प्रेममा तरंगित सिर्जना
युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत रूपमा गुन्जिन पुग्छन् । त्यस्तै, गीतमा प्रेमका मालाहरू बुन्न पनि उनी दक्ष देखिन्छन् । त्यस्ता मालाहरू बुन्ने क्रम÷उपक्रममा उनी जुन पायो, त्यही जात, रङ र सुगन्धले भरिएका फूलहरू भने प्रयोग गर्दैनन् । उनी कोमल, सुन्दर र हृदय नै आल्हादित तुल्याउने फूलहरूका गीति–माला उन्न खप्पिस देखिन्छन् ।
‘मेरो खुसी मेरो चाह’ पौडेलको नवीन गीति–सँगालो हो । पचासको दशकदेखि नै नेपाली गीति लेखन क्षेत्रमा पाइला चाल्न थालेका पौडेलले करिब दुई दशकको साधनापछि यो सँगालो बाहिर ल्याएका हुन्, जसमा उनको दुई दशक लामो गीति–लेखनका बेग्लाबेग्लै तस्बिरहरू अंकित छन् । तर, उनको कथनानुसार भने उनले गीति–लेखनमा यात्रा चाल्न थालेको तीन दशक पुगिसकेको छ ।
मानव जातिको उत्पत्तिकालदेखि नै पुरुष र महिलाबीच शारीरिक आकर्षक, सम्पर्क र संसर्ग चल्दै आएको छ । विपरीत लिंगीप्रति आकर्षण हुने क्रम सृष्टिको प्रारम्भदेखि नै भयो र सम्भवतः सृष्टिको कथा नटुंगिउन्जेलसम्म यो क्रम यथावत् रहन्छ । आखिर, यो संसार सञ्चालन हुनुमा प्रेम, माया र मोहजस्ता पक्षहरूकै अद्वितीय भूमिका रहँदै आएको छ, मायाको बन्धनले कँसिलो हुँदै आएको छ । उनी लेख्छन्, ‘मिलनको डोरी हाम्रो नचुँडियोस् कसैगरी÷हाम्रो माया फुलिरहोस् वसन्तको आभासरि÷ओढाइराख सधैं मलाई ममताको छाता÷नटुटोस् है कहिल्यै पनि दुई मुटुको नाता ।’
जीवनरूपी डुंगालाई नदी वारपार गर्न पुरुष र महिलाबीच सहकार्य नभई हुँदैन । महिलाबिना पुरुषको जीवन निरर्थक हुन्छ र पुरुषबिना पनि महिलाको । जीवनलाई सहज रूपमा चलाउन दुवैले एकअर्काको सहयोग, सहारा र सहकार्यको आवश्यकताबोध गर्दछन् । एउटाको आँसु आउँदा अर्कोले पुछिदिने र मुटुमा काँडा बिझ्दा झिकिदिने साथीको खाँचो सबैले महसुस गर्छन् । तर, त्यस्ता साथी नपाउँदा जिन्दगी कस्तो होला ? पौडेलका गीति–हरफलाई लिए पुग्छ– ‘डढेलोले वन जस्तै जलेको छ मन÷आफन्तमै पाइनँ मैले कैल्यै आफ्नोपन÷एउटा साथको खाँचो थियो पिर बुझिदिने÷हृदयको आलो घाउमा मलम लेपिदिने ।’
हामी बाँचेको समाजभित्र प्रेममा असफलता हात पार्नेहरूको जीवन पीडा, कष्ट र वियोगमा गुज्रिएका कैयांै घटना छन् । प्रेममा वियोग खेप्नेहरूले आफूलाई नसामा चुर्लुम्मै डुबाएर जिन्दगी बर्बाद पारेका दृष्टान्तहरू पनि छन् । धेरै पीडादायी हुन्छ, प्रेमको घाउ र धेरै नै मताउँछ, प्रेमको नसाले । प्रेमका धोका पाएकाहरूको व्यथालाई पौडेल यसरी उतार्छन्, ‘ढकमक्क फुल्ने जीवन पलाँससरी भयो आज÷जिन्दगीको धु्रवतारा अस्ताएर गयो आज÷तिम्रै कारण आँसु भुल्न नशा पिउने गर्छु÷दुखियाँझैं एकान्तमा एक्लै जिउने गर्छु ।’
प्रेमिल जोडीका स्वप्न–कथाहरू गीति लयमा कथ्न गीति–सर्जक पौडेल सक्षम देखिएका छन् । वर–पीपलको चौतारीमा बसेका सम्झनादेखि देउरालीमा पाति चढाएका स्मरणहरू गर्दै उनले गीतकै माध्यमबाट स्वच्छ प्रेमका तरंगहरू उब्जाउन चाहेका छन् । तर, उनका कुनै–कुनै सिर्जना भने निराशाका थुम्कीमा चढेर वेदनाका उच्छवासहरू पोख्न तल्लिनसमेत देखिन्छन् । उनको निराशाजन्य अभिव्यक्ति यसरी प्रकट हुन्छ– ‘एकलास जिउनुभन्दा मर्न बरु जाति÷गोधूलिको घामसँगै झर्न बरु जाती ।’
कृति ः मेरो खुसी मेरो चाह
विधा ः गीत
गीतकार ः हरिराम पौडेल
प्रकाशक ः नवनारी मिडिया एन्ड रिचर्स प्रालि
पृष्ठ ः ८०
मूल्य ः रु. १५०।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply