पतनोन्मुख अगुवाप्रति कटाक्ष
चालीसको दशकदेखि काव्य साधनामा निरन्तर÷निमग्न छन्, कवि रामप्रसाद ज्ञवाली । तीन दशक लामो काव्य–यात्रामा उनले महाकाव्य, खण्डकाव्य र छन्दोबद्ध कविताकृतिहरू गरी थुप्रै कृतिहरू पस्किसकेका छन्, नेपाली काव्य–जगत्मा । महाकाव्य, खण्डकाव्य लेख्ने स्रष्टाहरू पातलिँदै जान थालेका बेला नेपाली काव्य–साहित्यको समृद्ध परम्परालाई धान्न उनी सक्रिय छन् । महाकाव्य, खण्डकाव्यका साथै फुटकर कवितामा पनि उत्तिकै दत्तचित्तपूर्वक कलम चलाइरहेका कवि ज्ञवालीको पछिल्लो काव्यकृति हो, ‘इन्द्रधनुष’ । जसभित्र २०६८ सालयता लेखेका फुटकर कविताहरूलाई समेटेका छन्, उनले ।
परिवर्तनको आवाज सदैव ध्वनित÷प्रतिध्वनित हुन्छ, उनका कवितामा । चेतनाका सम्वाहकहरूलाई उच्च सम्मान गर्न र उनीहरूप्रति भरोसा जनाउन उनका लेखनी सदैव सक्रिय देखिन्छन् । त्यही भएर नै, संघर्षका चुलीहरू नाघ्दै रूपान्तरणको यात्रामा यात्रारत, आफ्नो लक्ष्यमा अडिग र क्रियारत अनुहारहरूलाई उनी सलाम गर्न रुचाउँछन् । ‘समर्पित छ यो मसी’मा उनी परिवर्तनका पक्षधरहरूलाई यसरी सम्झिन्छन्, ‘जागेको चेतनाबाटै बन्छन् मानिस सुन्दर÷जागेको चेतनाबाटै सृष्टि बन्छ मनोहर÷जागेको चेतनाले नै मग्मगाउँछ यो भव÷जाग्ने–जगाउने मान्छे मेरा आदर्श–गौरव ।’
‘साँच्चै सुन्दर छ्यौ तिमी’मा नारीको सुन्दरतामा बाह्य रूप, रंगले होइन, मनको सौन्दर्यले भूमिका खेलेको हुन्छ भन्ने भाव प्रवाह भएको छ । उक्त कविताको आशय छ– जो नारी मनको सौन्दर्यले सुसज्जित हुन्छिन्, तिनीहरू वैचारिक तहले उच्च र समृद्ध हुन्छन्, तिनीहरूका श्रमले नै यो संसार सिँगारिएको छ । ‘शालिग्राम’ मा संघर्षशील जीवनको परिचय उद्घाटित हुन पुगेको छ । जसरी, नदीको तीव्र प्रवाह झेल्दै शालिग्राम निर्माण हुन्छ, मानव जीवन पनि अनेक संघर्षहरू पार गर्दै खारिँदै जान्छन् र त्यसरी खारिएको जीवन नै समृद्ध हुन्छ भन्ने भाव सघनताले भरिपूर्ण छ, यो कविता ।
पूर्ववर्ती शासकहरूले मानिस–मानिसबीच जातीय, सांस्कृतिक, धार्मिक विभेदको अग्ला पर्खालहरू लगाइ दिए । रङ, नश्ल र क्षेत्रीय भेदभावलाई प्रमुखता दिए । पहाडे–मधिसेको विभेद रेखा कोरियो । ‘सबै नेपाली एकै हुन्’ भन्ने भावनालाई लत्याएर आफ्नो स्वार्थको दुना–टपरी गाँस्ने कार्यमा शासकहरू मग्न रहे । ‘मान्छेको पहिचान र म’ मा नेपाली जाति र एकतामा जोड दिइएको छ, ‘मैले गोड्नु छ झार तुच्छ मनका ईष्र्या र अहंकारका÷मैले तोड्नु छ बार–बन्धन सबै निम्छा कुसंस्कारका÷मैले कोर्नु छ मार्गचित्र अब यो नेपाल लम्काउन÷त्याग्नै पर्दछ स्वार्थ यो मुलुकको सौभाग्य चम्काउन ।’ ‘आऊ फेरि गरौं’ मा वर्तमानमा छाएका राजनीतिक विसंगतिप्रति तिखो प्रहार छ भने ‘स्वाभिमान छ भने’ मा भने आफ्नै पौरख, परिश्रम र सीपले देश बनाउनुपर्ने सन्देश प्रवाह गरिएको छ । विकसित देशहरू त्यही देशका जनताको श्रमको उपज भएको हुँदा नेपाल बनाउन पनि नेपालीहरू नै जुट्नुपर्ने भाव व्यक्त भएको, उक्त कवितामा ।
‘भनिदिनू निर्मला पन्तलाई’ बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्दोष किशोरी निर्मला पन्तप्रति समर्पित कविता हो । आफ्नो रक्षार्थ स्वयं नारीहरू नै जाग्नुपर्ने बेला आइसकेको यथार्थ पस्किन यो कविता सक्षम देखिएको छ । ‘टोपी दिवस’मा भने वर्षमा एकदिन टोपी लगाएर प्रदर्शन गर्ने, रमाउने पंक्तिप्रति कटाक्ष तेर्सिएको छ । राष्ट्रको जिम्मेवार तहमा रहेकाहरू टोपी त लगाउँछन् तर उनीहरूले राष्ट्रको मौलिकता बेच्दै गएकोमा चिन्ताभाव पनि प्रकट गरिएको छ । त्यही भएर नै, कवि आव्हान गर्दै भन्छन्, ‘टोपी होइन मात्र एक कपडा हो चेतना–गौरव÷भिर्दैमा शिरमा हुँदैन बलियो यो राष्ट्रको गौरव÷साँच्ने हो यदि राष्ट्रगौरव भने संकल्प साथै गरौं÷साँच्चै प्रेम छ राष्ट्रको यदि भने निर्माण आफैं गरौं ।’
मूलतः कवि ज्ञवाली कविताहरूले परिवर्तनका उद्घोषकप्रति सम्मानभाव जाहेर मात्र गरेका छैनन्, समसामयिक राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा देखापरेका विसंगतिमाथि निर्मम प्रहार र कटाक्षसमेत गरिएको छ । नैतिक पतन र क्षयतिर उन्मुख समाज र राष्ट्रका अगुवाहरूप्रति त उनी झनै निर्मम बनेका छन् ।
कृति ः इन्द्रधनुष
विधा ः कविता
कवि ः रामप्रसाद ज्ञवाली
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः ८२
मूल्य ः २००।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply