विसंगतिमाथि चोट
पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत अधिकांश पोखरेली स्रष्टाहरूले मुक्तक लेखनमा समेत आफ्नो दक्षता देखाएका छन् । कुनैबेला टिकट बेचेर मुक्तक सुनाउने सहरका रूपमा पनि पोखरालाई चिनिन्थ्यो । तिनै पोखराको साहित्यिक माहोलमा रमाएका लोकनाथ पुडासैनीले सम्भवतः साहित्यिक संगत र वातावरण पाएर होला, मुक्तक लेखनमा आफूलाई सक्रिय तुल्याउँदै आएका छन् । उनको पछिल्लो मुक्तक संग्रह ‘चड्याम्म’ मुक्तकको स्वादमा रमाउने पारखीहरूका निम्ति उपहार बन्न पुगेको छ ।
राजनीति, समाज, संस्कृतिलगायत हरेक क्षेत्रमा व्याप्त विसंगत चरित्रहरूमाथि चोटिलो प्रहार गर्ने ध्येय मुक्तक लेख्ने हरेक स्रष्टाहरूले सँगालेका हुन्छन् । समसामयिक विषयवस्तुलाई टपक्क टिपेर त्यसमा शब्द गोडमेल गर्ने क्षमतामा अब्बल देखिन्छन्, अधिकांश मुक्तककारहरू । पुडासैनीले पनि त्यही शैली र पद्धति पछ्याएका छन् । राजनीतिक क्षेत्रमा परिवर्तन आए पनि शासन गर्नेहरू भने परिवर्तन नभएकामा धेरैले खियार्दै आएका छन् । उनी लेख्छन्, ‘पहिरन फेरिए, ढासा, स्वाङ र सार उस्ता उस्तै÷ढाँट, छल, तस्करी अनि भ्रष्टाचार उस्ता उस्तै÷फेरिँदा केवल सिंहासनमा विराजमान पात्र फेरिए÷घोडचढी, रिसल्ला, लावालस्कर र विचार उस्ता उस्तै ।’
परिवर्तन भयो । परिवर्तनपछि हरेक क्षेत्रमा सुधार आउने र विकास र समृद्धिका रूपरेखाहरू कोरिने अपेक्षा धेरैले सँगालेका थिए । तर, परिवर्तनपछि सत्तामा आएकाहरूले जनअपेक्षा पूरा गर्नेतिर कदम चाल्न चुके । तिनीहरूलाई चड्कन लगाउनुको विकल्प नभएको उनको मत मुक्तकमा पोखिएको छ । नारीमाथिको उत्पीडनलाई ‘आठ मार्च’ र मजदुरहरूको दयनीय अवस्थाबारे ‘मे दिवस’ले प्रस्ट्याउन चाहेका छन् भने सहिदप्रति उपेक्षा र अपमान गर्ने नेतृत्वप्रति ‘सहिद’ले तीतो ओकलेको छ । विखण्डनकारीप्रति त उनी धेरै नै क्षुब्ध देखिएका छन्– ‘लाग्छ, असली माल बिगारी कु–माल बनायौ÷उल्टै सडे गलेका जिनिसलाई सु–माल बनायौ÷फेरि तिमीलाई उद्रेको सिउन नि कहिल्यै आएन÷बरु सग्लै पछ्यौरा च्यातेर स–साना रुमाल बनायौ ।’
केही पौराणिक, ऐतिहासिक पात्रहरूलाई समेत पुडासैनीले मुक्तक–संसारमा अटाएका छन् । महाभारतकालीन पात्र सुदामा, धृतराष्ट्र, अगस्तीबारे उनको कलम सल्बलाएको छ भने राजनीतिक विषयमा पनि उनको लेखनी राम्ररी नै जम्न पुगेको छ । ‘दासढुंगा’मा उनको भाव यसरी व्यक्त हुन पुगेको छ, ‘अल्लारे मनलाई उक्साइदिँदा रहर चुलिँदो रहेछ÷सोझो मन मस्तिष्कमा सजिलै जहर हुलिँदो रहेछ÷भन्नलाई हिजो आफैंले हत्या हो भन्दै उछित्तो काढियो÷अचम्म, सत्तारोहणपश्चात् ती सारा कहर भुलिँदो रहेछ ।’
२०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पनहरूले धेरै नेपालीको मन मस्तिष्क खल्बलायो । भूकम्पले नेपालीजनमा थोपरेका पीडाको तह निकै बाक्लो थियो । पुडासैनीले भूकम्पले दिएको पीडाबारे पनि मुक्तक कोरेका छन् । संग्रहका २ सय ११ वटा मुक्तकहरू विषय–विविधताका कारण फरक स्वाद र अनुभूति दिलाउन सक्षम देखिएका छन् । मूलतः हरेकजसो क्षेत्रमा देखिएका विसंगति÷विकृतिमाथि मर्मभेदी प्रहार गर्न मुक्तककार पुडासैनी सफल देखिएका छन् ।
कृति ः चड्याम्म
विधा ः मुक्तक
मुक्तककार ः लोकनाथ पुडासैनी
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः ५४
मूल्य ः रु. १२०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply