मूल्यको राजनीति हराएकै हो त ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा फालेको राजनीतिक अस्त्रबाट स्वमय् प्रधानमन्त्री पार्टी भित्र झनै अविस्वासको भूँमरीमा फस्दै जानुभएको छ । नेपाली समाजमा यदाकता देखिने एउटा ढँटुवा र छट्टु उदाहरण वा दृष्तान्तबाट यसलाई हेरौं–‘आफन्त नभएको र समयमा विवाह नभएको कसैको घरमा काम गरी बस्नेलाई मालिकले आउने मंसिरमा विवाह गरी दिन्छु भन्दै बर्खाको काम लगाउने र मंसिरको बाली भित्राउने गर्दछ ।’ ‘त्यसपछि मंसिर आउँछ । केटी हेरेजस्तो पनि गरिन्छ । र, पछि ग्रहदशा आदि मिलेन भन्दै केही समय अलमल गरिन्छ । अनि अब बैशाखमा विवाह गर्ने भन्दै फेरि बाँकी महिना काममा जोताइन्छ । र, बैशाख आएपछि अन्टसन्ट बहाना बनाएर पुन ः मंसिरमा विवाह हुने भाखा सारिन्छ ।’ हो यस्तै नियती, सोच, चिन्तन र कार्यशैलीबाट नेकपाको बैठकमा सबै दृष्टिकोणले असम्भव महाधिवेशनको चर्चा गर्ने काम भएको छ ।
बैठक–बैठक र बैठकको गोलचक्करमा नेपाली राजनीतिकको मूल प्रवृत्ति लामो समय देखि फसेको थियो र त्यो प्रक्रियाले फेरि अर्काे चक्कल काट्ने देखिन्छ । बैठक (मिटिङ) साझा, सामुहिक तथा विधिसम्मत्त धारणा तथा निर्णय गर्नको लागि अत्यावश्यक विषय भएपनि त्यसको मर्म र अर्थ नै ध्वस्त हुनेगरी बैठकै–बैठकको गोलचक्करबाट मुलुक संचालित भईरहेको छ । राजनीतिक पार्टी देखि राज्यका विभिन्न निकायमा हुने बैठक केवल बैठक र भत्ताको लागि वा ‘बैठक बस्न’ को लागि बस्ने गरिएको जस्तो देखिएको छ । बैठक गर्ने, बैठकमा कुरा राख्ने र केही ठोस निर्णय नगर्ने संस्कृति हाम्रो राजनीतिमा हावी भयो । मुलुकको ठूलो र सर्वाधिक जनता र नागरिकहरूले आशा र भरोसा गरेको पार्टीमा यस्तो उधारो भाखाको चक्रै–चक्र भएपछि जनताले के आशा गर्ने प्र्रश्न उब्जेको छ । यो प्रक्रिया र तरिकाले राजनीतिक विस्वास आर्जन गर्न सकिन्छ ? पार्टीको स्थायी समितिलाई निकम्मा बनाउने सोचले स्वयम् पार्टी अध्यक्षको साख जोगिएला ? यो सोचनिय प्रश्न हो ।
नेकपा गठन भएदेखिनै बैठक र बैठकको श्रृंखला चल्दै आएको थियो र त्यो आजपनि चालू नै रहेको छ । बैठकबाट पार्टीका विस्वासको वातावरण सिर्जित हुनुपर्नेमा त्यो कुरा नै ध्वस्त हुनपुग्यो । समस्याहरूको समाधान, विधिसम्मत्त प्रणालीको व्यवस्थापन, राज्य र संगठनको सुधार जस्ता कुरामा ठोस निर्णय गर्ने र त्यसलाई निश्चित विधि र निष्कर्षमा लैजाने कुराहरूको संस्कृति र संस्कारनै खतम गरियो । बैठक समस्या समाधान तथा विधि र प्रक्रियालाई स्थापित गर्न गर्नु पर्नेमा ‘निर्णय नगर्ने र बैठकको नाममा समयको बर्वादी’ गर्ने काम हुँदै आएको छ । यसपालीको सचिवालय बैठकमा पनि यस्तै गोल–चक्कर काट्ने तरिका मात्र गरियो ।
मुलुक लकडाउनबाट मुक्त हुँदैछ । पार्टीको पोलिटव्यूरो, विभिन्न निकाय, विभाग आदिको एकीकरण सम्पन्न भएका छैनन् । कोरोनाको नाममा गरिएको लामो लकडाउनले अर्थतन्त्र जर्जर भएको छ । मानिसहरू बाँच्नको लागि धौं–धौं को अवस्था पुगेका छन् । अधिकांश पेशा र व्यवसायमा कोरोनाको दीर्घकालीन असर र प्रभाव परेको छ । उता सक्ताशीन पार्टीका कुनै पनि कमिटीका बैठक, भेला, सम्मेलन, छलफल, विचार–विमर्श, अन्तरक्रिया जस्ता कुरा इतिहासका कुरा मात्र भएका छन् । आज पार्टीको आन्तरिक जीवनमा उत्साहको अवस्था र वातावरण कतै छैन् । कुनै पनि कमिटीको बैठक नै हुँदैनन् । पार्टी कमिटीमै रहेकाहरूलाई आफ्नो कमिटीमा को–को रहेका छन् भन्ने जानकारी र सूचना समेत छैन् । विगतमा नेकपा एमालेमा कमिटीमा रहेका कतिपयलाई विना सूचना र आफूखुसी हटाईएका छन् । ७ लाख भन्दा बढी संगठित र सक्रिय सदस्य भएको पार्टीका सदस्यहरू ‘खिया लागेका हंसिया’ जस्ता भएका छन् । यस्तो अवस्थामा पार्टीको महाधिवेशन मंसिरमा गर्ने भन्ने कुरा उही माथिको उदाहरणमा भनिए जस्तो विवाह नभएको कामदारलाई विवाहको लोभ र आश देखाएर फेरि केही महिना श्रमको शोषण गर्ने र आफू मालिक भएर काम खाने नियत बाहेक केही होइन ।
पद्धत्ति, प्रणाली र राजनीतिक नैतिकता कता हरायो ?
पार्टी भनेको के हो र किन गठन गरिन्छन् भन्ने कुरानै भ्रमपूर्ण र अविस्वासी बनाईयो । विगतमा नेकपा माओवादीमा चार हजार सदस्यीय केन्द्रीय कमिटी संचालित रहेको थियो । जसको कुनै अर्थ र तुक थिएन । त्यो कसरी संचालित रहेको थियो कसैलाई थाह थिएन । आज ‘एकीकृत हुँदै रहेको’ नेकपामा त्यस्तै प्रकारको रोग लाग्न थालेको देखिन्छ । राजनीतिक पार्टी निश्चित सिद्धान्त, विचार, संगठन, कार्यक्रम, उद्देश्य, लक्ष्य आदिको आधारमा चल्दछन् भन्ने मानिन्छ । तर नेकपा गठन भएदेखिनै दुई जना ‘पाईलट’ले आफूखुसी निजी स्वार्थको कामलाई नै पार्टीको ‘एकता’ भनियो र सोही अर्थ लगाईयो । विधि र प्रणाली खलबल हुने तरिकाबाट पार्टी अघि बढ्यो । कुनै निश्चित सिद्धान्त, मान्यता, विचार, दर्शन, बहस, आधार, तर्क, बस्तुगत अवस्था, कमिटी प्रणाली, कमिटीको बृहत् निर्णय र वैधानिकताको आधारमा पार्टीले निर्णय गर्दै अघि बढ्नु पर्नेमा आफूहरूको निजी हित र स्वार्थ कुन–कुन कुरामा मिल्छ र जोड–घटाउ कहाँ–कहाँ मिल्न सक्छ भन्ने नित्तान्त संकीर्ण र प्राविधिक सोचबाट एकताको सूत्रपात गरिएछ भन्ने कुरा आजका ‘चक्रीय बैठक’ र व्यवहारहरूबाट छर्लङ्ग भएका छन् । पार्टीको आदर्श, मूल्य, मान्यता, विचार, सिद्धान्त एकातिर बैठक र निर्णय अर्काेतिर भएका छन् ।
अबको परिदृष्य अनुमान गर्दा पार्टीको पूर्ण एकीकरण तथा आगामी महाधिवेशनको लागि भन्दै विभिन्न प्रकारको राजनीतिक छलफल गरे जस्तो गर्दै समयहरू वित्नेछन् । कोरोना, बाढी पहिरो, लकडाउन पूर्ण रूपमा खुलाउने र अर्थतन्त्र चलायमान बनाउने भन्ने नारा बढी विक्री गरिनेछ । कोरोना र दशैं–तिहार आदिका कारण आवश्यक तयारीको लागि पर्याप्त समयको अभाव जस्ता कुरा भएको र काम गर्न नदिएको आरोप–प्रत्यारोपमै मंसिर आउनेछ । यस्तोमा अवस्था आएको भन्दै पुन ः आगामी २०७८ बैशाख तिर महाधिवेशन गर्ने भन्दै मिति र भाखा सार्ने काम हुनेछन् । त्यसको लागि फेरि बैठक र बैठकको गोलचक्कर हुनेछन् । यसरी एकता, महाधिवेशन, कोरोना, भन्दै मानिसलाई अलमलाउने कलामा निपूर्ण हुुनुभएका पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई यस्तो ढँटुवा चक्करमा थप अनुभव प्राप्त हुने देखिन्छ ।
दशकौंदेखि कम्युनिष्ट पार्टी भन्दै आफ्नो रगत–पसिना बगाएर आएका नेता–कार्यकर्तामा चरम निराशा र गतिहीनता देखिनेछ । मुलुकको एक नम्बरको पार्टीमा यस्तो अवस्था आउनु भनेको गणतान्त्रिक प्रणाली, दलीय व्यवस्था र पार्टीलाई नै उर्जा नदिने हर्कत हुन पुग्नेछ । जस्तोसुकै अवस्था भएपनि त्यसको जिम्मा कसैले लिनु नपर्ने र नलिने अवस्था आउने देखिन्छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव–झलनाथको समूहले काम गर्न दिएन भन्नुहुनेछ । पार्टी र सरकार आरोप–प्रत्यारोपको चक्कर गर्दै बैठकको गोलचक्करबाट अघि बढ्ने संकेत देखिएको छ । विवाह नभएको मानिसलाई मालिकले भाखा सार्दै काममा लगाएर आफू मोजले खाने दाउ गरे जस्तै नेकपामा प्रधानमन्त्री केपी ओलीज्यूले भाखै–भाखाको उधारो सौदा गर्दै जाने र उधारै राजनीति नेपालमा हावी भएको अवस्था अझै लामो समय चल्नेछ । यसबाट गणतन्त्र, विकास, समृद्धि, सुशासन, सुरक्षा, शान्ति जस्ता आकांक्षा राखेर नेकपाको एकतालाई सहर्ष स्वीकार गरेका नेपाली जनता माथि एक प्रकारले राजनीतिक धोका सिवाह केही मिल्ने देखिन्न । बैठक–बैठक र बैठक हुने, बैठकको प्रमुख निर्णय अर्काे बैठकको मिति तय गरी समाप्त हुने संस्कार र संस्कृतिबाट हामीले के शिक्षा लिन र दिन खोजेका हों ? मुलुकलाई कस्तो राजनीतिक पार्टी बनाउन खोजेका हौं ? देशलाई कुन दिशातर्फ लैजान खोजेका हौं ? उधारै–उधारो सौदा र भाखै–भाखा सार्दै कता जान खोज्दैछौं ? यो गम्भीर सवाल आज जन्मिएको छ । नेपाली राजनीतिमा जनताले विस्वास गर्ने र आशा गर्ने वातावरण साँच्चै हराएकै हो त ? विवाहको आशा र लोभ देखाएर नोकरलाई खेत जोताउन पल्केको मालिकले जस्तै प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओलीज्यूले नेता–कार्र्यकर्ता र जनतालाई उधारो भाखा सार्दै सित्तैमा राजनीतिक खेत जोताउन त खोज्नुभएको होइन ? नेकपामा मूल्यको राजनीति हराएकै हो त ?
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply