सामान्यमा विवादितकै चर्का कुरा
काठमाडौं । विगतमा राम्रो काम गरेर स्याबासी पाएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बदनाम पात्रहरूको घेराबन्दीका कारण विगतको साख जोगाउन गाह्रो हुने हो कि भन्ने चिन्ता परेको छ । अघिल्लो कार्यकालमा डीभी र पीआरधारीविरुद्ध अभियान चलाउने मात्र होइन, ऐन नै पारित गरेर देखिने काम गरेका उनले अहिले पनि त्यस्तै काम गर्न खोजेका छन् । तर, उनको सचिवालयमा रहेका बदनाम पात्रले कता फसाइदिने हो, ठेगान नभएको आमकर्मचारीहरू बताउँछन् ।
अहिले कर्मचारीका तर्र्फबाट मन्त्री पण्डितको सचिवालय उपसचिव होम लुइँटेलले हेर्ने गरेका छन् । लुइँटेल अख्तियारमा मुद्दा चलिरहेका बदनाम कर्मचारी हुन् । यसअघि उद्योग मन्त्रालयमा रहेका उनको उद्योग दर्तासँग सम्बन्धित विभिन्न विवादास्पद मुद्दा छ । उनको दरबन्दी भने पराराष्ट्र मन्त्रालयमा छ । उद्योगमा रहेको दरबन्दी आफू तत्कालीन सामान्य प्रशासनमन्त्री पण्डितकै पीए भएको मौकामा परराष्ट्रतर्फ मिलाएर उनले केही दिन परराष्ट्रमै हाजिर गरेका थिए । काज मिलाएर विभिन्न मालदार ठाउँ र चलखेल हुने निकायमा सरिरहने प्रवृत्ति रहेका उनलाई निकटबाट चिन्नेहरू बताउँछन् ।
उनी आफूलाई एमालेनिकट कर्मचारी भनेर दाबी गर्छन् । तर, नेपाल निजामती कर्मचारी संगठनका सहकर्मीहरूले नै उनी पार्टीको कुरा नसुनी जता पैसा झर्छ, त्यतैको कुरा सुन्ने व्यक्तिका रूपमा परिचित रहेको बताउँछन् । उनले विगतमा उनै लालबाबुको पावर लगाएर दिल्लीस्थित महावाणिज्य दूतावासमा जाने दाउ गरेका थिए । राम्रो पैसा कमाइ हुने सो स्थानमा जान च्यानल मिलिसकेपछि पनि अन्त्यमा आचरण खराब र मुद्दा चलिरहेको भन्ने बुझेपछि परराष्ट्र मन्त्रालयले सदर गरेन । अन्त्यमा सो स्थानमा लुइँटेल आफू पनि जान सकेनन् भने पार्टीकै अन्यन्त्र कर्मचारीलाई पनि जाने बाटो रोकिदिए । कर्मचारीहरूको सरुवाबढुवाको महŒवपूर्ण यस निकायमा आउन उनले निकै कसरत गरेको बताइन्छ । त्यसो त सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासन शाखामा रहेर व्यापक चलखेल गरेका र तर त्यहाँ बदनामी भएपछि उद्योगमा पठाइएका शाखा अधिकृत नवराज नेपाललाई पनि उनै लुइँटेलको जोडमा सामान्यमै ल्याउने तयारी भएको स्रोतले बतायो । सो संकेत पाएर केही दिनका लागि नेपाल मन्त्रालय आएका पनि थिए । तर, अन्यत्रबाट विरोध भएपछि उनी फर्किन बाध्य भएको बताइन्छ । सामान्यमा रहँदा नेपालले व्यापक अनियमितता गरेको भन्दै कर्मचारीहरूबाट पनि विरोध भएपछि विगतमा उद्योगमा खेदाइएको थियो । अहिले उद्योगको काज फिर्ता गरेर उपसचिव लुइँटेलले नेपाललाई सामान्यमा ल्याउन लागिरहेका छन् । यता, लुइँटेलले भने यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए ।
मन्त्रीलाई घुमाउने अर्कै
यसैबीच, मन्त्री बनेयता लालबाबु पण्डित कर्मचारी वृत्तमा धेरै नै आलोचित बन्दै गएका छन् । संघीय तथा सामान्य प्रशासनमन्त्री पण्डितले कहिले कर्मचारीहरूलाई ‘थाङ्ने’ शब्द प्रयोग गर्ने त कहिले आधिकारिक ट्रेड युनियन खारेजी गर्नेजस्ता अभिव्यक्ति दिएर आफूलाई विवादमा पार्दै आएका छन् ।
दोस्रोपटक सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री पण्डितले पहिला मन्त्री हुँदा पीआरवाला कर्मचारीमाथि डन्डा चलाउँदा चर्चामा आएका थिए । अहिले पनि मन्त्री पण्डितले पहिलाजस्तै चर्चित हुने गरी कदम चाल्न खोज्दा कर्मचारीहरूबीच अलोकप्रिय मात्र बन्दै गएका छैनन्, उनी सो मन्त्रालयका चतुर सचिव दिनेशकुमार थपलियाको चंगुलमा फस्दै गइरहेको बताइन्छ ।
अचेल मन्त्री पण्डितलाई सचिव थपलियाले नराम्ररी घुमाउन थालेका छन् । सचिव थपलियाले भनेकै आधारमा मन्त्री पण्डितले कामहरू गर्दै आइरहेको बताइन्छ । पछिल्लो समय कर्मचारीहरूको स्वैच्छिक अवकाश, आधिकारिक ट्रेड युनियन खारेजी र कर्मचारीहरूसँग मनमुटाव बढ्नुमा सचिव थपलियाकै हात रहेको बताउन थालिएको छ ।
सचिव थपलियाकै सल्लाहमा मन्त्री पण्डितले काठमाडौं उपत्यकाका स्थानीय तहमा तत्काललाई कर्मचारीहरूको सरुवा नगर्ने मनस्थितिमा पुगेको बताइन्छ । सचिव थपलिया संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा हुँदा तत्कालीन मन्त्री विजयकुमार गच्छदारसँग मिलेर उपत्यकाका दुई महानगर र अरू नगरपालिकाहरूमा कांग्रेस समर्थक कर्मचारीहरूलाई व्यापक रूपमा सरुवा गरेका थिए । दसैंलगत्तै मन्त्री गच्छदार र सचिव थपलिया मिलेर राम्रो कमाइ हुने उपत्यकाका स्थानीय तहहरूमा कांग्रेससमर्थक कर्मचारीहरूलाई सरुवा गरिएको थियो । कर्मचारीहरूको सरुवा गर्दा व्यापक रूपमा आर्थिक चलखेलसमेत हुन पुगेको बताइन्छ ।
तर, अहिले मन्त्री पण्डितलाई घुमाएर आफूले आर्थिक लाभ लिई सरुवा भएका काठमाडौं उपत्यकाका स्थानीय तहहरूमा पुरानै कर्मचारीलाई निरन्तरता दिने पक्षमा सचिव थपलिया पुगेका छन् । सचिव थपलियाले मन्त्री पण्डितलाई ‘कन्भिन्स’ गरेर उपत्यकाका स्थानीय तहहरूमा कर्मचारीहरूको सरुवा नगर्ने मुडमा पुगेको बताइन्छ । गच्छदार मन्त्री हुँदा भने सचिव थपलिया र गच्छदार मिलेर एमाले समर्थक कर्मचारीहरूलाई उपत्यकाबाहिरका अपायक ठाउँहरूमा सरुवा गरिएको थियो ।
सचिव थपलियाकै जोडबलमा सो मन्त्रालयमा प्रशासन शाखाको अधिकृतमा कार्यरत रविचन्द्र थापालाई यथावत् राखेका छन् । नयाँ मन्त्री आएपछि प्रशासनका कर्मचारीहरू फेरिने गरेको भए पनि सचिवकै कारण थापा सोही शाखामा रहँदै आएका छन् । सचिव थपलियाकै कृपाका कारण थापाले कमल थापा, गच्छदार मन्त्री हुँदादेखि नै सो शाखामा रहँदै आएका छन् । अधिकृत थापाले सरुवा, बढुवाजस्ता कामहरूमा सचिव थपलियाको निर्देशनअनुरूप काम गर्ने र त्यहीअनुरूप रकमको चाँजोपाँजो मिलाउने भएको हुँदा उनलाई अन्यत्र सरुवा नगरी सोही शाखामा राख्दै आएको बताइन्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply