चनियाँ मोडलको निर्यात
सन् २०१६ को सुरुवातसँगै प्रतिस्पर्धी विकासको मोडलहरू (आर्थिक वृद्धिको प्रवद्र्धनका रणनीतिहरू)का बीचमा ऐतिहासिक प्रतिस्पर्धा सुरु भएको छ । यसमा एकातिर चीन अर्कोतिर संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमा मुलुकहरू छन् । यो प्रतिस्पर्धा आम जनसाधारणको नजरबाट ओझेलमा रहेको भए पनि यसका परिणामले आउने दशकहरूमा अधिकांश युरेसियाको भाग्य निर्धारण गर्नेछ ।
अधिकांश पश्चिमाहरूलाई चीनको आर्थिक वृद्धिदरमा उल्लेखनीय कमी आएकोबारे जानकारी छ । हो पनि विगतका केही दशकमा १०५ भन्दा बढी भएको वृद्धिदर घटेर हाल ७५ वा सम्भवत: त्योभन्दा कम होला । तर, यो अवस्थालाई सम्बोधन गर्न त्यस देशका नेतृत्वकर्ताहरू हात बाँधेर बसेका छैनन्, बरु उनीहरू निर्यातमुखी एवं अत्यधिक वस्तु उत्पादनमा आधारित पर्यावरणीय ध्वंस निम्त्याउने आर्थिक वृद्धिको मोडललाई आन्तरिक उपभोग तथा सेवा व्यवसायतिर मोड्न प्रयत्नरत छन् ।
तर, चीनका योजनाहरूको ठूलो बाह्य आयामसमेत छ । सन् २०१३ मा राष्ट्रपति सी जिन पिङले ‘एउटा पाटो, एउटा बाटो’ (यलभ दभति, यलभ चयबम) नामक विशाल पहलको घोषणा गरेका छन्, जसले युरेसियाको आर्थिक मेरुदण्डलाई बदल्ने क्षमता राख्दछ । एउटा पाटोको अन्तर्वस्तुमा चीनको पश्चिमी भागबाट मध्य एसिया हुँदै युरोप, मध्यपूर्व तथा दक्षिण एसियासम्म नै रेलमार्गले जोड्ने परिकल्पना छ । अचम्मको नाम दिइएको ‘एउटा बाटो’का अन्तरवस्तुमा पूर्वी एसियाबाट सामुद्रिक आवतजावतमा वृद्धि गर्न बन्दरगाह तथा अन्य सुविधाहरूको विकास गर्नु र यी मुलुकहरूलाई एउटा पाटोसँग जोड्नु रहेको छ, जसले गर्दा ती मुलुकहरूलाई आफ्ना मालवस्तुहरू अहिलेको जस्तो दुई/दुईवटा महासागर पार गरेर ढुवानी गर्नुको साटो स्थल–मार्ग प्रयोग गर्न सकियोस् ।
चीनले नेतृत्व गरेको एसियाली पूर्वाधार लगानी बैंकको उद्देश्य अंशत: एउटा पाटो एउटा बाटोमा लगानी गर्नु रहेको छ । तर, यस प्रस्तावित नयाँ संस्थासँग भएका स्रोतहरूले सो परिकल्पना साकार पार्न आवश्यक लगानीको मात्रालाई एक छेउ पनि पूरा गर्न सक्दैन । यस बैंकमा सामेल हुन यसै वर्षको सुरुमा संयुक्त राज्य अमेरिकाले अस्वीकार गरेको थियो ।
वास्तवमा ‘एउटा पाटो एउटा बाटो’ले चिनियाँ नीतिमा आएको ठूलो परिवर्तनलाई प्रतिनिधित्व गर्दछ । यस परिवर्तनमार्फत पहिलोपटक चीन आफ्नो विकासको मोडल अन्य मुलुकहरूमा निर्यात गर्न प्रयत्न गरिरहेको छ । चिनियाँ कम्पनीहरू विगतका दशकहरूमा उत्पादनशील तथा खानीजन्य उद्योगहरूमा लगानी गर्दै र तिनलाई चीनसम्म पुर्याउने पूर्वाधार निर्माण गर्न समग्र दक्षिण अमेरिका एवं सब–सहारन अफ्रिकामा अत्यन्तै क्रियाशील रहेको वास्तविकता हो । तर, ‘एउटा पाटो एउटा बाटो’ फरक छ । यसको उद्देश्य चीनभन्दा बाहिर औद्योगिक क्षमता तथा उपभोग्य वस्तुहरूको माग बढाउनु रहेको छ । कच्चा पदार्थको दोहन गर्नुको साटो चीन आफ्ना ठूला उद्योगहरूलाई कम विकसित मुलुकहरूमा सार्न चाहन्छ, ताकि ती मुलुकहरू अझ सम्पन्न बनून् र चिनियाँ उत्पादनहरूको मागमा प्रोत्साहन मिलोस् ।
चिनियाँ विकास मोडल पश्चिमा मुलुकहरूमा हाल चलनचल्तीमा रहेका भन्दा फरक छ । यो औद्योगिक विकासको मार्गप्रशस्त गर्ने राज्यद्वारा नेतृत्व गरिरहेको पूर्वाधार (बाटो, बन्दरगाह, विद्युत्, रेलमार्ग, विमानस्थल आदि)मा व्यापक लगानी गर्ने नीतिमा आधारित छ । अमेरिकी अर्थशास्त्रीहरू ‘निर्माण गर तिनीहरू आउँछन्’ भन्ने नीतिप्रति असहमत छन्, किनभने उनीहरू राज्यको यति ठूलो सहभागिताले भ्रष्टाचार एवं स्व–पोषण (कभाि(मभबष्लिन) को खतरा देख्दछन् । तर, विगत केही वर्ष यता यसको ठीक उल्टो हुने गरी अमेरिकी एवं युरोपेली विकास रणनीति जनस्वास्थ्य, महिला सशक्तीकरण, विश्व नागरिक समाजको सहयोग तथा भ्रष्टाचार–न्यूनीकरणका उपायहरूमा ठूलो लगानी गर्न लागिपरेका छन् ।
पश्चिमाहरूका यी उद्देश्यहरू नि:सन्देह प्रशंसायोग्य छन् । तर, यिनै विषयहरूमा मात्र लगानी गरेर आजसम्म कुनै देश धनी भएको एउटै उदाहरण पनि छैन । दिगो आर्थिक वृद्धिका निम्ति जनस्वास्थ्य एउटा महत्त्वपूर्ण आधारभूत अवस्था हो, तर कुनै स्वास्थ्य केन्द्रमा भरपर्दो विद्युत् एवं सफा पानी आपूर्ति हँुदैन अथवा त्यहाँसम्म पुग्ने सहज बाटो हुँदैन भने त्यसले इच्छित परिणाम दिन सक्तैन । चीनको पूर्वाधार–आधारित रणनीतिहरूले चीनलाई उल्लेखनीय उपलब्धि दिएकै हो र यो रणनीति अन्य पूर्वी–एसियाली देशहरू (जापान, कोरिया, सिंगापुरसमेत)ले अवलम्बन गरेका रणनीतिहरूको महत्त्वपूर्ण अंग रहेको छ । भविष्यको विश्व राजनीतिको अहम प्रश्न प्रस्ट छ, कसको मोडलले जित्ने ? यदि ‘एउटा पाटो, एउटा बाटो’ले चिनियाँ योजनाकर्ताहरूको अपेक्षा पूरा गर्यो भने इन्डोनेसियादेखि पोल्यान्डसम्म सम्पूर्ण युरेसियासम्म नै आगामी पुस्तासम्म परिवर्तन हुनेछ । चिनियाँ मोडल चीनबाहिर जताततै फैलनेछ, जसले ती मुलुकहरूको आय बढाइदिनेछ । र, यसरी विश्वका अन्य भागका वृद्धिरहित बजारहरूको विकल्पमा चिनियाँ उत्पादनको मागमा वृद्धि गर्नेछ । प्रदूषणकारी उद्योगहरूको बोझ पनि विश्वका अन्य भागमा सारिनेछन् । विश्व अर्थव्यवस्थाको किनारामा होइन, बरु यसको केन्द्रमा मध्य एसिया रहनेछ । र, चीनको तानाशाही सरकारको इज्जतमा ठूलो वृद्धि हुनेछ, जसले संसारभरि नै लोकतन्त्रमा ठूलो नकारात्मक प्रभाव पार्नेछ ।
तर, ‘एउटा पाटो एउटा बाटो’ सफल हुन सक्ने या नसक्नेबारे प्रश्न उठाउन सकिने महत्त्वपूर्ण कारणहरू विद्यमान छन् । पूर्वाधारले डोर्याएको वृद्धिले अहिलेसम्म चीनमा राम्रो परिमाण दिएको छ, किनभने चीनको सरकारसँग राजनीतिक वातावरणलाई नियन्त्रण गर्ने क्षमता थियो । अन्यत्र यस्तो हुनेछैन, जहाँ अस्थिरता, द्वन्द्व र भ्रष्टाचार चिनियाँ योजनाका बाधक बन्नेछन् ।
वास्तवमा चीनले क्रुद्ध सरोकारवालाहरू, राष्ट्रवादी झुकावका विधायकहरू तथा इक्वेडर, भेनेजुएलाजस्ता देशहरूका पिपलपाते मित्रहरूसँग आफू झमेलामा परेको पाइसकेको छ, जहाँ उसको प्रशस्त लगानी भइसकेको छ । चीनले आफ्नै सिनजियाङ प्रान्तमा असन्तुष्ट मुसलमानहरूलाई खासगरी निषेध र दमनको माध्यमबाट तह लगाइरहेको छ, तर यस्तै कार्यनीति पाकिस्तान अथवा कजाकस्तानमा काम लाग्नेछैन ।
यति भन्दाभन्दै पनि यसको अर्थ अमेरिका एवं पश्चिमी सरकारहरूले आत्मरतिमा रमाइरहनु र चीनको असफलतालाई पर्खेर बस्नुहुँदैन । बृहत पूर्वाधार विकासको रणनीति चीनभित्र यसको उपादेयताको सीमासम्म आइपुगेको हुन सक्छ र यो रणनीति अन्य मुलुकहरूमा त्यही किसिमले उपयोगी नहुन सक्ला, तर विश्वको आर्थिक वृद्धिका लागि यो अझै अत्यन्त महत्त्वपूर्ण छ ।
सन् १९५० र १९६० का दशकमा अमेरिकाले पनि ठूलाठूला बाँध र राजमार्गका सञ्जालको निर्माण गर्ने गर्दथ्यो, तर त्यस्ता आयोजनाहरू हाल प्रचलनमा छैनन् । अब आएर यस्ता मामिलामा अमेरिकाले विकासशील मुलुकहरूलाई कमै प्रस्ताव गर्ला । राष्ट्रपति ओबामाको ऊर्जा सम्पन्न अफ्रिका (एयधभच बचष्अब)सम्बन्धी पहल राम्रो छ, तर यो यति सुस्त छ कि यो अहिलेसम्म बामे सर्न पनि सकेको छैन । हाइटीमा निर्माण गर्ने भनिएको फोर्ट लिबर्टे बन्दरगाह पनि कुरैमा सीमित रह्यो ।
अमेरिका एसियाली पूर्वाधार लगानी बैंकको संस्थापक सदस्य बन्नुपर्दथ्यो । यद्यपि, अझै पनि सहभागी हुन सक्छ । यसको सहभागिताले चीनलाई वातावरणीय, सुरक्षा तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुशरण गर्न थप दबाब दिन सक्छ । यसै सन्दर्भमा अमेरिका र पश्चिमा आफंैलाई सोध्नु जरुरी छ, पूर्वाधारको निर्माण गर्न किन यति कठिन भयो ? त्यो पनि विकासशील देशहरूमा मात्र होइन, आफ्ना देशहरूमा समेत । हामीले यसो गरेनौ भने चीन र यसको विकासको मोडलसामु हामीले युरेसिया र संसारका अरू महत्त्वपूर्ण भागहरूलाई सुपुर्दगी गर्नुपर्ने खतरामा पर्नेछौं ।
– अनुवाद यमनाथ बराल/‘रिडर्स नेपाल डटकम’बाट
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply