मेरो अनुभवमा नेपाल–भारत सम्बन्ध
नेपाल–भारत सम्बन्ध अहिले धेरै बिग्रिएको भनेर टिप्पणी भइहेको छ । वास्तवमा भारतले नेपालको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरि नै रहेको छ । जबसम्म नेपालको संस्थापन पक्षले हस्तक्षेप सहेर बस्ने गरेको छ वा हस्तक्षेप नभएजस्तो स्वाङ पारेर आँखा चिम्लिने गरेको छ, तबसम्म मात्रै भारतसँग राम्रो सम्बन्ध रहने गरेको छ । तर, जब नेपालका तर्फबाट अलिकति शिर उठाउने प्रयास गरिएको छ, तब भारतको वास्तविक चरित्र सामुन्नेमा आउने गरेको छ । अहिले भएको त्यही हो ।
नागरिकताका मामिलामा वर्तमान संविधानमा धेरै कमजोर प्रावधान राखिएको छ । तर पनि, भारतलाई त्यो स्वीकार्य भएन । मधेसी मोर्चाका नाममा भारतीय स्वार्थ अनुकूल काम गर्न चाहनेहरूले समग्र तराईलाई सके एक प्रदेश, नभए दुई प्रदेश बनाउने माग राखेका छन् । तथाकथित मधेसी मोर्चाको यही मागमा नेपाललाई घुँडा टेकाउन नै संविधान जारी हुनेबित्तिकै भारतका तर्फबाट अघोषित तर घोषितभन्दा कडा नाकाबन्दी लगाइएको हो । नयाँ पुस्ताका मानिसहरू वा हिजोआज सरकारमा बस्नेहरूलाई लाग्दो हो– ¬¬¬कडा राष्ट्रिय अडान लिँदा भारतले घाँटी नै अँठ्याएर मार्छ कि ¤ त्यसो होइन, कुनै पनि राष्ट्र बाँच्ने भनेकै उसको अडानका कारणले हो । सही अडान भयो भने केही समय दुःख हुन सक्छ, तर राष्ट्र जोगिन्छ । अनि, सही अडान भयो भने दुःख पाएको राष्ट्रले बिस्तारै समृद्धि पनि प्राप्त गर्दछ । हामीले देखेका छौँ, ठूला राज्य÷राष्ट्रहरूले साना राज्य÷राष्ट्रहरूलाई दबाउने वा स्वतन्त्रता नै हडप्ने नगरेका होइनन्, तर आÇनो देशका पक्षमा दह्रोसँग उभिनेहरूले गुमेको स्वतन्त्रता पनि फिर्ता लिएका छन् ।
भारतीय सैनिक चेक पोस्ट हटाउँदा
म पहिलोपटक २०२५ चैत २५ गते प्रधानमन्त्री भएँ । त्यतिखेर नेपालको उत्तरतिरको सिमानामा भारतीय सैनिक मिसन थियो । नेपाल र चीनको बीचमा त अहिलेजस्तो वारि नेपाली र पारि चिनियाँ सुरक्षाकर्मी पो हुनुपर्ने, तर अचम्म ¤ नेपाल र चीनको सिमानामा भारतीय सैनिकहरू राखिएका थिए । त्यो विगतको नेतृत्वको धेरै ठूलो भूल थियो । नेपाल र चीनको सिमानामा भारतीय सैनिक मिसन राख्नाले नेपाल र चीनबीचको मित्रतामा त बाधा दिन्थ्यो नै, स्वयम् भारत र चीनको मित्रतामा पनि खलल पथ्र्यो । प्रधानमन्त्री पदको शपथग्रहण गरेपछि नै मलाई लाग्यो– राष्ट्रको स्वाभिमान उठाउन सक्दो योगदान दिने बेला यही हो । मैले सोचेँ– आफूसँग सामथ्र्य भएको बेलामा नै राष्ट्र र जनताका पक्षमा काम गर्ने हो । मैले नेपाल र भारतको मित्रता युगौँयुगसम्म बलियो होस् भन्ने नै चाहेको थिएँ, तर नेपालको स्वाभिमान गिराएर त्यो सम्भव थिएन । बेला–बेलामा त्यतिखेर भूमिगत रहेको कम्युनिस्ट पार्टी नजिकका विद्यार्थी सङ्गठनहरू नेपाल–चीन सीमामा राखिएको भारतीय सैनिक मिसन हटाउने माग राखेर जुलुस निकालिरहन्थे । त्यसै विषयमा धरपकड भइरहन्थ्यो । पक्राउ परेका युवा–विद्यार्थीहरूसँग अञ्चलाधीश वा सीडीओले हकारपकार गरेर बयान लिन्थे । पक्राउ परेकाहरूले प्रतिप्रश्न गर्थे– ‘राजाको विरोध गरेका बेला तपाईंको प्रशासनले हामीलाई पक्राउ गर्नु अप्रजातान्त्रिक भए पनि अहिलेको कानुनअनुसार ठीक होला । तर, भारतीय सैनिक मिसन हटाउन माग गर्दा किन पक्राउ गर्नुहुन्छ ? हामीले देशभक्ति पनि देखाउन नपाउने ?’ त्यस्तो विषयमा प्रशासकहरू नाजवाफ हुन्थे । यसले नेपालमा भारतविरोधी भावना बढ्न थालेको थियो ।
मैले महिना र गते अहिले सम्झन सकिरहेको छैन, कुरा २०२६ सालकै हो । तत्कालीन भारतीय विदेशमन्त्री दिनेश सिंह नेपालमा आएका थिए । त्यतिखेर प्रतिष्ठित मानिने भारतको एक राष्ट्रिय दैनिकले त्यही सन्दर्भ पारेर नेपाल–भारत सम्बन्धबारे लेख र सम्पादकीय छापेको थियो । त्यसमा नेपालको सार्वभौमसत्ताको धज्जी उडाइएको थियो र नेपाल केही पनि होइन भन्ने आशयमा हेप्न खोजिएको थियो । त्यो पत्रिकाले त्यस्तो लेख्ने हिम्मत गर्नुका पछाडि नेपालमा भारतीय सैनिक मिसन हुनु नै कारण थियो । त्यसले ममा के गरौँ र कसो गरौँ भन्ने छटपटी जगायो ।
त्यतिखेरका प्रधानमन्त्री अहिलेका जस्ता शक्तिशाली हुँदैनथे । सक्रिय राजतन्त्रको जमाना थियो । मैले सोचेँ– सही कुरा लिएर जाने हो भने राजाले किन नमान्लान् र ? मैले एक दिन राजा महेन्द्रलाई बिन्ती गरेँ– ‘सरकार, रिसानी माफ होस् । एउटा बिन्ती बिसाउन चाहन्छु । हाम्रो देश र चीनका बीचमा भारतीय सैनिक मिसन राखेको पटक्कै ठीक भएन । यो हटाउनुप¥यो ।’
राजाको प्रश्न थियो– ‘पहिले नै राख्न नदिनुपर्ने थियो । अब हटाउन कसरी सम्भव छ र ?’ राजा महेन्द्र जहिले पनि गम्भीर मुद्रामा कुरा गर्थे ।
‘हामीले स्पष्ट रूपमा भारतसमक्ष कुरा राख्ने हो र सही अडान लिने हो भने नहुने के छ र ? भारतले हाम्रो प्रस्ताव नमानी सुखै छैन,’ मैले भनेँ ।
राजाबाट हुकुम भयो– ‘आÇनो योजना स्पष्ट पार ।’ मैले भनेँ– ‘सरकार, म उपयुक्त मौका छानेर यो कदम चाल्छु । मैले भारतलाई नेपाल–चीन सीमाबाट उसको मिलिटरी मिसन हटाउन बाध्य बनाएरै छाड्नेछु । त्यसबाट मौसुफमा कुनै दबाब आयो भने काम सम्पन्न भइसकेपछि बरु मलाई प्रधानमन्त्रीबाट हटाइबक्से पनि हुन्छ ।’
मेरो भनाइमा राजाले मुसुक्क हाँस्दै टाउको हल्लाएर स्वीकृति दिए । मैले अन्य विषयमा भारतसँग राम्रो सम्बन्ध कायम गरेको थिएँ र यो प्रधानमन्त्री चानचुने छैन भन्ने आभास पनि विभिन्न समयमा दिइसकेको थिएँ । मैले उपयुक्त मौकामा अन्तर्राष्ट्रिय जनमतले पनि राम्रोसँग सुन्ने गरी भारतलाई उसको सैनिक मिसन फिर्ता लैजान बाध्य बनाउने गरी कदम चाल्ने निधो गरेँ ।
त्यतिखेर परराष्ट्र सचिव सरदार यदुनाथ खनाल हुनुहुन्थ्यो । उहाँ मेरा गुरु हुनुहुन्थ्यो । मैले उहाँलाई कहिल्यै पनि ‘सचिवज्यू’ भनिनँ, गुरु नै भन्थेँ । २०२२ सालदेखि परराष्ट्र मन्त्रालय मैले नै सम्हाल्दै आएको थिएँ । प्रधानमन्त्री भएपछि पनि परराष्ट्र मन्त्रालय मैले नै हेरिरहेको थिएँ । मैले गुरुलाई आÇनो मनमा लागेको सबै कुरा बताएँ । उहाँले मेरो कुरा मान्नुभयो । उपयुक्त अवसर पारेर भारत तथा विश्व जनमतका सामुन्ने नेपालको स्पष्ट अडान राख्नुपर्दछ भन्ने विषयमा हाम्रो सल्लाह भयो । धेरै मिहिनेत गरेर गुरु यदुनाथ खनालले अङ्ग्रेजीमा वक्तव्यको मस्यौदा तयार गर्नुभयो । त्यस वक्तव्यमा निम्नलिखित चारवटा कुरा प्रमुखताका साथ उल्लेख गरिएका थिए ः
१. सन् १९५० को नेपाल–भारत मैत्री सन्धि वर्तमान परिप्रेक्ष्यमा काम नलाग्ने भइसक्यो । यो सन्धि नेपालका लागि अपमानजनक छ । यसलाई जतिसक्दो छिटो बदल्नुपर्दछ र समानताका आधारमा नयाँ सन्धि गर्नुपर्दछ ।
२. नेपाल–भारतका बीचमा सम्पन्न सन् १९६५ ‘आम्र्स एग्रिमेन्ट’ वा हतियार तथा सुरक्षासम्बन्धी गोप्य सन्धि पनि वर्तमान परिप्रेक्ष्यमा काम नलाग्ने भइसक्यो । यसलाई खारेज नै गर्नुपर्दछ ।
३. नेपालमा रहेको भारतीय सैनिक मिसन तत्काल हटाउनुपर्दछ । नेपालमा भारतीय सैनिक मिसन रहनु नेपाली सार्वभौमसत्ताका विरुद्ध छ । यसले नेपाल र भारतको बीचमा निरन्तर अविश्वासको सिर्जना गरिरहेको छ ।
४. नेपालमा रहेको भारतीय सैनिक मिसनले भारत र चीनको मित्रतामा पनि खलल पु¥याइरहेको छ ।
सन् १९६९ को २६ जनवरी अर्थात् भारतको गणतन्त्र दिवसमा नेपाल सरकारका तर्फबाट शुभकामना सन्देश दिँदा मैले त्यो विषय उठाउने निधो गरेँ । मैले सम्झेसम्म शुभकामना सन्देशको निष्कर्ष यस्तो थियो– ‘ …यस सुखद घडीमा भारतले नेपाल–चीन सीमामा राखिएको आÇनो सैनिक मिसन फिर्ता लैजानेछ भन्ने मेरो दृढ विश्वास छ । यसबाट नेपाल, भारत र चीन तीनवटै देशको हित हुनेछ ।’ त्यो शुभकामना सन्देश त्यसै दिनको ‘द राइजिङ नेपाल’मा छापिएको थियो ।
मेरो सन्देशलाई देशभित्र सबैले रुचाएका थिए । तर, ऋषिकेश शाहले भने त्यस विषयमा राजासँग असन्तुष्टि व्यक्त गरेछन् । उनको भनाइ रहेछ– ‘यस्तो वक्तव्य राष्ट्रिय पञ्चायतबाट पारित गरेर मात्रै जारी गर्नुपर्दथ्यो । राति वक्तव्य जारी गर्ने काम ठीक भएन । यस वक्तव्यबाट भारत चिढिन सक्छ र हामीमाथि ठूलै अनिष्ट आउन सक्छ ।’
मेरो सन्देशले भारतको सत्ता वृत्तमा ठूलै हलचल ल्यायो । केही दिनपछि प्रधानमन्त्री इन्दिरा गान्धी नेपाल आइन् र मलाई सिधै प्रश्न गरिन्– ‘प्रधानमन्त्रीज्यू ¤ तपाईंले यस्तो के वक्तव्य दिएको ?’
मैले लामो समय लिएर उनलाई कुरा बुझाउने प्रयास गरेँ । हामीबीचको कुराकानी धेरै नै ‘टफ’ भयो । मैले भनेको थिएँ– ‘म्याडम ¤ नेपालमा भारतीय सैनिक मिसन रहनु भनेको नेपाललाई भारतले अविश्वास गरेको ठहर्ने कुरा हो । यसबाट तनाव निरन्तर बढिरहन्छ । कुनै पनि सार्वभौमसत्ता सम्पन्न मुलुकले आफूकहाँ विदेशी सैनिक मिसन रहेको सहनै सक्दैन । यसरी निरन्तर तनाव भइरहने विषय कायमै राखेर कसरी हाम्रो मित्रता दिगो हुन सक्छ ? उत्तरी सीमामा रहेको तपाईंहरूको सैनिक चौकीले चीनलाई पनि निरन्तर तनावमा राख्नेछ । अहिले भारत र चीनको सम्बन्ध त्यति राम्रो अवश्य पनि छैन । तर, सधैँभरि तपाईंहरूले पनि चीनसँग लडाइँ नै त गर्ने होइन होला ? कहीँ न कहीँ, कुनै न कुनै बिन्दुमा पुगेर तपाईंहरूका बीचको सम्बन्ध हार्दिक बनाउनैपर्नेछ । नेपालमा रहेको भारतीय सैनिक मिसन हटाउँदा तपाईंहरूलाई चीनसँग सम्बन्ध सुधार्न पनि सहयोग नै मिल्नेछ । यस कदमबाट नेपाल, भारत र चीनका बीचमा सम्बन्धको नयाँ आयाम नै सुरु हुनेछ ।’ अन्त्यमा उनी ‘कनभिन्स’ भइन् ।
हाम्रो उत्तरी नाकामा २००८ सालमा स्थापना गरिएको भारतीय सैनिक मिसन २०२६ सालसम्म रह्यो । भारतसँग एकप्रकारले ‘कन्फ्रन्टेसन’ नै गरेको थिएँ मैले । त्यसले राजालाई पनि दबाब प¥यो होला । केही महिनापछि अर्थात् ३१ चैत २०२६ (१३ अप्रिल १९७०) मा म प्रधानमन्त्रीबाट हटाइएँ ।
म प्रधानमन्त्रीबाट हटे पनि मेरो लोकप्रियता यति धेरै बढ्यो कि बयान गरी साध्य छैन । जहाँ गए पनि युवा–विद्यार्थीले मलाई अत्यन्त उच्च सम्मानका साथ स्वागत गरे ।
राष्ट्रवादीहरू सरकारमा आउँदा भारतले जहिले पनि दुःख दिने गरेको छ । नेपालका धेरैजसो राजा र नेताहरूले राष्ट्रवादी चरित्र देखाएका छन् । तर, दुःखको कुरा उनीहरू बेला–बेलामा धर्मराउने पनि गरेका छन् । उदाहरणका लागि, बीपी कोइरालालाई लिन सकिन्छ । उनी महान् राष्ट्रवादी हुन् भन्ने कुरामा कुनै शङ्का छैन । ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने मानिस त पक्का राष्ट्रवादी नै भए नि ¤ उनी प्रधानमन्त्री भएकै बेला नेपाल र पाकिस्तानको बीचमा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । भारत र पाकिस्तान भर्खर विभाजित भएका बेला पाकिस्तानसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने विषय चानचुने हिम्मतको कुरा थिएन । अहिले आएर मूल्याङ्कन गर्दा बीपीले भारतलाई चिढ्याउने गरी त्यति छिट्टै पाकिस्तानसँग कूटनीतिक सम्बन्ध नगाँसेको भए पनि हुन्थ्यो कि वा अलि ढिलो गर्नुपथ्र्यो कि भन्न सकिएला । तर, उहाँको त्यस कदमले नेपालको स्वतन्त्र हैसियत स्थापित गर्न नै मद्दत पु¥याएको थियो । २००७ सालको क्रान्तिपछि त भारतीय राजदूत मन्त्रिमण्डलको बैठकमै बसेर निर्देशित गर्ने गरेकै थिए । त्यतिसम्म हस्तक्षेप हुन्थ्यो । त्यस परिवेशमा बीपीको अडानको उच्च मूल्याङ्कन गर्नैपर्दछ । कसैलाई बीपीको राजनीतिक विचार, अभिव्यक्ति र कार्यशैली मन नपर्न सक्छ । तर, उनको राष्ट्रवादमा शङ्का गर्ने ठाउँ छैन । उनी राष्ट्रवादी भएकै कारण मेलमिलापको नीति लिएर प्रवासबाट फर्किएका हुन् । तर, उनी पनि एकपटक धर्मराउन पुगे । उनका दाजु मातृकालाई त भारतीय पक्षको भन्ने आरोप नै लागेको थियो । त्यसैले, उनले भारतसँग कोसी बाँध बनाउने सम्झौता गरे भन्न मिल्यो । भारतीय हेपाहा व्यवहारको विरोधमा बीपी र मात्रिकाको सधैँ टक्कर परिरहन्थ्यो । तर, बीपीले पनि आÇनो पालामा गण्डक सम्झौता गरिदिए ।
गिरिजाप्रसाद कोइराला पनि कम राष्ट्रवादी होइनन् । कतिपय सन्दर्भमा उनको राष्ट्रवादमा कसै–कसैले शङ्का गरेको पनि पाइन्छ । राष्ट्रिय अडान लिनुपर्दा उनी पनि कडा अडान लिने मानिस नै हुन् । तर, पहिलोपटक प्रधानमन्त्री भएपछि भारत जाँदा टनकपुर सन्धि गरेर आए । त्यसमा विवाद भयो । उनले सन्धि गरेको होइन, समझदारी मात्रै गरेको हो भने । त्यसमा उनी फस्न पुगे या धर्मराए भन्न सकिन्छ ।
सुशील कोइरालाले पनि आफू प्रधानमन्त्री भएका बेला राष्ट्रवादी अडान लिएकै हुन् । उनकै अडानले गर्दा वर्तमान संविधान जारी गर्न सम्भव भयो भन्ने मेरो ठहर छ । आखिर प्रधानमन्त्रीका रूपमा नेतृत्व त उनैले गरेका हुन् । तर अचम्म, त्यत्रो ठूलो अडान लिने मानिस संविधान जारी गर्नेबित्तिकै फेरि प्रधानमन्त्री बन्ने लोभमा किन भारतको जालमा फसेर धर्मराएका ? ऐनमौकामा धर्मराउने कारणले नेपालका नेताहरूमा रहेको राष्ट्रवाद ओझेलमा पर्ने गरेको छ ।
मैले बुझेसम्म नेपालका कम्युनिस्टहरूको राष्ट्रवादबारे कुनै शङ्का गर्नुपर्दैन । राष्ट्रवादको झन्डा संसारभरिकै कम्युनिस्टहरूले उठाउने गरेका छन् । मैले चीनमा गएका बेला एकपटक माओत्से तुङलाई यस्तै अनौपचारिक गफगाफ भएको बेला सोधेको थिएँ– ‘अन्तर्राष्ट्रवादको वकालत गर्ने कम्युनिस्टहरू राष्ट्रवादको मामिलामा झन् दृढ देखिन्छन् । महामहिम, यो अलि ‘कन्ट्राडिक्टरी’ कुरा भएन र ? माओत्से तुङले मुसुक्क हाँस्दै भनेका थिए– ‘अ कम्युनिस्ट मस्ट बी अ स्ट्रङ नेस्नालिस्ट टु बिकम अ इन्टरनेस्नालिस्ट’ (एउटा कम्युनिस्टले अन्तर्राष्ट्रवादी हुन दह्रो राष्ट्रवादी हुनैपर्दछ ) । नेपालका कम्युनिस्टहरूले पनि राष्ट्रवादकै जगमा आÇनो आन्दोलन अगाडि बढाएका हुन् भन्ने मेरो ठहर छ । तर, बेला–बेलामा धर्मराहटको अवस्था कम्युनिस्ट नेताहरूमा पनि देखिन्छ ।
कम्युनिस्टहरू पनि राष्ट्रवादको मामिलामा कहिलेकाहीँ धर्मराउने गरेका छन् भन्ने कुराको उदाहरण भारतसँग गरिएको महाकाली सन्धिको प्रसङ्गलाई लिन सकिन्छ । अहिले हामीले मूल्याङ्कन गर्नुपर्दछ– कोसी, गण्डकी र महाकाली नदीसम्बन्धी भारतसँग गरिएका सम्झौताले नेपाललाई के फाइदा भयो ? केही पनि फाइदा भएन । ती तीनवटै सम्झौतामा नेपाल नराम्ररी ठगिएको छ । अझ माथिल्लो तटीय क्षेत्रमा हामीलाई हाम्रो पानी प्रयोग गर्न पनि प्रतिबन्ध नै लगाइएको छ । यस्तो ठगीमा परेको अनुभूति गरेर नै राजा वीरेन्द्रले एकपटक अन्तर्राष्ट्रिय मञ्चमै भनेका थिए– ‘वी ह्याब बिन चिटेड बाइ इन्डिया’ (हामी भारतद्वारा ठगिएका छौँ) । ठूलो राष्ट्रसँग सम्झौता गरिसकेपछि त्यो एकप्रकारको ‘ट्र्याप’ जस्तै हुन्छ, निस्कनै नसकिने । त्यसबाट निस्कन देशले ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ । यसतर्फ राष्ट्रवादकै झन्डा उठाउने गरेका कम्युनिस्टहरू पनि चुक्नु धेरै दुःखलाग्दो कुरा हो । अझ हालै माथिल्लो कर्णालीसम्बन्धी सम्झौता पनि अगाडि बढाइयो भन्ने सुनेको छु । यस्तो किन गरेका हुन् ? मैले बुझ्न सकेको छैन ।
मैले नेपाली कम्युनिस्ट आन्दोलनका पुरानो पुस्ताका नेताहरूसँग सङ्गत गरेको छु । नरबहादुर कर्माचार्य, मनमोहन अधिकारी, सिद्धिलाल सिंह, दीनानाथ सबैलाई मैले राष्ट्रवादीकै रूपमा चिनेको छु । नयाँ पुस्ताका नेताहरूमध्ये माधवकुमार नेपाल, वामदेव गौतमलगायतलाई पनि मैले चिनेको छु । केपी शर्मा ओलीसँग भने धेरै सङ्गत गर्न पाएको छैन । केपी ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, वामदेव सबैले देखाएको राष्ट्रवादी अडान धेरै राम्रो छ । म यस कुराको उच्च प्रशंसा गर्न चाहन्छु । उनीहरू यसैगरी अडानमा रहून् भन्ने मेरो शुभकामना छ । तर, मैले यतिखेर भन्नैपर्दछ– यी नेताहरू पनि बेला–बेलामा धर्मराउने गरेका छन् । उदाहरणका लागि महाकाली सन्धिका बेला भूमिकाकै कुरा गर्ने हो भने केपी ओली धर्मराएकै हुन् भन्ने मेरो ठहर छ । उनलाई आइन्दा नधर्मराउन सुझाव दिनैपर्ने हुन्छ । उनले ‘महाकाली सन्धिबाट नेपाललाई वर्षमा १ खर्ब २० अर्ब फाइदा हुन्छ’ भनेकै हुन्, दुनियाँले सुनेकै हो । खोइ त नेपाललाई के फाइदा भयो ? केही पनि फाइदा भएन । भारतले नेपाललाई अल्मल्याउन मात्रै खोजेको थियो र महाकालीको पानी एकलौटी प्रयोग गर्न खोजको थियो । भारत सफल भयो, नेपाली नेताहरू महाकाली सन्धिको सन्दर्भमा चरम रूपमा असफल भए ।
वामदेव गौतमकै चरित्रलाई हेरौँ । उनले महाकाली सन्धिको विषयमा दह्रो राष्ट्रिय अडान लिए । त्यतिखेर मैले सोचेको थिएँ– नेपाललाई यी नेताले अब पार लगाउँछन् । तर विडम्बना ¤ महाकाली सन्धिपछि बनेको लोकेन्द्रबहादुर चन्दको नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका बेला उनले महाकाली सन्धिविरुद्ध वा त्यसलाई आंशिक रूपमा भए पनि सच्याउन वा आदानप्रदान गरिने पत्र रोक्नेलगायतका कुनै काम गरेनन् । उनी पनि धर्मराउनुभएको भन्ने प्रस्ट रूपमा देखिन्छ ।
भारतीय दबाबसामु बिल्कुलै नडगमगाएर माधवकुमार नेपालले धेरै राम्रो राष्ट्रवादी चरित्र देखाएका छन् । माधवकुमार नेपाल पनि खरा राष्ट्रवादी हुन्, तर विगतमा उनी पनि धर्मराए भन्ने मेरो ठहर छ । यदि महाकाली सन्धि उनको विचारअनुसार सही थिएन भने पार्टीमा षड्यन्त्रपूर्वक बहुमत पु¥याएर किन निर्णय पारित गराएको ? किन त्यसो गरेको ? किन संसद्को बैठक आधा रातमा बोलाएर सन्धि पारित गराएको ? यसको मूल्याङ्कन माधवकुमार नेपालजस्ता राष्ट्रवादी नेताले स्वयम् गर्नुपर्दछ भन्ने मलाई लाग्छ ।
(डा.विजयकुमार पौडेलद्वारा सम्पादित ‘नेपाल भारत सम्बन्ध ः विगत, वर्तमान र भविष्य’ बा सम्पादनसहित साभार)
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply