मिथक–मन्थन
प्रख्यात मनोवैज्ञानिक कार्ल जुंगले मिथकलाई सामूहिक चेतनाको अभिव्यक्ति मानेका छन् । हुन पनि मिथकमा मानवजीवन, जीवन–प्रक्रिया र मनुष्यका चारैतिर काम गरिरहेका शक्तिहरूका विषयमा तिनीहरूका अनुभूति र संवेदनाको प्रतिनिधित्व भएको पाइन्छ । मिथकलाई संस्कृतिको बहुमूल्य अंग पनि मानिन्छ । विश्वका प्रत्येक महान् संस्कृतिले ब्रह्माण्डको अस्तित्व र तयसको भौतिक तŒवमा अन्तरनिहित शक्ति, विश्वको रचना तथा मानवीय एवं नैतिक मूल्यलगायत तमाम संघर्षका कथालाई मिथक र तिनै पात्रहरूका माध्यमद्वारा अभिव्यक्त गर्ने प्रयत्न गरेका छन् ।
युवा स्रष्टा बद्रीप्रसाद ढकालकृत ‘मिथक ः सिद्धान्त र प्रयोग’ले मिथकको सैद्धान्तिक पक्षबारे सहज रूपमा बुझ्न सघाउँछ । मिथकबारे विश्वका अनेक सिद्धान्तकार÷विद्वान्हरूले पस्किएका परिभाषादेखि नेपाली सन्दर्भमा मिथकको प्रयोगसम्मलाई उनको कृतिले पछ्याएका छन् । उनले प्रस्टै लेखेका छन्, ‘साहित्यमा प्रयोग गरिँदै आएका पुराण, प्राचीन कथा, आद्य कथा, सृष्टि कथाका काल्पनिक र मनोवैज्ञानिक पक्षलाई मिथकका विषयवस्तुका रूपमा मान्दै त्यसको व्याख्या र विश्लेषण गर्ने परिपाटीको केही खोज र केही वैचारिक पक्षलाई यस पुस्तकको विषयमा उठान गरिएको छ ।’
सृष्टिको उत्पत्ति कसरी भयो ? विश्वका हरेकजसो धर्म, जाति÷समुदायबीच सृष्टिको उत्पत्तिलाई लिएर भिन्नभिन्न कथाहरू कथिएका छन् । हिन्दू मान्यता छ– भगवान् विष्णुले मधु र कैटभ नाम गरेका दैत्यहरूलाई मारे र तिनीहरूका हाडबाट हिमाल र पहाड बने र रगतबाट समुद्र । प्रकृतिसम्बन्धी पनि अनेक मिथक छन् । प्राचीन मिश्रका बासिन्दाहरू प्रकृतिका प्रायः सबै चिजका पूजा गर्दथे– पर्वत, ढुंगा, नदी, जलस्रोत । मिथकअनुसार उनीहरू ढुंगाको पूजा किन गर्दथे भने त्यो ढुंगाबाट आकाशबाट झरेको हो । ईश्वरसम्बन्धी मिथक त प्रशस्तै छन् । सृष्टिको निर्माणदेखि अनेक सन्दर्भ हरूमा ईश्वरको भूमिकालाई लिएर मिथकहरू बनेका छन् । लेखक लेख्छन्, ‘मिथक आदिम सभ्यताका सामूहिक अनुभूतिको समग्र पक्ष हो, जसमा मानव र प्रकृतिका घटना रहेका हुन्छन् । मिथक आख्यानात्मक हुन्छ । अतिमानवीय घटनालाई लौकिक तथा अलौकिक शक्तिद्वारा प्रकट गरिएका कथावस्तु मिथकीय कथन हुन्छन् ।’
विश्व साहित्य लेखनमा मिथकको प्रचुर मात्रामा प्रयोग भएका पाइन्छन् । पूर्वीय र पाश्चात्य दुवै साहित्य वृत्तमा मिथकलाई समातेर महान् कृतिहरू लेखिएका छन् । पूर्वीय साहित्यका चर्चित पुस्तकहरू महाभारत, रामायणलाई मिथक साहित्यको पंक्तिमा राख्न सकिन्छ भने डिभाइन कमेडी, इलियट, प्याराडाइज लस्ट, प्रमिथस पनि मिथक साहित्य नै हुन् ।
पहिलो खण्डमा मिथकको सैद्धान्तिक पक्षबारे उजागर गरिएको सो पुस्तकको दोस्रो खण्डमा भने नेपाली आख्यान साहित्यका धरोहर विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘हिटलर र यहुदी’ मा प्रयुक्त मिथकको विश्लेषणमा केन्द्रित रहेको छ । लेखक प्रस्ट पार्छन्, ‘हिटलर र यहुदी उपन्यासमा मिथकीय संरचना अलंकार विम्ब र प्रतीकका रूपमा आएका छन् । उपन्यासले कथानक वा विषय नै मिथक नबनाई महाभारतको मिथकको उपयोग गरिएको छ । कौरव र पाण्डवबीचको युद्ध तथा द्वितीय विश्वयुद्धका घटनालाई सन्दर्भ स्रोतमा जोडिएको छ । कथावस्तुमा मिथक दृष्टान्तमा प्रयोग भएको छ ।’
हिटलर र यहुदी मात्र होइन, कोइरालाका अरू दुई उपन्यास सुम्निमा र मोदी आइन पनि मिथकीय धरातलमा टेकेर लेखिएका उपन्यास हुन् । तर, लेखकले हिटलर र यहुदीको चिरफारमै आफूलाई केन्द्रित तुल्याएका छन् । उपसंहारमा उनी लेख्छन्, ‘नेपाली साहित्यमा मिथकको प्रयोग गर्दै रचना गरिएका साहित्यमा त्यसको युगीन सन्दर्भ र वैचारिक चेतनाको प्रस्तुति पाइन्छ । प्रतिभाशाली साहित्यकारले मिथकको पनि निर्माण गरेका छन् । आफ्नो रचनालाई प्रसिद्ध, प्रभावशाली र सार्वकालिक बनाउन लेखक नवीन मिथकको निर्माणतर्फ सदैव अग्रसर हुन्छ ।’
कृति ः मिथक ः सिद्धान्त र प्रयोग
विधा ः समालोचना
समालोचक ः बद्रीप्रसाद ढकाल
प्रकाशक ः ओरियन्टल पब्लिकेसन
पृष्ठ ः १४५
मूल्य ः ३००।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply