मेलम्ची छाड्नेको सामान जफत
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ३ प्रतिशत काम बाँकी रहँदा ठेक्का तोडेर बाहिरिएको ठेकेदार कम्पनी सीएमसीका भौतिक सामग्रीहरू जफत हुने सम्भावना बढेको छ । मेलम्चीबाट बाहिरिए पनि सीएमसीले विभिन्न कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको हुँदा सरकारले सो कम्पनीका भौतिक सामग्रीहरू जफत गर्ने सोच बनाएको हो ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुरले सीएमसीलाई दिनुपर्ने ३६ करोड रूपैयाँ भुक्तानी नदिएपछि सो कम्पनीले मेलम्चीको ठेक्का रद्द गरेको घोषणा गरेको थियो । मेलम्चीको ठेक्का रद्द भएपछि इटाली फर्किन लागेका सीएमसीको कर्मचारीहरूलाई तत्कालीन सचिव ठाकुरको पहलमा पक्राउसमेत गरिएको थियो । त्यसपछि सरकार र सो कम्पनीबीच मनमुटाव बढेर दुवै पक्षले ठेक्का सम्झौता रद्द गरेको थियो । सीएमसीले भने आफ्नो कम्पनी टाट पल्टिएको जनाउँदै मेलम्चीको काम अघि बढाउन नसक्ने जानकारी दिएर ठेक्का रद्द गरेको थियो ।
मेलम्चीको ठेक्का रद्द गरे पनि सीएमसीको थुप्रै भौतिक सामग्री नेपालमै रहेका छन् । सीएमसीको मेसिन, औजार र गाडीहरू रहेका छन् । त्यस्तै, ठेक्का तोडे पनि सीएमसीले नेपालका थुप्रै कम्पनीहरूलाई भुक्तानी गर्न बाँकी रहेको छ । सप्लायर्स, पेटी ठेकेदार र कामदारहरूलाई उसले करोडौं रकम तिर्न बाँकी रहेको छ । सरकारले सीएमसीलाई भुक्तानी गर्नुपर्ने रकमबाट नै सप्लायर्स, पेटी ठेकेदार र कामदारहरूलाई रकम तिर्न सक्ने बताइन्छ ।
सीएमसीले ठेक्का तोडेपछि नयाँ ठेक्का प्रक्रियाबाट मेलम्चीको कामलाई अघि बढाउने तयारीमा खानेपानी तथा सरसफाइ मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । मेलम्चीको बाँकी काम सक्न अब साढे दुई अर्ब रकम लाग्ने देखिएको छ । मन्त्रालयले केही दिनभित्रै मेलम्चीको बाँकी काम पूरा गर्न थप रकमका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी थालेको छ । सार्वजनिक खरिद ऐनमा ‘विशेष परिस्थितिमा छिटो काम सक्न विशेष प्रस्ताव लैजान सकिने’ प्रावधान रहेको हुँदा त्यही प्रावधानमा टेकेर नयाँ ठेक्काका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको हो । नयाँ ठेकेदार कम्पनीलाई ठेक्का दिएपछि बाँकी काम सक्न ५–६ महिना लाग्ने र त्यसपछि अस्थायी रूपमा उपत्यकामा मेलम्चीको पानी आउने मन्त्रालय सूत्रले बतायो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply