डेढ अर्ब राजस्व डुबाउँदै मन्त्री भट्ट
काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टल राज्यले पाउनुपर्ने भारी राजस्व छुट गरेर व्यापारी पोस्ने खेल खेलेका छन् । व्यापारीसँग नाजायज फाइदा लिएर उनले करिब डेढ अर्ब राजस्व डुबाउन खोजेको बताइएको छ । मन्त्री भट्टले ब्याकडोरबाट फाइदा लिएर एक अर्ब २६ करोड रूपैंया सिमेन्ट कम्पनीहरूलाई मिनाहा गर्न दबाब दिएको स्रोतको दाबी छ ।
उनले व्यापारीको पक्ष लिँदा मन्त्रालयका कर्मचारीहरू पनि अन्योलमा परेका छन् । पटकपटक विवादमा आएका मन्त्री भट्टले मन्त्री खानी दोहन गर्ने सिमेन्ट उद्योगबाट असुल गर्नुपर्ने जरिवाना छुट दिनेगरी निर्देशन दिएको बताइएको छ । देशका विभिन्न स्थानमा सञ्चालित नौवटा सिमेन्ट उद्योगहरूले खानी दोहन गरी निर्धारित परिमाणभन्दा धेरै चुनढुंगा निकालेका भन्दै खानी तथा भूगर्भ विभागले कारबाहीको सिफारिस गरेको थियो । स्थानीयले समेत ती उद्योगहरूलाई कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । तर, उद्योगमन्त्री भट्टले कारबाहीको सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन नगर्नेगरी निर्देशन दिएर सिमेन्ट उद्योगलाई उन्मुक्ति दिएका हुन् । अधिक खानी उत्खनन गर्ने कम्पनीहरूमा देशका नाम चलेका ठूलो सिमेन्ट कम्पनीहरू नै छन् । अधिक उत्पादन गरेबापत यी कम्पनीबाट जरिवाना असुल्न विभागले सिफारिस गरेको थियो । कारबाहीका लागि विभागले सिफारिस गरेका सिमेन्ट कम्पनीहरूमा मारुती सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, डोलोमाइट चुनढुंगा प्रालि, सोनापुर मिनरल्स एन्ड आयल प्रालि, अन्नपूर्ण क्वारिज प्रालि, युनाइटेड सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कञ्चन क्वेरिज छन् ।
यी सिमेन्ट उद्योगहरूले सरकारबाट लिएको अनुमतिभन्दा अधिक मात्रामा उत्पादन गरेका कारण राज्यकोषलाई एक अर्ब २६ करोड १९ लाख ४८ हजार रुपैयाँ नोक्सानी पुगेको विभागले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम असुल गर्नुपर्ने विभागले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा अधिक मात्रामा खानी उत्खनन गर्ने सातवटा कम्पनी थिए । आव ०७६÷७७ मा २ वटा कम्पनीले तोकिएभन्दा बढी खानी उत्खनन गरेका विभागको प्रतिवेदनमा उल्लेख छ ।
विभागले कारबाही गर्न भनेका सिमेन्ट उद्योगहरूलाई जोगाउन मन्त्री भट्टले जोगाएका छन् । गत ७ पुस २०७६ को मन्त्रीस्तरीय बैठकको निर्णय भनी प्रतिवेदन कार्यान्वयन नगर्नु भन्ने आशयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले च.नं. १५७२ को पत्रमार्फत ७ पुस ०७६ मा विभागलाई निर्देशन दिएको खुलासा भएको हो । मन्त्रीले नै निर्णय गरी निर्देशन दिएपछि विभागले खानी दोहन गर्ने ती सिमेन्ट उद्योगमाथि कारबाही गर्न सकेको छैन । यसअघिका उद्योगमन्त्री मातृका यादवले ती उद्योगीहरूलाई कारबाही गर्न खोजेका थिए । तर, यसबीचमै उनी हटेर मन्त्री भट्ट गएपछि व्यापारीहरूले मन्त्रीसँग लाइन मिलाएको बताइएको छ । सिमेन्ट कम्पनीहरूले जरिवानाबापत बुझाउनुपर्ने रकम तोकेरै विभागले प्रतिवेदन तयार गरे पनि मन्त्री भट्टको निर्देशनपछि प्रतिवेदन कार्यान्वयन हुन नसकेको विभागका अधिकारीले नाम नबताउने सर्तमा जानकारी दिए । सिमेन्ट कम्पनीहरूलाई कारबाहीबाट रोक्न व्यापक रूपमा आर्थिक चलखेल भएको विभाग स्रोतले जानकारी दिएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनमा खानी दोहन गर्ने सिमेन्ट उद्योग र तिनबाट असुल गर्नुपर्ने जरिवानासमेत उल्लेख छ । जसमा मारुती सिमेन्ट लिमिटेड बाट २० करोड ५० लाख ६५ हजार, सिद्धार्थ मिनरल्स प्रालिबाट ४९ करोड ४५ लाख ५१ हजार, उदयपुर मिनरल्स टेक प्रालिबाट एक करोड ७९ लाख ७१ हजार, डोलोमाइट चुनढुंगा प्रालिबाट ५ करोड ४३ लाख २१ हजार उल्लेख गरिएको छ । यसैगरी सोनापुर मिनरल्स एन्ड आयल प्रालिबाट ६ करोड ९८ लाख ९९ हजार, अन्नपूर्ण क्वारिज प्रालिबाट १६ करोड ६८ लाख ५ हजार, युनाइटेड सिमेन्टबाट ९ करोड ६९ लाख ४० हजार, सर्वोत्तम सिमेन्टबाट १२ करोड ५५ लाख २४ हजार र कञ्चन क्वेरिजबाट ३ करोड ८ लाख ६९ हजार रुपैंया रहेको उल्लेख छ । जरिवाना नतिरे लाइसेन्स रद्द गर्नेलगायत कारबाहीसमेत हुन सक्ने बताइन्छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply