भिन्नभिन्न स्वाद
हामी बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक समाजमा बाँचिरहेका छौं । हरेक क्षेत्रमा भाषिक, सांस्कृतिक र जातीय संस्कारको स्वाद चाख्न सकिन्छ । पूर्वी, मध्य र सुदूरपश्चिम भेगदेखि हिमाल, पहाड र तराईमा अनेक विविधता प्राप्त गर्न सकिन्छ, सहजै । भाषा, जाति र संस्कृतिका हिसाबले भिन्नभिन्न भएता पनि एकापसमा सुख–दुःख बाँडेर बाँच्नसक्ने अपूर्व क्षमता पनि हामीले पाएका छौं । हाम्रा हरेकजसो भूभाग बहुभाषिक रङले सिँगारिँदै आएको छ, वर्षौंदेखि । हरेक जाति÷समुदायले बोल्ने भाषाको आफ्नै पहिचान त छ नै, त्यसले उत्तिकै मिठास पनि छर्दै आइरहेको छ । एउटा गर्व गर्नुपर्ने पक्ष के हो भने भाषिक विविधताका कारण पनि हामी सम्पन्न र समृद्ध छौं ।
नेपालका विविध भाषाहरूको विकास, संवद्र्धन र संरक्षणमा वाङ्मय क्षेत्रले विगतदेखि नै उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । त्यसमा साहित्यिक पत्रपत्रिकाहरूको भूमिका त अतुल्य नै रहेको छ । राज्यले साहित्यिक पत्रपत्रिकाहरूलाई सौताको जस्तै व्यवहार देखाए पनि साहित्यिक पत्रिका प्रकाशनमा अहोरात्र खटिइरहेका भाषा तथा वाङ्मयसेवीहरूले भने आफ्नो पहलमा विभिन्न भाषाभाषीको संरक्षण र संवद्र्धनमा स्तुत्य प्रयत्न जारी नै राखेका छन् । त्यही लहरमा पर्दछ– ‘नवप्रज्ञापन’ मासिक । अढाइ दशकदेखि प्रकाशन हुँदै आएको सो पत्रिकाका सम्पादक÷प्रकाशक नवराज रिजालले पछिल्लोपटक बहुभाषा कथा विशेषांक निकालेर एउटा प्रशंसनीय कार्य गरेका छन् । सुदूरपूर्वदेखि पश्चिमसम्मै बोलिने भाषामा लेखिएका कथाहरूलाई उनले ‘नवप्रज्ञापन’ मा यथोचित स्थान दिएका छन् ।
‘नवप्रज्ञापन’को पछिल्लो बहुभाषा कथा विशेषांकमा जम्मा ६९ वटा कथा समेटिएका छन् । त्यसमा नेपाली भाषाका १८, मैथिली भाषाका ६, भोजपुरीका ७, थारू भाषाका ७, तामाङ भाषाका ५, नेपाल (नेवारी) भाषाका ७, बज्जीका भाषाका ५, मगर भाषाका ४, डोटेली भाषाका ६ र अवधि भाषाका ४ थान कथा रहेका छन् । नेपालीमा सनत रेग्मी, भागिरथी श्रेष्ठ, नारायण तिवारी, विजय चालिसे, गोविन्द गिरी प्रेरणा, अभय श्रेष्ठ, ललिता दोषी, नवराज रिजाल, राममणि पोखरेललगायतका कथा समेटिएका छन् । मैथिली भाषाका राजेन्द्र विमल, रामभरोस कापडी भ्रमर, रमेश रञ्जन र संगीता ठाकुरका कथा रहेका छन् भने भोजपुरीमा गोपाल अश्क, वीणा सिन्हा, उमाशंकर द्विवेदीका कथा रहेका छन् । त्यस्तै, थारू भाषामा कृष्णराज सर्वहारी, सत्यनारायण दहित, शेखर दहितका कथा छन् भने तामाङ भाषामा अर्जुनबहादुर तामाङ, यकिना अगाध, हीरामाया घिसिङका कथा छन् । नेपाल भाषामा केदार सितु, अमरकुमार प्रधान, रासा र गगनदीप सर्वका कथा छन् भने बज्जिका भाषामा सञ्जय मित्र, विश्वराज अधिकारीका कथा छन् । मगर भाषामा टीकाराम उदासी, क्षितिज मगर, डोटेली भाषामा पुष्करराज भट्ट, जगदीश ओझा, लक्ष्मण पन्त, वीरबहादुर चन्द र अवधि भाषामा विक्रममणि त्रिपाठी, इद्रिस सायल र शिवप्रसाद पाठक आदिका कथाहरू समेटिएका छन् ।
बहुभाषिक कथा विशेषांक निकाल्नुको प्रयोजनबारे प्रस्टै भनिएको पनि छ, ‘मातृभाषामा कथा पढ्न खोज्ने र अरू भाषाका मातृभाषामा लेखिएका रचना कस्ता हुन्छन् भन्ने बुझ्नका निम्ति यस अंकमा समावेश कथाहरूले सघाउनेछन् भन्नेमा नवप्रज्ञापन आशावादी छ । एक भाषामा लेखिएको कथा पढ्नेले अर्को भाषाको कथाको अवस्था बुझोस् भन्ने उसको मान्यता हो ।’
कृति ः नवप्रज्ञापन
विधा ः बहुभाषा कथा विशेषांक
सम्पादक÷प्रकाशक ः नवराज रिजाल
पृष्ठ ः ३२०
मूल्य ः ५००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply