सनराइज बैंकमा तमासा
काठमाडौं । सनराइज बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सीईओमा जनकराज शर्मा पौड्याल नियुक्त गरेको छ । शर्माले ३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका छन् । उनी लक्ष्मी बैंक हुँदै ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शर्मा पौड्याललाई प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।
यसअघि निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाउने कोसिसमा सञ्चालक समितिभित्र नै विवाद भएको थियो । उनको नियुक्तिमा सञ्चालक समितिमा सर्वसम्मति नहुँदा श्रेष्ठले आफू सीईओ नहुने जानकारी गराएका थिए । पौड्याललाई भने सर्वसम्मतिबाट नियुक्त गरिएको हो । बैंकका यसअघिका सीईओ रत्नराज बज्राचार्यको चारवर्षे कार्यकाल सकिएपछि पद रिक्त थियो । रत्नराज बज्राचार्यले बिदा लिनुअघि नै सनराइज बैंकको सञ्चालक समितिले चार जनालाई प्रमुख कार्यकारी अधिकृतका लागि ‘एप्रोच’ गरेको थियो । लक्ष्मण रिसाल, जनक शर्मा पौडेल, अनुजमणि तिमिल्सिना र निरज श्रेष्ठको कुरा चलेको थियो । आफ्ना योजना, बैंकलाई आगामी दिनमा हिँडाउने दिशा, लक्ष्यहरू प्रस्तुत गरेपछि चार जनाबाट प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । तर, नियुक्तिको ‘करारनामा’मा हस्ताक्षर गरेलगत्तै बिबाद सुरु भयो, जसले गर्दा असार २ गतेबाट कार्यभार सम्हाल्नुपर्ने निरज सञ्चालकको विवाद नमिलुन्जेल बैंक ‘जोइन’ नगर्ने अडानसहित बाहिरै बसिरहेका थिए ।
निरज पूर्वउपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारको नाता पर्ने व्यक्ति भएको बताइन्छ । सुरुमा निरजलाई नियुक्त गर्न राजनीतिक तहबाट दबाब आएको र सोही आधारमा नियुक्त गरिएकोमा पनि फेरि अर्को पक्षले त्यसमा असहमति जनाएको बताइएको छ । सीईओ नियुक्त गर्नुअघि निरजलाई बैक सञ्चालक समितिले ‘पावर पोइन्ट प्रिजेन्टेसन’का लागि डाकेको थियो । उनले करिब दुई घण्टा आफ्नो प्रस्तुति दिएका थिए । त्यहाँ सञ्चालकहरूले सवाल गरे, उनले जवाफ दिएका पनि थिए । त्यो बैठकमा शैलेन्द्र गुरागाईं र मालचन्द दुगड नाम गरेका दुईसञ्चालक भने अनुपस्थित थिए । निरज आफ्नो प्रस्तुति सकेर हिँडे । त्यसको केही दिनमै सञ्चालक समितिको बैठक बस्यो । बैठकमा गुरागाईंले ‘निरजजी राम्रो मान्छे हो । मैले त उहाँसँग सँगै पढेको पनि हो । त्यसैले उहाँलाई नियुक्त गर्दा मेरो समर्थन नै हुन्छ’ भनेर बैठकमा आफ्नो धारणा राखे । बैठकमा शैलेन्द्रले केही लामै बोलेका थिए । उनले अघिल्लो दिन निरज श्रेष्ठसँग लन्च खाएको जानकारीसमेत सञ्चालक समितिलाई गराएका थिए । बैठकमा मालचन्द दुगड उपस्थित थिएनन् । उनले बिरामी भएकाले आउन नसक्ने जानकारी गराएका थिए । सीईओमा निरजलाई नियुक्त गर्ने भनेर सञ्चालक समितिले माइन्युटमा हस्ताक्षर गर्न थालियो । त्यहीबीचमा शैलेन्द्रलाई फोन आयो । उनी ‘म अहिले हस्ताक्षर गर्दिन, मालचन्दजीसँगै गरौंला’ भनेर बाहिरिए । बैठकले निरजलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेपछि उनलाई चार बर्षका लागि ‘कन्ट्र्याक्ट पेपर’ मा हस्ताक्षर गरायो । आफूसँगै पढेको साथी भनेर प्रशंसा गरेका शैलेन्द्रको सार्वजनिक रूपमा बोली फेरियो । उनले निरजमाथि प्रश्न उठाउँदै उनको नियुक्तिमा आफ्नो समर्थन नरहेको प्रतिकृया सार्वजनिक गरे । शैलेन्द्र ‘युटर्न’ हुनुमा दुईवटा मुख्य कारण रहेको उनीनिकटहरू बताउँछन् । शैलेन्द्रले बैंककै केही वरिष्ठ कर्मचारीहरूलाई ‘तपाईं हो आगामी सीईओ’ भनेर आश्वासन बाँडेका थिए । अर्को उनले ‘राजनीतिक तथा प्रशासनिक दबाब’का कारण अरू कसैलाई प्रमुख कार्यकारी बनाउन खोजेका थिए ।
बैंक सञ्चालक समितिमा मोतीलालका साथै बच्चराज तातेर, मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी छन् । स्रोतहरूका अनुसार सञ्चालक समिति बैठकमा निरजलाई नियुक्त गर्नुअघि मोतीलालले ‘तपाईंहरूलाई कोही उत्कृष्ट लाग्छ भने नाम प्रस्ताव गर्नुहोला’ भनेर सोधेका पनि थिए । तर न मालचन्द न त गुरागाईंले नै अर्को बिकल्प दिएका थिए ।
‘सबैको सहमतिमा निरजजीलाई सीईओ नियुक्त गरिएको हो’ एक सञ्चालकले भने, ‘अहिलेको विवाद निरजलाई देखाएर मोतीजीसँग रिस फेर्न खोजिएको हो ।’ सनराइज बैंकमा मालचन्द दुगड अध्यक्ष बन्न चाहन्थे, तर मोतीलाल पक्षको बहुमत भएका कारण मालचन्द पक्षले अवसर पाएन । त्यही बदला अहिले लिन खोजिएको स्रोतहरूको दाबी छ । राष्ट्र बैंकमा सनराइजको विवाद अनौपचारिक रूपमा प्रवेश गरिसकेको छ । निक्षेपकर्ताको हितमा समस्या पर्ने वा संस्थाको साखमा धक्का पुग्ने अवस्था भएपछि मात्र सञ्चालक समितिलाई बोलाएर छलफल गर्ने पक्षमा राष्ट्र बैंक छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply