संवेदनाको उच्चता
कवि गोकुल अधिकारीको कविताका स्वर बहुआयामिक छन् । देश, समाज र पारिवारिक जीवनभित्रका विभिन्न निर्मम यथार्थलाई सहज रूपमा चित्रित गर्न उनी माहिर देखिन्छन् । उनको पछिल्लो काव्यकृति ‘गोधूलि घर’मा मानवीय संवेदनाका अनेक पाटाहरूलाई सम्प्रेषणीय भाषामा अभिव्यक्त गर्ने सीप प्रदर्शन गरेका छन्, उनले ।
सहिद, एउटा सम्मानित भाव÷शब्द । वर्तमानमा ज–जसले परिवर्तनको स्वाद चाखिरहेका छन्, स्वतन्त्रताका गीत गाइरहेका छन् । नबगाएको भए सहिदले रगत स्वतन्त्रताको गीत गाउन कसरी पाउँथे र तमाम अनुहारहरूले ? सहिदको बलिदानप्रति समर्पित यस्ता छन्, केही काव्यहरफ– ‘अँधेरो ओडारभित्र बसेर÷उज्यालो भविष्य बुनिरहेको÷एउटा त्यस्तो यात्रा÷जसले अधिकारको सुकिलो आकाश÷जीवनपर्यन्त खोजिरहेकै हुन्छ÷जसले÷सिंगो जिन्दगीलाई बलिदानको धागामा÷उनिरहेकै हुन्छ ।’
शासकहरू चाहन्थे, अरूले आफ्नो स्मरण चीरकालसम्म गरिरहुन् । त्यही भएर बनाए उनीहरूले आफ्नो सालिक । तर, राजनीतिक परिवर्तनसँगै शासकहरूका सालिक उखेलिए, तोडिए, फोडिए । विश्वभरि नै त्यस्ता क्रमहरू चले । रहेन चिरस्थायी । ‘सालिक र मान्छे’ले इतिहासको यो त्रूmर यथार्थलाई पक्रेको छ । ‘असार पन्ध्र’मा श्रमजीवि अनुहारहरूको प्रतिविम्ब देखिन्छ भने ‘जीवनयात्राका गोरेटाहरूमा’ले भने आशा र उमंगको सञ्चार प्रवाह गराउँछ । ‘नदीमा मन घोलिएपछि’मा भने जीवनवादी स्वर गुन्जिएको छ । लेख्छन्, ‘कहिले खोलो वारि उभिँदै÷जिन्दगीलाई अँजुलीमा उघाएर पढिरहेको हुन्छु÷कहिले खोलो पारि पुगेर जिन्दगीलाई÷अलि टाढाबाट कोट्याइरहेको हुन्छु ।’
हरेक नागरिकले आफ्नो राष्ट्रलाई माया गर्छन्, राष्ट्रिय जीवनमा उत्पन्न चिन्ताहरूप्रति चासो र सरोकार राख्ने गर्छन् । एउटा नागरिकको दायित्व पनि हो, सायद । ‘नयाँ नेपाल’मा खल्बलिँदै गएको राष्ट्रिय भावना र सद्भावप्रति चिन्ता जाहेर गर्न उनी अग्रसर देखिएका छन् । ‘नदीको बीचमा उभिएर’मा आपसी द्वन्द्व र लडाइँको तस्बिर टाँगिएको छ । विगतमा राज्य र विद्रोही पक्षबीच द्वन्द्व चर्किंदा त्यसले धेरैलाई चेपुवामा पा¥यो । कविले भने राज्य र विद्रोही पक्षको द्वन्द्वमा अल्झिएका आमनागरिकको पीडा अभिव्यक्त गरेका छन् ।
आमा, एक प्रिय नाम । आमालाई सम्बोधन गरेर धेरै कविले काव्य सिर्जेका छन् । कविले पनि आमाप्रति दुइटा कविता समर्पण गरेका छन्, मार्मिक र चोटिला । आमालाई सम्झिने क्रममा उनले आमाको तुलना थकित यात्रीलाई शीतलता बाँडेर नअघाउने चौतारीसँग गरेका छन् । लेख्छन्, ‘संसारको जतिसुकै ठूलो तराजुमा राखेर पनि÷जोख्न नसकिने आकारको ममता ।’ पारिवारिक सम्बन्धका उतारचढावहरू केलाउन उनको ‘श्रीमती रिसाएको बेला’ कविता सक्षम देखिएका छन् भने ‘मेरी सानी छोरीले कोरेका अक्षरहरू’ले अभिभावकीय दायित्वबोधको रेखांकन गरेको छ । ‘तिमीले कोरेको इन्द्रेनी’ भने सघन भावबोधले परिपूर्ण कविता हो, जसले संवेदनाको उच्चतालाई समात्ने प्रयत्न गरेको छ । यो कविताको एउटै शब्दमा कैयांै संश्लिष्ट भाव समेटिएका छन् । उनी लेख्छन्, ‘त्यही वर्तमानमा उभिएर÷श्रद्धासुमनको अँजुली÷उचालिरहेछु म पनि÷र निम्त्याइरहेछु÷तिम्रो परिकल्पनाको कलमले कोरेको÷अझ प्रगाढ प्रकाश सहितको÷परिवर्तनको त्यो इन्द्रेनी गजुर ।’
मूलतः कवि अधिकारीका हरेक कवितामा संवेदनाको गहिराइ त भेटिन्छन् नै, त्यसमा भाषिक चुस्तता पनि उत्तिकै देखिन्छन् । शब्द चयनमा पनि मितव्ययी देखिन्छन्, उनी । देशदेखि परिवारसम्म सरोकार राख्दै मनुष्यको पारस्परिक सम्बन्धको अन्तर्जगत्लाई केलाउने कार्यमा उनी दक्ष ठहरिएका छन् ।
कृति ः गोधूलि घर
विधा ः कविता
कवि ः गोकुल अधिकारी
प्रकाशक ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान
पृष्ठ ः ७७
मूल्य ः रु. १५०।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply