । त्यसमा थोरै कमजोरी धेरै गुणयुक्त व्यक्तिका रूपमा चिनिन्थे सुशील । मुलुकको कार्यकारी प्रमुख बन्दासम्म पनि उनको जीवनशैली सरल र शालीन भएकाले प्रशंसा गर्न लायक थियो । यतिसम्म कि राजनीतिमा उनको विपरीत ध्रुवमा रहेर विपरीत आस्था बोकेर राजनीति गर्नेहरू पनि आचरणबारे कुरा उठाउन सक्दैनथे । जीवनभर निष्ठाको राजनीति गरेर मुलुकमा प्रजातन्त्रका लागि आफ्नो जीवन सुम्पने सुशील दाप्रति श्रद्धासुमन † स्वर्गमा सुखसयल मिलोस्, कामना !
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply