नेकपाका पाँच काम
नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन र एकीकरणका अनेकौं शृंखलाहरू पार गर्दै नेपाली जनता एवं नेपाल राष्ट्रका पक्षमा गौरवपूर्ण कीर्तिमान स्थापित गर्न सफल मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरूका बीचमा ऐतिहासिक एकता भएको डेढ वर्ष बितिसकेको छ । यस एकताले एक, नेपाली राजनीतिमा आफूलाई सधै एक नम्बरको अर्थात् सबै आन्दोलनको अगुवाइ गरेको हुँ भन्ने नेपाली कांग्रेसलाई पछाडि धकेल्दै नयाँ संविधानले निर्देशित गरेको समाजवाद उन्मुख नयाँ युगको नेतृत्व कम्युनिस्ट पार्टीबाट मात्र सम्भव छ भन्ने सन्देश दिएको छ । दोस्रो, सामन्तवदको प्रमुख स्रोतका रूपमा रहेको राजतन्त्रलाई तीनवटै तहको निर्वाचनमार्फत सदाका लागि अन्त्य भएको कुरा जनअनुमोदन भएको छ । तेस्रो, कम्युनिस्ट पार्टीहरूलाई लाग्दै आएको विभिन्न शास्त्रीय आरोपलाई चुनौती दिँदै जनताको मतबाट आफूलाई इतिहासमा पहिलोपटक करिब दुई तिहाइको स्थिर सरकार सञ्चालन गर्ने अभिभारा प्राप्त गरेको थियो ।
ती तीनवटा ऐतिहासिक सन्देशलाई जनताको पक्षमा रूपान्तरण गर्न सर्वप्रथम पार्टी एकताका अधुरा काम पूरा गर्दै यी कामहरूप्रति स्वामित्व लिनुपर्छ । पार्टी नेतृत्वले जति नै महत्वपूर्ण र लोकप्रिय काम गरेको भए पनि यदि सो कामप्रति सबै कार्यकर्ताले स्वामित्व ग्रहण गरेनन् भने सो कार्यान्वयन हुन सक्दैन । त्यसैले हामीले नीति र विधिका आधारमा पार्टीलाई योजनाबद्ध ढंगले अघि बढाउनैपर्छ । यसका लागि सर्वप्रथम पार्टी नेतृत्व तहमा देखापरेका अन्तरविरोधलाई हल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखिनुुपर्छ । नेतृत्वबीचको समझदारी र एकमना एकताले नै सम्पूर्ण पार्टीपंक्तिमा क्रान्तिकारी ऊर्जा सिर्जना गर्छ । नेतृत्वबीचको अनेकता विवाद गुटबन्दी, पक्षधरताको प्रवृत्तिले पार्टीलाई गम्भीर क्षति पुग्न सक्छ । यसलाई अन्त्य गर्न संस्थागत परिपाटी र सामूहिक नेतृत्वको पद्धतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने दिशामा जानुपर्छ । आजको पार्टी सञ्चालनमा ध्यान दिनुपर्ने पाँच कामहरू यसप्रकार हुन सक्छन् ः
१. स्थानीय पार्टी संगठन सम्बन्धमा
पार्टीको स्थानीय पार्टी कमिटी वर्ग संघर्षको जग हो । त्यसैले स्थानीय नेतृत्व प्रभावकारी भएन भने कुनै पनि कामहरू प्रभावकारी ढंगले सञ्चालन र सम्पन्न हुन सक्दैनन् । अहिले स्थानीय तहको प्रायः पार्टी कामहरू स्थगित र निष्क्रियझैं छन् । पार्टी कमिटी मात्र होइन, विभिन्न सामुदायिक जनवर्गीय संगठनहरूको एकता नहुँदा स्थानीय उत्साहित जनता पार्टीमा संगठित हुन सकेका छैनन् । पार्टीले गरेका लोकप्रिय कामहरूको प्रचारप्रसार हुन सकेको छैन । त्यसैले स्थानीय पार्टीको कामको सम्बन्धमा राम्ररी छलफल, मूल्यांकन र दिशानिर्देशका लागि नीति र विधि निर्माणमा जोड दिनुपर्छ । पार्टीमा देखापरेका असमझदारी, अन्तरकलह, अन्तरविरोध र गुटबन्दीले पार्टी र जनसंगठनहरू कसरी कमजोर भइरहेका छन् ? त्यसबारे नेतृत्वबीच राम्ररी छलफल गर्ने, चासो, चिन्ता व्यक्त गर्ने काम पर्याप्त भएको देखिँदैन । परिवर्तन वा क्रान्तिको प्रक्रिया अहिले पनि पूरा भएको छैन । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनको एउटा महŒवपूर्ण अध्याय मात्र हामीले पूरा गरेका छौं । युगौं पुरानो सामन्तवादको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रगतिशील रूपान्तरणको काम बाँकी नै छ । त्यसैले पार्टी संगठनको आवश्यकता राजनीतिक क्रान्ति पूरा गर्न मात्र होइन, त्यसको उपलब्धिलाई संस्थागत, सुदृढ र परिवर्तनको अन्तिम लक्ष्यसम्म पु¥याउन आवश्यक हुन्छ । तर अहिले उपरी तहको कामलाई मात्र पार्टी काम ठान्ने र जनप्रतिनीधिमार्फत भएको कामलाई मात्र पार्टी काम ठान्ने प्रवृत्ति विद्यमान छ । अतः स्थानीय तहको पार्टीलाई बलियो बनाउन, त्यसलाई विस्तार गर्न तथा त्यसलाई वैचारिक र संैद्धान्तिक रूपले सबल बनाउन जरुरी छ । स्थानीय पार्टी भनेका केन्द्रीय नीतिलाई जनताको तहसम्म पु¥याउने माध्यम हुन् । यसलाई सुदृढ र सफल नपारी केन्द्र मात्र गतिशील भएर पुग्दैन । जग बलियो पार्न हाम्रो ध्यान जानुपर्छ । हाम्रो सम्पर्क, सम्बन्ध बिस्तारै टाठाबाठा, हुनेखाने मध्यम वर्गतर्फ आकर्षित भइरहेको छ । आधारभूत तहको जनताप्रतिको हाम्रो प्रतिबद्धता नारामा सीमित हुन खोज्दैछ र पार्टी बिस्तारै मूल लक्ष्यबाट विमुख हुँदै केवल सत्ता प्राप्तिको दिशातर्फ उन्मुख भइरहेको छ । वर्ग दृष्टिकोण, वर्ग संघर्ष र स्थानीय जनताको संवेदनशील कुरामा हाम्रो ध्यान जान सकेको छैन । अब पार्टी जननिर्वाचित र केही राजकीय सुविधा पाएकाहरूको मात्र हो कि भन्ने महसुस हुन थालेको छ । विभिन्न सामुदायिक तथा सामाजिक आन्दोलनहरूमा क्रमशः निराशा उत्पन्न हुन थालेको छ । त्यसैले जनतासंग प्रत्यक्ष सम्बन्ध रहनुपर्ने स्थानीय पार्टी संगठनलाई जनताकरण गर्नु पहिलो प्राथमिकतामा राखौं ।
२. सैद्धान्तिक वैचारिक प्रशिक्षण सम्बन्धमा
पार्टी एकतापछि हामीले हाम्रो विचार, संगठन र नेतृत्वको एकसाथ एकता गरेका छौं । हाम्रा बीचमा आजका दिनसम्म पनि राजनीतिक शब्द र शब्दावलीमा एकरूपता र समान बुझाइ हुन बाँकी देखिन्छ । व्यक्तिपिच्छे फरकफरक धाराणाहरू सुन्न कार्यकर्ताहरू बाध्य छन् । पार्टीले पटकपटक एकताको काम सकिनेबित्तिकै पार्टी प्रशिक्षणको कामलाई सघन र उद्देश्यमूलक बनाउने घोषणा गर्दै आएको भए पनि सो काम पूरा हुन सकेको छैन । पार्टीका क्रान्ति र सामाजिक परिवर्तन (दलित, जनजाति, मधेसी, मुस्लिम आदि) सम्बन्धी दृष्टिकोणहरू, कार्यदिशा, नीति, सिद्धान्त र पार्टीको संगठनात्मक सिद्धान्त, कम्युनिस्ट नैतिकता, आचरण, व्यवहार तथा पार्टी अनुशासन सम्बन्धमा सघन र उद्देश्यमूलक प्रशिक्षणको व्यवस्थित योजना बनाई देशव्यापी रूपमा अविलम्ब सुरुवात गर्नुपर्छ । यस अभियानले जनताको जनवादमार्फत समाजवादमा जाने पार्टीको उद्देश्य र कार्यनीतिप्रति प्रतिबद्ध रहँदै पार्टीको सबै राजनीतिक, संगठनात्मक कार्यनीति र शैली परिभाषित गर्नुपर्छ । समाज रूपान्तरणको आधारभूत अन्तरवस्तुलाई सबै तहका नेता तथा कार्यकर्ताहरूले समान बुझाइका साथ आत्मसात् गर्दै तदनुरूप व्याख्या गर्नुपर्छ । जनताका आधारभूत तहका समस्या, माग र संवेदनशीलताप्रति पार्टी सचेत बन्नुपर्छ । वर्ग–संघर्ष, जनदबाब र आन्दोलनबाट जनताका माग सम्बोधन गर्ने वैचारिक कार्यबाट नेता तथा कार्यकर्ताहरूको आत्मविश्वास प्राप्त हुनेछ । सैद्धान्तिक वैचारिक कमजोरीले गर्दा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता निराश हुने र पलायनसमेत हुने सम्भावनालाई ध्यान दिँदै तत्काल राष्ट्रव्यापी पार्टी एकता तथा सदृढीकरण अभियान सञ्चालन गरौं ।
३. श्रम तथा उत्पादन कार्यप्रतिको दृष्टिकोण सम्बन्धमा
हाम्रो समाजमा आज पनि सामन्तवादी समाजकै अवशेषहरू बलियो जरा काढेर बसेका छन् । यी अवेशषहरूले कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई समेत चुनौती खडा गरिरहेका छन् । जनवादी क्रान्ति सम्पन्न भइसक्दा पनि जातीय छुवाछूत र भेदभाव, हलिया, कमैया र हरवाचरवा प्रथा प्रचलनमै रहनु हाम्रा लागि ठूलै चुनौती हुन । यिनै सामन्ती संस्कारमा श्रमलाई हेला गर्ने दृष्टिकोण हुन्छ । काम नगर्ने ठूलो काम गर्ने सानो भन्ने प्रचलन आज पनि विद्यमान छ । अतः सबैखाले श्रमप्रति हामीले हात बढाउनुपर्छ । कार्यकर्ताहरूलाई श्रमबाट अलग हुन नदिई शारीरिक र मानसिक दृष्टिकोणले दुरुस्त राख्नुपर्छ । सिद्धान्तबिनाको व्यवहार र व्यवहारबिनाको सिद्धान्त फोस्रा कुरा आदर्शवादी हुन्छ । अतः हामीले कोरा कुरा मात्र गरेर हुँदैन । सिद्धान्तका मीठा कुराले मात्रै पेट भरिँदैन । अतः सबैलाई कसरी स्थानीय वस्तुस्थितिअनुसार आर्थिक उपार्जनको काममा जुट्न वा जुटाउन सकिन्छ । त्यसमा ध्यान दिनुपर्छ । खासगरी निम्न वर्ग–स्रोतबाट आएका कार्यकर्तालाई ‘आत्मनिर्भर’ बनाउन साझा सहकारी उत्पादनतर्फ आकर्षित गर्नुपर्छ । अबको स्थितिमा आधारभूत वर्ग र तहबाट आएका कार्यकर्ता पंक्तिलाई आफ्नै खुट्टामा उभिएर पार्टी कामको वातावरण बनाउन राजनीतिक र उत्पादनको कार्यलाई सँगै लाने नीति र योजना बनाउनु जरुरी छ । पार्टी काम गर्दा श्रम, मितव्ययिता र उत्पादनशील कामबारे हामीले प्रशिक्षण गरेनौं भने ‘जहाँबाट जसरी पनि स्वार्थ जुटाउने प्रवृत्तिले प्रोत्साहन पाउँछ । त्यसले राम्रो आचरण र चरित्रलाई गम्भीर प्रभाव पार्न सक्छ । त्यसले श्रमप्रतिको हाम्रो दृष्टिकोणलाई नेकपा सचिवालयको आचारसंहितालाई जस्ताको त्यस्तै कार्यान्वयन गरौं ।
४. कार्यशैली तथा संघर्ष सम्बन्धमा
जनताको जनवादमार्फत समाजवादमा जाने पार्टीको उद्देश्य र कार्यनीतिप्रति प्रतिबद्ध रहँदै पार्टीको सबै राजनीतिक, संगठनात्मक कार्यनीति र शैली त्यसैअनुरूप बनाउनुपर्ने, अहिले पार्टी आफ्नो आधारभूत नीतिबाट विचलित हुन खोजेको, त्यसलाई बिर्सन खोजेको, त्यसलाई खोपीको देवता बनाउन खोजेको, आ–आफ्ना सीमित स्वार्थअनुरूप व्याख्या हुन थालेको र पार्टीको हमेसाको चिन्ता नै राजनीतिक स्वार्थतर्फ केन्द्रित हुन थालेको, जनताका आधारभूत तहका जनताको समस्या, माग र सम्वेदनशीलताप्रति उदासीन देखिएको छ । त्यसले वर्ग–संघर्ष जनदबाब र आन्दोलनभन्दा कार्यकर्ता पनि भनसुन, चाकडी, चाप्लुसी, नैतिक आचरणको साहरा लिने प्रवृत्ति बढेको छ । आग्रह अभिप्रेरित गरेर भन्दा दबाब, धम्की दिएर आफ्नो स्वार्थ लाद्ने प्रवृत्ति विकास भएको छ । हरक्षेत्रबाट यस्ता प्रकृतिलाई निरुत्साहित बनाउनुपर्छ । आधारभूत जनतालाई वर्गसंघर्षमार्फत हरक्षेत्रमा जनताको विजय हासिल गर्ने प्रक्रियामा जानुपर्छ । अर्थात् संघर्षलाई पार्टी कामको केन्द्र बनाइनुपर्छ । पार्टीमा अहिले पनि वर्गीय तथा उत्पीडित समुदायका कार्यकर्ताहरूको ठूलो हिस्सा रहेको छ । यो वर्ग समुदायको हाम्रो पार्टीमाथि ठूलो विश्वास रहँदै आएको छ । तर, हामीले तिनीहरूलाई उत्पादन, संरक्षण, परिचालन तथा मूल्यांकनको परिपाटी बनाउन सकेका छैनौं । अन्याथा यो वर्ग समुदाय विभिन्न बहानामा हामीबाट क्रमशः टाढिँदै जाने खतरा हुनेछ । त्यसैले, हामीले त्यसतर्फ ध्यान पु¥याउन सक्नुपर्छ । त्यसैले मितव्ययिता र सादा जीवन पार्टीको आदर्श हो । अहिलेको विश्वव्यापीकरण तथा अन्य सामयीक परिस्थितिका कारण हाम्रा जीवन पद्धतिहरूमा तडकभडक बढ्दै गएको छ । यो प्रवृत्ति हाम्रा पार्टी नेता तथा कार्यकर्ताहरूमा र पार्टीका सार्वजनिक कार्यक्रमहरूमा समेत हाबी हँुदै गएको छ । विशेषगरी कार्यक्रमहरूमा व्यापक खर्च गर्नेलगायत प्रवृत्तिले पार्टीका सबै तहका सबै भूगोलका कमरेडहरूलाई असजिलो भएकोप्रति पार्टीले समयमै ध्यान दिऔं ।
५. पार्टी अनुशासनको सम्बन्धमा
हाम्रो पार्टीभित्र सबैभन्दा नराम्ररी तहसनहस भएको विषय भनेको अनुशासनको क्षेत्र हो । पार्टी विधानको प्रस्तावनामा ‘यो पार्टी जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तका आधारमा लोकतान्त्रिक ढंगले सञ्चालित हुँदै आएको छ’ भनिएको छ । जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको नेपाली कम्युनिस्ट आन्दोलनका अनुभवहरूमाथि उभिएर व्यवस्थित एवं सटीक व्याख्या पनि हामीले पटकपटक गरिसकेका छौ । जनवाद र केन्द्रीयता दुईवटा अलग–अलग पक्ष हुन् । जनवादले विचार निर्माणको चरण वा पार्टी कमिटीहरूमा कुनै विषय टुंगोमा वा निर्णयमा पुग्नुभन्दा अगाडि पूर्ण स्वतन्त्रतापूर्वक बहस र छलफल गर्न पाउने अधिकारको पक्षलाई जाहेर गर्छ भने केन्द्रीयताले त्यसरी गरिएका निर्णयहरूको कार्यान्वयनमा एकरूपता, अभिव्यक्ति र सम्प्रेषणमा एकरूपता र एउटै भाषाको वा कर्तव्यको पक्षलाई जाहेर गर्छ । यसरी मात्रै पार्टीको सैद्धान्तिक अवधारणाहरूलाई, विचार शृंलाहरू र निर्णयहरूलाई स्थापित गर्न एवं तिनीहरूको आलोक वा मार्गनिर्देशनमा सिंगो पार्टी र आमजनता तथा समाजलाई तोकिएको लक्ष्य प्राप्तिको दिशामा अघि बढाउन सकिन्छ । राजनीतिक पार्टी अझ कम्युनिस्ट पार्टी सञ्चालनको सन्दर्भमा आजसम्मको इतिहासमा यो निर्विकल्प सिद्धान्त हो । जसले सिद्धान्त, विचार र निर्णय निर्माणको प्रक्रियाबाट हामीले नै निर्माण, विकास र स्थापित गरेका विधि, पद्धति र प्रक्रियाबाटै अघि बढ्ने र स्थापित हुने त हुन् । त्यसैले, हाम्रो मनोगत आग्रह, व्यक्तिगत इच्छाआकांक्षाभन्दा वस्तुगत यथार्थता र समय कैयौं गुणा बलवान् हुन्छ । त्यसैको प्रवाहमा हामी बहनुपर्छ । अहिले निश्चित छानिएका व्यक्तिहरू नेतृत्व र राजकीय सुविधामा रहेका छन् । यो वा त्यो अवसरमा पनि पटकपटक पुगेका छौं । निरन्तर पार्टी र आन्दोलनमा लागिरहेका, अहिले पनि अनेकौं पीडा भोगिरहेका र अवसर कहिल्यै नपाएका हजारौं कार्यकर्ताहरूले आफ्नो जीवनमा कुनै परिवर्तन देख्न सकेनन् र पार्टी र कम्युनिस्ट सरकारप्रतिको स्वामित्व गुमाउन पुगे भने परिणाम सोचनीय गम्भीर हुन सक्छ । त्यसैले उक्त पाँचवटा काममा गम्भीरतापूर्वक लिएर हरेक पार्टी सदस्यहरूले सदस्यको हैसियतमा हरेकको अधिकार उस्तै हो भन्ने भाव व्यवहारमै झल्कने गरी नयाँ युगललाई जनताको युग बनाउन सबै लागौं ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply