विदु्रपतामाथि तिखो प्रहार
राजनीतिक कर्मसँगसँगै साहित्य सिर्जनामा पनि उत्तिकै तन्मयतापूर्वक लागिपरेका छन्, दीनानाथ शर्मा । कथा, निबन्धका साथै कविता लेखनमा पनि उनी क्रियाशील देखिन्छन् । जुनसुकै विधामा कलम चलाए पनि उनमा निहित वैचारिक धार र प्रतिबद्धता लेखनीमा स्पष्ट रूपमा देखिन्छन् । ‘समयका छालहरू’ कविताकृतिमा पनि उनको वैचारिक प्रवाह सहज रूपमा पोखिएका छन् ।
परिवर्तनको मार्ग पछ्याउने स्रष्टा–द्रष्टाहरू सदैव आशावादी हुन्छन् । उनीहरूका लेखन÷क्रियाकलापमा आशावादका संकेतहरू प्रस्टै देखिन्छन् । ‘समयका छालहरू’ आशा र विश्वासले भरिपूर्ण काव्य सन्देशका रूपमा उभिएको छ । आफू जन्मिएको भेगको कालीगण्डकीलाई विम्बात्मक ढाँचामा उभ्याएर उनले सोही कवितामार्फत आशावादलाई प्रवाह गरेका छन् । उनी लेख्छन्, ‘काली किनारमा जन्मेर÷कालीको छालसित पौडी खेल्दै÷समयको प्रवाहसँगै म पनि÷निरन्तर निरन्तर बगेको छु तलतल÷समयको गन्तव्य भेट्न ।’
‘जुरेको पहिरो’मा प्राकृतिक विपद्को तस्बिर खिचिएको छ । प्राकृतिक विपद्ले वर्षौंदेखि आफ्नो थातथलोमा बस्दै आएका मानव जाति कति पीडा खेप्न बाध्य हुन्छन् ? त्यस अथाह पीडालाई केलाउने प्रयत्न गरिएको छ । देशमा राजनीतिक परिवर्तन भयो, गणतन्त्र आयो, समृद्धिका कुराहरू पनि उठे÷उठाइए धेरैपटक । तर, सीमान्त तहका जनताले भने अझै पनि परिवर्तनको स्वाद चाख्न पाएका छैनन् । यस्तो संकेत ‘एकनास नाङ्ले कान्छो’ कवितामार्फत अभिव्यक्त भएको छ । राजनीतिक परिवर्तनले एउटा वर्गलाई माथि उठाइदियो भने अर्को वर्गचाहिँ उही दुःख, समस्या, पीडा झेलेर बाँच्न बाध्य छन् । यस्तो विडम्बना कोट्याउने कार्य गरिएको छ, उक्त कवितामा ।
‘विछोड’ले भने राजनीतिक क्षेत्रमा व्याप्त विसंगतिबोधको झल्को गराउँछ । माओवादी शक्तिले १० वर्षसम्म जनयुद्ध लडे, थुप्रैले सहादत प्राप्त गरे, धेरै घाइते भए । शान्ति प्रक्रियामा सामेल भएपछि माओवादी शक्तिले पटकपटक सत्ताको स्वाद पनि लियो । विडम्बना यतिसम्म भयो कि युद्ध लडेकामध्ये कसैले पटकपटक अवसर पाए र कोही भने सदैव वञ्चित नै रहे । उनी लेख्छन्, ‘मेरो सहयोद्धा मित्र, मेरो कृष्ण सेन, वासु र रम्तेल÷माटो साक्षी राखेर भन्छु÷तिम्रो कित्तामा उभिन सकिनँ÷किनकि म सहिदको कोटामा परिनँ ।’
चन्द्रागिरिलाई विम्ब बनाएर शर्माले दुई थान कविता लेखेका छन् । एउटा कवितामा चन्द्रागिरिको सौन्दर्यमाथि धावा बोलेकोमा उनी क्षुब्ध त देखिन्छन् भने अर्को कवितामा युद्धकालीन समयमा राज्यद्वारा हत्या गरिएका कृष्ण सेन ‘इच्छुक’ले अझै न्याय नपाएकोप्रति उनको आपत्ति प्रकट भएको छ । घन्टाघरलाई विम्ब र प्रतीकमा उभ्याएर धेरै कविले काव्य सिर्जना गरे । भूपि शेरचनको ‘घन्टाघर’ त नेपाली साहित्यको ‘मास्टरपिस’ नै भइहाल्यो । शर्माले पनि लेखेका छन्– ‘घन्टाघर’ । राजनीति, समाजभित्र देखिँदै गएका विसंगत पक्षहरूलाई अहिले पनि घन्टाघर नियाल्न बाध्य रहेको खुलासा गरेका छन्, उनले । लेख्छन्, ‘नयाँ नेपालका नयाँ शासक÷गणतन्त्र नेपालका आदर्श प्रशासक÷कोटको पकेट छाम्दै साँझबिहान÷घर फर्किरहेको÷नियालिरहेछ घन्टाघर ।’
मूलतः कवि शर्माका कवितामा राजनीतिक÷सामाजिक जीवनका विविध रंग, रस र रूपहरू सहज रूपमा प्रकट हुन्छन् । राजनीतिक, सामाजिक एवं जीवनका अनेक क्षेत्रहरूमा व्याप्त विडम्बना र विद्रुपताप्रति आंैला ठड्याउने कार्यमा पनि उनको काव्यचेत सल्बलाएको स्पष्टै बोध हुन्छ ।
कृति ः समयका छालहरू
विधा ः कविता
कवि ः दीनानाथ शर्मा
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः १२६
मूल्य ः रु. १९०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply