वायुसेवाले ४५ हजारमा जापान उडाउने
काठमाडौं । आउँदो असार १९ गतेबाट वाइडबडी विमानमार्फत जापानको ओसाकामा सीधा उडान गर्न लागेको नेपाल वायुसेवा निगमले त्यहाँको भाडादर पनि कायम गरेको छ । निगमले एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरेको हो । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि सुरु गर्नेछ ।
जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सीधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनका लागि झन्डै ४५ दिन लाग्ने छ । सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले काठमाडौं–ओसाकाका लागि वाइडबडी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडांै–जापान उडानको समयावधि ६ घन्टाकोे छ भने ओसाका–काठमाडौं उडान साढे सात घन्टाको हुनेछ । वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गएको असार र साउनमा निगमले खरिद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए । निगमले जापानकै नारिता अन्तर्रािष्ट्रय विमानस्थलमा सीधा उडान भर्न पनि प्रक्रिया अघि बढाएको छ । यो विमानस्थलमा सातामा दुई उडान भर्ने निगमको योजना छ । ‘उडानका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौं । नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुईवटा मात्रै उडान गर्नेछौं । यात्रुको चापअनुसार उडान वृद्धि गरिनेछ,’ सहायक प्रवक्ता कोइरालाले भने ।
नेपाल–जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले जापानको हानेदा एयरपोर्टबाहेकका अरू सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक दुई उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्नेछ । नेपाल एयरलाइन्सले जापानका विमानस्थलबाट अमेरिकाबाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्न सक्नेछन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ । गएको पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौं–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो ।
निगमले चीनको गोन्जावो उडानका लागि पनि कागजी प्रक्रिया सुरु गरेको छ । त्यहाँ सातामा तीन उडान गर्ने योजना छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट (जीएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहे पनि साउदी र कोरिया उडानका लागि केही समय लाग्ने बताइएको छ । निगमले वाइड विमान चालक (पाइलट) को थप व्यवस्था गर्दै छ । वाइडबडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही संख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्रा्ष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply