अप्टिकल फाइबर नेटवर्कको शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार धादिङको गल्छीमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमद्वारा आयोजित एक भव्य समारोहकाबीच मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) निर्माण कार्यको शिलान्यास गरे । मोबाइल, ल्यान्डलाइन टेलिफोन तथा इन्टरनेटलगायत अत्याधुनिक सञ्चार सेवाहरूलाई उच्च क्षमता र गुणस्तरयुक्त बनाउन र मुलुकभर भरपर्दो र दिगो सञ्चार सेवा उपलब्ध गराउन थालिएको सो अभियानको प्रधानमन्त्रीले साबेलले भुइँ खनेर औपचारिक शुभारम्भ गरेका हुन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको र यसका लागि टेलिकमले पाँचवटा कम्पनीसँग निर्माण सम्झौता गरिसकेको छ । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा सम्पन्न सम्झौताअनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स प्रदेश २ को १ हजार २८ किलोमिटरका लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५ सय ५५ किलोमिटरको लागि फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल) सँग सम्झौता भएको छ । त्यस्तै गरी डीडब्लूडीएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सीटीएस कम्युनिकेसन्ससँग सम्झौता गरिएको छ । यसको निर्माण सम्पन्न गर्ने अवधि दुई वर्षको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत चियो भन्ज्याङदेखि आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल नेटवर्क जोडिने योजना छ ।
सो लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइनेछ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरका हुनेछन् । उक्त सडकखण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश १, २ र ३ अन्तर्गतका ३५ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकामा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीतिअनुरूप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । सोमबार नै प्रदेश १ अन्तर्गत धनकुटाको हिलेमा र प्रदेश ३ अन्तर्गत सिन्धुलीको खुर्कोटमा मध्यपहाडी लोकमार्ग सूचना महामार्ग निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
गल्छीमा आयोजित कार्यक्रममा बोल्दैै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्ग सूचना महामार्गको निर्माण डिजिटल नेपाल बनाउने कार्यको एक अभिन्न अंग भएको बताए । फोनको मात्र नभएर मोबाइल र इन्टरनेटको समेत गुणस्तरीय सेवा सहज रूपले मुलुकभर पु¥याउने उद्देश्यले अप्टिकल फाइबर बिछ्याउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै सञ्चार क्षेत्रमा यो ठूलो फड्को भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उक्त कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना महामार्गको निर्माणले उच्च गुणस्तरका अत्याधुनिक सञ्चार सेवाको उपलब्धतासँगै टेलिमेडिसिन, डिस्ट्यान्स लर्निङ, ई–कमर्स, ई–एग्रिकल्चर, ई–टुरिज्म र ई–बैंकिङ सेवामा समेत सूचना प्रविधिको बृहत्तर प्रयोग गर्न सकिने बताए । हाल जम्मा ५६ प्रतिशत जनतामा पुगेको इन्टरनेट पहुँच सूचना महामार्गको निर्माणसँगै सबै नेपालीसम्म पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सूचना र सञ्चार महामार्गको निर्माणले मुलुकलाई डिजिटल युगमा रूपान्तरण गर्ने बताए । उनले सूचना महामार्ग र फोरजी नेटवर्कले नेपाललाई डिजिटल अर्थतन्त्रको युगमा प्रवेश गराउने पनि उल्लेख गरे । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना महामार्गको निर्माणबाट मुलुकको सर्वोपरि विकास र आधुनिकीकरणमा सहयोग पु¥याउने बताए । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ याङ छीले सूचना र सञ्चारका क्षेत्रमा नेपाल र चीनबीच फोरजी विस्तारदेखि सूचना महामार्ग निर्माण कार्यमा भएका सहकार्यबाट दुई मुलुकबीचको सम्बन्ध थप मजबुत भएको बताए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply