नेकपाको प्रथम घोषणापत्र र सान्दर्भिकता
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सेप्टेम्वर १५ तारिख ऐतिहासिक दिन हो । आज भन्दा ७० वर्ष अगाडी अर्थात सन् १९४९ सेप्टेम्वर १५ का दिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालले पार्टीको घोषणापत्र जारी गर्नु भएको थियो । त्यस अर्थमा आज नेपालको कम्युनिष्ट आन्दोलनमा सेप्टेम्वर १५ तारिख ऐतिहासिक दिन हो । यही घोषणापत्रले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशावोध र क्रान्तिकारी मोड प्रदान गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा भएको थियो । पार्टी स्थापना हुँदा पुष्पलाल महासचिव र सदस्यहरुमा नरबहादुर कर्माचार्य, नारायण विलाश जोशी, निरन्जन गोविन्द वैद्य र मोती देवी हुनु हुन्थ्यो । यसरी पार्टी स्थापना भएको घोषणा भए पनि त्यतिखेर कुनै आधिकारिक दस्तावेज सार्वजनिक गरिएको थिएन । पार्टी स्थापना भएको दोश्रो दिन अर्थात अप्रिल २४, १९४९ मा पुष्पलालले एक पर्चा प्रकाशन गर्नु भएको थियो । यो नै नेपाल कम्युनिष्ट पार्टीको पहिलो डकुमेन्ट हो । यो पर्चा “नागरिक स्वतन्त्रता सम्पुर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ” को शिर्षकबाट प्रकाशित भएको थियो । पर्चामा राणाशाहीले आफ्नो सत्ता लम्याउन वि.सं. २००५ मा विधान कानुन मार्फत जारी गरेको सुधारको घोषणा केवल नागरिक झुक्याउने चालबाजी मात्र हो । तसर्थ नागरिक स्वतन्त्रताका लागि राणा सँग संझौता होइन, क्रान्ति ! क्रान्ति !! क्रान्ति !!! भन्ने मुल नाराका साथ समाजवादको लक्ष्यका साथ अगाडी बढ्न आह्वान गरिएको थियो ।
यो अपिल मुलतः भावनात्मक रुपमा कार्यकर्तालाई उत्तेजित गर्ने खालको मात्र थियो । पर्चामा जनवादी आन्दोलनलाई जनवादी क्रान्तिको युगमा नेतृत्व गरी समाजवादमा संक्रमण गर्न उल्लेख भए पनि देशको राजनीतिक, आर्थिक र सामाजिक स्थिति र वर्ग विश्लेषण गरिएको थिएन । त्यसै भएर त्यसलाई कार्यक्रम नभनी अपिल भनियो । र पर्चाको रुपमा वितरण गरिएको थियो । पार्टी स्थापना भएपछि पार्टीको वैचारिक लाइनलाई सम्प्रेषण गर्न जरुरी थियो । यसै भएर १५ सेप्टेम्वर १९४९ मा चाहि नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नामबाट विधिवत रुपमा घोषणा पत्र जारी भयो र केन्द्रिय समितिको विस्तार पनि भयो । विस्तारित केन्द्रिय समितिमा संस्थापक महासचिव पुष्पलाल मनमोहन अधिकारी, तुलसीलाल आमात्य, शैलेन्द्र कुमार उपाध्याय, डि.पि. अधिकारी र भारतीय कम्युनिष्ट पार्टीका प्रतिनिधि भाई साहेव भन्ने आयोध्या प्रसाद सिंह हुनुहुन्थ्यो । तर संस्थापक अन्य ४ जना यो विस्तारित केन्द्रिय समितिमा रहेका थिए वा थिएनन? भन्ने चाहि अस्पष्ट छ । पार्टी स्थापनाको लगतै ४ महिना पछि विस्तार भएको केन्द्रिय समितिमा अवश्य पनि संस्थापक सदस्यहरु छुटेनन् होला भनेर अनुमान गर्न सकिन्छ ।
पार्टी केन्द्रिय समितिको विस्तार सँगै १५ सेप्टेम्वरमा जारी गरिएको घोषणापत्रको माथि सिरानमा “पहाड पर्वत खोलानाला जग्गा जमिन सबको मालिक हामी दास बनौ किन हिस्सा सबमा सबको” भन्ने मुलनारामा चार भाग छुट्याएर जारी गरिएको थियो र सँगसँगै पार्टीको मुख्य पत्रमा प्रकाशित गर्ने फैसला अनुरुप कम्युनिष्ट पाक्षिक प्रचारपत्र प्रकाशित भयो र घोषणा पत्रलाई पार्टीको मुख पत्रमा त्यतिखेरको साइक्लो स्टाईल गरी प्रकाशित गरिएको थियो । घोषणा पत्रको पहिलो भागमा पहिलो र दोश्रो विश्वयुद्ध पश्चात विश्वमा चलेको समाजवादी लहर, मजदुर आन्दोलनको विकास र विश्वमा पुजीवादको किल्ला भत्कन शुरु भई सोभियत संघमा समाजवादी व्यवस्था शुरुवात भएको उल्लेख गरिएको छ र दक्षिण पूर्वी एशियामा पनि संघर्ष आन्दोलनको शुरुवात भयो । यहि लहरमा नेपालमा पनि पार्टी स्थापना पूर्व ठूलो मजदुर आन्दोलन भएर नेपाल कम्युनिष्ट पार्टीको आधार बन्न पुगेको उल्लेख छ । दोश्रो भागमा नेपालमा सामान्तवादको उत्थान, अर्थ राजनीति, साम्राज्यवादी हस्तक्षेप र राणा शासन विरुद्ध भएका संघर्ष आन्दोलनका बारेमा चर्चा गरिएको छ । तेश्रो भागमा, दोश्रो विश्वयुद्ध पछि विश्व दुई धु्रवमा विभाजित भएको पहिलो साम्राज्यवादी प्रकृयावादी र युद्धवादी गुटमा यसको नेतृत्व अंग्रेज– अमेरिकनले गरेको छ । यसको मुख्य उद्देश्य नै अंग्रेज अमेरिकन एकाधिकार पूँजीको रक्षा गर्नु हो भनी उल्लेख छ । यस्तै दोश्रोमा, साम्राज्यवादी विरोधी, जनवादी र क्रान्तिकारी रहेका छन भनी उल्लेख गरिएको छ । यस्तै मजदुर वर्गको भुमिकाका बारेमा यसरी उल्लेख गरिएको छ । सामन्तवादी प्रथा र साम्राज्यवादी पूँजीबादको जुआलाई उखेलेर फ्याँक्ने संघर्षमा क्रान्तिको अंग्रजको कार्य ऐतिहासिक तवरले मजदुर वर्गले नै गर्नु पर्दछ । नेपालमा बढ्दो वर्ग संघर्ष द्धन्द्धात्मक भौतिकबादी दृष्टिकोणले मात्र क्रान्तिकारीहरुले सही रणनीति तयार गर्न र माक्र्स, एंगेल्स, लेलिन तथा स्टालिनले बोकेको नहारिने झण्डामुनी यस संघर्षलाई संगठित गरी विजयी बनाउन सक्नेछन ।
यस्तै अध्याय चारमा नेपाल कम्युनिष्ट पार्टीको जनवादी कार्यक्रमका रुपमा बाह्र वटा बुँदामा उल्लेख गरिएको छ, जसमा पहिलो, सामन्तवादी निरंकुश राज्यसत्ता र विदेशी शोषणको जुआलाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रुपले स्वतन्त्र गराउने दोश्रो, मजदुर, पसिना चुहाउने किसान र शोषित तथा दलित निम्न मध्यम वर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने जसले अंग्रेज अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरु सितको सहयोगको विरोध गर्दछ र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरु सँग सम्बन्ध कायम गर्ने उल्ल्ेख छ । तेश्रो, वालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभुत आर्थिक अधिकारको ग्यारेन्टी गर्ने, वालिग मताधिकारको आधारमा विधान बनाउने, विशेषाधिकारहरु र जातपात, नस्ल र जातिको आधारमा गरिने भेदभाव कानुनद्धारा अन्त्य गरिने र यसको उल्लंघनलाई कानुनद्धारा दण्डनीय बनाउने उल्लेख छ । चौथो, विनामुआब्जा जमिनदारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मुलन र जोताहाहरुलाई जमिनको वितरण ग्रामिण ऋणको अन्त्य गर्ने र कृषि मजदुरहरुलाई जीवनयोग्य ज्याला प्रदान गरिने छ । पाँचौ, वैंक, औद्योगिक तथा यातायात, व्यवसाय, वाटिका, खानी, आदिमा लगाइएको विदेशी पूँजी राज्यद्धारा जफत गर्ने र ती व्यवसायहरुको राष्ट्रियकरण गर्ने उल्लेख छ ।
छैठौं, ठुला ठुला उद्योगहरु, ठुला वैंकहरु र बिमा कम्पनीहरुको राष्ट्रियकरण गर्ने, संस्थाहरुमा मजदुरहरु माथि नियन्त्रणको अन्त्य गरिने कुराको ग्यारेन्टी दिने, र दिनमा आठ घण्टाको कार्यदिवस लागु गर्ने । सातौ,ं रणनीतिक महत्वका उद्योगमा ठुला ठुला पूँजीपतीहरुलाई हटाउने र मुलुकको आर्थिक विकास र समृद्धिका लागि आर्थिक योजना बनाउने । आठौं, जनविरोधी सवै दमनकारी ऐन कानुनहरुको खारेजी गर्ने, नवौं, नोकरशाहीको उन्मुलन र निर्वाचित अधिकारीहरु सहितको र जनसमतिहरुद्धारा निर्देशित प्रशासन, दशौं, जनतालाई सशस्त्र पार्ने र जनताको जनवादी सेना स्थापना गर्ने, एघारौं, स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार, र वाह्रौ, महिलाहरुलाई समान प्रजातान्त्रिक अधिकारहरु सुनिश्चित गरिनेछ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष व्यतित भएको छ । पार्टीको प्रथम घोषणा पत्र कै आधारमा वि.सं. २००८ साल असोजमा सम्पन्न प्रथम सम्मेलनमा पार्टीको नयाँ जनवादी कार्यक्रमलाई राजनैतिक प्रतिवेदनको रुपमा प्रस्तुत गरिएको थियो । घोषणा पत्रले कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी दिशालाई दिशावोध, गरेको छ । घोषणापत्रमा द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणका साथ नेपालको आर्थिक सामाजिक अवस्थाको विश्लेषण गरेर नेपाली समाज अर्ध सामन्ती र अर्ध औपनिवेसी अ्वस्था रहेको निष्कर्ष निकालिएको थियो । नेपाली समाजको चरित्रको आधारमा कम्युनिष्ट आन्दोलनले जुन कार्यदिशालाई अगाडी बढाएको थियो । ०६२÷६३ मा आई पुग्दा नेपालमा पूँजीबादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ । सामन्तवादको राजनीतिक एवं शासकिय हिसावले अन्त्य भएको छ र जनताबाट निर्वाचित संविधान सभा मार्पmत बनेको संविधानमा संघीय लोकतान्त्रीक गणतन्त्रको संस्थागत भएको छ । पुष्पलालले विश्लेषण गरेको अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थाको नेपाली समाज यतिखेर पूँजीवादी चरणमा प्रवेस गरेको छ अब समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने जुन अभिभारा मुलुकका सामु रहेको छ । यस सन्दर्भमा घोषणा पत्रको महत्वका बारेमा पुष्पलालले यसरी उल्लेख गर्नु भएको छ । स्पष्ट छ, नेपाल कम्युनिष्ट पार्टीको यो घोषणापत्र नेपालको सर्वहारा वर्गको क्रान्तिकारी कार्यक्रम हो । यसले नेपालमा सर्वहारा वर्गको विचारधाराको गहकिलो जग हाल्नुका साथै सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी (पँुजीवादी जनवादी) क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिमा जाने बाटो स्पष्ट रुपमा देखाएको छ । अतः नयाँ जनवादी क्रान्ति सम्पन्न नभएसम्म यसमा उल्लेख गरिएका मौलिक सिद्धान्तहरु हाम्रो निम्ति सत्य नै रहन्छन भनेर घोषणापत्रको महत्व बारेमा उल्लेख गर्नु भएको छ ।
घोषणपत्रमा उल्लेख भएका १२ वटा जनवादी कार्यक्रमलाई नेपाली क्रान्तिले पुरा गर्नु पर्ने कार्यक्रमको रुपमा जुन उल्लेख गरिएको छ । यि कार्यक्रमहरु अहिले झन सान्दर्भिक भएका छन । साम्राज्यवादी शोषणको जुआबाट एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रुपले स्वतन्त्र वनाउने, साम्राज्यवाद र विस्तारवादका विरुद्ध, विश्वका शान्तीकामी, क्रान्तिकारी एवं लोकतान्त्रिक शक्ति र सरकार सँगको सम्बन्धलाई सुमधुर बनाउने, सामन्ती शोषणका सवै खाले रुप र तरिकाको अन्त्य गर्ने, रणनीतिक महत्वका प्राकृतिक श्रोत साधन, उद्योग खानी, उर्जा, सन्चार, वैक तथा वित्तिय संस्थाहरुमा वैदेशिक पूँजीको सट्टा राज्यद्धारा लगानी वृद्धि गरी राष्ट्रियकरण गर्ने, श्रमिक वर्ग माथी हुने शोषणको अन्त्य गर्ने र जीवन निर्वाह गर्न पुग्ने ज्याला प्रणालीको सुनिश्चित गर्ने, जनविरोधी पुराना ऐन कानुनलाई जनवादीकरण गर्ने, जनस्तरमा नै मुलुकको रक्षाका लागि प्रजातान्त्रिक फौजको गठन गर्ने र शिक्षा तथा स्वास्थ्यसेवालाई निशुल्क र सर्वसुलभ गर्ने, जुन कार्यक्रम उल्लेख गरिएको छ, यि कार्यक्रमहरुको कार्यान्वयन गरेर मात्र मुलुकमा आर्थिक सामाजिक रुपान्तरण सम्पन्न गरी समाजवादी क्रान्ति सम्पन्न गर्ने आधार तयार हुने छ र मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्ने चरणमा मुलुकलाई अगाडी बढाउन सकिन्छ ।
यतिखेर नेपालको कम्युनिष्ट आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्रमा अन्तरनिहित कार्यक्रमका आधारमा नेपाली क्रान्तिको कार्यनीतिक कार्यदिशा तय गरेर समाजवादी क्रान्ति सम्पन्न गर्नु पर्ने अभिभारा रहेको छ, यस सन्दर्भमा प्रथम घोषणापत्रको सान्दर्भिकता झन बढेर गएको छ, अतः यसलाई पुनः प्रकाशित गरेर जनस्तर सम्म व्यापक प्रचार प्रसार गर्नु, यसको महत्वलाई व्याख्या विश्लेषण गर्नु र घोषणापत्रमा अन्तरनिहित विषयबस्तुलाई वर्तमान सन्दर्भमा कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रममा समाविष्ट गरेर सही क्रान्तिकारी कार्यदिशा तय गर्नु नेपालका वामपन्थी पार्टीहरुका सामू यतिखेरको अभिभारा रहेको छ ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply