पर्यटनको जिम्मा योगेशलाई ताप्लेजुंगदेखि सिहंदरबारसम्म योगेशको यात्रा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका स्थायी कमिटी सदस्य तथा युवा नेता योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गरेका छन् । सरकार गठन भएको १७ महिनापछि मन्त्री नियुक्त भट्टराईले गत बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरूमा भट्टराई नपर्दा ओलीको आलोचनासमेत भएको थियो ।
मन्त्री नियुक्त गर्नुअघि भट्टराईले पार्टीका सचिवालय सदस्यहरूबाट यसबारे समर्थन लिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । सोही आग्रहबमोजिम प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरूसँग फोनमार्फत नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए भने भट्टराईसँगको छलफलका क्रममा प्रधानमन्त्री निवास बालुवाटार पुगेका सचिवालयका सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापालाई पनि यसबारे जानकारी गराएका थिए । नेताहरूसँगको सल्लाहमा नै प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
को हुन् योगेश ?
योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिएका हुन् । मध्यम वर्गीय परिवार थियो । तीन दिदी, एक दाजुु र एक बहिनी । उनी दुुई वर्षको छँदा नै बुवा बिते । बुवा समाजसेवी थिए । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले नयाँ विद्यालयहरू स्थापना गर्न प्रेरित गर्दथे । स्थापना भएका विद्यालयको दिगोपनाका लागि सकेजति आर्थिक सहयोगसमेत गरे । बालबालिकालाई स्कुल पठाउन प्रेरित गरिरहन्थे ।
उनले २००८ सालमा २० हजार भारु चन्दा दिएको तेह्रथुमको संक्रान्तिस्थित त्रिमोहन स्कुल पूर्वकै प्रख्यात विद्यालयमा पर्छ । उनको आर्थिक सहयोगमा खुलेका स्कुलहरू अहिले उच्च माविका रूपमा सञ्चालन भइरहेका छन् । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरेका हुन् । उनले अथाह सम्भावना बोकेको ताप्लेजुङका ती सबै स्कुल तथा अस्पताललाई सुविधा सम्पन्न र आधुनिकीकरण गर्ने योजना अघि सारेका छन् ।
मादीको हडतालदेखि केन्द्रीय कारागारसम्म
साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना भए, जहाँ पुग्न उनको गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो । गाउँमा माध्यमिक विद्यालय नभएका कारण २०३७ सालमा उनी मादी पुगेका थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँ–गाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आमहडताल ग¥योे ।
नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उनी सक्रिय रूपमा सहभागी भए । संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उनी सम्झिन्छन्, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल ग¥यौं ।’
स्वविवेकले आन्दोलनमा होमिएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाए । एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिए । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उनलाई धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उनको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रै पटक जेलनेल र कठोर यातना भोग्नु र्पयो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाए, जसबाट राजनीतिक यात्रालाई अझ निखर बनाउन सहयोग पुुग्यो । यही क्रममा उनले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाले । आन्दोलन र राजनीतिक जिम्मेवारी सँगसँगै उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेका थिए । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र–मानवशास्त्रमा स्नातकोत्तरसमेत गरे ।
उनले पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाडौंमा र बाँकी समय ताप्लेजुङका सम्मानित व्यक्तित्व अम्बिका साँवाको चुनावी अभियानमा बिताए । जनपक्षीय उम्मेद्वार साँवाको चुनाव प्रचारका क्रममा रातिराति साथीभाइसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना अहिले पनि उनीसँग ताजै छ । साँघुमा चुनाव प्रचार गरिरहेको बेला २०४८ वैशाख १० गते सिनाममा एमालेका कार्यकर्ता इन्द्र थेबे र रुकमान थेबे हत्याको खबर सुन्नुप¥यो । हत्याको खबरले उनलाई दुःखित त बनायो तर त्यसलाई अझ शक्तिका रूपमा ग्रहण गर्दै अघि बढ्नुको विकल्प थिएन । उनले त्यसै गरे ।
ताप्लेजुङका असल अभिभावक
उतिखेर साँघुमा माध्यमिक र उच्च शिक्षा शिक्षा नभएका कारण योगेश संखुवासभाको मादी हुँदै काठमाडौं आए । तर, ताप्लेजुङसँगको सामीप्य र ताप्लेजुङका जनताको सम्बन्ध भने सधैं कसिलो रह्यो । देशको आशाको अनुहार त छँदै थिए, ताप्लेजुङ र ताप्लेजुङे जनताको असल अभिभावकको भूमिका समेत उनले निरन्तर निर्वाह गरिरहे र गरिरहेका छन् । ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन, सकेसम्म जिल्लामा भएका अभियानमा समेत उनी सधैं सक्रिय सहभागी हुन्छन् । ताप्लेजुङको समग्र विकासका निम्ति उनकै सक्रियता र अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’ स्थापना भयो । उनी त्यसको संस्थापक महासचिव हुन्, जसले ताप्लेजुङको विकासका लागि केन्द्रीय तहमा उनकै नेतृत्वमा बहसहरू सुरु ग¥यो ।
ताप्लेजुङमा आगलागी हुँदा होस् वा पहिरो जाँदा अथवा कुनै प्राकृतिक विपत्ति आइलाग्दा होस्, उनी सधैं ताप्लेजुङे जनताको संकटका साथी बनिरहे । विपत्तिमा परेका ताप्लेजुङका जनताको राहत र उद्धारको अगुवाइ उनले नै गर्दै आएका छन् । ताप्लेजुङको विकास निर्माणका लागि राज्यको निर्णायक तह र निकायमा दबाब दिने तथा विभिन्न विकास निर्माणका परियोजनाको अगुवाइ गर्ने काममा उनको भूमिका र नेतृत्व सधैं अग्रणी छ ।
त्यति मात्रै होइन, उनले संकटमा परेका ताप्लेजुङका जनतालाई विभिन्न किसिमको सहयोग गर्दै आएका छन् । पढ्न नपाएका गरिबका छोराछोरीलाई स्कुल खोजिदिनेदेखि उपचार नपाएकाहरूलाई अस्पताल पु¥याउनेसम्मको सामाजिक कामलाई समेत उनले प्राथमिकतामा राखेका छन् । ताप्लेजुङदेखि काठमाडौंसम्मका ताप्लेजुङवासीले अप्ठ्यारो र समस्या पर्नेबित्तिकै योगेशलाई सम्झने गर्दछन् ।
जनआन्दोलनका जुझारु नेता
योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भए । बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसबेला उनको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महŒवपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो । सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । उनकै पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुुरुवात भयो । नारा तय भयो– आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ति पञ्चायतको अन्त्य । २०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रदर्शन गर्ने कार्यक्रम थियो । उपत्यकाको कमान्डरका हिसाबले त्यसको व्यापक तयारीमा थिए योगेश । तर, ६ गते राति २ बजे उनलाई पक्राउ गरियो ।
केही दिनपछि सिन्धुुपाल्चोकको चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्रै उनलाई छाडियो । पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको सुरुमै पक्राउ गरिएको थियो । उनी सम्झिन्छन्, ‘२६ गते राति हामीलाई पनि जेलबाट छाडियो । भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाडौं ल्याइयो ।
चौताराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छे रातो झण्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सीधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, सहाना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’
सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म
२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष भए । बहुदलीय व्यवस्था आइसकेपछि पनि गरिएका जनघाती तथा राष्ट्रघाती कदमविरुद्ध काठमाडौं उपत्यकामा भएका सडक संघर्षहरूको नेतृत्व उनले गरे । जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उनले नै गरे । यस्तै, अनेक आन्दोलनबाट खारिँदै, माझिँदै युवा जोस र उत्साहका साथ अघि बढिरहेका योगेशले खासगरी २०५०–५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनःस्थापित गराए ।
नेपाली विद्यार्थी आन्दोलनको प्यारो संगठन अखिल (अनेरास्ववियु) लाई नेपाली कम्युनिस्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न उनले महŒवपूर्ण भूमिका निर्वाह गरे । मुलुकमा राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा विद्यार्थी संगठनलाई स्थापित गरे । यी र यस्ता धेरै योगदान र सक्रियताले योगेश नेपाली विद्यार्थी आन्दोलनको पर्याय नै भए ।
आज पनि युवाहरू अखिल भन्नेबित्तिकै योगेश भट्टराईलाई सम्झन्छन् । उनी अनेरास्ववियुको अध्यक्ष भएका बेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो । उनी भन्छन्, ‘हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्वावियुु चुनाव जित्यौं । विद्यार्थी आन्दोलनलाई शैक्षिक एजेन्डातिर केन्द्रित ग¥यौं ।’ विद्यार्थीलाई विभिन्न सार्वजनिक स्थल तथा सार्वजनिक सवारीसाधनमा छुट गराउने आन्दोलनको नेतृत्व पनि उनले नै गरेका थिए, जुन सुविधा अहिले पनि विद्यार्थीहरूले उपभोग गरिरहेका छन् । अहिले उनै जुझारु नेतालाई देशले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रूपमा पाएको छ । ऊर्जावान् युवानेताबाट अब देशले समृद्धिको बाटो समाउने अपेक्षा आमनागरिकको छ ।
राष्ट्रियताको आन्दोलनका अगुवा
योगेशको आमव्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । यसर्थ उनी नेपाली राष्ट्रियताका सच्चा पहरेदारका रूपमा स्थापित छन् । राष्ट्रवादी आन्दोलनका अनेक महŒवकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उनले यो यथार्थलाई पुष्टि गरेका छन् ।
उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भयो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो पारे । त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो । कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हँुदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । यसरी उनी वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल भएका छन् ।
त्यस्तै, उनले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । नेपालको सार्वभौम, स्वतन्त्र, नेपाली नेपालीबीचको एकताको पक्षमा उनले सम्झौताहीन संघर्ष गदै आएका छन् ।
अप्रिल क्रान्तिका कमान्डर
योगेशले २०६२–६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे । उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उनको नेतृत्वदायी भूमिका थियो । आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज तथा १२ बुँदे सहमतिपश्चात तत्कालीन माओवादीलाई समेत समन्वय गर्न अग्रणी भूमिका खेले । जनक्रान्तिका बेला उनका योगदानको प्रशंसा र सम्झनामा लेखिएका हजारौं लेख, रचनाले उनको छवि राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गरायो ।
पार्टी जीवन
२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरेका छन् । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । उनले पार्टीको प्रचार विभाग प्रमुखको हैसियतमा समेत काम गरिसकेका छन् । उनी मदन भण्डारी, नेल्सन मन्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्छन् ।
अब आर्थिक क्रान्ति
नेकपा (एमाले) पार्टीमा स्पष्ट विचार र दृष्टिकोण भएका नेताका रूपमा परिचित छन् योगेश । पार्टीको पाँचौं महाधिवेशनमा जननेता मदन भण्डारीले अघि सारेको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्न उनले अनेरास्ववियुको तत्कालीन नेतृत्वका हिसाबले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरे ।
राजनीतिक दलहरूको लोकतान्त्रिक रूपान्तरणका लागि दबाबमूलक काम गर्दै उनी पार्टी र समाजमा युवापुस्ताको निर्णायक उपस्थिति हुनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसलाई स्थापित गर्न उनी विभिन्न पार्टीका युवाहरूबीच अन्तरपार्टी सञ्जाल बनाएर विभिन्न क्रियाकलापमा सक्रिय छन् । उनी पार्टीमा प्रौढहरूलाई सम्मान तथा युवाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहने बताउँछन् । शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मुख्य कार्यभार पूरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक–सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नुपर्दछ भन्ने उनको दृष्टिकोण रहेको छ । देशबाहिर पोखिएको नेपाली युवाहरूको रगत र पसिनालाई नेपाली माटोमा नै एकाकार गराउनुपर्ने कुरामा उनको जोड छ ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply