जीवजन्तुको बेग्लै संसार
आज मानव जाति पर्यावरणीय संकटका मोडहरूबीच गुज्रिरहेको छ । पछिल्लो केही दशकयता, ग्रिनहाउस ग्यासको उत्सर्जन, ओजोन तहमा क्षति र मौसममा आएको अकल्पनीय परिवर्तनका कारण विश्व समुदाय नै चिन्ताको चौधेरामा उभिएको छ । जलवायु परिवर्तनको असरको कारण उत्पन्न बाढी, पहिरो, खडेरी, अतिवृष्टि, लु, शीतलहरजस्ता प्राकृतिक विपत्तिको सामना गर्न मानव समुदाय बाध्य छन् । बढ्दो पर्यावरणीय संकटका कारण मानिसहरू चिन्तित त छन् नै, तर पर्यावरणमा देखिएको संकटले संसारका अनेक जीवजन्तुहरू कतै लोप हुने त होइनन् ? यसको तिखो असर जीवजन्तु र पक्षीहरूले कसरी बेहोरिरहेका होलान् ?
यो विषयका साथै जीवजन्तु एवं पक्षीहरूका अनौठा पक्षहरूबारे ददि सापकोटाले एउटा सार्थक र पठनीय कृति लेखेका छन्– ‘वनको वैभव’ । हामीले सुन्दै आएका छौं– पशुपक्षीहरूलाई भूकम्पको पूर्वानुमान हुन्छ । तर, सापकोटाले भने विश्वका विभिन्न भागमा भूकम्प जानुपूर्व त्यो थलोमा बसोवास गर्ने पशुपक्षीहरूले देखाएका अनौठा व्यवहारहरूको फेहरिस्त पेस गर्नुका साथै भूकम्प जानुपूर्व पशुपक्षीले देखाएको संकेतबारे वैज्ञानिकहरूले पनि पुष्टि गरेको कुरालाई लिपिबद्ध गरेका छन् । एउटा उदाहरण हेरौं, ‘वैज्ञानिकहरूले मध्य इटालीको लाक्वुला भन्ने ठाउँमा कमन टोड भन्ने भ्यागुताहरूको अनुसन्धान गरेका थिए । त्यो अनुसन्धानबाट पत्ता लगाए कि प्रजननकालमा समेत करिब ९६ प्रतिशत भालेहरूले भूकम्प जानु पाँच मिनेटपहिले पोथीहरू छाडेर अन्यत्र टाप कस्ने रहेछन् । प्रजननकालमा प्रायः भालेहरू पोथीबाट छुट्टिदैनन् । प्रजननकाल सकिएपछि बरु ती छुट्टिएर बस्छन् ।’
‘ताप्केमा भ्यागुता’ लेखचाहिँ जलवायु परिवर्तनले संसारका विभिन्न भूभागका जीवजन्तुहरूमाथि पारेको नकारात्मक असरमा केन्द्रित छ । नेपालको उत्तरी क्षेत्रका अधिकांश भाग हिमशृंखलाले ढाकिएको छ । तर, पृथ्वीमा बढ्दो तापक्रमको असर हिमाली भूभागले बेहोर्नुपरिरहेको छ । त्यही कारण, हिउँहरू पग्लिने मात्र होइन, हिमाली भेगका जीवजन्तुहरूलाई समेत त्यसले गहिरो असर पार्ने कुरा उल्लेख छ ।
बेला–बेलामा पशुपक्षीहरूले अनौठो व्यवहार देखाउने गर्छन् । कुनै कारण र तात्पर्य भएर नै पशुपक्षीहरूले त्यस्ता व्यवहार प्रदर्शन गरेका हुन सक्छन् । हामीले कुकुरले पिसाब फ्याँक्दा खुट्टा उचालेको देखेका छौं । किन पिसाब फेर्दा खुट्टा उचाल्छन् त कुकुरले ? उनी लेख्छन्, ‘भाले र पोथी दुवै कुकुरले पिसाब तुक्र्याएर आफ्नो स्तरका लागि प्रतिस्पर्धा गर्छन् । उच्च रवाफिला भाले कुकुरहरूले अझ बढी पिसाब तुक्र्याएर आफ्नो प्रभुत्व देखाउँछन् । भेट्नुअघि नै पिसाबका माध्यमले कुकुरहरूको प्रतिस्पर्धा हुन्छ । पिसाबको गन्धले हरेक कुकुरको स्वास्थ्य र अन्य पहिचान दिन्छ । हैसियत देखाउँछ ।’
वर्षा याममा भ्यागुताहरू धेरै कराउँछन् । तर, भ्यागुताहरू कराउनुको अर्थ भाले भ्यागुताले पोथी भ्यागुतालाई आकर्षित तुल्याउन एक किसिमले गीत गाएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । हात्तीहरूमा चाहिँ नेतृत्व गुण र कौशल हुन्छ । उनी लेख्छन्, ‘भाइ फुट्नु गँवारले लुट्नु हो । समूह तितरबितर भए वैरीहरू जाइलाग्न सक्छन् भन्ने उनीहरूलाई राम्रो हेक्का हुन्छ । त्यसैले उनीहरू समूहमा बस्छन् । सामूहिक नेतृत्व हात्तीमा हुन्छ ।’
लेखक सापकोटाले जीवजन्तुहरूका अनौठो बानीबेहोराहरूबारे लेख्नुअघि नेपाल र विश्वका वन्यजीव संरक्षित क्षेत्रहरूका भ्रमण र अवलोकनसमेत गरेका थिए । विभिन्न वन्य क्षेत्रहरूमा प्रत्यक्ष घुमफिरका साथै जीवजन्तुहरूसँग सम्बन्धित टेलिभिजन च्यानलहरूको अवलोकनबाट नै आफूले यो कृति जन्माउन सकेको उनले स्वीकार गरेका छन् । पुस्तकले सबै खालका पाठकका निम्ति उपयोगी छ र पढ्नेहरूलाई निराश तुल्याउँदैन ।
कृति ः वनको वैभव
विधा ः लेखहरू
लेखक ः ददि सापकोटा
प्रकाशक ः फाइनप्रिन्ट
पृष्ठ ः ११९
मूल्य ः रु. ४९८।–
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply