जातीय विभेदविरुद्ध अडिग
नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका कारण महानगरीय क्षेत्रहरूमा जातीय विभेदका रेखाहरू क्रमशः मेटिँदै गए पनि ग्रामीण इलाकाहरूमा भने त्यसका अंशहरू अझै मौजुद छन् । रूढीवादी सोच, मानसिक दरिद्रता, जातिवाद र वर्णवादको उन्मादबाट ग्रामीण इलाकाहरू मुक्त भइसकेका छैनन् । अझ नेपालको सुदूरपश्चिमी इलाकाहरू त जातीय विभेदको भुंग्रोमा वर्षौंदेखि पिल्सिँदै आएकामा कुनै द्विविधा देखिँदैन ।
सुदूरपश्चिम भेगको सामाजिक, सांस्कृतिक, जातीय रूपरेखाहरूका छिद्र–छिद्र बुझेका गगनसिंह थापाकृत लघुउपन्यास ‘उज्ज्वली’ ले सुदूरपश्चिम क्षेत्रमा व्याप्त जातीय विभेदका पत्रहरू उप्काउने प्रयत्न गरेको छ । शैक्षिक, राजनीतिक चेतनालगायतको कमी झेलिरहेका भूभागहरूमा जातीय, सांस्कृतिक, सामाजिक विभेद पहिलेदेखि नै चर्को रहँदै आएको छ । सुदूरपश्चिम भेग यस्ता विभेदबाट मुक्त हुने प्रश्नै रहेन । किनकि, सत्ताको नजरबाट सदैव टाढा परेको सुदूरपश्चिम भेगले प्रगतिका सोपानहरू उक्लिन थालेको २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्रै हो भन्दा अत्युक्ति नहोला ।
उज्ज्वली, एउटी दलित पात्र । कथित उच्च जातका एकजना ब्राह्मणसँग लिएको ऋण तिर्न नसक्दा उनको तीन पुस्ताले त्यही घरमा हलिया भएर बसिरहेका छन् । त्यही ब्राह्मण परिवारका उदय र उनी सहपाठी हुन्छन् । सानैदेखि खेल्छन्, हुर्किन्छन् । तर, उदय हुर्किंदै गएपछि भने उनका बुवा–आमाले उज्ज्वली र उदयबीचको जातीय विभेद कोट्याएर निकट हुन दिँदैनन् । उज्ज्वली र उदयबीच विपरीत लिंगीप्रति हुने आकर्षणले सानैदेखि जरा गाडिसकेको हुन्छ र त्यो झन्झन् छिप्पिँदै र कसिलो बन्दै जान्छ । अन्ततः तमाम सामाजिक अवरोधहरूलाई चिरेर उनीहरूबीच प्रणय सम्बन्ध हुँदै वैवाहिक सम्बन्धसमेत जोडिन पुग्छ । उपन्यासको सार यति नै हो ।
उपन्यास सुखान्त दिशातिर मोडिँदै गएर टुंगिए पनि एउटा रुढिग्रस्त र जातीय विभेदले चिथोरेको समाजभित्रका दुःखान्त उपकथाहरू प्रशस्तै छन् । आफ्ना दाजु विदेश गएपछि भाउजूलाई आफ्नी आमाले दिएका दुःख, पीडा, अपमान सहन नसकेपछि ती भाउजूले खोलामा हाम्फालेर मर्नुपरेको प्रसंगले समाजमा हुँदै गएको मानवीयताको क्षयीकरणलाई झल्काउँछ । त्यस्तै, जातीय विभेद र छुवाछूतको जालो तल्लो तहसम्मै कसरी झाँगिएर बसेका छन् भन्ने दृष्टान्त उच्च जात र दलितबीचको बेग्लाबेग्लै पँधेरो हुनुले दिन्छ । अझ जातीय आधारमा हुने शोषणको पाटो त झनै डरलाग्दो छ । ऋण लिएको थोरै रकम तिर्न नसक्दा पुस्तौं–पुस्तासम्म हलिया बस्नुपर्ने मानवद्वेषी र शोषणमूलक परिपाटीको कथा पनि उक्त उपन्यासमा समेटिएको छ । सुदूरपश्चिमी समाजका विसंगत पक्षहरूका आन्द्रा–भुँडी खोतल्ने दिशामा उपन्यास केन्द्रित रहे पनि मूलतः दलित–विमर्शमा नै आधारित रहेको छ । त्यही भएर आख्यानकार थापा प्रश्न उठाउँछन्, ‘के हो यो जातिजातिको विभाजनको रेखा ? छुवाछूतको रेखा ? माथिल्लो जातिलाई तल्लो जातिले किन छुन नहुने ? कसले को¥यो यो रेखा ? किन कोरिए यी रेखा ? कसले बनायो, कसैलाई ठूलो जात, कसैलाई सानो जात ?’
सुदूरपश्चिमी समाजमा प्रचलित सामाजिक मान्यताहरू र उखान–टुक्का आदिलाई मिसाएर उपन्यासलाई पठनीय बनाउन आख्यानकार थापाले अथक मिहिनेत गरेका छन् । उनले सबभन्दा धेरै मिहिनेत त, गीता–दर्शन र गान्धी–दर्शनको अपरिहार्यता दर्साउन गरेका छन् । समाजलाई जातीय विभेदबाट मुक्त तुल्याउने हो भने गीता र गान्धीले सिकाएको बाटो हिँड्न उपयुक्त हुने विचार थापाले पस्किएका छन् । मूलतः प्रेमका सामु जातीय प्रश्न गौण हुन्छ भन्ने मान्यता दिलाउन उक्त उपन्यास सफल र अग्रणी देखिएकोमा सन्देह गर्ने ठाउँ छैन ।
कृति ः उज्ज्वली
विधा ः लघुउपन्यास
उपन्यासकार ः गगनसिंह थापा
प्रकाशक ः बुक्सेलर, काठमाडौं
पृष्ठ ः ८८
मूल्य ः १५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply