अबको राजनीतिक यात्रा आर्थिक क्रन्ति र जनताको समृद्धि !
नेपालको राजनीति संक्रमणका थुप्रै चक्रव्यूह क्रस गर्दै एउटा नयाँ चरणबाट गुज्रिरहेको छ । प्रजातन्त्र/लोकतन्त्रका लागि गरिएको ६ दशक लामो संघर्ष, बलिदानको इतिहास होस् या नेपालले आफ्नो खुट्टामा उभिएर हिँड्न खोज्दा पटक–पटक भोग्नुपरेको हस्तक्षेप नाकाबन्दी, त्यसको सामना होस् या प्राकृतिक विपत्ति, भूकम्पले उत्पन्न गरेको संकट र राजनीतिक अस्थिरताका लामा शृंखलाहरू बेहोरिरहेको हाम्रो राजनीति : संविधानको घोषण र यसको कार्यान्वयनसँगै अब नयाँ ट्रयाकबाट अघि बढ्नुपर्नेछ । नयाँ ट्रयाक राष्ट्रिय एकता, आर्थिक क्रान्ति र जनताको समृद्धिको मार्ग हो । उपर्युक्त मार्गमा हाम्रो समग्र राजनीतिलाई डोर्याउनु राजनीतिक दलहरूको आजको मूल जिम्मेवारी हो ।
जनताका ज्वलन्त समस्याबाट विमुख हुनुहुँदैनदलहरू बिस्तारै आफ्नो इतिहास, भूमिका र गन्तव्यबाट चिप्लन सक्ने खतराहरू पनि हाम्रा सामु विद्यमान छन् । आजको परिस्थितिमा दलहरूलाई जनसरोकारका ज्वलन्त समस्याहरूलाई सम्बोधन नगरी अघि बढ्ने कुनै गुन्जायस छैन । नेपाल राष्ट्र र नेपाली जनतासामु खडा भएका ज्वलन्त समस्या समधान नगरी हामी निर्धारित गन्तव्यको यात्रा तय गर्न सक्तैनौं । गत वैशाखमा गएको भूकम्पले उत्पन्न गरेको संकट एघार महिना बितिसक्दा पनि पीडित जनताको चहर्याइरहेको घाउमा मलमसम्म लगाउन सकिरहेको छैन । त्रिपाल र टहरामुनि गर्मी काटे, वर्षा काटे, हिउँद काटे र यतिबेला हुरीबतासको सामना गरिरहेका छन् । तर, सरकारले पुनर्निर्माण प्राधिकरणमार्फत प्रभावकारी कदम चाल्न नसक्नुले उनहरूलाई घरको छानामुनि ल्याउन सकेको छैन । घरबास पुनर्निर्माण गर्ने काममा देखिएको सरकारी अर्कमण्य र जनताको कन्तबिजोगको अवस्था, ध्वस्त भएका संरचना र अर्बौंको क्षति, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको काम गतिका साथ अघि बढ्न नसक्नु, संविधानको कार्यान्वयन गतिका साथ गर्न नसक्नुले प्रदेशहरूमा सीमांकनको अन्योल, स्थानीय निकायमा करिब १५ वर्षदेखि जनप्रतिनिधि नहुनुको अभावमा विकास निर्माण र स्थानीय जनताको सेवाका क्षेत्रहरूमा परेको प्रतिकूल प्रभाव र अन्योल, बढ्दो बेरोजगारी, नाकाबन्दीले खडा गरेको संकट, कालोबजारी बढ्नु र बजार राज्यको नियन्त्रणभन्दा बाहिर जानु, उपभोक्तामा पेट्रोल, ग्याँसलगायत दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना हँुदै जानु, अकासिँदो मूल्यवृद्धि हँुदै जानु र पुन: नाकाबनदी हुन सक्ने सन्त्रासले उत्पन्न गरेको छटपटीजस्ता दर्जनौं समस्याहरूको चाङ, अर्कोतर्फ उद्योगधन्दा कलकारखाना बन्दप्राय: हुनु, स्वदेशी उत्पादनमा बढ्दो गिरावट हुँदै जानु र उत्पादन, व्यापार, व्यवसायलगायत वस्तु र सेवा बजारहरू दलाल पुँजीको नियन्त्रणमा हुनुले जनजीवनमा बढिरहेको संकट गहिरिँदो छ । सरकारले परिपत्र जारी गरेर या टुँडिखेलमा कुनै भव्य समारोह आयोजना गरेर, अन्त्यको घोषण गरेर या सरकारका मन्त्रीहरूले छाती पिटेर यो समस्याको समधान हुने रहेनछ । यसका लागि प्रस्ट लक्ष्यका साथ राज्यका मेसिनरीहरूको प्रभावकारी परिचालन जरुरी छ ।
नयाँ संकल्पका साथ राष्ट्रिय एकता
हिजो प्रजातन्त्र/लोकतन्त्रका लागि सँगै लडेका र संविधान निर्माणमा एउटा संकल्पका साथ एक ठाउँमा उभिएका दलहरू संविधानको कार्यान्वयनका लागि एक ठाउँमा उभिनु आजको ऐतिहासिक जिम्मेवारी हो । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ । इतिहास दोहोर्याउनुहँुदैन । आरोप छ, दलहरू पाठ सिक्दैनन्, इतिहास दोहोर्याउन कोसिस गरिरहन्छन । अघि बढ्न बिर्सन्छन् र सत्ताको खेलमा अल्झिन्छन् । उक्त टिप्पणीलाई व्यवहारबाट खण्डन गर्ने उपयुक्त समय हो यो । २०४६ देखि ०५९ र ०६२ देखि ०७२ को कालखण्डमा राजनीतिक नेतृत्वको पुस्ता र पात्रहरू खासै परिवर्तन भएका छैनन् । आंशिक अदलबदल मात्र हो । यो पुस्ताले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको काल, राजाको निरंकुशताविरद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व तथा माओवादी जनयुद्ध, मधेस विद्रोह, नाकाबन्दीजस्ता समस्याको सामना र नेतृत्व गर्दै आएको छ । २०४६ देखि ०५९ को कालखण्डमा सरकार गिराउने र बनाउने प्रक्रियामै केन्द्रित भएर असफल भयो । लोकतान्त्रिक गणतन्त्र स्थापनादेखि नयाँ संविधान घोषणसम्म पनि आइपुग्दा पनि यो खेलबाट हाम्रो राजनीतिमाथि उठ्न सकेन । यसप्रकारका आरोहअवरोहबाट आएको हाम्रो नेतृत्वको पुस्ता र पात्रले प्रवृत्ति भने छाड्नैपर्छ । नयाँ संविधानको कार्यान्वयनसँगै दलहरू सरकारको जोडघटाउको खेलबाट मुक्त भएर कम्तीमा दुई वर्ष एउटा सरकारलाई काम गर्न दिने र उसको कामको गुणदोषका आधारमा जसअपजसको भागीदार बनाउनुपर्दछ ।
संविधानको कार्यान्वयन आर्थिक क्रान्ति र मुलुकको समृद्धिका लागि दलहरूका बीचमा यो नयाँ संकल्पका साथ राष्ट्रिय एकता जरुरी छ । यसो नगरीकन विद्यमान भूराजनीतिक अवस्था र देशको आन्तरिक अवस्थाबाट मुलुकलाई अघि बढाउन निकै कठिन हुनेछ ।
सत्ताको कोरामिनले जीउन चहाने कांग्रेस प्रवृत्ति
नेपाली कांग्रेस यतिबेला प्रतिपक्षमा बसिरहन पनि नसक्ने र एमाले नेतृत्वको सरकारमा सामेल हुन पनि नसक्ने मनोदशाबाट ग्रस्त छ । वास्तवमा कांग्रेस प्रतिपक्ष बन्न जान्दैन । सत्ताभन्दा पर उसले आफ्नो जीवन देख्दैन । जसरी पनि सत्तामा पुग्ने र सत्तामा टिकिरहने जीवनपद्धतिबाट कांग्रेस गुज्रँदै आइरहेको छ । सरकारबाट हटेको ६ महिना पनि पूरा नहँुदै कांग्रेसजनमा छटपटी र कोलाहल सुरु भएको छ । महाधिवेशनको पूरा नतिजा बाहिर आइसकेको थिएन । देउवा सभापतिमा निर्वाचित भइसकेका थिए तर औपचारिक घोषण बाँकी थियो । अब देउवाको ध्यान सत्तातिर भन्ने खालका समाचारहरू भाइरल बनेर आए । उनी निर्वाचित भएको हप्तांैसम्म पनि सञ्चार माध्यमहरूले सरकार कहिले ढाल्नुहुन्छ भन्ने प्रश्न गरिरहे । मानौं कि शेरबहादुरजीले बोलिदिनेबित्तिकै सरकार ढलिहाल्छ र अर्को बनिहाल्छ जस्तो । कांग्रेसमा देउवाको उदयपछि मानिसहरूले सत्ताको खेलको पुनरावृतिको लख काट्नु कुनै अनौठो कुरा होइन । तर, कांग्रेस इतिहासबाट पाठ सिक्ने कि ? इतिहासको पुनरावृत्तिमा केन्द्रित हुने भन्ने प्रश्न महत्त्वपूर्ण हो । कांग्रेसजनमा देखिएको यस प्रकारको मनोदशा र राजनीतिक दिशाले नयाँ संविभानको कार्यान्वयन, प्रदेशहरूको सीमांकनलगायत मुद्दाहरू कति सहज होलान् ? मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि पनि सत्ताको कोरामिनले जिउन चाहने कांग्रेसको प्रवृत्ति बदलिनुपर्ने जरुरी छ । नयाँ संविधान निर्माण गर्न एउटा संकल्प, दृढता र एकता प्रदर्शन गरेका कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी) एउटा निश्चित कालखण्डका लागि सँगसँगै अगाडि बढ्नुपर्ने जरुरी अझै पनि विद्यमान छ ।
विगतमा व्यवस्था परिवर्तनका लागि, लोकतन्त्र प्राप्तिका लागि र अधिकारका लागि लडाइँ लड्दा दलहरू कुनै बिन्दुमा सँगै र कुनै बिन्दुमा आमनेसामने पनि परियो होला । अब मुलुक बनाउने बिन्दुमा फेरि सँगै बसेर अगाडि बढ्नु दलहरूका लागि नेपाल राष्ट्र र जनताप्रतिको इमानदारी हुनेछ ।
अन्त्यमा,
वास्तवमा हाम्रा प्रधानमन्त्री ओली नेपालको एक मात्र यस्ता प्रधान्मन्त्री हुन्, जसको सरकार र आफ्नो पार्टीमा समेत प्रतिपक्षीय अवरोध छैन । नेकपा (एमाले) भित्र जुनसुकैबेला जस्तोसुकै बेला जस्तोसुकै निर्णय लिन सक्ने सुविधा छ । अध्यक्षको निर्णय पार्टी निर्णय हुँदै आएको छ । पार्टीका आन्तरिक सांगठनिक मामिला होस् या सरकार गठन, सत्तासाझेदार दलसँग विभिन्न बँुदे सम्झौता गर्न होस् मन्त्रालय बाँडफाँट होस् या मन्त्रीहरूको नियुक्ति, राजनीतिक नियुक्ति वा संसदीय मामिलाका सन्दर्भमा निर्णय लिन कुनै स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीको बैठक बस्ने झन्झट गर्नुपर्दैन † अध्यक्षको निर्णय पार्टी निर्णय † पर्ख र हेरको नीतिमा रहेको वरिष्ठ नेता नेपालको समूहले खास कुनै अवरोध गर्दैन । संसद्मा रहेको प्रतिपक्ष कांग्रेस, कहिले महाधिवेशनको चटारो त कहिले दलको नेताको चुनावको चटारो आन्तरिक कलहको व्यवस्थापन र सरकार बनाउन सक्ने नसक्ने जोड घटाउमा व्यस्त छ । के विषयमा विरोध गर्ने, केमा नगर्ने, कुनै मेलो छैन । यस हिसाबले संसद्को प्रतिपक्षको तर्फबाट सरकारलाई कुनै अवरोध छैन । यसरी प्रतिपक्षविहीन ढंगले काम गर्न पाउने अवसर पाएको सरकारले खुला दिलका साथ काम गर्न सक्नुपर्दछ । पार्टीभित्र गुट, गुटभित्र पनि एक नम्बरी र दुई नम्बरी अर्थात् चौबीस क्यारेटवाला र बाइस क्यारेटवाला । चौबीस क्यारेटमा पनि खास नजिकलाई अवसर र सुविधा । यस किसिमको मनोविज्ञानबाट मुक्त भएर फराकिलो दायराबाट राष्ट्र र जनतासामु खडा भएका उपर्युक्त समस्याहरू समाधान गर्न अब ढिला गर्नुहँुदैन । सरकारका मन्त्रीहरूको कार्यशैली, भूमिका र मूल स्पिडमा एकरूपता कायम गर्नु जरुरी छ । सत्ता साझेदार दलहरू संविधानको कार्यान्वयन गर्न कांग्रेससमेतलाई सरकारमा सामेल गरेर अघि बढ्ने कोसिस गर्नु जरुरी छ । राज्यसत्तालाई विजय मल्लको निबन्ध ‘अन्तिम भोज’जस्तो बनाउनुहँुदैन । सरकारमा बस्दा राष्ट्र र जनताका लागि के गर्न सक्यौ ? अवश्य पनि जनताले हिसाबकिताब खोज्ने नै छन् । अत: सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै आर्थिक क्रन्ति र जनताको समृद्धिको यात्रामा मुलुकलाई डोर्याउनुपर्नेछ । सबै दलहरूलाई मिलाएर अगाडि बढाउन सक्ने सामथ्र्य नेकपा
(एमाले) सँग छ र यो अवसर पनि नेकपा (एमाले) सँग छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply