वैदेशिक ठगी तह लगाउन प्रहरी सक्रियता बढ्दै
काठमाडौं । प्रहरीले लामो समययता गरेको अनुसन्धानबाट चर्चित बनेका महनगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई अहिले देशविदेशबाट आएको फोन उठाउनै भ्याई नभ्याई भएको छ । पछिल्लोपटक वैदेशिक रोजगारीमा हुने ठगीतर्फ हात हालेका उनले नेपाल प्रहरीले मात्र सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सक्छ भन्ने प्रमाणित गरेका छन् ।
यसअघि वैदेशिक रोजगार विभागमा पीडितले जति उजुरी दिए पनि अभियुक्तहरूले दुख पाइरहने पीडकहरूले उन्मुक्ति पाइरहने अवस्था थियो । तर, एक्कासि एसएसपी खनालले राजधानीका १८ वटा मेनपावर कम्पनीमा छापा हानेर काम थालेपछि वैदेशिक रोजगार व्यवसायीहरूको ठगी धन्दा रंगेहात फेला परेको हो । लामो समयदेखि अनेक बहानामा ठग्दै र नक्कली काम गर्दै आएका मेनपावर व्यवसायीहरूले प्रहरीको यो कदमको विरोध गरे पनि त्यसयता अपराध महाशाखाको लोकप्रियता भने एक्कासि चुलिएको छ । संसारका विभिन्न स्थानबाट आफू अलपत्र परेको, ठगिएको र न्याय दिनुपर्ने भन्दै अहिले एसएसपी खनाललाई फोनको घन्टी लगातार बज्न थालेको छ ।
प्रहरीले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासो सुन्न हटलाइनमार्फत व्यवस्था नै थालेको छ । सोही क्रममा केही साताअघि ५८ जना नेपाली कामदारको उद्धार भएको छ । विभिन्न देशहरूबाट प्रहरीको ९७७१७१७ नम्बरको हटलाइनमा आएका गुनासोका आधारमा ५८ जना नेपालीको विदेशबाट उद्धार गरिएको हो । प्रहरीको सो कदमपछि उद्धारको माग गर्नेको संख्या दिनदिनै बढिरहेको एसएसपी खनाल बताउँछन् । ३ सय ५ जनालाई अझै स्वदेश फर्काउन बाँकी रहेको प्रहरीको भनाइ छ । अवस्था बुझेर जोखिमयुक्त अवस्थामा रहेका र छिटो उद्धार आवश्यक भएका कामदारलाई सक्रियतापूर्वक स्वदेश फर्काइएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
विभिन्न माध्यमबाट वैदेशिक रोजगारका नाममा ठगिएका साथै विदेशमा अलपत्र परेका सम्मको उजुरी तथा गुनासो दैनिक आउन थालेपछि अपराध महाशाखाले दुईवटा हटलाइन नम्बर स्थापना गरेको छ । विदेशबाट ४२६९७४१ र नेपालबाट ११७७ मा सीधै सम्पर्क गरेर आफ्नो समस्या राख्न सकिने प्रहरीले बताएको छ । हटलाइन सम्पर्क स्थापना भएपछि उजुरीहरू बढ्न थालेका छन् । केही महिनाअघि मात्रै स्थापना भएको ११७७ मा ७७ वटा उजुरी परेका छन् । त्यस्तै, निवेदनमार्फत ४१ वटा उजुरी तथा गुनासाहरू आएका छन् ।
महाशाखाले स्थापना गरेको हटलाइनमा २४सै घन्टा फोन उठ्नेछ । त्यसका लागि राति पनि दुईजना प्रहरी खटिने गरेको बताइन्छ । वैदेशिक रोजगारीमा जाँदा ठगिएका वा अलपत्र परेर उद्धारको प्रतीक्षामा रहेकाले हटलाइनमा फोन गर्ने क्रम पछिल्लो चरणमा बढाएका छन् । विदेशबाट आएका त्यस्ता गुनासोका कारण प्रहरी थप संवेदनशील हुने गरेको छ । विदेशमा अलपत्र परेकाको उद्धारमा प्रहरीले सम्बन्धित कामदार पठाउने मेनपावर कम्पनी, त्यहाँस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघलगायतको सहयोग लिने गरेको छ । पछिल्लो समय त हटलाइनमा आएका गुनासोहरू सीधै रेकर्ड हुने व्यवस्थासमेत प्रहरीले गरेको छ । रोजजारीमा ठगिएका, अलपत्र परेका र उद्धारको आवश्यकता भएकाले प्रहरीलाई गुहारेका हुन् । विदेशमा बिरामी परेर नेपाल फर्किन नसकेका युवाले अहिले प्रहरीको सहायता खोज्न थालेका छन् ।
उद्धार गर्न बाँकी युवालाई जतिसक्दो छिटो नेपाल फर्काउन पहल भइरहेको महाशाखाले जनाएको छ । ‘बाँकीको उद्धारको प्रक्रिया पाइपलाइनमा छ, हामी निकै गम्भीरतापूर्वक यसमा लागेका छौं,’ एसएसपी खानालले भने, ‘सबैतिर एकैचोटि काम गर्न नसकिने भएकाले हामीले सम्भावित जोखिमको मूल्यांकन गर्दै संवेशदनशील भएर हामी उनीहरूको उद्धारका लागि पहल गरिरहेका छौं ।’ प्रहरीको हटलाइनमा मलेसिया र खाडीबाट मात्र नभएर युरोपियन मुलुकबाट पनि नेपाली युवाले उद्धार माग्दै फोन गर्न थालेको बताइन्छ । रसिया, पोर्चुगल, साइप्रसलगायतका देशमा पुगेका धेरै युवाले प्रहरीसँग उद्धारका लागि आग्रह गरेका छन् ।
मेनपावर व्यवसायी र खासगरी कन्सल्टेन्सीहरूमार्फत आकर्षक कमाइ र उतै स्थायी बसोबासको प्रलोभनमा पारेर युरोप पुर्याइएका युवा अहिले प्रहरीसँग उद्धारको गुहार मागिरहेका छन् । सम्झौताअनुसार काम र तलब नपाएका कारण पनि उनीहरू उद्धारको प्रतीक्षामा देखिएको प्रहरीले जनाएको छ । नेपालीहरू धेरै जाने ओमान, कतार, कुवेत, साउदी, दुबई, मलेसियालगायतबाट उद्धारको माग हुनु अस्वाभाविक नभए पनि पोर्चुगल, पोल्यान्ड, रसियालगायतका देशमा पनि नेपाली युवा अलपत्र छन् भन्दा प्रहरीसमेत अचम्ममा परेको छ । वैदेशिक रोजगारीका नाममा बढेको मानव तस्करी तथा महिला बेचबिखनलाई निरुत्साहित पार्न प्रहरीको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ । तर, मेनपावर व्यवसायीहरू भने आफ्नो दोष उदांगिने र कारबाहीमा परिने डरले प्रहरी कारबाहीको विरोध गर्दै आन्दोलनमा छन् । रोजगारीका बहानामा विभिन्न देशमा लगेर युवायुवतीलाई अलपत्र गर्ने क्रम चलिरहेको प्रहरीले सक्रियता छोड्न नहुने सरोकारवालाको भनाइ छ । गत हप्ता मात्र विभिन्न घटनाको पत्रकार सम्मेलन गर्ने चटारोमा रहेका एसएसपी खनालले फोन उठाउनासाथ ‘मलाई नेपाल फर्काइदिनुहोस्’ भन्दै रोदनको आवाजमा गुनासो सुने । उनले फोन तत्कालै डीएसपी मधु मरासिनीलाई दिए र गुनासो रेकर्ड गर्न लगाए ।
साउदीबाट फोन गर्ने पीडित थिए, मोरङका मौसम भट्ट । मौसमले आफ्नो सबै गुनासो डीएसपीलाई सुनाए । केही महिनाअघि गोंगबुस्थित इक्वेटर मेनपावरमार्फत साउदी पुगेका मौसमलाई सुरुमा सुपरमार्केटमा काम गर्ने भनेर पठाइएको थियो । तर, उनले सुपरमार्केमा होइन, एउटा स्कुलमा सफा गर्ने काम गर्नुपर्ने भयो । त्यसमा पनि उनलाई धेरै दिन राखेनन् र कुचिकारका काममा लगाउन थाले । केही दिनअघि महाशाखाको फोन नम्बर ४२६९७४१ नम्बरमा मलेसियाबाट फोन आयो । मलेसियाबाट फोन गर्ने दीपेश क्षेत्री भन्दै थिए– ‘एक नेपाली नै आफूलगायत पाँचजनाको पैसा लिएर फरार भयो, खोजिदिनुपर्यो ।’
पैसा बुझाएर साउदी पुगेका भट्टले भनेको जस्तो काम र तलब त पाएनन् नै, अहिले घर फर्किन प्रहरीको सहारा मागिरहेका छन् । डीएसपी मरासिनीले उनको सबै गुनासो आवाजसहित रेकर्ड गरेर राखेका छन् । महाशाखाले रेकर्ड गरेर राखेको उनको गुनासोमा पीडित क्षेत्रीले ती फरार व्यक्तिलाई किन पैसा दिएका थिए, खुलाएका छैनन् । प्रहरीले उजुरीकर्तासँग पैसा लिएर फरार व्यक्तिको पासपोर्ट नम्बर र ठेगाना उपलब्ध गराउन भनेको छ ।
दैनिक उजुरी आउने क्रम जारी
महाशाखाले स्थापना गरेको हटलाइनमा दैनिक दर्जनौं गुनासोहरू आउने गरेका छन् । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार खाडी मुलुकहरू साउदी, कतार, दुबई, मलेसियासँगै रुस, पोर्चुगल, साइप्रसलगायतका देशबाट नेपालीहरूले फोन गरेर उद्धारका लागि आग्रह गर्ने गरेका छन् । विशेष गरेर नेपालबाट एउटा काममा भनेर जाने र उता अर्कै काम गर्नुपर्ने, भनेको तलब नपाउनेजस्ता गुनासोसहितका फोनहरू धेरै आउने गरेका छन् । त्यसमा पनि दु:ख पाएर नेपाल फर्किन खोजेका तर नसकिरहेकाहरूले स्वदेश फर्काइदिन भन्दै अपराध महाशाखामा फोन गर्ने गरेको एसएसपी खनाल बताउँछन् ।उद्धार कसरी गर्छ प्रहरीले ?
विभिन्न देशमा अलपत्र परेका तथा नेपाल फर्किन नपाएको भन्ने गुनासो आएपछि महाशाखाले सरकारका अन्य निकायदेखि विभिन्न गैरसरकारी संस्था र गैरआवासीय नेपालीसँग समन्वय गरेर ती नेपालीहरूको उद्धार गर्ने गरेको छ । विदेशमा पुगेर अलपत्र परेका कतिपयका आफन्त महाशाखामै पुगेर पठाउने व्यक्ति तथा मेनपावरविरुद्ध उजुरी गर्छन् भने कतिपयले उतैबाट फोन गरेर उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।
फोनमा आएको उजुरी आवाजसहित रेकर्ड हुनेछ । निवेदन दिएर पनि उजुरी गर्न सकिनेछ । त्यसरी आएका उजुरीहरूको अध्ययन गरेर महाशाखाले अनुसन्धान गर्ने अधिकृत तोक्छ र उसले विदेश पठाउने मेनपावरदेखि व्यक्तिसम्मलाई सम्पर्क गरेर उद्धार तथा समस्या समाधान गर्न लगाउँछ । कतिपय मेनपावरका सञ्चालकलाई फोन गरेर अपराध महाशाखामा बोलाइन्छ र ‘कति दिनभित्र समस्या समाधान हुन्छ वा अलपत्र परेका व्यक्ति कहिले फिर्ता हुन्छ ?’ भन्दै समयसीमा तोकेर हस्ताक्षर गर्न लगाइन्छ । त्यसरी हस्ताक्षर गरेर गएपछि पनि पीडितको उद्धार नगर्ने मेनपावर सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने महाशाखाको दाबी छ ।
व्यवसायीको आन्दोलन असफलतातर्फ
वैदेशिक रोजगार व्यवसायी संघले गत फागुन २३ गतेदेखि अनिश्चितकालका लागि कामदार विदेश पठाउन बन्द गरेर सुरु गरेको आन्दोलन आफैं तुहिने संकेत देखा परेको छ । व्यवसायीका प्रतिनिधिहरूले सकारसँग वार्ता गरेर सुरक्षित अवतरण खोजेका छन् ।
प्रहरीले गत फागुन १२ गते १८ वटा मेनपावर कम्पनीमा छापा मारेर केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा संघले फागुन २३ गतेदेखि काम ठप्प पार्ने निर्णय गरे पनि स्वयं व्यवसायीहरूले त्यसको परिपालना गर्न सकेका छैनन् । पूर्व र अन्तिम श्रम स्वीकृति रोकेर भद्र अवज्ञा आन्दोलन गर्ने घोषणा गरेका व्यवसायीहरू भित्रभित्रै भने धमाधम श्रम स्वीकृति लिइरहेका छन् । वैदेशिक रोजगार कार्यालय काठमाडौंका अनुसार व्यवसायीले काम बन्द गरेको फागुन २३ गतेपछिको अवधिमा मात्रै संस्थागत र व्यक्तिगत गरेर २४ हजार ४ सय २१ जनाले श्रम स्वीकृति लिएका छन् । यो तथ्यांकले पनि व्यवसायीहरूको आन्दोलनको औचित्य नभएको पुष्टि हुन्छ । सो अवधिमा मेनपावरमार्फत संस्थागत रूपमा १० हजार ४ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । ६ हजार १ सय १२ पुरुष र २ सय ९१ महिला गरी ६ हजार ४ सय ३ जनाले पूर्वस्वीकृति लिएका छन् भने सोही अवधिमा ३ हजार ७ सय ४७ पुरुष र २ सय ४६ महिला गरी ४ हजार २९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो अवधिमा व्यक्तिगततर्फ १३ हजार ४ सय ३ पुरुष र ५ सय ४६ महिला गरी १३ हजार ९ सय ८९ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार कार्यालय काठमाडौंका प्रमुख मधुविलास पण्डितले आन्दोलन सुरु भएको सुरुवाती दिनमा संस्थागत श्रम स्वीकृति लिनेको संख्या केही कम भए पनि पछिल्लो दिनमा बढ्दो क्रममा रहेको जानकारी दिए । संस्थागत स्वीकृति घट्दा व्यक्तिगत स्वीकृति लिनेहरूको संख्या बढ्दै गएको उनले बताए ।अर्कै खेलमा व्यवसायीहरू
बाहिर प्रहरी धरपकडको विरोधमा आन्दोलनको घोषणा गरे पनि व्यवसायीहरू भित्रभित्रै नि:शुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्थापछि प्रवद्र्धन खर्चबापत खाडीका ६ मुलुक र मलेसियामा बढीमा १० हजार रुपैयाँ मात्रै व्यवसायीले उठाउन पाउने गत असार २१ गतेको निर्णय परिवर्तन गर्ने खेलमा लागिरहेको बताइन्छ । अघिल्लो पटकका श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले लागू गरेको फ्री भिसा, फ्री टिकट’ परिवर्तन गराउनका लागि श्रममन्त्री दीपक बोहोरासँग पटकपटक छलफल भएको बताइन्छ । प्रहरीले अनावश्यक कारबाही अघि बढाएको भन्दै आन्दोलनमा उत्रिएको व्यवसायी समूहले पछिल्लो समयमा आन्दोलनको माग अन्यत्र मोडेको छ ।
प्रवद्र्धनात्मक खर्चबापत मेनपावरले उठाउन पाउने १० हजार रुपैयाँलाई बढाएर २० हजार पुर्याउनुपर्ने वा कामदारले पाउने पहिलो महिनाको तलबबराबरको रकम पाउनुपर्ने माग पूरा भए आफूहरू आन्दोलन रोक्न तयार रहेको संघका पदाधिकारीहरूले बताइरहेका छन् । पछिल्लो समय नेपाली कामदारको माग कम हुँदै गएकामा मेनपावर बन्द गरेर बस्दा विदेशमा नकारात्मक सन्देश जाने र गन्तव्य मुलुकले अर्को विकल्प खोज्ने भन्दै मेनपावर खोल्नुपर्ने पक्षमा केही व्यवसायीले मत राख्दै आएका छन् । काठमाडौं कार्यालयमा संस्थागत कामकारबाही रोक्ने भन्दै केही व्यवसायीहरू धर्नामा बस्ने र अर्काेतर्फ अन्य व्यवसायीहरू फाइल लिएर श्रम स्वीकृति लिइरहँदा व्यवसायीबीच विवाद चुलिएको हो । तत्कालै संघको माग सुनुवाइ हुने सम्भावना नरहेकाले कति दिन कार्यालय बन्द गर्ने भन्ने व्यवसायीबीच अन्योल देखिएपछि संघको आन्दोलन असफलतातर्फ उन्मुख हुन थालेको हो ।
खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीका लागि लागू गरिएको नि:शुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थाबाट पछि हट्न चलखेल भइरहेको भन्दै त्यसको विरोधमा विभिन्न संघसंस्था दबाबमूलक कार्यक्रममा उत्रिएका छन् । मेनपावर सञ्चालकको प्रभावमा परी कामदारको पक्षमा रहेको नि:शुल्कको निर्णयबाट सरकार पछि हट्न नहुनेमा उनीहरूले सचेत गराएका छन् । तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गत असार २१ गतेदेखि लागू हुने गरी खाडीका छ र मलेसियामा नि:शुल्क टिकट र प्रवेशाज्ञाको निर्णय गरेका थिए ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply