नेकपाको भूमिका र व्यवस्थापनका चुनौतीहरू
पृष्ठभूमि
सन् १९१७ मा कमरेड लेलिनको नेतृत्वमा रुसमा सफल अक्टोबर क्रान्ति सम्पन्न भयो । सन् १७८९ को फ्रान्सेली क्रान्तिबाट पनि दुनियाँमा क्रान्तिको उदविकास भइसकेको थियो । श्रमिक तथा मजदुर वर्गबाट आन्दोलनको सूत्रपात भएको थियो । सन् १९४९ मा चीनमा नव जनवादी क्रान्ति सम्पन्न भयो । जसको नेतृत्व कमरेड माओले लिएका थिए । यसरी विश्व कम्युनिस्ट आन्दोलनको प्रभाव तथा नेपाली समाजको आवश्यकताले नेपालमा पनि कम्युनिस्ट पार्टीको गठन गरिएको थियो । नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलको चर्चा गर्दा सन् १९४९ अप्रिल २२ मा कमरेड पुष्पलालको नेतृत्वमा चारजना संस्थापक सदस्य भएर कम्युनिस्ट पार्टीको गठन गरिएको थियो । तर, कतिपयले पाँजजना रहेका थिए पनि भन्ने गरेका छन् । नेकपा स्थापनाका प्रेरणाका स्रोतव्यक्तिमा भारतका रत्नलाल ब्राह्मणलगायत थिए भनिन्छ । कम्युनिस्ट पार्टीको गठन भएयता नेपाली राजनीतिमा विभिन्न घटना र परिघटनाहरू, आन्दोलन तथा संघर्षहरू भए र गरिए ।
राजनीतिक क्रान्ति र कम्युनिस्ट पार्टी
नेपाली समाजमा अर्काे क्रान्ति महिला योगमाया न्यौपानेले विधवा विवाहलगायतका समाज सुधारका विषय ल्याएर जुद्ध शमशेरलाई चेतावनी दिन थालेकी थिइन् । जसको नेतृत्वमा ६३ जनाले खोलामा समाधि भई विद्रोह गरेको इतिहासको अध्ययनबाट देखिन्छ । राजनीतिक आन्दोलनको कुरा गर्दा सन् १९३५ मा नेपाली छात्र संघको गठन भएको थियो । सोही वर्ष चर्खा आन्दोलन भएको थियो । सन् १९३६ मा नेपाल प्रजा परिषद्को गठन भएको थियो । संवत् १९९७ मा राणाशासनविरुद्ध पर्चा वितरण भएको थियो । जसमा ५ सयभन्दा बढीको गिरफ्तार भएको इतिहासमा उल्लेख गरिएको पाइन्छ । सन् १९४६ मा अखिल भारतीय नेपाली कांग्रेसको गठन भएको थियो भने सन् १९४७ मा त्यसको नाम नेपाली कांग्रेस बनाइएको थियो । २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन भएको थियो । २००४ सालमा तीनधारा संस्कृत पाठशालमा विद्यार्थीको आन्दोलन भएको थियो । नेपाली कांग्रेस २००६ चैत २७ गते गठन भएको थियो । २००६ सालमा राणा शासनविरुद्ध कम्युनिस्ट पार्टीले पर्चा छर्ने कामसमेत गरेको थियो । त्यसपछि मजदुर संघ गठन भएको थियो । र, पार्टीले जनसंगठनको गठन गरेको थियो ।
शासन सत्ता र वर्तमान भूमिका
विभिन्न राजनीतिक उतारचढाव, दमन र संघर्षबाट अघि बढेको कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस मिलेर सन् १९९० मा नेपालमा दलीय व्यवस्था मागको राजनीतिक आन्दोलन भएको थियो । त्यसको बलमा बहुदल प्राप्त भयो । त्यसपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका महासचिव जननेता मदनकुमार भण्डारीले पार्टीको पाँचौं राष्ट्रिय अधिवेशनमा जनताको बहुदलीय जनवादको (जबज) कार्यक्रम ल्याउनुभयो । सो नीतिमा विधिको शासन, निर्वाचनमार्फत शासन सत्तामा जाने र प्रगतिशील काम गर्ने, संविधानवाद, स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस, मानवअधिकारजस्ता कुराहरू उल्लेख गरिएका थिए । त्यसपछि भएका विभिन्न निर्वाचनमार्फत कम्युनिस्ट पार्टी पटकपटक सत्तामा गएको थियो र प्रगतिशील सुधार एवं सामाजिक परिवर्तनका थुप्रै काम ग¥यो । सन् १९९५ मा भएको निर्वाचनबाट निर्वाचित तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा व्यापक सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सुधार र परिवर्तनका कार्यहरू प्रारम्भ गरिए । त्यसपछिको अवधिमा नेपालमा कम्युनिस्ट पार्टीको राजनीतिक तथा सामाजिक भूमिका र सत्तामा समेत निर्णायक हैसियत रहँदै आएको छ ।
वर्तमानका राजनीतिक चुनौतीहरू
वर्तमानमा तत्कालीन नेकपा एमाले र माओवादीको एकीकरणपछि भएका निर्वाचनमा नेपाली जनताले कम्युनिस्ट पार्टीलाई अपार र ऐतिहासिक समर्थन र सहयोग गरेका छन् । जनताको यस्तो अपार राजनीतिक समर्थन रहेको वर्तमान अवस्थामा कम्युनिस्ट पार्टीको अघिल्तिर विभिन्न प्रकारका चुनौतीसमेत आइरहेका छन् । युवापंक्तिलाई आकर्षित गरी सामाजिक परिवर्तनको मोर्चामा अग्रसर बनाउनु प्रमुख चुनौती भएको छ । शासन सत्तामार्फत जनमुखी र नेपालको समग्र पक्षमा समृद्धि उन्मुख बनाएर जनताको मत, मनमा विश्वास जित्नु अर्काे आधारभूत चुनौती भएको देखिन्छ । यसबाहेक पनि चुप्रै चुनौती छन् । जसरी सरगमाथामा पाइला टेक्न वा उक्लन कठिन हुन्छ । र, त्यहाँ अडिन झन् कठिन हुन्छ भने सुरक्षित फर्कन त्यत्तिकै कठिन हुन्छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक साख र विश्वास जोगाउँदै नेपालको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्र एवं पक्षमा प्रगतिशील सुधार गर्नु झन कठिन रहेको छ । नेपाली समाजमा एकातिर उग्रपन्थी राजनीतिक विचारधारा र प्रभाव रहेको छ भने अर्काेतर्फ यथास्थितिवादी धार रहेको छ । उग्रवादी खालको धारले आजै सबै क्षेत्रमा आमूल परिवर्तनको माग गर्ने गर्छ भने यथास्थितिवादी धारले जेजस्तो वातावरण र अवस्था छ ठिकै छ, किन सुधार गर्नु भन्ने मत राख्छ । त्यसको अतिरिक्त नेपाली राजनीतिमा प्रतिगामी धारसमेत रहेको छ । प्रतिगामी धार कहिलेकाहीँ नेकपाभित्रैका व्यक्ति, समूह वा नेतामा समेत देखिने गरेको पाइन्छ । यस्तो धार कहिले हिन्दु धर्मको नाममा आउँछ, कहिले राजा चाहियो भन्ने नाममा भड्किन्छ र कहिले संघीयता आवश्यक हुँदैन भन्ने नाममा प्रकट हुन्छ । यस्ता प्रतिगामी धारको कुनै राजनीतिक आधार र अर्थ छैन । तर पनि सबै खालका विचार र धारलाई आवश्यकताअनुसार सन्तुलन गरी नेपाली राजनीतिलाई अग्रगमन र अधिकतम प्रगतिशील सुधारको दिशामा अघि बढाउनुको विकल्प छैन । समाजमा रहेका सबै विचार र धारणालाई स्थापित विधि र मान्यता तथा मूल्यका आधारमा राजनीतिक र बौद्धिक बहसमार्फत अग्रगमनको बाटो समाउनु सत्तासीन पार्टीका लागि प्रमुख राजनीतिक चुनौती भएको छ ।
आन्तरिक व्यवस्थापनको चुनौती
कम्युनिस्ट पार्टी एकीकरण भएको छ र हुँदै पनि छ । वैधानिक र प्राविधिक दृष्टिकोणले विश्लेषण गर्दा नेकपा एक भएको जस्तो देखिए पनि यसका आन्तरिक राजनीतिक, सांगठनिक, वैचारिकलगायत थुप्रै व्यवस्थापनसँग सम्बन्धित विषय समायोजन र संतुलन गर्नुपर्ने अवस्था रहेको छ । कतिपय अवस्थामा संगठनको प्राविधिक एकता मात्र भएको जस्तो पनि देखिन्छ । तर भावनात्मक र वैचारिक एकता हुन पाएको छैन । अर्काे मूल पक्ष भनेको एकताका नाममा राजनीतिक आन्दोलन, भूमिका र इतिहास भएका मानिसहरूलाई अपमानित हुनुपर्ने र खुम्चिनुपर्ने बाध्यता सिर्जना गरिएको छ । यसले संगठनमा गतिशीलता र ऊर्जा दिन सक्दैन । बरु, त्यसको उल्टो निराशा, पलायन तथा निष्क्रियता ल्याउने खतरा देखिँदैछ । यसको समग्र व्यवस्थापन र सन्तुलन गर्नु आजको प्रमुख चुनौती हो ।
निष्कर्ष
वर्तमान नेपालको राजनीतिक, सामाजिक तथा वैचारिक आयाम र पक्षबाट विश्लेषण गर्दा नेपाल कम्युनिस्ट पार्टी ‘दाइँको मियो’ जस्तै बनेको छ । नेकपाबाहेकको अन्य राजनीतिक शक्ति यही मियोको वरिपरि घुमिरहेका छन् । नेकपाले के भन्छ र के गर्छ ? वा यसको वैचारिक सांगठानिक क्रियाकलाप र विचारधारा कसरी अगाडि बढ्छ र बढ्ला ? भन्दै त्यसैको प्रतिक्रिया दिने काममा सबैजसो दल र समूह लागिपरेका छन् । केही समूह जताबाट पनि नेकपालाई छिर्के हान्ने र अराजनीतिक तथा अमर्यादित तरिकाले गाली गर्ने एवं आक्षेप लगाउने तहमा समेत ओर्लिएका छन् । यस्तो सलबलाहट बढ्नुको मूल र प्रमुख कारण भनेको पनि नेकपाको सांगठनिक, वैचारिक, राजनीतिक व्यवस्थापनमा तालमेल नमिलेरै हो । संगठनमा लामो इतिहास र भूमिका भएका मान्छेहरू राजनीतिक र वैचारिक दृष्टिकोणले सक्रिय बन्ने वातावरण नभएकाले यस्ता गैरराजनीतिक र हुर्दुङ्गाहरूले नेकपा र यसको विचारधारालाई विभिन्न कोण वा दिशाबाट आक्रमण गरी रहेका छन् । नेकपाको एकतामा तालमेल र सन्तुलन नमिलेको कारण यस्तो भइरहेको स्पष्ट छ । एकताका नाममा राजनीतिक, वैचारिक, सांगठनिक र आन्तरिक व्यवस्थापनका काम ठप्प बन्दा यसको प्रभाव नेपाली राजनीतिमा परेको देखिन्छ । नेकपाको आन्तरिक राजनीतिक र वैचारिक व्यवस्थापन हुने र गर्ने हो भने नेपाली राजनीतिको मियो दल र विचारलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ । पार्टीमा सबैको राजनीतिक सम्मान हुने हो भने यसको सुन्दर राजनीतिक र वैचारिक तरंग नेपाली समाज र राजनीतिमा फेरि पनि देखिनेछ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply